दोस्रो वीरगन्ज गोल्डकप फागुन १७ गते देखि
![दोस्रो वीरगन्ज गोल्डकप फागुन १७ गते देखि](https://npcdn.ratopati.com/media/news/401092225_260527833682119_7848537362621307541_n_cNokTeRNkC.jpg)
वीरगन्ज । मधेस प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगन्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् ।
फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटी क्लब वीरगन्जका अध्यक्ष सबिन बस्नेतले मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
‘विगतमा वीरगन्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगन्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेस प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौँ ।’
प्रतियोगितामा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड,काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् । क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको विजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी,मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए ।
‘प्रतियोगिता सञ्चालनको लागि आर्दशनगर रंगशालाको मैदान मर्मतसम्भारको कार्य अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने,‘दुई महिनादेखि रंगशालाको मैदान मर्मतसम्भारको कार्यलाई तीव्रता दिइएको छ ।’ प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तीव्रता दिइएको छ । उनले भने, ‘अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।’ प्रतियोगिता संयोजक श्रीवास्तवले विगतमा वीरगन्जमा चर्चित फुटबलका गतिविधि हुने गरेपनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुर्मुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।
प्रथम वीरगन्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगन्ज गोल्डकपको बिजेताको रूपमा नेपाल पुलिस क्लब र उपविजेताको रूपमा नेपाल आर्मी क्लब भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म