सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

प्रदेश आमसञ्चार विधेयक पेस

आइतबार, २७ माघ २०८१, २० : ३०
आइतबार, २७ माघ २०८१

मोरङ । कोशी प्रदेशसभाको आजको बैठकमा  ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ । सो विधेयक प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो । उनले विधेयक प्रस्तुत गर्दै पत्रकारको क्षमता वृद्धि तथा श्रमजीवी पत्रकारको सेवासुविधा सम्बन्धमा विधेयकमा उल्लेख गरिएको बताए। 

मन्त्री भण्डारीले विधेयकमा पत्रकार दुर्घटना बीमा, बिरामी बिमा उपचार खर्च तथा पत्रकार कल्याण कोष जस्ता  व्यवस्था विधेयकमा राखिएको जानकारी दिए ।

यसैगरी, प्रदेशमा सञ्चालित टेलिभिजन, एफएम, पत्रपत्रिका, अनलाइनको दर्ता, अभिलेखीकरण र विज्ञापनको समान वितरण जस्तो व्यवस्था विधेयकमा रहेको उनले बताए ।

यसैगरी, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले  ‘प्रदेश भवन ऐन,२०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबल गरे । उनले विधेयक प्रस्तुत गर्दै विधेयकमा भवन निर्माणको ‘डिजाइन’को योग्यता छुट्टयाएकाले भवन भत्किन गएमा सहज रूपमा क्षतिपूर्ति उपलब्ध हुने बताए ।

‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि भएको छलफललाई निरन्तरता दिइएको छ । छलफलमा प्रदेशसभा सदस्यहरू इस्राइल मन्सुरी, प्रदीपकुमार सुनुवार, छविलाल चुडाल, राधाकृष्ण खनाल र नानीमैयाँ श्रेष्ठले हरेक नागरिकले स्वच्छ खानेपानी तथा विपन्नले निःशुल्क खानेपानी पाउनुपर्ने विषय उठाएका थिए। 

यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरू गणेश उप्रेती, रमेशकुमार बस्नेत, गीतादेवी रेग्मी, मालतीकुमारी लिम्बू, गोम्बु शेर्पा, गोविन्द गिरी, शोभा चेम्जोङ र गोपाल तामाङले भारतीय पर्यटकलाई सहज आवागमनको व्यवस्था गर्नुपर्ने तथा मुलुकलाई कृषिमा आत्मनिर्भर गर्न तीनै तहका  सरकारले आवश्यक नीति ल्याउनुपर्ने सुझाव दिए । प्रदेशसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप