मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

श्रेणीविहीन कर्मचारीहरूको जागिरको सुनिश्चितता गरिनुपर्छ : साह

आइतबार, २७ माघ २०८१, १८ : ००
आइतबार, २७ माघ २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरूको जागिर सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्ने सरकारसँग माग गरेका छन् । लोक सेवा आयोगले उनीहरूलाई स्थायी पदपूर्ति गरेर रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग उनले गरेका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले नेता र हाकिम कर्मचारीको चाकडी गरेर श्रेणीविहीन कर्मचारीले काम गरेर कहिलेसम्म बाच्न पर्ने भन्दै स्थायी गरेरै उनीहरूको रोजगारीको सुनिश्चितता गर्नुपर्ने सुझाव दिए । 

‘सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षा गार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरूको जीवन एकदमै कष्टकर भइरहेको छ । जागिर नै पूरै असुरक्षित छ, जागिर कन्टिन्यूको लागि शासक र नेताहरूलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ,’ साहले भने, ‘म यो सरकारलाई सोध्न चाहन्छु कि ती पोस्टहरूमा स्थायी भ्याकेन्सी गरेर पदपूर्तिको काम के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जति पनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भइरहेको छ, के ती श्रेणीविहीन पोस्टहरू सरकारी निकायबाट हटाइएको हो ? ती पोस्टहरूको जरुरी छैन ? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन ? के चालकहरू नेपाली नागरिक होइनन् ? के गरिबहरू नेपाली नागरिक होइनन् ?’

तल्लो तहमा काम गर्ने कर्मचारीहरूले राज्यमा कुनै एप्रोच नपाउने र जहिल्यै पनि उनीहरूले चाकडी मात्रै गर्नुपर्ने हो र ? भन्दै साहले प्रश्न उठाए । तल्लो तहका मान्छेले जहिल्यै पनि अरुकै निगाहमा जीवन बाँच्नुपर्ने हो ? र यस्तै अवस्थाको लागि नेपाली नागरिकले लडेर गणतन्त्र ल्याएको हो ? भन्दै साहले प्रश्न गरे ।

उनले निजामती ऐनमार्फत अहिले नारकीय जीवनयापन गर्न बाध्य भएका तल्लो तह र श्रेणीविहीन कर्मचारीको भावना र माग सम्बोधन होस भन्ने माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?