सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

क्रिकेटरले छक्का प्रहार गरेको बल समाएर एथलेटिक्स खेलाडीले जिते ५० हजार रुपैयाँ पुरस्कार

आइतबार, २७ माघ २०८१, १६ : २५
आइतबार, २७ माघ २०८१

काठमाडौँ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन खोड्पेका हरिश भाटले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

 आइतबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा छक्का प्रहार भएको बललाई समाएर हरिशले ब्रेड बक्सको तर्फबाट ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन् ।  ब्रेड बक्सले सेमिफाइनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही अनुरुप हरिशले उक्त पुरस्कार पाएका हुन् ।

पहिलो सेमिफाइनलमा कुनै क्याच भएको थिएन भने दोस्रो सेमिफाइनल खेलमा दर्शकका रुपमा उपस्थित हरिशले पहिलो क्याच समाचाएका थिए ।  हरिश १०औँ राष्ट्रिय खेलकुदको छनोट प्रतियोगितामा सहभागी हुन शनिबारमात्र धनगढी आएका हुन् । एथलेटिक्स खेलाडी रहेका हरिश जिल्ला छनोट प्रतियोगितामा भएर प्रदेश छनोट खेल्न आएका हुन् । 

ज्याभलिङ थ्रोका खेलाडी हरिश साथीहरुको आग्रहमा क्रिकेट हेर्न फाप्ला रंगशाला पुगेका थिए । उनले आफूले पाएको ५० हजार रुपैयाँ पुरस्कारलाई आफ्नो खेलमा लगानी गर्ने बताए । 

उनले नगद ५० हजारसहित खल्तीको तर्फबाट एयर बडसमेत पुरस्कार पाएका छन् । प्रतियोगिताको फाइनल खेलमा दर्शकले क्याच गरेमा ब्रेड बक्सले एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप