सगरमाथा संवाद तयारी बैठक : विभिन्न समिति गठन गर्न छलफल
![सगरमाथा संवाद तयारी बैठक : विभिन्न समिति गठन गर्न छलफल](https://npcdn.ratopati.com/media/news/sagarmatha-sambad_UR7Xey8kZu.jpg)
काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रम सम्बन्धमा तयारी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन गर्ने विषयमा छलफल भएको छ । यस्तै कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवालय गठन गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडालगायत सहभागी बैठकमा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय रहने प्रस्ताव गरिएको छ । संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुख सहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ । आयोजना सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गराउने तयारी भएको छ । कार्यक्रमबारे सरकारले आजैदेखि ‘सगरमाथा संवाद डटकम’ वेबसाइट सञ्चालनमा ल्याएको छ ।
मुख्य कार्यक्रमको तयारीलाई भव्य तुल्याउन समावेशी प्रतिनिधित्व हुने गरी महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, जनजाति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्व कार्यक्रम (प्रि–इभेन्ट) आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ ।
संवादका अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रको सहकार्यमा साइडलाइन इभेन्टहरू तथा प्रदर्शनी गर्ने तय भएको छ । यो अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तिनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको छ ।
यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।