सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

खल्लो भयो टेस्ट क्रिकेटबाट दिमुथ करुणारत्नेको सन्न्यास

आइतबार, २७ माघ २०८१, १७ : ०७
आइतबार, २७ माघ २०८१

काठमाडौँ । टेस्ट क्रिकेटबाट श्रीलंकाली टोलीका प्रभावशाली खेलाडी दिमुथ करुणारत्नेको विदाइ खल्लो बनेको छ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको समाप्तिसँगै ३६ वर्षीय ओपनर ब्याट्सम्यान करुणारत्नेले सन्न्यास लिएका हुन् ।

घरेलु मैदानमा खेलिएको दोस्रो टेस्टमा पनि श्रीलंकाली टोली नौ विकेटले पराजित भयो । उक्त हारसँगै श्रीलंकाले दुई टेस्टको शृंखला २–० ले नै गुमाएको हो । त्यसअघि खेलिएको पहिलो टेस्टमा पनि श्रीलंकाली टोली एक पाली र दुई सय ४२ रनले पराजित भएको थियो ।

प्रभावशाली ब्याट्सम्यान करुणारत्नेको यो अन्तिम टेस्ट थियो । त्यसैले घरेलु मैदानमा उनको विदाइ केही खल्लो बन्यो । उनले आफ्नो अन्तिम टेस्टको पहिलो पालीमा ३६ र दोस्रो पालीमा १४ रन बनाए । यद्दपि, श्रीलंकाली क्रिकेटमा उनको योगदान महत्वपूर्ण रहेको छ ।

श्रीलंकाली टोलीको थुप्रै उपलब्धिमा उनको योगदान महत्वपूर्ण छ । टेस्ट क्रिकेटमा उनलाई अन्तिम पटक आउट गर्ने बलर म्याथ्यू कुहेनम्यान हुन् । उनले करुणारत्नेलाई विकेटकिपर एलेक्स केरीद्वारा क्याच गराएका थिए । करुणारत्नेले एक सय टेस्ट खेलेर सन्न्यास लिएका हुन् । उनले एक सय टेस्टको एक सय ९१ पालीमा कुल सात हजार दुई सय २२ रन बनाएका छन् । यस क्रममा उनले १६ शतक र ३९ वटा अर्धशतक पनि प्रहार गरेका छन् । 

टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने दुई सय ४४ रन हो । यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा दुई विकेट पनि लिएका छन् । उनको अन्तिम खेलमा अस्ट्रेलियन खेलाडीहरुले पनि ताली बजाएर उनप्रति सम्मान व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप