मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’

सोमबार, २८ माघ २०८१, १६ : ५०
सोमबार, २८ माघ २०८१

चितवन । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको कुरा गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् । सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताएका हुन् । 

उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट गर्न नसक्ने जिकिर गरे । त्यसो गरेको खण्डमा कांग्रेस नरहने उनको चेतावनी छ । 

उनले भने, ‘कुनै बेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिंगो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो ।’ 

निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने बारेमा छलफल अगाडि बढाइरहेको बताए । त्यस्तो हुन सके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने जिकिर गरे। 

महामन्त्री थापाले निर्वाचनको बेलामा कांग्रेसको विरुद्धमा जो पनि जोसँग पनि मिल्न सक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप