‘आईसीसी नकआउट ट्रफी’ को नामबाट आयोजना भएको पहिलो संस्करण
काठमाडौँ। आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो संस्करण बंगलादेशमा आयोजना भएको थियो । प्रतियोगिता सन् १९९८ को अक्टोबर २४ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन भएको थियो । च्याम्पियन्स ट्रफीको पहिलो संस्करण ‘आईसीसी नकआउट ट्रफी’ को नामबाट आयोजना गरिएको थियो ।
आईसीसी एकदिवसीय विश्वकपका अतिरिक्त सबै टेस्ट राष्ट्रले सहभागिता जनाएको यो एकदिवसीय ढाँचाको पहिलो प्रतियोगिता थियो । यो प्रतियोगिता आयोजना गर्दा बंगलादेशले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टेस्ट राष्ट्रको मान्यता पाइसकेको थिएन ।
तर, बंगलादेशमा क्रिकेटप्रतिको लगाव भने निकै थियो । त्यसैले आईसीसीको यो एसोसिएट्स सदस्य राष्ट्रमा क्रिकेटको अभूतपूर्व वातावरण तयार पार्ने र पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यले च्याम्पियन्स ट्रफीको पहिलो संस्करण बंगलादेशमा आयोजना गरिएको थियो ।
यो प्रतियोगिता आयोजनाको अधिकार प्राप्त गर्नुअघि नै सन् १९९७ मा बंगलादेशले आईसीसी ट्रफीको उपाधि जितेको थियो । त्यो प्रतियोगिताको फाइनलमा बंगलादेशले अर्को एसोसिएट्स सदस्य राष्ट्र केन्यालाई हराएको थियो ।
यो प्रतियोगिता सुरु हुनुअघि बंगलादेशमा भीषण बाढी आएको थियो । बाढीका कारण यस क्षेत्रको जनजीवन तहसनहस भएको थियो । यस्तो स्थितिमा पनि बंगलादेशले प्रतियोगिता आयोजना गर्ने हिम्मत जुटाएको थियो ।
त्यसेले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले यो प्रतियोगिताका क्रममा टिकट बिक्रीबाट संकलन हुने रकमको १० प्रतिशत रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने निर्णय पनि गरेको थियो ।
आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो संस्करणमा नौवटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका खेलहरू सिधै नकआउट ढाँचामा खेलाइएको थियो । त्यसैले पनि त्यतिबेला यो प्रतियोगिताको नाम ‘आईसीसी नकआउट ट्रफी’ राखिएको थियो ।
सन् १९९६ मा सम्पन्न आईसीसी विश्वकपपछि निर्धारित वरीयताका आधारमा टेस्ट खेल्ने नौवटा टोलीले यो प्रतियोगितामा सिधै प्रवेश पाएका थिए । रमाइलो पक्ष के थियो भने, आयोजक भएर पनि बंगलादेश आफैले पहिलो संस्करणमा सहभागिता जनाउने अवसर पाएको थिएन ।
पहिलो संस्करणको खेल तालिका सार्वजनिक गर्दा सातवटा टोली सिधै क्वार्टरफाइनल चरणमा पुगेका थिए । तर, न्युजिल्यान्डले भने जिम्बाब्वेसँग प्रारम्भिक चरणको एउटा खेल खेल्नु परेको थियो । प्रारम्भिक चरणको उक्त खेलमा विजयी हुने टोलीले क्वार्टरफाइनल खेल्न पाउने प्रावधान थियो ।
प्रारम्भिक चरणको उक्त खेलमा जिम्बाब्वेलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको थियो । खेल तालिका अनुसार, क्वार्टरफाइनलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई प्रतिद्वन्द्वीका रूपमा पाएको थियो । त्यो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको थियो ।
यसैगरी, न्युजिल्यान्डले क्वार्टरफाइनलमा श्रीलंकालाई प्रतिद्वन्द्वीको रूपमा पाएको थियो । त्यो खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई पाँच विकेटले हराएको थियो । भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजले भने पाकिस्तानलाई ३० रनले हराएको थियो ।
यसैगरी, प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ९२ रनले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा वेस्ट इन्डिजले भारतलाई ६ विकेटले पाखा लगाएको थियो ।
प्रतियोगिताको फाइनल खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै उपाधि चुमेको थियो । दक्षिण अफ्रिकाले आईसीसीद्वारा आयोजित कुनै पनि सिनियर प्रतियोगिताको उपाधि जितेको त्यो पहिलो पटक थियो ।
पहिलो संस्करणमा वेस्ट इन्डिजका फिलो वालेस सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका थिए । उनले तीन खेलमा एक शतकको मद्दतले कुल दुई सय २१ रन बनाएका थिए । यो सूचिमा दक्षिण अफ्रिकाका ज्याक कालिस दोस्रो स्थानमा थिए । उनले एक शतकसहित कुल एक सय ६४ रन बनाएका थिए ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा वेस्ट इन्डिजका शिवनारिन चन्द्रपौल तेस्रो, भारतका सचिन तेन्दुल्कर चौथो र दक्षिण अफ्रिकाका हेन्सी क्रोनिए पाँचौँ स्थानमा थिए । चन्द्रपौलले एक सय ५०, सचिनले एक शतकसहित एक सय ४९ र क्रोनिएले एक सय ४८ रन बनाएका थिए ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा दक्षिण अफ्रिकाका ज्याक कालिस पहिलो स्थानमा थिए । उनले तीन खेलमा कुल आठ विकेट लिएका थिए । यो सूचिमा भारतका सचिन तेन्दुल्कर (६ विकेट) दोस्रो स्थानमा र वेस्ट इन्डिजका मेर्भिन डिल्लन (६ विकेट) तेस्रो स्थानमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता