सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक: भूकम्पको पुनर्निर्माणमा ढिलाइदेखि डढेलोको रोकथामबारे सरकारको ध्यानाकर्षण

आइतबार, २७ माघ २०८१, १९ : १७
आइतबार, २७ माघ २०८१

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भूकम्पको पुनर्निर्माण कार्यमा ढिलाइदेखि सडक निर्माण र डढेलोका कारण हुने क्षति रोकथामको तयारीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भगवती चौधरीले विगतको सरकारले क्षेत्रगत रणनीतिक सडक र हुलाकी सडक निर्माणमा बजेट छुट्याए पनि ठेकेदारका कारण निर्माण ढिलाइ भइरहेको बताइन् ।

सांसद भानुभक्त जोशीले बझाङको ताङलाकोट नाका पुनः सञ्चालन नहुँदा धेरै काममा अवरोध भएको भन्दै उक्त नाका खोल्न सरकारको ध्यानाकर्षण गराए । सांसद भीमप्रसाद आर्चायले सुनसरीको दक्षिण भागको हुलाकी सडक निर्माण रोकिएको र उक्त सडकमा आएको प्राविधिक समस्या समाधान गरी बजेट छुट्याउन आग्रह गरे । सांसद मनबहादुर गुरुङले पृथ्वी राजमार्ग निर्माण धेरै ढिलाइ हुँदा जनताले सास्ती भोग्नु परेकाले तत्काल निर्माण कार्य अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेन्द्रकुमार रायले भारतको महाकुम्भ मेलाबाट फर्कने क्रममा विहारमा जीव दुर्घटनामा महोत्तरीका पाँच जनाको घटनास्थलमै मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे । सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा भरिएको पानी एक्कासी खोल्दा भएको क्षति र भौतिक संरचनाको तत्काल निर्माण गर्न सरकारसँग माग गरे ।

सांसद महेश बस्नेतले संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति ल्याइएको आप्रवासन नीतिले विश्वका धेरै नागरिकलाई आफ्नो देश फर्काइरहेको र त्यसमा एक हजार ५०० देखि तीन हजार नेपाली पनि प्रभावित हुने बुझिएकाले यसमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद माधव सापकोटाले गत असोज ११ र १२ गतेको वर्षाले अरनिको लोकमार्गलाई ठूलो क्षति पुर्‍याएको र पक्की पुल नहुँदा आवतजावतमा कठिनाइ भइरहेको भन्दै पुल निर्माणका लागि आग्रह गरे । सांसद मीना तामाङले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरिन् । सांसद मेनकाकुमारी पोखरेलले देशभरका गुठी पीडितको समस्या समाधान गर्न तत्काल गुठी ऐन ल्याउन आग्रह गरिन् ।

सांसद मैना कार्कीले जाजरकोटमा भूकम्प गएको १७  महिना बितिसक्दा पनि अस्थायी टहरा निर्माण गर्न दोस्रो किस्ताको रकम अझै नपाएकाप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद मङ्गलप्रसाद गुप्ताले महिला उद्यमीहरूले बैैङ्कहरूबाट सहज रूपमा कृषिकर्जा पाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद मोहन आचार्यले २०७२ सालको भूकम्पको करिब १० वर्ष पुग्न लागे पनि रसुवामा अझै अस्थायी टहरामै बस्नुपरेको र एक सय ५२ घरधुरीमध्ये ४३ घरले जग्गा प्राप्तिमा कठिनाइ भोगिरहेको बताए । सांसद रघुजी पन्तले देशभर आगलागीका घटना सदनलाई जानकारी गराउनुपर्ने र आगलागी नियन्त्रणका लागि सरकारको तयारीबारे गृहमन्त्रीले सदनलाई जानकारी दिन माग गरे ।

सांसद रेखा शर्माले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका नागरिकले प्रक्रियागत झन्झट भएको भन्दै नियमानुसारको रकम उपलब्ध गराउन सरकारको  ध्यानाकर्षण गराइन् । सांसद रामहरि खतिवडा, रणकुमारी बलमपाकी मगर, सांसद रणेन्द्र बराली, रमा कोइराला पौडेल, राजु थापा, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाई, रामकुमार राई, रामकृष्ण यादव, लक्ष्मी तिवारी, लालप्रसाद सावा लिम्बू, लेखनाथ दाहाल, भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ, जलवायु परिर्वतनको असर, सडक निर्माण आयोजनामा ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप