कर्णाली प्रदेशबाट चार अर्बभन्दा बढीको कृषि तथा पशुजन्य उपज निकासी
सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब बढीको खाद्यान्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यान्न, फलफूल तथा खसी बोका निकासी भएको थियो । विशेष गरी कर्णालीबाट खाद्यान्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलु लगायतका वस्तु निकासी हुने गरेको छ ।
यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौँ, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । उनका अनुसार कृषि उपज निकासीबाट कर्णालीमा बर्सेनि करिब रु दुई अर्ब रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्र्याएको थियो । भने गत आर्थिक वर्षमा करिब दुई अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको उनले बताए ।
यसैगरी, पशुपक्षीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले रु दुई अर्ब ३० करोड रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपक्षी अन्तर्गत खसीबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपक्षी निर्देशनालयले जनाएको छ ।
वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्याङ्क छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज निकासी हुने गरेको छ ।
- दूधमा अनुदान दिएपछि उत्पादनमा वृद्धि
कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई दूधमा अनुदान दिँदै आएको छ । माथिल्लो कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले उत्पादन गर्ने दूधको लागि लिटरमा १० रुपैयाँ र तल्लो कर्णालीका सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोटका किसानले उत्पादन गर्ने दूधमा लिटरमा ५ रुपैयाँ अनुदान दिँदै आएको छ । जसले गर्दा किसान पशुपालन व्यवसाय आकर्षित हुन थालेका हुन भने दूधको उत्पादनमा समेत वृद्धि भएको छ ।
अहिले कर्णालीमा खपत भएर पनि वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दूध निकासी हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता कठायत भन्छन्, ‘विगतमा माथिल्लो कर्णालीमा पाउडर दूधको प्रयोग हुने गरेको थियो । जब प्रदेश सरकारले दूधमा अनुदान दिन थाल्यो अहिले दूध उत्पादनमा वृद्धि भएको छ, अब प्रदेश करिब दूधमा आत्मनिर्भर हुँदै गएको छ ।’
प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याएको भन्दै व्यवसाय गर्ने किसानका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको कठायतले जानकारी दिए । प्रदेश सरकारले व्यवसाय गर्ने किसानको लागि ब्याज अनुदानदेखि उत्कृष्ट किसान पहिचान गरी पुरस्कृत गर्ने गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा