मौसम परिवर्तनसँगै बिरामी बढ्दो, जोगिने कसरी ?
![मौसम परिवर्तनसँगै बिरामी बढ्दो, जोगिने कसरी ?](https://npcdn.ratopati.com/media/news/viral-fever_qZv5Qk4CNF.jpg)
काठमाडौँ । जाडो सकिएर गर्मीको मौसम सुरु हुँदैछ । यस्तो मौसममा सामान्यतया रुघाखोकी, घाँटी खसखसाउनेदेखि श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने गर्छन् । यसका साथै ज्वरो आउने, फ्लु हुने समस्या पनि देखिन्छ ।
अहिले मौसम परिवर्तनका कारण अस्पतालमा आउने बिरामीको संख्या बढ्न थालेको छ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा महिना दिन पहिला दैनिक ५ देखि ६ सय जना बिरामी आउने गरेकोमा हाल सरदर ९ सय जना आउने गरेका छन् । मौसम परिवर्तनका कारण देखिने स्वास्थ्य समस्याका बिरामी बढेको अस्पतालका निर्देशक डा. युवानिधी बसौला बताउँछन् ।
‘महिनादिन अगाडि दैनिक ५ देखि ६ सय जना बिरामी ओपीडीमा आउने गरेका थिए,’ उनले भने, ‘आजभोलि दैनिक ८ सयदेखि ९ सय जनाको हाराहारीमा आउने गरेका छन् । यस्ता बिरामी बढीजसो रुघाखोकी, स्याँ–स्याँ हुनेजस्ता समस्या लिएर आउने गरेका छन् ।’
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका इन्टर्न तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीका अध्यक्ष डा. पुष्पराज भामले अस्पतालमा सामान्य अवस्थाको तुलनामा अहिले बिरामीको चाप बढेको बताए ।
‘एउटा त, मौसम परिवर्तनले इमर्जेन्सीमा आउने बिरामीको भिड बढेको छ,’ उनले भने, ‘अर्को कारण भनेको हिउँदमा प्रायः पहाडबाट तराईमा झर्नेको संख्या बढ्छ र काठमाडौँमा घुमघामका लागि आउनेहरू पनि ओपीडीमा स्वास्थ्य परीक्षण गराउने भएकाले संख्या बढेको हो ।’
डा. भामका अनुसार इमर्जेन्सीमा आउने दमका बिरामी बढी छन् भने सामान्य परीक्षणका लागि ओपीडीमा आउने बिरामीको संख्या बढी छ ।
अस्पतालमा सामान्य अवस्थाभन्दा बिरामीको केही भिड बढेको तर यकिन तथ्याङ्क अझै आउन बाँकी रहेको वीर अस्पतालकी नर्स सविता दाहाल बताउँछिन् । ‘गत महिनाभन्दा बिरामीको भिड बढ्दै छ,’ उनले भनिन्, ‘तर हाल के कति बढेको छ भनेर यो महिनाको तथ्यांक साताभरमा आउँछ, त्यसपछि थाहा हुन्छ ।’
अहिले बिस्तारै जाडो घट्दै गर्मी सुरु हुन लाग्दै छ । बिहान बेलुका अलिकति जाडो हुने, दिउँसो गर्मी भइराख्ने र चर्को घाम लाग्ने भइरहेको छ । एकै दिन दुई विपरीत खालको मौसम हुने भएकाले पनि बिरामी बढेको चिकित्सकहरू बताउँछन् ।
मौसममा आएको परिवर्तनले शरीर अस्वस्थ हुने गरेको ग्रान्डी इन्टरनेसनल अस्पतालका कन्सल्टनेन्ट फिजिसियन डा. अमित गौली बताउँछन् । ‘शरीरलाई हाइड्रेड गर्नुपर्छ । दैनिक साढे दुई लिटरदेखि साढे तीन लिटर पानी पिउनुपर्छ,’ उनले भने, ‘जाडो हट्यो भन्दै मानिसहरूले न्यानो कपडा लगाउन छाड्छन् । खाइरहेको औषधि पनि पूरा मात्रा नखाने गर्छन् । यस्तो गर्नु भएन ।’
जाडो भइरहेको समयमा अलिकति गर्मी सुरु हुँदा शरीरलाई वातावरणसँग घुलमिल हुन समय लाग्छ । यस्तोमा रोगप्रतिरोध क्षमता कमजोर भएर रोग लाग्ने सम्भावना भएकाले सतर्कता अपनाउनुपर्ने डा. गौलीले बताए ।
‘जाडोमा अपनाउनु पर्ने रहनसहन, खानपिन पूर्ण रूपमा गर्मी नहुँदासम्म अपनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘यस्तो बेला शरीरलाई खानपिन तथा पानीको मात्रा परिपूर्ति गर्नुपर्ने हुन्छ ।’
श्वासप्रश्वासलाई राम्रो बनाउन भिटामिनयुक्त खाद्यवस्तु खान चिकित्सक सुझाव दिन्छन् । जसका लागि फलफूलहरू, साग खानुपर्ने उनीहरूको भनाइ छ । सूर्तीजन्य पदार्थ सेवन, मद्यपान तथा धूम्रपान नगर्न पनि चिकित्सक सुझाउँछन् ।
डा. गौलीका अनुसार दैनिक २० मिनेट वा साताको पाँच दिन व्यायाम गर्नुपर्छ । शरीरलाई न्यानो बनाइराख्नुपर्छ । जसका लागि शरीरका सबै अंग ढाक्ने पहिरन लगाउनुपर्ने हुन्छ । यी सबै विषयलाई ध्यान दिन सके मौसम प्रतिकूलताबाट जोगिन सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग
-
शंखरापुरको जङ्गलमा चितुवा मृत फेला
-
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
-
चिनियाँ एनिमेटेड फिल्म नयाँ रेकर्ड बनाउने बाटोमा
-
अर्धवार्षिक समीक्षा कमजोर भएपछि कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता
-
जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग