वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यस्ता छन् बाबुराम भट्टराईका आधार (पूर्णपाठसहित)
![वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यस्ता छन् बाबुराम भट्टराईका आधार (पूर्णपाठसहित)](https://npcdn.ratopati.com/media/news/nesapa-naya-shakti-(17)_XapdCZZExx.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का निवर्तमान अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक नयाँ शक्ति निर्माणका लागि वैचारिक र साङ्गठनिक आधारहरू प्रस्तुत गरेका छन् । आइतबारबाट प्रज्ञा भवन कमलादीमा सुरु भएको पार्टीको प्रथम अधिवेशनमा पेस गरेको प्रतिवेदनमा वैचारिक र साङ्गठनिक आधार पेस गरेका हुन् ।
समुन्नत समाजवादको वैचारिक– राजनीतिक मार्ग निर्देशन अन्तर्गत नेपाली समाज, राज्य र राजनीतिको सतहमा नदेखिएको तर सतहभित्र पुत्पुताइरहेको अर्को गम्भीर सङ्कट वैचारिक–राजनीतिक सङ्कट भएको विश्लेषण गरेका छन् । पुराना राजनीतिक दलहरूले अङ्गीकार गरिरहेको पुरानो विचारले नयाँ युगलाई नयाँ दिशा दिन नसकिरहेको र नयाँ उदीयमान दलहरूले स्पष्ट नयाँ वैचारिक – राजनीतिक दिशाबोधक साधन संश्लेषण गर्न नसकिरहेको सङ्क्रमणकालीन समय भएको प्रष्ट पारेका छन् ।
‘वैकल्पिक राजनीतिले यो युगीन अन्तरविरोधको समाधान दिनै पर्छ । त्यसैले हामीले ‘नयाँ शक्ति’ गठनको समयदेखि नै अहिलेको उत्तर–पुँजीवादी, उत्तर–साम्यवादी युगको विचारलाई ‘समुन्नत समाजवाद’ को रूपमा प्रस्तावित गरेका छौँ’, दस्ताबेजमा उनले उल्लेख गरेका छन् ।
यस्तै उनले राजनीतिक दलहरूको मूल वैचारिक–राजनीतिक प्रवृत्ति र चरित्रका आधारमा विश्लेषण गरेका छन् । भट्टराईले उदारवादी लोकतान्त्रिक धार, साम्यवादी धार, पुनरुत्थानवादी धार, जातीय÷क्षेत्रीय पहिचानवादी धार र नयाँ र वैकल्पिक शक्तिहरूको रूपमा व्याख्या गरेका छन् ।
(क) उदारवादी लोकतान्त्रिक धार
व्यक्तिको निजी स्वतन्त्रतालाई प्रधानता दिने र पुँजीवादी खुला बजार अर्थतन्त्रको पैरवी गर्ने उदारवादी लोकतान्त्रिक धारको मुख्य प्रतिनिधि नेपाली कांग्रेस हो । प्रजातान्त्रिक समाजवादको कुरा गरेर २००७ सालदेखिको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको र विभिन्न राजनीतिक प्रवृत्तिका व्यक्ति र समुदायहरू पनि जोडिँदै आएकाले यसको देशभर उल्लेख्य आधार छ ।
परन्तु यसले बि.पी. कोइरालाको समय यता वैचारिक, राजनीतिक, कार्यक्रमिक ढङ्गले खासै प्रगति र नयाँपन प्रदर्शन गर्न सकेको छैन । पटक पटक सत्ताको नेतृत्व गर्दा पनि देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा गुणात्मक रूपान्तरण गर्न सकेको छैन । बरु यसका नेताहरू सधैँ कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेका छन् । देशका गम्भीर प्रकृतिका अर्थ–राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार यो ऐतिहासिक रूपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असम्भव छ ।
(ख) साम्यवादी धार
एमाले, माके लगायत....नेपाल कम्युनिस्ट पार्टी’ का विभिन्न समूहहरूले प्रतिनिधित्व गर्ने साम्यवादी धारको प्रभाव देशभर उल्लेख्य रूपमा छ । पहिले निरङ्कुश पञ्चायती राजतन्त्र विरोधी आन्दोलन र पछि मुख्यतः दश वर्षे सशस्त्र जनयुद्ध र संयुक्त जनआन्दोलनमार्फत नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले यो धारको प्रभाव रहनु स्वाभाविक छ ।
परन्तु, पटक पटक सत्ताको नेतृत्व गरे पनि यो धारको नेतृत्वले देशका गम्भीर संरचनात्मक समस्या समाधान गर्न नसक्नु, भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, यिनका नेता र उच्च तहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदि कारणले आम जनताले कांग्रेस र कम्युनिस्टमा कुनै फरक महसुस गर्न सकिरहेका छैनन् ।
बलिदानी पूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन् तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्ति केन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माकेबीचमा कुनै तात्त्विक अन्तर छैन ।
साथै हिजोको एकदलीय कम्युनिस्ट सत्ता सबैतिर ढल्दै गएको, संसदीय कम्युनिस्टहरू सबै देशमा कमजोर बन्दै गएको स्थितिमा त्यसका वैचारिक–राजनीतिक–साङ्गठनिक–व्यवहारिक कारणहरूको वस्तुगत निराकरण नगरी पुरानै ढाँचामा कम्युनिस्ट पार्टीहरू नेपालमा मात्रै लामो समय टिक्ने अपेक्षा गर्न सकिन्न । तत्कालको ठोस सन्दर्भमा नेपालको मुख्य आवश्यकता रहेको तीव्र आर्थिक रूपान्तरण र नयाँ पुस्ताको अकासिएको आकाङ्क्षाको पूर्ति जुनसुकै ब्रान्डका कम्युनिस्टहरूबाट पनि पूरा हुनसक्ने देखिन्न ।
(ग) पुनरुत्थानवादी /सम्वर्द्धनवादी धार
धार्मिक राज्य र राजतन्त्रको वकालत गर्ने यो धारको मुख्य प्रतिनिधि राप्रपा हो । जुनसुकै समाज पनि अग्रगामी, यथास्थितिवादी र पश्चगामी सोच राख्ने मानिसहरूले बन्ने हुँदा इतिहासमा ढिलो गरी लोकतान्त्रीकरण भएको नेपालमा केही प्रतिशत पश्चगामी सोच राख्नेहरूको उपस्थिति हुनु स्वाभाविक कुरा हो । २१ औँ शताब्दीको चेतना बोकेका अत्यधिक नेपालीहरू जतिसुकै समस्या आइपरे पनि अँध्यारो युगतिर होइन उज्यालो युगतिर नै उन्मुख हुनेछन् भनेर हामीले विश्वास गर्नुपर्छ ।
(घ) जातीय/क्षेत्रीय पहिचानवादी धार
बहुजातीय बहुभाषिक र क्षेत्रीय विविधतायुक्त नेपालमा भर्खरै राज्यको सङ्घीय ढाँचामा पुनर्संरचना भएकाले विभिन्न नाउँमा जातीय/क्षेत्रीय पहिचानवादी पार्टीहरू जन्मने र बिलाउने भइरहेका छन् । खासगरी मधेसी, आदिवासी जनजाति र थारु बाहुल्य क्षेत्रहरूमा त्यो प्रवृत्ति देखिएको छ ।
नेपाल जस्तो अल्पविकसित र जटिल भूराजनीतिक अवस्था भएको देशमा जातीय÷क्षेत्रीय समस्यालाई समावेशी चरित्रको देशव्यापी राष्ट्रिय शक्तिले मात्र हल गर्न सक्छ । अतः कालान्तरमा जातीय÷क्षेत्रीय दलहरू एकाकार हुने वा बिलाउँदै जाने अनुमान गर्न सकिन्छ ।
(ब) नयाँ/वैकल्पिक शक्तिहरू
नेपाली इतिहासमा पहिलो चोटि जननिर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि र २१ औँ शताब्दीसँगै चौथो औद्योगिक क्रान्तिको नयाँ युग सुरु भएपछि नयाँ युगको नयाँ कार्यभार पूरा गर्न विभिन्न ढङ्गले नयाँ/वैकल्पिक पार्टी र शक्तिहरूको उदय हुँदै गइरहेको छ । सर्वप्रथम २०७२ सालमा संविधान जारी भए पश्चात् ...नयाँ शक्ति अभियान’ सुरु भएको थियो जुन अहिले नेसपा (नयाँ शक्ति) को रूपमा रहेको छ ।
यसले देशको प्रमुख कार्यभारहरूलाई ५ ‘स’ अर्थात् समृद्धि, सुशासन, सङ्घीयता सहितको समावेशी र सहभागितामूलक लोकतन्त्र, स्वाधीनता र समुन्नत समाजवादको रूपमा परिभाषित गरेर स्पष्ट वैचारिक–राजनीतिक कार्यदिशा सहितको नयाँ/वैकल्पिक शक्ति निर्माण अभियानको उद्घोष गरेको थियो ।
त्यसपछिका चरणहरूमा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत उदाएका छन् । साथै स्थानीय तहहरूमा विभिन्न स्वतन्त्र व्यक्तिहरू अघि आएका छन् ।
पुरानो विचार, दल, नेतृत्व, कार्यक्रम, शैलीको विकल्पमा उदाएका सबै शक्ति र व्यक्तित्वको सबै पाटो पक्ष अझै स्पष्ट हुन बाँकी छ । तैपनि पुराना दल र नेतृत्वप्रति आम जनसमुदाय र विशेषतः युवाहरूको चरम निराशा र आक्रोश बढ्दै गइरहेको स्थितिमा नयाँ/वैकल्पिक शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिनुपर्दछ । साथै देशलाई दिगो र अग्रगामी विकल्प दिन उनीहरूबिच सहकार्य र सहयात्राको प्रयत्न गर्नुपर्दछ ।
यस्ता छन् बन्द सत्रमा भट्टराईले पेस गरेको वैचारिक र साङ्गठनिक आधार (पूर्णपाठ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्मको चक्करमा ठगिइन् पूर्व मुख्यमन्त्रीकी छोरी
-
यसकारण सार्वजनिक सवारी साधन चढ्छन् आमिर पुत्र जुनैद
-
डा. बाबुराम भट्टराईको नजरमा नेपाली अर्थ–राजनीतिको सिंहावलोकन
-
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी
-
‘काठमाडौँ विश्वविद्यालय सुधारका लागि पुरानो लिगेसी परिवर्तन गर्नुपर्छ’
-
यसरी पर्न गयो ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ वाक्यांश !