ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति
![ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति](https://npcdn.ratopati.com/media/news/thamel-case_KAhWc1t2sE.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ ज्याठा स्थित छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गर्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिन खोजिएको छ । माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई नेकपा (एमाले) निकट अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेका हुन् ।
आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परेका छन् । फुलारा ठमेल स्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटी सदस्य हुन् ।
अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र सौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ । तर, अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले अनुसन्धानको दायरामा नै ल्याएको छैन ।
प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई जोशी नेतृत्वको टिमले आक्रमण गरेको भए पनि उनलाई अनुसन्धानको दायरामा नल्याइएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी वृत्त दरबारमार्गमा एकजना अधिकृत भन्छन्, ‘सिपाहीमाथि आक्रमण गर्नेहरूलाई विभागले नै जोगाएको छ ।’
प्रहरीमाथि आक्रमण गर्नेमा जोशीको संलग्नता नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने, ‘प्रहरीमाथि आक्रमण गर्दा उनले रोकेको सिसिटिभी फुटेजमा देखिएको छ, त्यसैले प्रतिवादी बनाउनुपर्ने अवस्था छैन ।’
पक्राउ परेकाहरूलाई पनि प्रहरीले कमजोर मुद्दा चलाएको छ । प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने गरी उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरू सामान्य धरौटीमा छुट्ने प्रचलन छ ।
माघ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको बिरुद्धमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेहरू विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलेको थियो । तर, सुरक्षा ड्युटीमा खटिएकाहरूलाई प्रधानमन्त्रीका नाम लिएर निर्घात कुट्दा सामान्य मुद्दामा घटना डिसमिस पार्न खोजिएको छ ।
अस्कल क्याम्पसमा यसअघि सभापतिमा चुनाव लडेका जोशी विवादित पृष्ठभूमिका व्यक्ति हुन् । उनीविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा दुईवटा मुद्दा विचाराधीन रहेको भेटिएको छ ।
रमेश फुलारा र दिनेश सिग्देललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । आरोपीहरूले दुईजना प्रहरीले आफूहरूमाथि मुख छाडेपछि आक्रमण गरेको जिकिर गरेका छन् । तर, जवान र हवल्दारले चाहिँ सडकमा हल्ला गरेपछि सम्झाउँदा उल्टै आफूहरूमाथि आक्रमण गरेको बताएका छन् । हवल्दार घर्तीको टाउको र छातीमा चोट लागेको छ । जवान विष्टको आँखामा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता