सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

सोमबार, २८ माघ २०८१, ०९ : ५३
सोमबार, २८ माघ २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् । 

त्यस अवसरमा राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने पनि बताए । 

उनले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासन प्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार र निष्पक्ष सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताए । ‘सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचार तर्फ पुर्‍याउने राष्ट्रपतिको भनाइ छ । 

‘भ्रष्टाचारको प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ त्यस अनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ’, राष्ट्रपतिले भने, ‘कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भावित जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अगाडि भूमिका निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैन भन्ने मलाई विश्वास छ ।’

उनले ठुला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसङ्गति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको र त्यसमा राज्य पक्ष र अख्तियार गम्भीर बन्नुपर्ने बताए । 

सम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै राष्ट्रपति पौडेलले ले यसमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराए । 

‘कसैको दबाबमा प्रभावमा नपरी कसुर र कसुरदार ठुलो वा सानो नगरी काम गर्न आयोग चुक्ने छैन भन्ने पनि मैले विश्वास लिएको छु’, सम्बोधनका क्रममा राष्ट्रपतिले भने, ‘पारदर्शी जिम्मेवार र भ्रष्टाचार मुक्त राज्य संयन्त्रको निकायका रूपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने नै छ भन्ने विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप