१० खेलाडीमा सीमित बार्साको शानदार जित, रियलसँग दुरी घटायो

काठमाडौँ । १० खेलाडीमा सीमित बार्सिलोनाले सेभियालाई हराउँदै शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी २ अंकमा झारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना ४–१ गोलले विजयी बन्यो ।
खेलको सातौँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सालाई अग्रता दिलाएका थिए । सिजनमा उनको यो १९ औँ गोल थियो । तर, एक मिनेटपछि नै रुबेन भारगासले सेभियाका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै फर्मिन लोपेजले बार्सालाई पुनः अग्रता दिलाए । ५५ औँ मिनेटमा राफिन्हाले टोलीको अग्रता दोब्बर बनाए ।
६२ औँ मिनेटमा लोपेज रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि बार्सा १० खेलाडीमा सीमित बन्यो । यसका बाबजुद ८९ औँ मिनेटमा एरिक गार्सियाले अर्को गोल थप्दै बार्सिलोनालाई शानदार जित दिलाए ।
२३ खेलबाट बार्सिलोनाले ४८ अङ्क बटुलेको छ । शीर्ष स्थानमा रहेको रियलको ५० अङ्क छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले ४९ अङ्क बटुलेको छ ।