सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

गोपी सरसँग सहरी अर्थतन्त्र पढ्न पाउँदा...

आइतबार, २७ माघ २०८१, १८ : ५४
आइतबार, २७ माघ २०८१

‘अर्बान स्टडिज’मा भर्ना भएदेखि नै मलाई अर्बान इकोनोमिक्समा विशेष रुचि थियो । मैले कक्षा ९–१० र प्लस–टुमा अर्थशास्त्र पढेको थिइनँ । फिल्म मेकिङमा ब्याचलर्स गरेँ, त्यतिबेला पनि अर्थशास्त्र पढ्ने अवसर मिलेन । तसर्थ इकोनोमिक्स पढ्ने मेरो धोको बाँकी थियो ।

‘अर्बान स्टडिज’मा मास्टर्स गर्ने भएपछि ‘अर्बान इकोनोमिक्स’मा मेरो निकै चासो थियो । अन्ततः थर्ड सेमेस्टरमा अर्बान इकोनोमिक्स पनि पढ्ने समय आइहाल्यो । सेकेन्ड सेमेस्टरमा अर्बान फाइनान्सको त्यति रामो अनुभव नभएकाले धेरै साथीहरू इकोनोमिक्स नपढ्ने भन्नेजस्तो मुडमा थिए । तर अर्बान इकोनोमिक्समा मेरो जोड थियो । नत्र अप्सनल बनाएर पनि अर्बान इकोनोमिक्स नपढ्न सकिन्थ्यो ।

कसले पढाउँछ होला भन्नेमा मेरो निकै चासो थियो । डा. गोपी खनाल सरको नाम मैले डिपार्टमेन्टमा टाँसेको देखेँ । उहाँलाई चिनेको जस्तो पनि लागेन र उहाँको नाम कतै सुनेजस्तो पनि लागेन ।

डा. खनाल हाम्रो क्लासमा आउनुभयो । सुरुको दिनमा अरुमा जस्तै परिचयात्मक मात्रै भयो । उहाँ सुरुदेखि नै एउटा विज्ञ हो भन्ने मलाई परिरह्यो र त्यो सेमेस्टर सकुन्जेल परिरह्यो । कतिपय व्यक्ति नाममा बढ्ता होहल्ला गरिएको तर ज्ञानमा एभरेज हुने पनि हुन्छन् तर गोपी सर सधैँ नै एउटा विज्ञको रूपमा देखिनुभयो ।

गोपी सर नेपाल सरकारको रिटायर्ड उपसचिव हुनुहुँदो रहेछ । धेरै आयोग, समिति, कार्यदलमा बसेर काम गरेको अनुभवबाट हामी लाभान्वित भयौँ भन्ने लाग्छ । उहाँले हामीलाई सुरुदेखि नै ‘भेनसिम’ र ‘आर स्टुडियो’को जानकारी दिनुभयो, प्रयोग गरेर देखाउनुभयो, जसले गर्दा केही टेक्निकल नलेज भएका साथीलाई त्यो निकै फलदायी भयो । समग्र क्लासमा ह्युमन क्यापिटल र इकोनोमिक ग्रोथको रिलेसन, इकोनोमिक जिओग्राफी, सहरी ऋण,  विकास र वृद्धिको सम्बन्ध अनि असमानताजस्ता विषयमा गोपी सरले हामीलाई धेरै नै गहिरोमा पढाउनुभयो ।

इकोनोमिक्स इन् अर्बान प्लानिङमा मेरो विशेष रुचि थियो । यसमा हामीले सहरी अर्थतन्त्र निर्माणमा कर्मचारी प्रशासन, राजनीति, रणनीतिक योजना, स्वोट एनालाइसिस, स्पेसियल प्लानिङ, भूउपयोग आदिबारे पढ्यौँ । सँगै कर प्रणालीहरू, विभिन्न पञ्चवर्षीय योजनाहरू, स्थानीय तहको आम्दानी आदिबारे पनि पढ्यौँ । 301141374_5648949368460410_3238999467147254359_n

बिल्कुल नयाँ विषय भएकाले यसमा धेरै रिसोर्स मेटेरियल पनि उपलब्ध थिएनन्, झनै किताब हुने कुरै भएन । गोपी सरले नै पाठ्यक्रम अनुसार एकेडेमिक आर्टिकलहरू खोजेर ल्याएर दिनुहुन्थ्यो । क्लासको बिचमा उहाँले हामीलाई आफूले देखेको–बुझेको, सफल भएको कुनै बिजनेसबारे प्रस्तुति दिन भन्नुभएको थियो । त्यसमा मैले आफैँले गरेको पेन्सिल आर्ट बेच्ने सानो व्यवसायबारे प्रस्तुति दिएको थिएँ, जुन सुरुमा सफल र पछि असफल भएको थियो । 

अन्ततः सेमेस्टर पनि सकिन लाग्यो । एक सेमेस्टरको मात्र पढाइ भएर होला, मलाई भने सहरी अर्थतन्त्र बुझ्ने भोक अझै जागेको थियो । क्लासको अन्त्यतिर मात्रै हामी इकोनोमिक थ्यौरीमा छिर्‍यौँ । व्यक्तिगत रूपमा इकोनोमिक थ्यौरीहरू सुरुमै पढ्न पाएको भए हुन्थ्यो जस्तो लाग्यो मलाई । हामीले केही पञ्चवर्षीय योजना, विभिन्न आवधिक योजना लगायत नेपाल सरकारका नीति–नियमबारे पनि छलफल गर्‍यौँ । विभिन्न ठुला देशहरूको अर्थतन्त्रबारे पनि छलफल गर्‍यौँ, पढाइका दौरान केही नोबेल अर्थशास्त्रीका सिद्धान्तबारे पनि चर्चा गर्‍यौँ । लेबर मार्केट्स, पर्यटनले ल्याउने सकारात्मकता इत्यादिमा हामीले धेरै दिन खर्च गर्‍यौँ । कहिले सरका लागि, कहिले हाम्रा लागि सहजता वा असहजता अनुसार केही अनलाइन क्लास पनि गर्‍यौँ । 

गोपी सरसँगको अथाह ज्ञानबाट म निकै लाभान्वित भएँ । मलाई थप अर्बान इकोनिमिक्समै उच्च अध्ययन गर्ने भोक जागेको छ । मैले सरलाई यसकै लागि भए पनि धन्यवाद भन्छु । यसरी रमाइलो गरेर पढ्दा पढ्दै क्लास सकियो । सरले अन्त्यमा आफूले कस्तो पढाएँ, कस्तो गरेँ, भन्नेमा फिडब्याक लिनुभयो । २० विद्यार्थीले खुलेर निर्धक्क भएर आफूलाई लागेका कुरा गरे । अन्तिम असाइनमेन्ट स्वरूप बुक रिभ्यु गरेर पठाउन भन्नुभयो । मेरो व्यक्तिगत रुचि झन् बढ्यो । समग्रमा अर्थशास्त्रतर्फको भोक जगाएर हामीले अर्बान इकोनोमिक्सको क्लास पनि सक्यौँ । आदरणीय गोपी सरबाट फेरि फेरि अन्त पनि सिक्न पाइयोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण बिक
किरण बिक
लेखकबाट थप