अपहरित बालकलाई लगिँदै थियो भारत, बनाइसकेका थिए आधार कार्ड

काठमाडौँ । पाटनबाट माघ २४ मा अपहरणमा परेका ४ वर्षीय पल चेपाङलाई अपहरणकारीले भारत लैजान खोजेको भेटिएको छ ।
साँझ ८ बजेर २० मिनेटमा भियतनामी नागरिक माइ होङ्ग किन्हालनले उनलाई अपहरण गरेर कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाएर राखेका थिए । वीरगञ्ज हुँदै भारत लैजान खोजेको अवस्थामा बालकलाई गेस्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताएका हुन् ।
आरोपीले माघ २५ मा बिहान साढे १० बजे काठमाडौँबाट वीरगञ्ज जाने ६८९८ नम्बरको टिकट काटेको भेटिएको छ । कलंकी स्थित मकालु पेट्रोल पम्प नजिकैको गेस्ट हाउसको १०७ नम्बर कोठामा बालकलाई बन्धक बनाएर माइ होङ्ग किन्हालनले भारत लैजान खोजेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
बालकलाई पञ्जाब लैजाने र त्यहाँ बिक्री गर्ने योजना बनाएर भियतनामी नागरिकले बालकको आधारकार्ड समेत बनाउन लगाएका थिए । आरोपीको मोबाइलमा बालकको फोटो प्रयोग गरिएको भारतीय आधारकार्डको फोटो भेटिएको छ ।
पुस १० मा क्रिसमस डे को दिनमा पाटनको कृष्ण मन्दिरमा पल चेपाङको दाजुभाइलाई भेटेर उनले चिप्स र चकलेट किनेर निकटता बढाए । त्यसपछि उनी पटक–पटक गएर बालकहरूसँग खेल्दै र खानेकुरा दिँदै नजिक बनाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । बालक बेपत्ता भएपछि उनकी आमा सरिता तामाङले प्रहरी प्रभाग मंगलबजारमा निवेदन दिएकी थिइन् ।
भियतनामी नागरिकले ट्याक्सीमा चढाएर बालकलाई सुरुमा झम्सिखेलमा लगेका थिए । झम्सिखेलबाट पुनः अर्को ट्याक्सी बुक गरेर सुन्धारास्थित श्री गुरु होटलमा लगेको देखिएको छ ।
अपहरणमा संलग्न भियतनामी २०२३ डिसेम्बर २७ मा पहिलोपटक नेपाल आएर ११ दिन बसेर नयाँ दिल्ली गएका थिए । उनी २०२४ अप्रिल २७ मा पञ्जाबबाट सडकमार्ग हुँदै नेपाल आएको देखिएको छ ।
काठमाडौँ आएपछि स्वयम्भूस्थित होटलमा २ महिना, ठमेल स्थित होटलमा १ हप्ता र पछिल्लो ६ महिनादेखि उनी बानेश्वरको कात्यानी चोकमा रहेको होस्टलमा बस्दै आएका थिए । उनी लामा भाषा सिक्न भनेर स्वयम्भू, कपन र बौद्धको गुम्बाहरूमा जान्थे । घुम्ने क्रममा पाटन दरबार स्क्वायरमा पल चेपाङलाई उनले भेटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू