मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अख्तियारले भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्छ : देवकोटा

सोमबार, २८ माघ २०८१, १३ : ०६
सोमबार, २८ माघ २०८१

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अख्तियारले सबै प्रकारका भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्ने बताएका छन् । उनले साना भ्रष्टाचारका घटनालाई छानबिन र कारबाही गरी मुद्दाको संख्या मात्र बढाउने नभई ठुला र सबै प्रकारका भ्रष्टाचारी माछाहरू समात्न सक्नुपर्ने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले जनताको निराशा चिर्दै भ्रष्टाचारको विरुद्ध खरो उत्रिएर सक्नुपर्ने बताए । बेइमानीका विरुद्धको कदम चाल्ने विषयमा खुट्टा नकमाउन उनले अख्तियारलाई आग्रह गरे । चुनौती चिर्दै अघि बढ्दा खास सफलता प्राप्त हुने उनले बताए । अख्तियारको प्रगति झिनो देखिएको र उक्त विषयमा गम्भीर हुनुपर्ने उनको भनाई छ ।

‘भ्रष्टाचार जघन्य अपराध हो । यसको निन्दा कुनै शब्दमा लिन सकिँदैन । आफ्नो अख्तियारीलाई दुरुपयोग गरी देश, जनता र सुशासन विरुद्ध नैतिकता र कानुन विपरीत जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रियामा अघि बढाउनु पर्दछ’ उनले भने, ‘अख्तियारलाई साना÷साना भ्रष्टाचारका मुद्दामा हात हालेर सङ्ख्यात्मक विवरण पेस गर्ने तर ठुला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरू पनि लागेको पाइन्छ । यी आरोपलाई गलत साबित गराउन साना÷ठुला सबै प्रकृतिका भ्रष्टाचारी माछाहरूलाई पक्रिन सक्नुपर्दछ ।’

उनका अनुसार कार्य सम्पादनमा देखिएको सुस्तताले युवाहरूमा निराशा बढाइरहेको छ । राज्यका निकायहरुलाई दोषारोपण गरेर ढिलासुस्ती गर्ने छुट नरहेको र तीव्र रूपमा गतिशील विश्वको लय समाउन सबैले परिष्कृत हुनुपर्ने उनले बताए । भ्रष्टाचार हुन नदिन इमान्दारीता, पारदर्शिता र सुशासनका विषय वस्तु विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गरिनुपर्ने उनको धारणा रहेको छ ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्टाचार देश विकास र समृद्धिको वाधक भएको बताए । भ्रष्टाचारका कारण नागरिकको मौलिक हक उपभोगमा समेत बाधा पुर्याउने उनले बताए । पछिल्लो समय देशमा नीतिगत भ्रष्टाचार र काम चोरी बढेको उनको भनाई छ । भ्रष्टाचारको अङ्क दिनप्रतिदिन बढिरहेकोले यसको अन्त्य गर्ने जिम्मेवारी अख्तियारको मात्र नभई सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत भएको उनको भनाई छ ।

प्रदेश सरकार सुशासन पारदर्शिता कायम गर्न प्रतिबद्ध रहेको उनले बताए । मन्त्री लामिछानेले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारको लागि अघि बढिरहेको बताए । नीति निर्माण, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न सरकार जिम्मेवार ढङ्गबाट अघि बढेको उनले बताए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप