सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : अमेरिकी प्रभाव

म तिमीविरुद्ध एक्लै भए पनि प्रतिरोधको झण्डा उठाउँछु !

सोमबार, २८ माघ २०८१, ०९ : ३७
सोमबार, २८ माघ २०८१

ट्रम्प महोदय ! 

मलाई साँच्चै संयुक्त राज्य अमेरिका आउन मन लाग्दैन । पट्यारलाग्दो लाग्छ । तथापि, त्यहाँ केही राम्रा कुरा पनि छन् । मलाई वाशिङ्गटन वरपरका काला जातिका मानिसको बस्तीमा पुग्न मन लाग्छ । जहाँ मैले कुनै बेला ल्याटिन अमेरिकी र काला जातिका मानिस एकापसमा जुधिरहेको देखेको थिएँ । त्यो दृश्य मलाई साह्रै बाहियात लागेको थियो । आपसी एकता कायम गर्नुपर्नेहरू आफू–आफूमै भिडिरहेका थिए ।

मैले नढाँटी भन्नुपर्दा मलाई मान्छेको हृदयको गीत लेख्ने वाल्ट ह्विटम्यान मन पर्छन् । आममान्छेका भावना गाउने पाउल सिमोन मन पर्छन् । नोम चोम्स्की र लेखक मिलर मन पर्छन् ।

हो, मलाई आप्रवासी भएकै कारण निराधार आरोप लगाएर मारिएका निकोला साक्को र बार्तोलोमियो आफ्नै मान्छे जस्ता लाग्छन् । मेरा शरीरमा उनीहरूको रगत बगिरहेजस्तो लाग्छ । अमेरिका र मेरो देशमा पनि भएका फासिवादीहरूले तिनीहरूलाई विद्युतीय कुर्सीमा राखेर निर्ममतापूर्वक मारेका थिए । म तिनीहरूले देखाएको बाटो हिँड्ने प्रयास गर्छु । 

ट्रम्प महोदय ! मलाई तिम्रो चाप्लुसी मन पर्दैन । जसको लोभले समस्त मानव जाति नै समाप्त पार्दैछ । कुनै दिन हातमा ह्विस्कीको गिलास बोकेर हामी यस्ता विषयमा खुलेर लामो बात मार्न सक्छौँ । ग्यास्ट्रिकको समस्याबाबजुद म ह्विस्किसहितको यस्तो गफ गर्न तयार छु । तर, अप्ठेरो के छ भने तिमी त मलाई निम्न जाति ठान्छौ । हामी त्यस्ता हुँदै होइनौँ । न म निम्न जातिको हुँ न सारा कोलम्बियालीहरू नै । 

म त सोझै भन्छु । तिमीले चिनेका मान्छेहरूको भीडमा म सबैभन्दा जिद्दी मान्छे हुँ । तिमी आफ्नो दौलत र अहंकारको दममा मलाई चिलीका साल्भाडोर एलेन्डेलाई जस्तै हटाउने प्रयास गर्न सक्छौ । म त आफ्नो सिद्धान्तका लागि मर्न पनि डराउँदिनँ । मैले धेरै चरम यातना सहेको छु । तिमीलाई झेल्न मलाई गाह्रो छैन । अब हामी कोलम्बियामा कोही दास भएको हेर्न चाहदैनौँ । 

हामीले आफूलाई मुक्त बनाइसकेका छौँ । हामीलाई त कोलम्बियामा स्वतन्त्रताप्रेमीहरू चाहिएको छ । तिमी मसँग उभिन तयार छैनौ भने मलाई पनि तिमिसँग उभिनु छैन । कोलम्बिया त संसारको मुटु हो । तिमीले यसलाई चिन्न सकेनौ । यो पहेँला पुतलीको देश हो । ग्याब्रियल गार्सिया मार्खेजको कृति ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ का पात्र रेमेडियोस तथा कर्णेल औरेलियानो ब्युयन्डियाको भूमि हो । म पनि तिनिहरूजस्तै हुँ ।

तिमीले चिनेका मान्छेहरूको भीडमा म सबैभन्दा जिद्दी हुँ । तिमी आफ्नो दौलत र अहंकारको दममा मलाई चिलीका साल्भाडोर एलेन्डेलाई जस्तै हटाउने प्रयास गर्न सक्छौ । तर म आफ्नो सिद्धान्तका लागि मर्न पनि डराउँदिनँ ।

तिमी मलाई मार्छौ होला, तर म त मेरा जनताको हृदयमा ज्युँदै रहनेछु । तिम्रो नाकै अगाडि ल्याटिन अमेरिकाभरि बाँचिरहन्छु । हामी त तुफान, पहाड र क्यारेबियन सागरका मान्छे हौँ । स्वतन्त्रताका मान्छे हौँ ।

तिमीलाई त हाम्रो स्वतन्त्रता मन पर्दैन । ठीक छ त ! मलाई पनि दासता पक्षधर गोराहरूसँग हात मिलाउनु छैन । हात नै मिलाउनुपरे म अब्राहम लिंकनका उत्तराधिकारी गोरा स्वतन्त्रतावादीसँग मिलाउँछु । इटालीको टस्कनीका पहाडहरू हिँडेर र कोभिडबाट बाँचेर पुगेको बेला मैले युद्धभूमिमा संयुक्त राज्य अमेरिकाका काला तथा गोरा किसान युवाहरूको चिहानमा रुँदै प्रार्थना गरेको थिएँ । मलाई त्यस्ता मानिससँग हात मिलाउनु छ । मेरा लागि अमेरिका भनेका तिनीहरू हुन् । म तिनीहरूका अघिल्तिर घुँडा टेकेर झुक्छु । अरूको अगाडि हैन । सक्छौ भने मलाई राष्ट्रपतिबाट गलहत्याऊ । त्यसो गर्‍यौ भने अमेरिका र सिंगै मानवताले प्रतिवाद गर्नेछ ।

अब कोलम्बियाले तिमीहरूतिर हेर्न छोडिसक्यो । अब यसले संसारतिर हेर्छ । हाम्रो रगतमा इतिहासका शानदार अध्याय छन् । हामी स्पेनको कोर्दोआ खलिफतका सन्तान हौँ । एथेन्समा गणतन्त्र र लोकतन्त्रको सुरुवात गर्ने मानिसका सन्तान हौँ । भूमध्यसागर वरपर सभ्यता फैलाउनेका सन्तान हौँ । हाम्रो रगतमा तिमिहरूले दास बनाएका काला मानिसको प्रतिरोध छ । कोलम्बिया त संयुक्त राज्य अमेरिकाभन्दा पहिले स्वतन्त्र भएको मुलुक हो । हामी तिमीहरूभन्दा पहिले मुक्त भएका हौँ । यसैले मलाई त्यसका अफ्रिकी गीतहरू मन पर्छ ।

अरे ओ आप्रवासी राष्ट्रपती ! म डराउँदिन । म तिमीविरुद्ध एक्लै भए पनि प्रतिरोधको झण्डा उठाउँछु । र त्यो झण्डा त्यसबेलासम्म उठाउँछु, जबसम्म ल्याटिन अमेरिकाको आत्मसम्मान फिर्ता हुँदैन । 

हाम्रो भूमि त प्राचीन इजिप्टका फारोहहरूको काम गरेका सुनारको पनि हो । किरिबिक्वेटेका अद्भूत कला सिर्जना गर्ने प्रथम कलाकारको भूमि हो । तिमीले कहिल्यै हामीमाथि शासन गर्न सक्ने छैनौ । यहाँ तिमीलाई असाध्यै मन नपर्ने मान्छे छन् । यहाँ स्वन्त्रताको हुंकार गरिरहेका सिमोन बोलिभारहरू छन् ।

हाम्रा केही सोझासाझा मानिसहरू आत्तिएका छन् । तर, उनीहरूलाई एक दिन हामीबाट हिंसात्मक रूपमा जबर्जस्ती खोसिएको पनामा नहर कसरी जित्ने भन्ने थाहा हुनेछ । कुनै समय पनामा कोलम्बियाकै हिस्सा थियो, त्यसलाई खोस्ने क्रममा तिमीहरूले दुई सय ल्याटिन अमेरिकी योद्धालाई मारेर गाडेको हामीले बिर्सेका छैनौँ ।

म डराउँदिनँ । म तिमीविरुद्ध एक्लै भए पनि प्रतिरोधको झण्डा उठाउँछु । म त्यो झण्डा त्यसबेलासम्म उठाउँछु, जबसम्म ल्याटिन अमेरिकाको वा सिंगै अमेरिकाको आत्मसम्मान फिर्ता हुँदैन । अरे ओ आप्रवासी राष्ट्रपति ! तिम्रो बाजेले त यस्तो कुरा बुझ्दैनन् होला तर मेरा बाजेले राम्रोसँग बुझेका छन् । हो, हाम्रो आत्मसमान प्राप्त नहुञ्जेल उठाइरहन्छु, प्रतिरोधको झण्डा । 

तिम्रो नाकाबन्दीले म डराएको छैन । कोलम्बिया सुन्दर र संसारको मुटु पनि हो । तिमीलाई पनि मजस्तै सुन्दरता मन पर्छ भन्ने मलाई थाहा छ । यसमा मेरो सम्मान नै छ । हेर्दै जाऊ ! अब यसले तिमीलाई आफ्नो मिठास पनि दिनेछ ।

सक्छौ भने मलाई राष्ट्रपतिबाट गलहत्याऊ, हत्या गर, तर म जनताको हृदयमा ज्युँदै रहनेछु

आजकै दिनदेखि कोलम्बिया पूरा संसारका लागि खुला छ । हामी स्वतन्त्रता, जीवन र मानवताप्रेमीहरू खुला हृदयलाई स्वागत गर्छौँ । हाम्रा किसानले दुःख गरेर फलाएका फलफूल तिम्रो देशमा बेच्न तिमीले ५० प्रतिशत भन्सार लगाएको थाहा पाएँ । अब हामी पनि तिम्रा उत्पादनमा ठीक त्यसै गर्छौँ । 

हेर्दै जाऊ, हामी हाम्रै भूमिमा भेटिएको मकै रोप्नेछौँ र सारा संसारलाई खुवाउँनेछौँ ।

(दस्तावेजबिना अमेरिकामा बसोबास गरिरहेका कोलम्बियाली नागरिकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा देश निकाला गर्ने भएपछि पक्राउ परेका कोलम्बियाली नागरिकलाई अमेरिकी सेनाको जहाजमा हतकडी लगाएर कोलम्बिया पुर्‍याउन थालिएको थियो । ट्रम्पको उक्त कदम थाहा पाएपछि कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी राष्ट्रपतिको आलोचनामा यो भाषण दिएका थिए । पछि कोलम्बियाले आफ्नै जहाजबाट आफ्ना नागरिकलाई देश फिर्ता ल्याएको थियो ।)

न्युजविकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गुस्ताभो पेट्रो
गुस्ताभो पेट्रो
लेखकबाट थप