सुर्तीजन्य उद्योगलाई नयाँ निर्देशिका, स्वदेशीलाई विभेद गरिएको उद्योगीको गुनासो
![सुर्तीजन्य उद्योगलाई नयाँ निर्देशिका, स्वदेशीलाई विभेद गरिएको उद्योगीको गुनासो](https://npcdn.ratopati.com/media/news/cigrate_sIo9svWSK3.webp)
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री वितरणका लागि नयाँ निर्देशिका ल्याएको छ । मन्त्रालयले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१ ल्याएको हो ।
यसमा सुर्तीजन्य पदार्थको प्याकेजिङको १०० प्रतिशत भागमै मन्त्रालयले तोकेअनुसारको घातक चित्र छाप्नु पर्नेछ । हाल ९० प्रतिशत छाप्नुपर्ने प्रावधान छ ।
मन्त्रालयको उक्त निर्देशिकालाई नेपाली उद्योगी तथा व्यवसायीहरूले फरक मत राखेका छन् । यसले स्वदेशी उद्योग र उत्पादनलाई विभेद गरेको उनीहरूको भनाइ छ । राज्यलाई वार्षिक ५० अर्ब रुपैयाँ योगदान गर्ने उद्योगलाई अप्ठ्यारो पारेको र विदेशी उद्योगको उत्पादनलाई प्रोत्साहन गरेको उनीहरू बताउँछन् ।
सूर्य नेपालका उपाध्यक्ष रवि केसीले नयाँ निर्देशिकाले स्वदेशी उद्योगलाई मर्का परेको बताए । ‘वार्षिक ५० अर्ब रुपैयाँ योगदान दिने स्वदेशी उद्योगलाई निमोठेर सरकारले विदेशी उद्योगको संरक्षण गरिरहेको छ,’ उनले भने, ‘स्वदेशीलाई हरेक पटक कडाइ गर्दै जाने तर विदेशी उत्पादनलाई केही पनि नगरी खुल्लमखुल्ला बिक्री गर्न दिइएको छ ।’ उनले निर्देशिका परिमार्जन गरेर स्वदेशीभन्दा विदेशी उत्पादनलाई बढी कडाइ गर्नुपर्ने धारणा राखेका छन् ।
उद्योगीहरूका अनुसार भेप, ई–सिगरेट र आईक्यूओएस लगायतका सुर्तीजन्य वस्तुका खोलमा चेतावनीमूलक सन्देश र चित्र नै छैन । जबकि नेपालमा उत्पादन भएका यस्ता वस्तुको खोलमा ९० प्रतिशत भाग ओगट्ने गरी घातक चित्र राखिएको छ । उद्योगीहरूले आफूहरूसँग भएको छलफल विपरीत निर्देशिका आएको र स्वदेशी उद्योगलाई अप्ठ्यारो पार्ने प्रावधान थपिएको बताएका छन् ।
केसीले भने, ‘निर्देशिकामा स्वदेशी उद्योगका भनाइ एउटा पनि राखिएको छैन । विदेशीलाई कुनै चित्र नराखे बेच्न अनुमति छ । मन्दीको समयमा स्वदेशी उद्योगलाई राज्यले सघाउनुपर्नेमा राजस्व र रोजगारीमै ठुलो योगदान गरिरहेकालाई अप्ठ्यारो पार्ने खालका नीति बनाएर हुँदैन ?’ नेपाली उद्योगीहरूले स्वदेशीलाई संरक्षण नभए विदेशी र स्वदेशी दुवैलाई समान प्रावधान हुनुपर्ने बताएका छन् ।