सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : अमेरिकी प्रभाव

अमेरिकी प्रभाव विस्तारको औजार यूएसएआईडीको कथा

विकासको भाष्यदेखि सत्ता परिवर्तनसम्म
सोमबार, २८ माघ २०८१, ०९ : ४१

सन् २०२५ को जनवरी २० मा संसारमा धेरै स्वाभाविक र अस्वभाविक घटना भइरहेका थिए । अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो नियन्त्रणबाहिर पुगेको खबरहरू आइरहेका थिए । पश्चिम एसियामा इजरायलको नरसंहारको अल्पविरामलगत्तै आपसमा बन्दी साटासाटको क्रम सुरु हुँदै थियो । कोरियाली प्रायःद्वीपमा सैन्य ‘कु’ को प्रयास गरेबापत राष्ट्रपति तथा कार्यवाहक राष्ट्रपतिलाई महाअभियोग लगाई गिरफ्तार गरेपछि अन्योल र भयको अवस्था थियो । 

चीन र रुसका राष्ट्रपतिको संवादबारे समाचार आउँदै थिए । भारतको इलाहवादमा करोडौँ मानिस सहभागी हुने कुम्भ मेलाको तयारी चल्दै थियो । यी सबै परिघटनाबिच संसारको ध्यान अमेरिकाको राष्ट्रपति भवनमा थियो । त्यस दिन नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको सपथ ग्रहण गर्दै थिए । 

अर्थतन्त्र, भू–राजनीति तथा अन्तर्राष्ट्रिय राजनीतिबारे विभिन्न अड्कलबाजी भइरहेका थिए । मानिसको ध्यान उनले सपथ ग्रहणलगत्तै हस्ताक्षर गर्ने भनिएका सम्भावित ‘सयौँ’ कार्यकारी आदेशमा थियो । ट्रम्पले आफ्नो निर्वाचन प्रचारका दौरान ‘आफूले सपथ ग्रहण गरेलगत्तै एक दिनका लागि तानाशाह बन्ने’ बताउँदै आएका थिए । अमेरिकामा ट्रम्प र उनको समूहले प्रचार गरेका उग्र–दक्षिणपन्थी एजेन्डा कार्यान्वयन सुरु गरिने हल्ला चलाएको थियो ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सपथ लिएलगत्तै दर्जनौँ घोषणा, आदेश तथा मेमोरन्डममा हस्ताक्षर गरे । यस्ता घोषणा र कार्यकारी आदेशमा अमेरिकामा ऊर्जा संकटकाल घोषणा गर्ने, अलास्कामा खनिज इन्धनको उत्खनन सहज बनाउनेदेखि सन् २०२१ को जनवरी ६ का दिन अमेरिकी संसद्मा आक्रमण गर्ने आन्दोलनकारीलाई सजाय माफ गर्नेसम्म थिए । यिनै आदेशको भीडमा एउटा यस्तो आदेश पनि थियो, जसले अमेरिकाले संसारभर सहयोग भनेर दिने गरेका सबै प्रकारका अनुदान ९० दिनका लागि रोक्ने भनिएको थियो । 

‘रिइभ्यालुयटिङ एन्ड रि–अलाइनिङ युनाइटेड स्टेट्स फरेन एड’ नामको कार्यकारी आदेशको उद्देश्यमा भनिएको छ– ‘संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायता उद्योग तथा त्यसमा संलग्न कर्मचारीतन्त्र अमेरिकी स्वार्थसँग मिलेको छैन । साथै कतिपय अवस्थामा अमेरिकी मूल्य–मान्यताविपरीत छन् । तिनीहरू अन्य देशमा विभिन्न विचार प्रवद्र्धन गर्दै विश्वको शान्ति खल्बल्याउने काम गर्दैछन् ।’ 

दफा ३ को (क) मा ‘कार्यक्रमको दक्षता र अमेरिकाको विदेश नीतिसँग एकरूपताको विस्तृत मूल्यांकनका लागि हालका लागि अमेरिकाको वैदेशिक विकास सहायतामा ९० दिनको विराम लगाइने’ उल्लेख छ । यसले एकैपटक अमेरिकी अनुदानका धेरै कार्यक्रममा विश्वभर अन्योल सिर्जना गरिदियो । 

लगत्तै ट्रम्पले गठन गरेको डोजे भनिने ‘सरकारी दक्षतासम्बन्धी विभाग’ का प्रमुख एलन मस्कले अमेरिकी सहायता संस्था यूएसएआईडी बन्द गर्न सक्ने कुरा आफ्नो ‘एक्स–स्पेस’ चर्चाका क्रममा बताएका थिए । लगत्तै फेब्रुअरी २ सोमबार बिहान यूएसएडमा कार्यरत कर्मचारीलाई इमेल आयो । जसमा भनिएको थियो– ‘३ बजेसम्ममा कार्यालय छोडिसक्नुहोला ।’ 

संसारभरका गरिब मुलुकलाई सरकारी खर्च कटौतीका अप्ठेरा सुझाव दिने गरेको अमेरिकी सहायता संस्था ‘यूएसएआईडी’ आखिर आफ्नै सरकारको खर्च कटौती कार्यक्रमको मारमा परेर एक्कासि रोकिन पुग्यो । अहिले यूएसएआईडीको वेबसाइट बन्द गरिएको छ । संसारभर झन्डै १२० मुलुकमा यसका कार्यालय बन्द भएका छन्, जसमा नेपाल पनि एक हो । 

संस्थामा कार्यरत १४ हजार कर्मचारीलाई एकै आदेशमा अवकाश दिइएको छ । र, यूएसएआईडीमा काम गर्ने, यसबाट वित्तपोषित कर्मचारी, ठेकेदार तथा लाभान्वितका परिवारहरू अमेरिकामा प्रदर्शन गरिरहेका छन् । यसले यूएसएआईडी के थियो र यसले के काम गथ्र्यो भन्ने प्रश्नलाई फेरि एक पटक सतहमा ल्याइदिएको छ । विश्वभर यसको सकारात्मक र नकारात्मक भूमिकाबारे विभिन्न आयामबाट चर्चा परिचर्चा भइरहेका छन् ।

रोकिएको दिनसम्म यूएसएआईडी आफ्नो स्थापनाको ६३ वर्ष तीन महिनाको भएको थियो । सम्भवतः अबका दिनमा यूएसएआईडी यही स्वरूपमा फर्किन्छ वा फर्किँदैन यसै भन्न सकिने अवस्था छैन । पछिल्ला केही दिनका घटनाक्रमहरू नियाल्दा यसले पहिलेकै स्वरूपमा काम गर्न सक्ला भन्ने आधारहरू न्यून छन् ।

तर, यसले आफ्नो ६३ वर्षसम्म चालेका पाइलाहरूले आगामी धेरै दशकसम्म अनुसन्धाताहरूलाई आकर्षित गरिरहने छ ।

2893

  • कम्युनिस्ट मास्न यूएसएआईडीको जन्म

यूएसएआईडीको आफ्नै दस्तावेज अनुसार सन् १९६१ को सेप्टेम्बर ४ मा अमेरिकी संसद्ले वैदेशिक सहायतसम्बन्धी ऐन (फरेन असिस्टेन्स एक्ट) स्वीकृत गरेपछि त्यसकै आधारमा त्यसै वर्षको नोभोम्बर ३ मा यसको जन्म भएको हो । सोही दस्तावेजअनुसार अमेरिकी वैदेशिक सहायता संस्थाको सुरुवात गर्दै तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले यसलाई ‘संसारका चुनौतीसामु अमेरिकाको अभुतपूर्व जवाफ’ का रूपमा व्याख्या गरेका थिए । 

अमेरिका आफ्नो समृद्धिलाई संसारभर सहयोगका रूपमा विस्तार गर्न चाहने बताउँथ्यो । सन् १९४९ को जनवरी २० मा आफ्नो सपथ ग्रहण कार्यक्रममा बोल्दै तत्कालीन राष्ट्रपति ह्यारी एस ट्रुम्यानले विभाजित गरेको विकसित र अविकसित मुलुकको रेखाका आधारमा अविकसित मुलुकलाई आफ्नो कृपाका माध्यमबाट हात समातेर विकसित संसारमा ल्याउन चाहन्थ्यो । 

यूएसएआईडीको स्थापनाका पछाडि प्रेरक शक्तिका रूपमा अमेरिकी समृद्धि र तागतको बलमा ‘शान्ति र विकास’ स्थापना गर्ने भनेर सुरु गरिएको थियो । तत्कालीन १३ अर्ब डलर (हालको मूल्यमा करिब १ सय ७० अर्ब डलर) को  ‘मार्शल प्लान’ को योजनाले युरोपमा पाएको वाहवाही पनि थियो  ।

करेन्ट अफेयर्समा प्रकाशित साहेली खस्तागिरको लेखअनुसार ट्रुम्यानले प्रस्तुत गरेको ‘पोइन्ट फोर प्रोग्राम’ का खास उद्देश्य भाषणमा भनिएजस्ता नभएर अरू नै थिए । विकासशील देशहरूमा गरिबी घटाउँदै उत्पादन वृद्धि गराएर बजार सिर्जना गर्नुका साथै पुँजीवादी कित्ताअन्तर्गत देशहरूलाई समृद्ध बनाउन मद्दत गरेर साम्यवादको खतरा कम गर्नुपर्ने बाध्यता अमेरिकालाई थियो । ‘गरिबी घटाउने’ र ‘देशहरूलाई मद्दत गर्ने’ विषय अन्य लक्ष्यहरू प्राप्त गर्ने क्रममा भनिने सन्दर्भ मात्र थिए ।

यूएसएआईडीको जन्मको कथा खोज्न हामी केवल एउटा संस्थाको पृष्ठभूमिमा पसेर मात्रै पुग्दैन । तत्कालीन अमेरिकाकाको विदेश मामिलाबारे दृष्टिकोणको जरामा पुग्नुपर्ने हुन्छ । यस सन्दर्भमा जोन नोरिसले लेखेको प्रख्यात पुस्तक ‘द एन्ड्युरिङ स्ट्रगल’ ले हामीलाई यसको अँध्यारो इतिहासबारे प्रशस्त उदाहरणसहित भन्छ ।

लेखकका अनुसार सन् ६० को दशकको विश्व राजनीति अहिलेजस्तो थिएन । संसार सोभियत र अमेरिका धुरीमा कित्ताकाट भएको थियो । उपनिवेशको चपेटामा परेका मुलुकहरू धमाधम स्वतन्त्र हुँदै थिए । दोस्रो विश्वयुद्ध सकिएपछि सन् १९६० सम्ममा २१ वटा नयाँ मुलुक स्वतन्त्र भइसकेका थिए । सन् १९६० मै १९ वटा नयाँ स्वतन्त्र मुलुक थपिँदै थिए । 

250204-ethiopia-usaid-mn-0950-5555c2

भर्खरै स्वतन्त्रता हासिल गरेका मुलुकमा आफूअनुकुल सत्ता स्थापनामा महाशक्तिहरूको ठूलो चासो हुने गथ्र्यो । अमेरिकी नीति निर्माताहरूमाझ स्टालिनले भनेको कथन भनेर एउटा भनाइले व्यापक चर्चा पाइरहेको थियो । जसअनुसार स्टालिनले ‘बेलायतको मुख्य रक्षकका रूपमा रहेको पश्चिमा शक्तिको ढाड लन्डनको थेम्स नदीको किनारमा नभएर भारतको गंगा र चीनको याङ्जी नदीको किनारमा भाँचिनेछ’ भनिएको थियो । अर्थात् नयाँ मुलुकमा साम्यवादको लहर फैलने त्रास प्रत्येक अमेरिकी नीति निर्मातामा भेटिन्थ्यो । प्रजातन्त्र वा पुँजीवादको नारामा मानिसको आकर्षण कम पाइन्थ्यो । 

यति नै बेला सोभियत संघले अन्तरिक्षमा मानिस पठाएको ‘स्पुतनिक क्षण’ पनि अमेरिकालाई चुनौती बनेर आइपुगेको थियो । अमेरिकाबारे नराम्रो धारणा रहेको काल्पनिक एसियाली मुलुकलाई कथा बनाएर लेखिएको ‘अग्ली अमेरिकन’ नामको उपन्यास लगातार ५० हप्ताभन्दा धेरै ‘बेष्ट सेलर’ को सूचीमा रहन सफल थियो । 

सन् १९५८ मा भेनेजुएला पुगेका तत्कालीन उपराष्ट्रपति रिचर्ड निक्सनमाथि राजधानी काराकसको सडकमै दुव्र्यवहार भयो । सेनाको विमान ल्याएर उद्धार गर्नुपर्ने अवस्था सिर्जना हुनु अमेरिकाका लागि लज्जाको विषय बनिरहेको थियो । अमेरिकाको भरथेगमा टिकेका क्युबाली तानाशाह फल्गुन्सियो बाटिस्टा क्युबा छोडेर भाग्नुपरेको थियो । 

विद्रोही सेनाले फिडेल क्यास्ट्रोको नेतृत्वमा सत्ता हत्याएलगत्तै करिब एक अर्ब डलर हाराहारी अमेरिकी लगानी रहेका क्यासिनोदेखि उखु खेतीसम्म राष्ट्रियकरण गरिदिए । अमेरिकी राज्य फ्लोरिडाभन्दा एक सय तीन किलोमिटरमै सोभियतको प्रभाव आइपुगेको त्रास अमेरिकी नेतृत्वमा बढ्दै थियो ।

तेस्रो विश्वमा अमेरिकाले आफ्नो प्रभाव गुम्दै गरेको निष्कर्ष निकालिसकेको थियो । नीतिगत तहमा मानिस यसबारे विभिन्न विकल्पमा छलफल गरिरहेका थिए । यसैबिच मार्शल प्लानको समयमा प्रख्यात अमेरिकी रणनीतिकार जर्ज केन्नानको नेतृत्वमा काम गरेका म्यासाचुएट्स इन्स्टिच्युट अफ टेक्नोलोजिका दुई विज्ञ वाल्ट रोस्टो र म्याक्स मिलिकान वैदेशिक सहयोगको नयाँ सिद्धान्त लिएर देखापरे । 

रोष्टो र मिलिकानले तेस्रो विश्वमा अबको युद्ध सैन्य नभएर आर्थिक हुने दलिल प्रस्तुत गरे । उनीहरूका अनुसार विकासशील मुलुकलाई मस्कोको गुरुत्वाकर्षणबाट जोगाउने खास हतियार थिए ‘आर्थिक वृद्धि र सुधार’ । क्रिस्चियन साइन्स मोनिटरमा प्रकाशित आफ्नो लेख ‘अ न्यु फरेन इकोनोमिक पोलिसि फर द युनाइटेड स्टेट्स’ मा उनीहरूले लेखेका छन– ‘अमेरिकाले खुला विश्वमा दिगो आर्थिक वृद्धिको दिर्घकालीन कार्यक्रम सुरु गर्न ढिला गर्नु हुँदैन ।’ 

यस्तो वृद्धिका लागि विकासशील मुलुकलाई लगानी र प्रविधि चाहिन्छ भनियो । हो त्यही बोकेर अमेरिका विकासशील मुलुकमा कम्युनिस्ट प्रभाव रोक्ने महाअभियानमा अघि बढ्न थाल्यो । र, त्यही रणनीतिअनुरूप उसले प्रमुख साधनका रूपमा यूएसएआईडी अर्थात् युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्टको जन्म गरायो । 

यस्तो अवधारणाको आलोचना त्यही समय पनि नभएको होइन । ख्यातिप्राप्त अर्थशास्त्री जोन केन्नेथ ग्याल्ब्रेथले त फरेन अफेयर्समा लेख नै लेखेर भविष्यमा झन् ठूलो दलदलमा फसेपछि मात्रै अमेरिका चेत्ने कुरा भनेका थिए । यही गुरुयोजनाका प्रमुख रचनाकार वाल्ट रोस्टोले त्यही समय आफ्नो नयाँ पुस्तक प्रकाशित गरे । जसको नाम थियो– ‘द स्टेजेज अफ इकोनोमिक ग्रोथ’ र त्यसको सबटाइटल थियो ‘एन्टी कम्युनिस्ट मेनिफेस्टो’ ।

NED

  • सत्ता उल्ट्याउन सीआईए र यूएसएआईडीको सहकार्य 

यूएसएआईडीको स्थापनासँगै अमेरिकी सहायता संस्थाहरू यसमा जोडिन थाले । पुराना सहायता कार्यक्रमहरू अधिकांश यूएसएआईडीले नै हेर्न थाल्यो । अविकसित करार गरिएका तेस्रो विश्वका मुलुकमा विकास निर्यातको काम अब औपचारिक रूपमा वासिङ्गटनबाट हुन थाल्यो । 

एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा विज्ञहरूको दौडधुप सुरु भयो । सर्वप्रथम त्यहाँका नागरिकहरूलाई ‘गरिब’, ‘पिछडिएको’, ‘अशिक्षित’ तथा ‘गँवार’ भएको बोध हुने अमेरिकी वैचारिक लिटो पिलाइया अनि त्यसबाट निजात पाउन ‘समृद्धि’, ‘विकास’ र ‘आर्थिक उन्नति’ को पश्चिमा ट्याबलेट खानुपर्ने ज्ञान दिइयो । अर्थात् पहिले बिरामी भएको बोध गराइयो, त्यसपछि आफ्नै कम्पनीमा उत्पादित औषधि खान लगाएर लठ्याइयो । 

आजका दिनमा हामीले र हाम्रा शासकले भन्ने गरेको अमेरिकी खालको विकास र समृद्धिको क्याप्सुल अमेरिकामा बनेको हो र त्यसको कार्यान्वयन यूएसएआईडीले गर्छ भन्दा फरक पर्दैन ।

त्यो ‘विकास’ को बाटो पहिल्याउन अब ठुला विज्ञको खाँचो पर्न थाल्यो । तिनै विज्ञ अब अमेरिकाले पठाउनुपर्नेभयो । त्यसमा करोडौँ अमेरिकी डलर विनियोजन हुन थाल्यो । यी महँगा विज्ञहरू विकासका प्रेस्क्रिप्सन मात्रै बोकेर आएनन्, उनीहरू राजनीतिको दिशा देखाउने कम्पास पनि बोकेर आउन थाले । अर्थात् सहायताको हरियो डलरले सत्ता हेरेफेरको अँध्यारो जाल बिछ्याउन थाल्यो ।

UASID-1140x684

  • चिली

सन् १९७० को दशकको सुरुमा अमेरिका र राष्ट्रपति रिचार्ड निक्सन प्रशासन चिलीमा माक्र्सवादी नेता साल्भाडोर एलेन्डेको सरकार बन्न नदिन भरमग्दुर प्रयास गरिरहेको थियो । चिलीमा शक्तिशाली वामपन्थी सरकारको उदयले सिंगो अमेरिकी महादेशमा वामपन्थी लहर फैलने तथा सोभियत प्रभाव बढ्ने डर अमेरिकालाई थियो । 

उनीहरू एलेन्डेलाई कुनै हालतमा राष्ट्रपति पदसम्म पुग्नबाट रोक्न चाहन्थे । । तर, नतिजा उनीहरूले सोचे विपरीत भयो । चिलीमा एलेन्डे अभूतपूर्व मतसहित सत्तामा आइपुगे । अब एलेन्डेका कार्यक्रम नरम सुधारको सट्टा अमेरिकाप्रति झनै कठोर देखिन थाले । उनले राष्ट्रियकरण तथा समाजिक सुरक्षाका कार्यक्रम अघि बढाउन थाले । 

अब अमेरिकालाई एलेन्डेको सरकार ढाल्ने सैनिक नेतृत्व चाहिने भयो । जसका लागि उनीहरूले ‘अफिस अफ पब्लिक सेफ्टी’मार्फत तालिम दिएका सेना प्रहरीको उपयोग गर्न थाले । यस्तो तालिम अमेरिकाले दिलाउने गरेको थियो । एलेन्डे सरकारमा आएसँगै खारेज भएको यस कार्यक्रममा तालिम लिएका मानिस नै अन्ततः सैन्य ‘कु’ को मतियार बन्न पुगे । 

हाल सार्वजनिक भएका अति गोप्य दस्तावेजहरूले एलेन्डेको सरकारलाई अपदस्त गराउन तथा त्यहाँ भएको सैन्य ‘कु’ लाई संगठित गर्न यूएसएआईडी र सीआईएले मिलेर काम गरेको देखाएका छन् ।

  • निकारागुवा

निकारागुआमा जब सान्डिनिस्टा सरकारमा आउने अवस्था भयो । त्यसमा अमेरिकाको ठूलो आपत्ति रह्यो । उनीहरू कुनै पनि हालतमा सन्डिनिस्टालाई सरकारमा आउन नदिन खोज्थे । तथापि, सान्डिनिस्टाको सरकार बनाउने अवस्था बन्न पुग्यो । अब सबै विकल्प सकिने अवस्थामा अमेरिकाले ’कोन्ट्रा’ नामको विद्रोही समूह तयार गर्‍यो । यसलाई प्रत्यक्ष रूपमा सीआईए र विविध शैलीमा यूएसएआईडीको सहयोग रहेको कुरा विभिन्न समाचारहरूमा आएका थिए । टिम गिलले सन् २०१७ मा ज्याकोबिन म्यागेजीनमा लेखेको लेखमा निकारागुआमा कोन्ट्राको उपयोग गरेर सान्डिनिस्टाको सरकार असफल बनाउने काममा यूएसआईएडी पनि संलग्न भएको कुरा उल्लेख गरेका छन् ।

USAID-Nicaragua-Chamorro-Foundation

  • हाइटी

सन् २००८ को सुरुमा हाइटीमा ठुलो भोकमरीको समस्या सिर्जना भयो । यसका विविध कारणहरूको विश्लेषण विभिन्न प्रकारले भएका छन् । प्रसिद्ध अमेरिकी दार्शनिक तथा प्राध्यापक नोम चोम्स्कीका अनुसार त्यो भोकमरी सिर्जना गर्न यूएसएआईडी मुख्य जिम्मेवार थियो, जसमा सीआईएका भूतपूर्व कर्मचारीहरू पनि सहभागी थिए । 

हाइटीलाई ‘क्यारिबियन क्षेत्रको ताइनवान’ बनाउने नाममा तुलनात्मक लाभका क्षेत्रहरू भनेर हाइटीको कृषि क्षेत्र समाप्त पार्दै निर्यातमा आधारित अर्थतन्त्र बनाउने यूएसएआइडीको कार्यक्रमले हाइटीलाई खाद्य सामग्रीका लागि पूर्णरूपमा बाह्य मुलुकहरू र खासगरी अमेरिकासँग परनिर्भर बनाइयो  । 

कास टी मेन नामको बहुराष्ट्रिय कम्पनीमा काम गरेका जोन पर्किन्सले लेखेको चर्चित पुस्तक ‘कन्फेसन्स अफ एन इकोनोमिक हिटम्यान’ ले कसरी विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा यूएसएआईडीजस्ता संस्थाहरू गरिब मुलुकका नेताहरूलाई प्रभावमा पारेर त्यहाँको स्रोतसाधनमा बहुराष्ट्रिय कम्पनीको कब्जामा पुर्‍याउन प्रयोग हुन्छन् भन्ने प्रशस्त उदाहरण दिइएको छ । 

यसका साथै यूएसएआईडीले युक्रेन, इजिप्ट, फिलिपिन्स, बंगलादेशलगायत मुलुकका सत्ता परिवर्तनमा पनि भूमिका खेलेको पाइएको छ । 

  • मानवीय सहायता कि अमेरिकी स्वार्थपूर्तिको औजार ?

मानवीय सहायता संस्थाका रूपमा आफूलाई प्रस्तुत गर्ने यूएसएआईडीलाई अमेरिकाको रणनीतिक स्वार्थका लागि विभिन्न मुलुकमा व्यवस्था वा शासन परिवर्तनमा भूमिका खेल्ने औजारका रूपमा प्रयोग गरिँदै आएको छ । फरेन पलिसि पत्रिकाको एक रिपोर्टअनुसार क्युबा, रुस, भेनेलुएला, केन्या, भियतनामलगायत मुलुकमा यसले यस्तो गतिविधि सञ्चालन गरेको थियो । 

उदाहरणका लागि क्युबामा सन् २०१० मा फिडेल क्यास्ट्रोको सरकारविरुद्ध राजनीतिक आन्दोलन फैलाउने उद्देश्यसाथ ट्विटरजस्तै अर्को गोप्य सामाजिक सञ्जाल बनाएर त्यसलाई यूएसएआईडीले सञ्चालनमा ल्याएको थियो । यसले शीतयुद्धकालका समयको झल्को दिन्छ । क्युबामा गरेको कामले उसलाई केवल विकास संस्थाको रूपमा नभएर गुप्तचर गतिविधिका लागि पनि काम गर्ने संस्थाका रूपमा सबैको शंकाको घेरामा ल्याइदिएको छ । 

विभिन्न दस्तावेजहरूले यूएसएआईडीले पहिले पनि अमेरिकी गुप्तचर संस्था सीआईएको सार्वजनिक सुरक्षा कार्यालयसँग सहकार्य गरेको देखाउँछन् । सन् २००९ मा क्युबामा यूएसएआईडीका ठेकेदार एलन ग्रोसको गिरफ्तारीले यस्ता आशंकालाई थप बल पुर्‍याएका छन् । 

क्युबाबाहेक यसमाथि भेनेजुएला, बोलिभिया, रूस र केन्याजस्ता मुलुकमा पनि राजनीतिक हस्तक्षेप गरेको आरोप लाग्ने गरेका छन् । सन् २०१४ मा विकिलिक्सले गरेको खुलासाअनुसार भेनेजुएलामा यूएसएआईडीको ‘ट्रान्जिक्सन इनिसिएटिभ’ नामको कार्यक्रमले ह्युगो चाभेजको प्रभाव रहेको ठाउँमा घुसपैठ गर्ने तथा मानिसलाई विभिन्न रूपमा विभाजित गर्ने गरेको आरोप छ । अमेरिकी सहयोग संस्थाका यस्ता अँध्यारा कोठाका कथाहरूले अन्य देशमा पनि त्यहाँ जनतालाई विभिन्न समयमा दुःख दिने गरेका छन् ।

  • मिडिया

यसका साथै यूएसएआईडीले संसारभरका आफू अनुकुलका मिडिया, संस्था तथा संस्थानहरूमा पनि लगानी गर्ने गरेको छ । जहाँबाट आफूअनुकुल वैचारिक भाष्य निर्माण गर्ने गरिन्छ । यूएसएआईडीले मिडियामाथि गर्ने लगानीका लागि तपाईंले लगानीको कथा बारे हेर्न सक्नुहुन्छ ।

विकासे गोरुको कथा

विकासे संस्थाका रूपमा यूएसएआईडीको कुरा गर्दै गर्दा आउनुस् हामी नेपालमा यसको प्रभावबारे बुझन् प्राडा नन्दराम श्रेष्ठको ‘विकासे गोरु’ बारेको कथा पढौँ । यो कथा उनको बहुचर्चित पुस्तक ‘इन द नेम अफ डेभलेपमेन्ट’ बाट लिएको छ । 

अमेरिकी सहायता संस्था यूएसएआईडीले नेपालमा कृषि क्षेत्र सुधारका लागि पशु नश्ल सुधार गर्नुपर्ने ठम्यायो । नेपालका गाईलाई बलियो विदेशी गोरुसँग समागम गराएपछि उन्नत जातका बाच्छा–बाच्छी जन्मने कुरा यूएसएआईडीका विज्ञहरूले निक्र्योल गरे । अब गोरुको बन्दोबस्त गर्ने जिम्मा यूएसएआईडीले लियो । नभन्दै उसले अमेरिकाबाट गोरु झिकायो ।

गोरु झिकाइएपछि काठमाडौं नजिकैको कुनै क्षेत्रमा समागमको उचित प्रबन्ध मिलाइयो । त्यस दिन गाउँभरका मानिस विदेशी गोरु र नेपाली गाईको समागम हेर्न भेला भए । तर, दिनभर गोरुले गाईतर्फ हेर्दै हेरेन । साँझसम्म पनि विदेशी गोरुले नेपाली गाईलाई नहेरेपछि मानिस मजाक गर्दै हिँड्न थाले । साँझसम्म यूएसएआईडीका कर्मचारीहरूको ओठतालु सुक्न थालिसकेको थियो । 

त्यो सबै नियालिरहेका एक जना किसानले यूएसएआईडीका कर्मचारीलाई गाउँमा भएको एक जना झाँक्रीले गोरुसँग संवाद गर्न सक्ने बताए । त्यसपछि झाँक्री बोलाइयो । अँध्यारो हुन थालेपछि ती विदेशीले झाँक्रीलाई गोरुको अन्तरमनको कुरा बुझ्न आग्रह गरे । झाँक्री गोरुको नजिकै पुगे । केही कुरा गरेजस्तो गरेर फर्के ।

त्यसपछि झाँक्रीलाई सोधियो, ‘के भन्यो त गोरुले ? किन यस्तो अनिच्छा ?’

झाँक्रीले भने, ‘सर गोरुले त आफू कन्सल्ट्यान्ट मात्रै भएकाले सल्लाह मात्रै दिन सक्ने पो भन्यो ।’ 

त्यसपछि ती प्रतिनिधि अँध्यारो मुख लगाएर सहरको आफ्नो काममा फर्के ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

 @GyawaliNaresh 

लेखकबाट थप
रोहित बास्तोला
रोहित बास्तोला
लेखकबाट थप