सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

ललितपुरको एक्मी कलेजका सञ्चालक सम्पर्कविहीन, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको बिचल्ली

आइतबार, २७ माघ २०८१, १३ : ५९
आइतबार, २७ माघ २०८१

काठमाडौँ । ललितपुरको बागडोलमा रहेको एक्मी कलेज अफ इन्जिनियरिङका सञ्चालक शैलेन्द्र मोहन झा सम्पर्कविहीन बनेका छन् । सञ्चालक नै दसैँदेखि सम्पर्कमा नआएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू अलपत्र परेका छन् । 

डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । डिप्लोमा इन सिभिल, कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका कोर्सहरू अध्यापन गराउँदै आएको हो । 

लामो समयदेखि तलब भत्ता नपाएपछि कतिपय शिक्षक कर्मचारीले कलेज छोडेका छन् । यतिबेला कलेज १/२ जना मात्रै कर्मचारीको भरमा छ । शिक्षक नै नभएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले दसैँपछि पढ्न पाएका छैनन् । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बोर्ड सदस्य समेत रहेका झा लामो समयदेखि सम्पर्कविहीन भएका हुन् । 

कलेजमा महिनौँदेखि प्रिन्सिपल तथा शिक्षककहरू नै नआउने गरेको विद्यार्थीहरूको भनाइ छ । ‘महिनौंदेखि पढ्न पाएका छैनौँ । परीक्षा फाराम समेत भर्न पाएका छैनौँ । कलेजका सञ्चालक–प्रिन्सिपल सम्पर्कविहीन छन् । पटक पटक कलेज सञ्चालकसँग समस्या समाधान गर्न माग गर्दा केही मतलब गर्नुभएको छैन । कलेज एउटा रिसेसप्सनको भरमा चलिरहेको छ,’ एक विद्यार्थीले भने ।  

लामो समयदेखि पठनपाठन नभएपछि विद्यार्थीहरूले सीटीईभीटी गुहारेका थिए । सीटीईभीटीका कर्मचारी कलेजमै गएर कर्मचारीहरूसँग सहमति गराएका थिए । सहमति अनुसार कलेजमा नियमित पठनपाठन गराउने भन्ने थियो । तर, सहमतिपछि पनि पठनपाठन नभएपछि विद्यार्थीहरू आज सानोठिमीस्थित सीटीईभीटी कार्यालय पुगेका छन् । 

कलेजका शिक्षक तथा कर्मचारीहरूले लामो समयदेखि तलब नदिएपछि कलेज छाडेका विद्यार्थीहरूको भनाइ छ । 

कलेजका सञ्चालक झासँग रातोपाटीले सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप