वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना
![वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना](https://npcdn.ratopati.com/media/news/ujwal-cover_PMdgsDOt4k.jpg)
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज समातेर दगुरिरहेको बेला उज्ज्वल थापासँग अकस्मात मेरो भेट भयो । सन् २००८ को त्यो भेट मेरो मस्तिष्कमा अझै ताजा छ ।
उज्ज्वल अमेरिकाबाट नेपाल फर्किंदै थिए । म नेपालमै केही गर्नुपर्छ भन्ने मान्यता बोकेको युवा थिएँ । मेरो सोच भने अस्ट्रेलिया जाने र नेपाल फर्कने थियो । सामान्य गफगाफपछि हामी छुट्टियौँ । दूरीले टाढा भए पनि सामाजिक सञ्जालमार्फत निरन्तर संवाद जारी राख्यौँ । हाम्रो घनिष्ठता बढ्दै गयो ।
उज्ज्वल अमेरिकालाई बाईबाई गर्दै नेपाल फर्किएका थिए । सामाजिक, राजनीतिक र उद्यमशील कर्ममा उनी संलग्न भए । उनका अभियानमा म कहीँ न कहीँ म जोडिएकै हुन्थेँ । चाहे त्यो विवेकशील नेपालीको विधि–विधान बनाउने काममा होस् वा अनेकौँ राजनीतिक, सामाजिक अभियान सुरु गर्ने क्रममा होस् ।
मुख्यतः उद्यमशील काम अर्थात् साना–साना व्यापार–व्यवसाय सुरु गर्ने र सुरु गर्नेहरूलाई सहयोग गर्ने, नयाँ–नयाँ विचारहरूको आदान–प्रदान गर्ने सम्बन्धमा हामीबिच संवाद र सहकार्य भइरहन्थ्यो । सामाजिक सञ्जाल र इन्टरनेट प्ल्याटफर्ममार्फत केही न केही सिर्जनशील काम गरिरह्यौँ । नयाँ कामका विषयमा योजना निर्माण गर्न उज्ज्वलले मलाई आग्रह गरिरहन्थे ।
मेरो कामको क्षेत्र हो— कर, लेखा, वित्त तथा अर्थशास्त्र । त्यसैले यिनै क्षेत्रबाट नेपाल र नेपालीलाई के सहयोग गर्न सकिन्छ भन्ने योजना बनाउन मैले धेरै समय खर्च गरेँ । उज्ज्वलले त्यसमा निकै सहयोग गरे । यसरी विभिन्न खोज, अध्ययन र अनुसन्धानपछि अन्ततः सुरु भयो — इन्टप्रेनर्स फर नेपाल ।
हामीले थालेका कामहरू अत्यन्त रोचक थिए, जसलाई समाजले पनि नयाँ र सिर्जनशील रूपमा ग्रहण गरेको थियो । यसमा धेरै युवा जोडिँदै थिए । केही मात्रामा रोजगारी पनि सिर्जना भयो । नयाँ–नयाँ व्यापार सुरु भए ।
उज्ज्वलले मलाई घचघचाइरहन्थे । सबै नीतिको मूल नीति राजनीति नै हो । राजनीतिबाट अन्य क्षेत्रमा काम गर्न, व्यापक सुधार र प्रभाव छोड्न सकिन्छ भन्नेमा उज्ज्वल प्रस्ट थिए । गृहकार्य पनि गरिरहेका थिए । मैले भने आफू नेपालबाहिर रहेको र नेपालको फोहोरी राजनीतिमा नफस्न आग्रह गर्थें । बरु नीति, योजना, अनुसन्धान, अर्थनीति, उद्योग–व्यापार आदिमा सरकारका निकायसँग मिलेर काम गर्न सुझावा दिन्थे ।
उज्ज्वल भने भित्रभित्रै आफू दृढ र संकल्पित भइसकेको र राजनीतिमार्फत नै अगाडि बढ्ने योजना सुनाइरहन्थे । ‘दिला, तिमीले जे जानेका छौँ, तिम्रो ज्ञान–दक्षता जेमा छ, त्यसैमार्फत मसँग जोडिएर काम गर,’ उनी मलाई भनिरहन्थे ।
अन्ततः उज्ज्वलले सन् २०११ मा एक नवीनतम सोचसहित राजनीतिक यात्रा सुरु गरे । विदेशमा भएका नेपालीलाई हाम्रो काम, योजना र विचारबारे बुझाउँ र उनीहरुलाई हाम्रो पार्टीमा संगठित गरौँ भनेर उनले मसँग आग्रह पनि गरे । मैले त्यसमा उनलाई स्पष्ट जवाफ दिन सकिनँ । यद्यपि म आफूले राजनीति नगर्ने प्रस्ट बताएँ । ‘इन्टरप्रेनर्स फर नेपाल’बाटै काम गर्ने बताएँ । त्यसपछि केही समय उज्ज्वल र मेरो सम्पर्क पातलो भयो । कता–कता उनलाई लाग्यो, मैले उनलाई सहयोग नगर्ने भएँ; उज्ज्वलले पनि ‘इन्टरप्रेनर्स फर नेपाल’का लागि काम नगर्ने भए ।
केही समयपश्चात् हामी दुवैले आ–आफ्नो क्षेत्रमा सहयोग गर्ने र कामअगाडि बढाउने सहमति भयो । उज्ज्वलकै सोच अनुसार हाम्रो योजना अगाडि बढ्यो । उनले फेरि पनि मलाई भने, ‘ठिक छ दिला, तिमी विदेशमा छौ, तत्काल नेपाल नफर्किने सोचमा छौ । अर्कोतिर राजनीति फोहोरी खेल भएकाले डराएका छौ । जे भए पनि मलाई विवेकशील अभियानमा सहयोग गर्नु है ।’
मैले मौन समर्थन जनाएँ र भनेँ, ‘उज्ज्वल, विदेशमा रहेका नेपालीलाई पार्टीमा आबद्ध गर्ने, संगठन गर्ने आदि काम नगर्नु, उनीहरूलाई स्वतन्त्र रूपमा विवेकशील निर्णय लिन छाडिदिनु ।’
उज्ज्वलले अन्य पार्टीको दृष्टान्त दिन्थे; विदेशमा रहेका नेपालीलाई संगठनमा जोड्नुपर्छ, विदेश विभाग गठन गर्नुपर्छ भन्थे । नेपालका सबै पार्टी र कार्यकर्ताले त्यसो गरेरै राजनीतिले गति लिन नसकेकोबारे मैले सम्झाएँ । विदेश आइसकेकालाई स्वतन्त्र छाडिदिउँ भन्ने मेरो आग्रह थियो । त्यसपछि उज्ज्वलले त्यो काम मलाई नै जिम्मा दिए । उनले भने— यसबारे तिम्रो प्रस्ट विचारसहित डकुमेन्ट बनाउ र विदेशका नेपालीलाई कसरी जोड्ने लेखेर देउ ।
मैले विदेशका राजनीतिक पार्टीको केही दृष्टान्तसहित कार्यपत्र तयार गरेँ । उज्ज्वललाई चित्त बुझ्यो । विवेकशील नेपाली अभियानमा शुभेच्छुक समूह, सद्भाव समूूह रहने, हुन सक्ने तर पार्टीको सदस्यता नै लिनु नपर्नेबारे छलफल गर्यौँ ।
उज्ज्वलले अन्य पार्टीको दृष्टान्त दिन्थे; विदेशमा रहेका नेपालीलाई संगठनमा जोड्नुपर्छ, विदेश विभाग गठन गर्नुपर्छ भन्थे । नेपालका सबै पार्टी र कार्यकर्ताले त्यसो गरेरै राजनीतिले गति लिन नसकेकोबारे मैले सम्झाएँ ।
विदेशमा रहेकाले नेपालभित्रका पार्टीलाई राय, सल्लाह, सुझाव र विचार विमर्श आदान–प्रदान गर्न सक्ने तर अन्य पद या कार्यकारी भूमिकामा नराख्ने । विदेशी नागरिकता लिइसकेबाट आर्थिक सहयोग पनि नलिने भन्ने निर्णय गरियो । नेपालको संविधान र निर्वाचन आयोगको पार्टी सञ्चालन कार्यविधि अनुसार गर्ने भन्ने सहमतिबिच विवेकशील नेपाली अभियान अन्तर्गत प्रवासका नेपालीलाई जोड्ने कार्य अगाडि बढ्यो ।
उज्ज्वलको सोझोपन र इमानदारिताको फाइदा उठाएर बिचमा अनेक चलखेल भए । उज्ज्वलका पनि केही कमजोरीसहित आज विवेकशील नेपाली दल जे जसरी अस्तित्वमा छ, कहीँ कतै खोज्नुपर्ने स्थितिमा छ तर मरेको छैन । नेपाल बन्दै छ, नेपाल खुला छ, विवेकशील नेपाली दल जीवित छ, मेरो निरन्तर शुभकामना छ । म भने कुनै पनि राजनीतिक दलमा सक्रिय राजनीतिमा छैन ।
कोरोना महामारी संसारभर फैलियो । दैवको खेलमा उज्ज्वलले पापी र निष्ठुरी काललाई जित्न सकेनन् । उनी धेरैलाई रुवाएर गए । म स्तब्ध र विक्षिप्त भएँ । धेरै समय मौन रहेँ । सिड्नीमै स्मृतिसभा गरेर श्रद्धाञ्जली अर्पण गरियो । साथै एसफिल्ड काउन्सिलको अनुमतिमा उज्ज्वलको स्मृतिका लागि उनका धेरै साथी, नाता र परिवारका सदस्यको उपस्थितिमा वृक्षारोपण पनि गरियो । उज्ज्वलको भौतिक अनुपस्थितिले एउटा आशाको दियो निभेको महसुस भयो । यही कारण ‘इन्टरप्रेनर्स फर नेपाल’ पनि बिस्तारै ओझेलमा पर्यो, सुस्तायो ।
सन् २०२२ को अन्त्यतिर न्युजिल्यान्डका राज महर्जनले नेपालबाट उज्ज्वलको ‘ह्वाई नेपाल’ किताबबारे कुरा गरे । किताबका हरेक पानामा उज्ज्वललाई सम्झिएँ । पढिसकेपछि साथीभाइहरूसँग किताब सेयर गरेँ । उज्ज्वललाई भेटेझैँ महसुस भयो । साँचो श्रद्धाञ्जली दिनका लागि; उनका विचार, भावना र सत्प्रयासलाई जीवित राख्नका लागि प्रतिबद्ध हुने निर्णय गरेँ ।
सन् २०२४ को अन्त्यमा म नेपाल आएँ । उज्ज्वलकी श्रीमती, जो उज्ज्वल थापा फाउन्डेसनकी अध्यक्ष पनि हुनुहुन्छ, उहाँलाई भेटेँ । उज्ज्वलबारे बन्न लागेको भिडियोबारे छलफल गरियो । अन्य साथीहरूलाई पनि भेटियो । फाउन्डेसनलाई थोरै आर्थिक सहयोग गरेर फर्किएँ । मलाई आशा छ— नेपालमा राजनीति फेरि विवेकशील नेपाली दलको परिकल्पनामा फर्कनेछ । ‘इन्टरप्रेनर्स फर नेपाल’ फेरि सुचारु हुनेछ ।
म भने पहिलेजस्तै राजनीति नगर्ने पक्षमा स्पष्ट छु । अब सकारात्मक रूपमा सक्रिय रही ‘इन्टरप्रेनर्स फर नेपाल’ पुनः सञ्चालनका लागि पहल गर्नेछु । यसका लागि तत्कालीन ‘इन्टरप्रेनर्स फर नेपाल’का साथीहरूसँग छलफलमा छु । उज्ज्वल थापा फाउन्डेसनको कार्यक्रममा रहँदै गर्दा मेरा आँखामा आँसु छल्किए, मन भारी भयो ।
मलाई लाग्छ— मैले के भनेँ भन्दा पनि मैले के गरेँ भन्ने महत्त्वपूर्ण कुरा हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । धेरै राष्ट्रप्रेमी नेताहरूले प्रजातन्त्र र लोकतन्त्र ल्याए । समयले विज्ञान, प्रविधि र विकास ल्यायो तर उज्ज्वलले नेपाली राजनीतिमा संस्कारको सुरुवात गरे । इमानदारिता, पारदर्शिता र राम्रो पद्धति स्थापनाका लागि संघर्ष गरे । उनले ‘नेपाल बन्द’ संस्कृति सदाका लागि बन्द गरिदिए । नेपाली राजनीतिमा मौन र शान्तिपूर्ण विद्रोहको अभ्यास सुरु गरे । उनले ढुंगामुढा, हुल–हुज्जत र छलकपटको राजनीति अन्त्य गरिदिए ।
समाज उद्यमशील हुनुपर्छ । हरेक नागरिक उद्यममा जोडिनुपर्छ । उद्यमशील बन्नुपर्छ भन्ने सोच उज्ज्वलले स्थापित गराए । उनको अगुवाइमा साना–ठुला उद्यमहरू सुरु भए । कलकारखाना, उद्योग, सीपमूलक तालिम सुरु भए । कतिपय अझै सञ्चालनमै छन्, कति सफल भए, कतिपय सङ्घर्ष गरिरहेका छन् । तिनलाई फेरि उठाउनुपर्छ । ‘इन्टरप्रेनर्स फर नेपाल’ पुनः जीवन्त बनाउनु आवश्यक छ । यो सम्भव छ, यो गर्न सकिन्छ । यो अभियानमा हामी सबैले सहयोग गरौँ । यही नै उज्ज्वलका लागि साँचो श्रद्धाञ्जली र सम्मान हुनेछ । म यसलाई सम्भव बनाउनेछु । तपाईंहरू पनि जोडिनुहोस् ।
अन्त्यमा, उज्ज्वल ! तिमी जहाँ भए पनि हाँसीखुसी र शान्तिपूर्ण रहनु । तिम्रा लागि कोटिकोटि वन्दना र सतत् प्रार्थना ।
उही तिमीले प्रेरित गरेको, तिमीले साथ दिएको साथी दिला खरेल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन