सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

आम आदमी पार्टीको पराजयले नेपालका नयाँ शक्तिलाई कस्तो सन्देश दिन्छ ?

आइतबार, २७ माघ २०८१, १८ : ३०
आइतबार, २७ माघ २०८१

काठमाडौँ । सन् २०१५ मा भारतमा अरविन्द केजरीवालसँगै आम आदमी पार्टीको उदय भएपछि दक्षिण एसियामै निकै चर्चा भएको थियो ।

त्यसको प्रभाव नेपालसहित भारतका छिमेकी देशहरूमा पर्‍यो । अरविन्द केजरीवालकै आम आदमी पार्टीको शैलीमा नेपालमा विभिन्न नयाँ पार्टीको उदय भयो । तर, १० वर्षको अवधिमै आम आदमी पार्टीको साख गिरेको छ ।

अरविन्द केजरीवालको उदय हेरेर उत्साहित हुँदै नेपालको राजनीतिमा उदाएका नयाँ राजनीतिक शक्तिमा उनको पतनले पनि प्रत्यक्ष प्रभाव पार्ने त होइन भन्ने आशंका स्वाभाविक रूपमा उब्जिएको छ ।

सन् २०११ देखि २०१३ सम्म दिल्लीको सडकमा भ्रष्टाचारविरुद्ध नारा लगाएर एकाएक चम्किएका केजरीवालले २०१५ मा भएको भएको विधानसभा चुनावमा ७० मध्ये ६७ सिटमा आफ्नो पार्टीलाई जिताएर हलचल ल्याएका थिए । 

त्यसको राजनीतिक प्रभाव नेपालमा राम्रोसँग पर्‍यो । जतिबेला केजरीवालले भारतको दिल्ली कब्जा गरेका थिए, त्यतिबेला नेपालमा दोस्रो संविधान सभाबाट संविधान निर्माण गर्ने काम भइरहेको थियो । संविधान निर्माण भइरहँदा मधेसवादी दल लगायत आदिवासी जनजातिहरूका संगठन तथा दल आन्दोलनमा थिए । २०७२ असोज ३ गते संविधान जारी भयो ।  

भारतको दिल्लीमा आम आदमी पार्टीको उपस्थिति देखेर नेपालमा पनि त्यसको लहर सुरु भयो । भारतमा नयाँ दलले पुराना शक्तिलाई पराजित गर्न सक्दा नेपालमा त्यस्तो किन सम्भव छैन भन्दै विभिन्न दल खुले । 

जनताले पनि ती दललाई पत्याए । त्यसैको परिणामस्वरुप २०७९ को चुनावमा रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको विश्वास जित्यो । सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी, मिलन पाण्डे नेतृत्वको विवेकशील पार्टी, स्वतन्त्र मेयरको रूपमा बालेन शाह, हर्कराज राई, गोपाल हमाल जस्ताको उदय भयो । 

जसरी भारतमा आम आदमी पार्टीको उदयपछि त्यहाँको राजनीतिमा हलचल ल्याएको थियो, त्यसरी नै नेपालमा पनि नयाँ पार्टी तथा व्यक्तिको उदयले हलचल ल्यायो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएकै वर्ष देशको चौथो ठुलो शक्ति भएर उदायो । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको उदयले पनि नेपाली राजनीतिमा एउटा तरङ्ग ल्यायो । काठमाडौँमा बालेनप्रति युवाको लहर हेर्दा ठुला दलहरू पनि त्रसित भए । 

नयाँ शक्तिको लहरले पुराना दलहरू डराए । २०७९ को चुनाव सकिने बित्तिकै कांग्रेस, एमाले, माओवादी केन्द्रले ‘मिसन ०८४’ चलाए । २०८४ मा हुने चुनावमा नयाँ दलहरू झन् शक्तिशाली भएर आउने चर्चा चलेपछि पुराना दलहरू संगठित हुने थाले । विभिन्न अभियान चलाएर जनताको माझमा जान थाले । 

तर जसरी आम आदमी पार्टी भारतमा १० वर्ष टिक्यो, त्यसरी नेपालका नयाँ पार्टीहरू टिक्न सकेनन् । नयाँ दलहरूप्रति गरेको भरोसा पूरा नहुने देखेपछि जनता निराश छन् । अहिले ती दलहरू ओरालोतिर लाग्न थालेका छन् । स्थानीय तह उपनिर्वाचनले पनि केही हदसम्म त्यसलाई पुष्टि गरेको छ ।  

२०८४ को चुनावमा नयाँ राजनीतिक शक्तिहरूले सोचेजस्तो शक्ति आर्जन गर्न सक्दैनन् कि भन्ने अनुमान भइरहेको छ । यही बिचमा दिल्लीको विधानसभा चुनावमा आम आदमी पार्टीले भोगेको पराजयले नेपालका नयाँ शक्तिहरू पनि तर्सिएका छन् । 

राजनीतिक विश्लेषक झलक सुवेदी राजनीतिमा दल शक्तिमा आउने र जाने भइरहने उल्लेख गर्दै त्यसले नेपालको राजनीतिमा असर पार्लाजस्तो नलाग्ने बताउँछन् । ‘पुराना दलहरूका लागि एउटा मसलाचाहिँ दिल्लीको निर्वाचनले बनाइदिएको छ,’ उनले भने, ‘नयाँ दलको हालत देख्यौ ? तिमीहरू पनि त्यसैगरी सकिन्छौ भन्नका लागि मसला पाएका छन् तर त्यसले नेपालको राजनीतिमा खासै प्रभाव पार्दैन ।’

सन् २०१५ मा ७० सिटमध्ये ६७ स्थानमा जितेको, २०२० मा ६२ सिट जितेर दिल्ली सरकार सञ्चालन गरेको आम आदमी पार्टी २०२५ को विधानसभा निर्वाचनमा २२ सिटमा खुम्चिनु परेको छ । आम आदमी पार्टीको सिटमात्र तल झरेन, त्यो पार्टीका मुख्य नेता अरविन्द केजरीवालसहित अन्य शीर्ष नेताहरू पनि पराजित भए ।

भारतमा आम आदमी पार्टीको समाप्तिले गर्दा नेपालमा ठुला दलका नेताहरू उत्साहित छन् । नयाँ पार्टी जसरी आयो, त्यसरी नै जाने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

विश्लेषक सुवेदीले पुराना दलहरू उत्साहित हुनु स्वाभाविक भएको बताए । यद्यपि, दिल्लीमा आम आदमी पार्टीको पराजयको प्रभाव नेपालमा पर्छजस्तो आफूलाई नलागेको उनको भनाइ छ ।

भारतमा कांग्रेस पार्टी समाप्त हुँदैछ । कम्युनिस्ट पार्टी पनि समाप्त भए । शरद यादवको पार्टी समाप्त भयो । यस्ता थुप्रै पार्टी समाप्त भएजस्तै आम आदमी पार्टी पनि त्यही बाटोमा पुगेको अवस्था हो । 

नेपालका नयाँ पार्टीहरू यहीँको आन्तरिक कारणले समाप्त हुने सुवेदीको विश्लेषण छ । 

डा.बाबुराम भट्टराईको नयाँ शक्तिबाट अलग भएर आफ्नो छुट्टै स्वतन्त्र अभियान चलाइरहेका राजनीतिक अभियन्ता डम्बर खतिवडाले भारतमा आम आदमी पार्टीको पराजयले नेपालमा मनोवैज्ञानिक प्रभाव पार्ने बताए । 

उनले भने, ‘भारतमा आम आदमी पार्टीको पराजयले नेपालमा केही मनोवैज्ञानिक प्रभाव पारे पनि ठुलो प्रभाव पर्दैन, किनभने भारत र नेपालको राजनीतिक परिस्थिति नै फरक छ ।’ 

भारतमा भाजपाजस्तो बलियो दल रहेको तर नेपालमा त्यस्तो पार्टी नरहेको बताउँदै उनले नेपालमा अझै पनि पुराना पार्टीप्रति जनताको रिस कायमै रहेकाले नयाँ शक्तिको खोजी भइरहेको प्रस्ट पारे । 

अहिले देखिएका नयाँ पार्टीहरूको चिन्तन पनि पुरानै पार्टीको जस्तो देखिएका कारण २०८४ को चुनावमा त्यसले खास प्रभाव नपार्ने उनले बताए । अर्को नयाँ शक्ति आएन भने आगामी चुनावमा पनि पुराना शक्तिहरूको प्रभाव कायम रहने उनको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप