सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
सम्बोधन

एमाले–माओवादीको हालत यो छ, कांग्रेसको भन्नै परेन

आइतबार, २७ माघ २०८१, १९ : ३०
आइतबार, २७ माघ २०८१

समाजको तथ्य र जिन्दगीको तथ्यलाई स्वीकार्दा हामी अहिले अप्ठ्यारोमा छौँ । हामीमात्रै होइन, कम्युनिस्ट आन्दोलन नै अप्ठ्यारोमा छ । किनभने संगठनको हिसाबले नेकपा एमाले अहिले पनि ठुलै पार्टी छ तर त्यसले कम्युनिस्ट आन्दोलनलाई कहीँ पनि लग्दैन ।

एमालेमा भर्चुअल्ली भोट गर्ने हो भने एमाले अध्यक्ष केपी शर्मा ओली अल्पमतमा छन् । यो कुरा तपाईं–हामी र समाज सबैले बुझेका छौँ । त्यही पार्टीबाट हामी आएका हौँ । कुराकानी र छलफल पनि सधैँ भइराख्छ । त्यसआधारमा भन्दा अब करिबकरिब ओलीजी त्यहाँ अल्पमतमा भए पनि त्यसले केही फरक पार्दैन । किनभने त्यो पार्टी नै यस्तो बनिसकेको छ कि केपी ओली बोल्नेछन्, त्यहाँ उठेर अरु कोही बोल्नेवाला छैनन् । किनभने यी सबै खलाँती हुन् । सबैको सास गइसकेको छ । यत्रो पार्टीको हालत त्यस्तो छ । 

एमालेको सिद्धान्त के हो ? ओली । त्यहाँ छलफल भएर सिद्धान्त बन्छ ? बन्दैन । ओलीजीलाई जे लाग्यो, त्यही सिद्धान्त बन्छ । विचार के हो भन्दा ओलीजी जहाँ उभिनुहुन्छ, त्यो नै विचार हुन्छ । राजनीति के हो ? ओलीलाई जे गर्दा फाइदा हुन्छ, त्यही राजनीति हुन्छ । संगठन के हो ? ओलीका चाकरबाहेक कोही पनि त्यहाँ रहन्नन्, त्यही हो संगठनात्मक सिद्धान्त । लेनिनवाद र मार्क्सवाद पनि त्यही हो ।     

अदालतले जरिबाना तिराएको अथवा सरकार वादी भएको मुद्दामा हारेको मान्छेले प्रधानमन्त्रीको पार्टीलाई एक अर्ब खर्च गरेर घर बनाइदिने भयो । ए ! यसो नगरौँ । यसो गर्दा त हाम्रो पार्टी नै बिक्री हुन्छ भनेबापत कारबाही हुन्छ । 

हिजो पञ्चायतकालमा चिया–चौतारो र भट्टीमा समेत पञ्चायत ठिक छैन भन्ने कुरा हुन्थे तर राजाका अगाडि कोही बोल्दैनथे । पञ्चायत तासको महलजस्तै हराएर गयो । यही अवस्था रह्यो भने र हामीले कुनै दिन नेपालको कम्युनिस्ट आन्दोलनको रुपान्तरण गरेनौँ, अझ प्रभावकारी पुनर्गठन गरेनौँ भने हिजो हामीले बनाएको नेकपा एमाले नामको ठुलो पार्टी तासको महल र भूकम्प आउँदा भत्किएको पुरानो घरजस्तै घत्र्याकघुत्रुक बस्नेवाला छ, सकिनेवाला छ । 

यदि प्रचण्डले भविष्यमा चितवनको टिकटका लागि मात्र पोलिटिक्स गरेका हुन् भने त्यो कम्युनिस्ट आन्दोलनमाथिकै ठुलो घात हुनेछ ।

माओवादी सिद्धान्तको हिसाबले चलेकै छैन । सिद्धान्तले चल्थ्यो भने तीनचोटी प्रधानमन्त्री भइसके प्रचण्ड । माओवादीले आफ्नो पार्टीको नाम पनि माओवादी राख्दैनथ्यो । यो यस्तो भयङ्कर अन्तरविरोध हो । सिद्धान्त राखेको छ– मार्क्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा । तीन चोटी प्रधानमन्त्री भइसके, चारचोटी हुनलाई कस्सिएको कस्सियै छन् । चारचोटी भयो, पाँच चोटी प्रधानमन्त्री हुन कस्सिन्छन्् । पाँच चोटी भयो भने देउवाजत्तिकै ६ पटक प्रधानमन्त्री हुन कस्सिन्छन् । भनेपछि यो पार्टी पनि सिद्धान्तले चलेको छैन । 

सम्बन्धहरू हेर्दा र गम्भीर भएर विश्लेषण गर्दा प्रचण्डले जसरी रवि लामिछानेको सवालमा आवाज उठाइरहेका छन्, धेरै कुरा बुझ्न सकिन्छ । रविमाथि सत्ताले बढी नगरोस्, कसैमाथि पनि नगरोस् तर, सहकारी पीडितहरूले न्याय पाउनुपर्छ कि पर्दैन ? यदि प्रचण्डले भविष्यमा चितवनको टिकटका लागि मात्र पोलिटिक्स गरेका हुन् भने त्यो कम्युनिस्ट आन्दोलनमाथिकै ठुलो घात हुनेछ । त्यो के हो ? किन हुँदैछ यो सबै ? 

हिजो समाजवादी मोर्चा पनि चाहिएको थिएन, आज समाजवादी मोर्चा चाहिएको छ । भोलि के हुन्छ, थाहा छ तपाईंहरू सबैलाई । यसका बाबजुद कम्युनिस्ट पार्टीका रूपमा गणतन्त्र ल्याउनका लागि एउटा ठुलो भूमिका खेलेको पार्टीका रूपमा, त्यसभित्रका क्रान्तिकारी कार्यकर्ताका रगत, पसिना, त्यसको इतिहासका रूपमा हामी कति सँगसँगै जानुपर्छ । त्यो अर्को कुरा भयो । हामीले प्रचण्डजीका चञ्चलतालाई हेरेरमात्रै सबै निर्णय गर्‍यौँ भने पनि राजनीतिमा कमजोरी हुनेछ । अर्थात् भरपर्दो शक्ति होइन है माओवादी, मैले भन्न खोजेको यही हो । 

समाजवादी मोर्चाको कुरामा मैले उदाहरण दिएर पनि भनेको थिएँ । २०७४ सालमा चुनावका बेलामा मेरो सानो दुर्घटना भयो । खुट्टाको लिगामेन्ट अलि बढ्ता तानियो । अनि मैले डाक्टरलाई सोधेँ । डाक्टरले माथिदेखि तलसम्म एउटा तेल लगाइदिए र ‘खबरदार ! तीन महिनासम्म यो नचलाउनु’ भने । त्यसपछि वैशाखी दिएर पठाइदिए । अनि काठमाडौँ आएँ । काठमाडौँ आएर एउटा अस्पतालमा जचाउँदा डाक्टरले यसो हेरे र भने, ‘ट्वैट तपाईंको खुट्टा त ड्यामेज भएछ ।’ 

समाजवादी मोर्चा वा माओवादीको भर परेर नेकपा एकीकृत समाजवादी पार्टी बनाइएला र नेपालको कम्युनिस्ट आन्दोलन रुपान्तरण र पुनर्गठन होला भनेर सोचियो भने गल्ती हुनेछ । 

एक हप्ता तपाईंको खुट्टा नचलाएपछि रिकभर गर्न तीन महिनासम्म फिजियोथेरापी गर्नुपर्छ, यो फाल्दिनुस् भनेर वैशाखी उनैले फाल्दिए । एउटा लौरो दिए । त्यसपछि म हिँड्न थालेँ । मैले तीन महिना नै नचलाएको भए कैयौँ वर्ष मेरो खुट्टा ...? 

अरु पार्टी र समाजवादी मोर्चाहरूको हामीले भरपर्ने गरी त्यस्तै वैशाखी टेक्यौँ भने हामी सकिन्छौँ तर फेरि समाजमा लौरो त टेक्नैपर्छ । सबैले टेक्ने पनि लौरो नै हो । प्रचण्डजीले टेक्ने पनि लौरो नै हो, हामीले टेक्ने पनि लौरो नै हो । प्रचण्डले लौरो टेक्ने हामीले वैशाखी टेक्ने गर्‍यौँ भने गल्ती हुनेछ । मोर्चा भनेको मिल्ने विषयहरूमा अगाडि जाने हो । मार्क्सवाद लेनिनवाद माओत्सेतुङ विचारधारा मिल्दैन । 

संघीयताका सवालमा हाम्रा तमाम प्रश्न छन् । नेपाल राष्ट्रकै व्याख्या गर्ने कुरामा पनि रिजर्भेसन छन्, विमतिहरू नै छन् । सैद्धान्तिक रूपमा ठुल्ठुलै विमति छन् । समानता पनि छन् । त्यो भनेको अहिलेको सत्ताका विरुद्ध हामी पनि छौँ, प्रचण्ड, महेन्द्रहरू पनि छन् । विपक्षी भएकाले रास्वपा समेत एकै ठाउँ उभिएर लड्न सक्छौँ । त्यसकारण समाजवादी मोर्चा वा माओवादीको भर परेर नेकपा एकीकृत समाजवादी पार्टी बनाइएला र नेपालको कम्युनिस्ट आन्दोलन रुपान्तरण र पुनर्गठन होला भनेर सोचियो भने गल्ती हुनेछ । 

०००

सरकारमा ओली रहुन्जेल केही हुँदैन भन्ने त उहाँहरूको सिद्धान्त नै हो । जनताको बहुदलीय जनवाद भनेको पनि त्यही हो । जहिलेसम्म ओलीजी बालुवाटारमा रहनुहुन्छ, केही हुँदैन । जहिले बालुवाटारबाट उत्रनुहुन्छ, खतरा सुरु हुन्छ उहाँका लागि । 

कांग्रेसका केही नयाँ पठ्ठा लागेका छन् तर भूकम्पले कतिजना मर्छन् भनेर विचार गरेर आउँदैन भन्ने अङ्ग्रेजीमा भनाइ नै छ । हामी त्यस्तै भूकम्पको नजिकनजिक छौँ । यसले गर्दा एमालेको हालत त्यो छ, माओवादीको त्यो छ, कांग्रेसको भन्नै परेन । 

किन यो सरकार बन्यो ? कसरी बन्यो ? ओलीजीले दिनदिनै राम्रो काम गर्नुभएको छ भनेर देउवाजी भन्ने गर्नुहुन्छ । यो किन भनेको भन्दा नेपाली कांग्रेसका कोही पनि भ्रष्ट नपक्रिने कुराको ग्यारेन्टी छ । बस ! यतिबाहेक अरु केही पनि छैन । यो कुरामा ओलीजीले ग्यारेन्टी गर्नुभएको छ । 

बरु सहकारीमा परेका रवि लामिछानेहरूलाई देखाउन दुईचार जना आफ्नैलाई गिरफ्तार गर्नुभएको छ । कांग्रेसचाहिँ ओलीजीले छुनुहुन्न । यस्तो इन्ट्रेस्टमा बसेका कांग्रेस र एमालेको सत्ता नालायकी आगामी दिनमा अरु धेरै कुरा प्रस्ट हुँदै जानेछ र हामी देख्दै जानेछौँ । त्यसैले यो चुनौती हो । 

आज राम्रो कुरा भएको छ– हामीसँग कुनै उत्तरदायित्व छैन । हामीले संविधानको रक्षाका निम्ती उत्तरदायित्व निभाउने भनेर गर्‍यौँ तर कांग्रेस पनि हामीलाई लुट्ने, माओवादी पनि हामीलाई नै लुट्ने र ठग्नेमा लागे ।

हरेक चुनौती र इतिहासका तमाम चुनौतीबाट क्रान्ति जन्मन्छ । क्रान्तिका बेलाको चीनको भूराजनीति हेर्न सकिन्छ । विश्वयुद्ध हेर्न सकिन्छ । क्रान्तिका बेलाको रुसको हालत हेर्न सकिन्छ । कस्तो हालत र कुन अस्थिरता थियो ! हो यस्तै बेलामा क्रान्ति जन्मन्छ । त्यो क्रान्तिका बेला म हुन्छु वा हुन्न ? म लड्न तयार रहँुला वा आत्मसमर्पण गरौँला, भागौँला ? तर यस्तै अप्ठ्याराबाट राष्ट्रले क्रान्ति जन्माउँछ । हामीकहाँ एउटा नयाँ रिफर्मेसन वा सुधारको अवस्था करिब–करिब तयार हुँदैछ । यसर्थ हामी नेकपा एकीकृत समाजवादीले यो बुझ्नु र समाउनुपर्नेछ । यसबिचमा समस्या थिए । 

ओलीलाई जसरी पनि रोक्नुपर्ने थियो, एक्लै रोक्न सकिँदैनथियो र कांग्रेसको साथ लिएर र अदालतमा मुद्दा हालेर पनि रोक्नुपर्ने थियो । त्यहाँबाट घोक्र्याएर । परमादेश भनेको कानुनी भाषामा घोक्र्याएको भनेको हो । तलाईं हामीले घोक्र्याउने आदेश दिएका छौँ भनेको हो परमादेश दिएको भनेको । त्यहाँबाट हामीले उनलाई घोक्र्याएर गल्ती गरेका होइनौँ तर कहिलेकाहीँ केही गरिँदैछ भने उत्तरदायित्व पनि थपिन्छ । हामीले जतिबेला गठबन्धन गर्‍यौँ, त्यसपछि हामीसँग गठबन्धनको उत्तरदायित्व थपियो । गठबन्धन सरकारमा दुई जना मन्त्री राखेपछि संघर्ष गर्ने अवसर नै पाएनौँ । त्यसको (गठबन्धन) विरोध गर्दा पनि मानिसहरूले पत्याएनन् । ओलीजीले गरेको संसद विघटनको विरोध गरुन्जेलको राप रहुञ्जेलसम्म ठिकै थियो तर विघटन पुरानो भइसकेपछि हामीले एमालेलाई दक्षिणपन्थी अवसरवादी भनेका छौँ, कांग्रेसको छत्रछायामा बसेका छौँ । त्यस्तो देखेपछि मानिसहरूले हामीले के भनेको भन्ने नै बुझेनन् र अलमलमा परे । यद्यपि त्यो उत्तरदायित्व संविधानको रक्षा गर्ने कदमबाटै सिर्जित भएर आएको थियो । 

आज राम्रो कुरा भएको छ– हामीसँग कुनै उत्तरदायित्व छैन । हामीले संविधानको रक्षाका निम्ती उत्तरदायित्व निभाउने भनेर गर्‍यौँ तर कांग्रेस पनि हामीलाई लुट्ने, माओवादी पनि हामीलाई नै लुट्ने र ठग्नेमा लागे । बाहिर आगो लाग्यो भनेर बाहिर निस्कियो, तर भित्र अरु कोही पसेर केके गर्‍यो भनेजस्तै भयो । हुन्छ यस्तो पनि । कि अर्काको आगो लाग्यो भने पनि निभाउन नै नजानुपर्‍यो । निभाउन गएपछि घरमा चोर पस्छ कि भन्ने सोच्नुभएन । पसे पसोस् भन्न सक्नुपर्छ । यस्ता उत्तरदायित्व थपिएर हामी अप्ठ्यारोमा थियौँ । अब राम्रै भएको छ, यसबाट मुक्त भएका छौँ । 

अब के गर्ने त ? 

मंसिर–पुसमा बसेको स्थायी कमिटी बैठकले एउटा दुरगामी निर्णय गरेको छ । पार्टी आन्दोलनले बन्छ भन्ने विषयमा विस्तृत छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौँ । किनभने संसारभरिका सबै राजनीतिक पार्टी जसले सामाजिक राजनीतिक रूपमा समाजलाई प्रभावित पार्छन्, ती सबै पार्टी संघर्ष गरेर आएका हुन् । चाहे ती अमेरिका, अष्ट्रेलिया, चीन, भारत, रसिया वा हाम्रै देशका पार्टी नै किन नहुन् ? यो बिचमा यो उत्तरदायित्वले गर्दा हामी संघर्षमा भएनौँँ । जहिलेसम्म संघर्षमा भयौँ, राम्रै गर्दैथियौँ । जहिले संघर्ष कमजोर भयो, तब पार्टी स्ट्याकनेस भयो । तटस्थतामा पार्टी, घटना र समाज रहँदैन । समस्या त्यहाँ हो । 

अहिले हामी त्यसबाट मुक्त भइसकेपछि अब संघर्षमा जानुपर्छ । संघर्षमा मेची–महाकालीमा केही माग उठाएका छौँ । एमाले र कांग्रेसको यो गठबन्धनले कुनै निकास दिँदैन । दलाल पुँजीवादको विरुद्धमा राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रम यसले ल्याउँछ ? नेकपाकै सरकार हुँदा त ल्याएन भने कांग्रेससँग बसेर दलाल पुँजीवादको कार्यक्रम ल्याउँछ भन्ने कुरा बेकारको हो । त्यसैले यो सत्ता जतिबेलासम्म बस्छ, अझै नालायकी गर्छ, चलखेल गर्छ । बरु सबैलाई ट्वीटमा लेख भन्छ, फेसबुकमा लेख भन्छ तर मुलुकको अवस्था सुधार्ने मामिलामा यो सत्ताले केही गर्नेवाला छैन । बरु यो सत्ता दमनकारी भएर जानेछ । किनभने यसका नालायकीले उत्पन्न सबै संकटमाथिको समाधान दमन गरेर गर्ने प्रयत्न गर्नेछ । सत्ताले जति दमन गर्नेछ, असन्तुष्टिहरू थप जाग्दै जानेछन् र पपुलिष्ट अराजकहरूको सडक हुनेछ । यहीँनेर हाम्रो काम छ । 

सबै नै भयौँ भने पनि यतिले नै क्रान्ति सम्पन्न हुँदैन । अझ अहिलेको लथालिङ्ग भएको अवस्थामा एकीकृत समाजवादीले माइतीघरमा नाटक गर्दैछन् भनेर हामीलाई उडाउनेछन् ।

रोजगारी कसरी सिर्जना हुन्छ ? कृषिमा के गर्‍यो भने हामीले कुन अवस्थामा लैजान्छौँ र कति रोजगारी सिर्जना हुन्छ ? कृषिबाट निस्केको अतिरिक्त रोजगारीलाई हामीले उद्योगमा कुन नीतिले दिन सक्छौँ ? शिक्षा, स्वास्थ्य, सुशासनमा के गर्नुपर्ने हो भन्ने मोटामोटी योजनाका साथ जनतामा हामी जानुपर्छ । यो काम एमाले, कांग्रेस र सडकका अराजकहरूले पनि गर्दैनन् । उनीहरू त उल्टै राउण्ड किक हान्नेवाला हुन् । उल्काहरू, लामपुच्छ्रेहरूले केही गर्दैनन् । राजनीतिमा यस्ता उल्काहरू आइरहन्छन् । यो बेलामा जिम्मेवारीपूर्वक आफ्ना माग र नारा लिएर सडकमा जानुपर्नेछ । जुन कुरा हामीले गएको स्थायी कमिटीबाट निर्णय गरेका छौँ, जसलाई विस्तृत योजनामा ढाल्न फागुन पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकले रुपान्तरण गर्नेछ । 

यस्तो योजना बनेपछि तपाईं–हामीमध्ये कति जना सडकमा हुनेछौँ । सबै नै भयौँ भने पनि यतिले नै क्रान्ति सम्पन्न हुँदैन । अझ अहिलेको लथालिङ्ग भएको अवस्थामा एकीकृत समाजवादीले माइतीघरमा नाटक गर्दैछन् भनेर हामीलाई उडाउनेछन् । समाजवादीका भोकानाङ्गा माइतीघरमा अनसन बसेका छन् रे ! यस्तै केही लेख्लान् । तर जिम्मेवारीपूर्वक आफ्ना कुरालाई निरन्तर भनिराख्दा एक महिना, दुई महिना, तीन महिनामा जनमतलाई फर्काउन सकिन्छ । जहिलेसम्म तिनीहरूको शंका रहिरहन्छ तबसम्म हामी जानेगरी र भनिरहनेगरी जनतामा पुग्नेगरी दृढ, प्रभावकारी र विश्वासका साथ २०/३० हजार मानिस सडक नछोड्नेगरी गयौँ भने सडकमा दुई खाले मानिस हुनेछन् । एउटा राउण्ड किकवाला र अर्को प्रस्ट एजेण्डावाला । त्यसपछिमात्र राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको एजेण्डा स्थापित हुनेछ । 

(नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रथम उपत्यका प्रदेश अधिवेशनमा शनिबार व्यक्त गरेको विचार)   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

घनश्याम भुसाल
घनश्याम भुसाल
लेखकबाट थप