सुदूरपश्चिमका सांसदलाई नयाँ ल्यापटप दिने तयारी
![सुदूरपश्चिमका सांसदलाई नयाँ ल्यापटप दिने तयारी](https://npcdn.ratopati.com/media/news/laptop_szcWvmAFjO.jpg)
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई नयाँ ल्यापटप दिने तयारी थालिएको छ । प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको हो ।
सचिवालयले सांसदहरूका लागि अघिल्लो कार्यकालमा खरिद गरेको ल्यापटप काम नलाग्ने भन्दै गोदाममै थन्क्याएर नयाँ ल्यापटप खरिद गर्न लागेको हो ।
‘आर्थिक मामिला मन्त्रालयले नै बजेट विनियोजन गरिसकेको छ । हाल खरिदका लागि टेण्डर आह्वान गरिसकेका छौँ’, प्रदेश सभा सचिव देवबहादुर बोगटीले भने, ‘पुराना ल्यापटप कामै नलाग्ने भइसकेकाले पनि नयाँ खरिद गर्न लागेका हौँ ।’
५३ जना प्रदेश सभा सदस्यमध्ये १० मन्त्री र पदाधिकारी भइसकेकाले बाँकी ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागेको सचिवालयले जनाएको छ । जसका लागि ४७ लाख रुपैयाँ लाग्ने बताइएको छ । प्रति ल्यापटपमा एक लाख रुपैयाँभन्दा बढी खर्च गर्न लागिएको हो ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेश सभा सचिवालयले २७ लाख खर्च गरेर सांसदका लागि ल्यापटप खरिद गरेको थियो । कार्यकाल सकेर सांसदले फिर्ता बुझाएका ती ल्यापटपलाई अहिले ‘कवाडी’ भन्दै थन्क्याएर नयाँ खरिद गर्न लागिएको हो ।
- के भन्छन् सांसद ?
नयाँ ल्यापटप खरिद प्रक्रिया थालेपछि सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । राप्रपाकी सांसद खिमा देवी विष्टले पुराना ल्यापटप कमसल खालका रहेको बताइन् ।
‘मेरो दलको कार्यालयमा कम्प्युटर नभएपछि मैले त्यही पुरानो ल्यापटप प्रयोग गरौँ न भनेर मागेको थिएँ । पछि त्यो ल्यापटप खुल्दै नखुल्ने । निकै ढिलो खुल्ने । ब्याट्री पनि चाँडै सकिने भएपछि मैले फिर्ता गरिदिएँ,’ उनले भनिन् ।
त्यति बेला कमसल सामान खरिद गरियो भन्ने आफूलाई लागेको उनले बताइन् । यद्यपि उनले सांसदलाई ल्यापटप दिनु ठिक नहुने बताइन् । उनले भनिन्, ‘यत्रो तलब खानेले सानो ल्यापटप खरिद गर्न नसक्नु भन्ने हो ? आफूलाई पनि समय अनुसार प्राविधिक ज्ञानमा अपडेट गराइराख्नुपर्ने नि, जनताको सेवक भइसकेपछि । यो ल्यापटप खरिद गर्नु सरासर राज्यको स्रोतको अनुचित दोहन हो ।’
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले ल्यापटप खरिदका लागि बजेट विनियोजन भइसकेकाले खरिद गर्नुपर्ने बताए । अघिल्लो पटक खरिद गर्दा कमसल ल्यापटप खरिद गरेको बताउँदै आफूले फिर्ता गरिदिएको प्रतिक्रिया दिए ।
त्यस्तै, नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष कुमारी शर्माले प्रदेश सरकारले खरिद प्रक्रिया अगाडि बढाइसकेकाले धेरै बोल्नु उचित नभएको उल्लेख गरिन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपनेता अक्कल रावलले प्रदेश सरकारले ठुला एजेण्डा ओझेलमा पार्दै सांसदलाई ल्यापटपको नाममा ललिपप देखाइरहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली