फेरि पनि अस्ट्रेलियासामु निरीह बन्यो श्रीलंका
![फेरि पनि अस्ट्रेलियासामु निरीह बन्यो श्रीलंका](https://npcdn.ratopati.com/media/news/ccc_sCnxOOWBPg.png)
काठमाडौँ । घरेलु टोली श्रीलंकाविरुद्धको दुई टेस्टको शृंखलामा अस्ट्रेलिया विजयी भएको छ । शृंखलाको दोस्रो टेस्टमा पनि भ्रमणकारी टोली अस्ट्रेलियाले श्रीलंकालाई नौ विकेटको फराकिलो अन्तरले हरायो । यसअघि पहिलो टेस्टमा पनि अस्ट्रेलिया एक पाली र दुई सय ४२ रनले विजयी भएको थियो ।
गालेमा सम्पन्न दोस्रो टेस्टको चौथो दिन आइतबार अस्ट्रेलियाले दोस्रो पालीमा केवल एक विकेट गुमाएर ७५ रन बनाउँदै विजयलक्ष्य पुरा ग¥यो । अस्ट्रेलियाको जितमा दोस्रो पालीमा ओपनर ब्याट्सम्यान उस्मान ख्वाजाले अविजित २७ रनको योगदान गरे ।
ख्वाजाले ४४ बलमा तीन चौका पनि प्रहार गरे । अर्का ओपनर ट्राभिस हेडले पनि २३ बलमा तीन चौकाको मद्दतले २० रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान मार्नस लाबुशेन २६ रनमा अविजित रहे । उनले ३९ बलमा चार चौका पनि हिर्काए । श्रीलंकाली बलर प्रभाथ जयसूर्याले एक विकेट लिए ।
त्यसअघि, आइतबार नै श्रीलंकाली टोली आफ्नो दोस्रो पालीमा दुई सय ३१ रन बनाउँदै अलआउट भएपछि अस्ट्रेलियाले ७५ रनको लक्ष्य पाएको थियो । दोस्रो पालीमा श्रीलंकाका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । अनुभवी ब्याट्सम्यान एन्जेला म्याथ्यूजले ७६ रन बनाए । उनले एक सय ४९ बलमा एक छक्का र चार चौका प्रहार गरे । कुशल मेन्डिसले पनि टोलीको खातामा ५० रन थपे । विकेटकिपर ब्याट्सम्यान कुशलले ५४ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।
कप्तान धनन्जय डे सिल्भाले पनि २३ रन बटुले । दोस्रो पालीमा अन्य श्रीलंकाली ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । अस्ट्रेलियाका बलर म्याथ्यू कुहेनम्यान र नाथन लियोनले चार–चार विकेट लिए । बेउ वेबस्टरले पनि दुई विकेट हात पारे ।
त्यसअघि, अस्ट्रेलियन टोलीले आफ्नो पहिलो पालीमा चार सय १४ रनको सम्मानजनक योगफल तयार पारेको थियो । पहिलो पालीमा अस्ट्रेलियाका लागि दुई ब्याट्सम्यानले शतक बनाएका थिए । कप्तान स्टिभन स्मिथले एक सय ३१ रन बनाए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका स्मिथले दुई सय ५४ बलको सामना गरी एक छक्का र १० चौका हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान एलेक्स केरीले पनि टोलीका लागि एक सय ५६ रनको योगदान गरे । केरीले एक सय ८८ बलको सामना गरी दुई छक्का र १५ वटा चौका हिर्काए । अस्ट्रेलियाले ९१ रनको कुल स्कोरमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि कप्तान स्मिथ र केरीले टोलीको स्कोरलाई तीन सय ५० रनको स्थितिसम्म पु¥याएका थिए ।
उक्त खेलमा एलेक्सी केरीको नाममा एउटा कीर्तिमान पनि लेखियो । उनी एसियाली भूमिमा खेलिएको प्रतियोगितामा एक सय ५० भन्दा बढी रन बनाउने अस्ट्रेलियाको पहिलो विकेटकिपर बन्न पुगेका छन् । यो उनको लागि महत्वपूर्ण उपलब्धि हो ।
दोस्रो पालीमा अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले पनि ३६ रनको योगदान गरे । बेउ वेबस्टरले ३१ र ट्राभिस हेडले २१ रन बटुले । श्रीलंकाली टोलीका बलर प्रभाथ जयसूर्या एक्लैले पाँच विकेट लिए । निशान पेइरिसले तीन विकेट हात पारे ।
त्यसअघि, दोस्रो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको श्रीलंकाले आफ्नो पहिलो पालीमा दुई सय ५७ रन बनाएको थियो । पहिलो पालीमा श्रीलंकाका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाए । कुशल मेन्डिसले अविजित ८५ रन बनाए । उनले एक सय ३९ बलमा एक छक्का र १० चौका हिर्काए ।
दिनेश चण्डिमलले पनि टोलीको खातामा ७४ रन थपे । उनले एक सय ६३ बलको सामना गरी एक छक्का र ६ वटा चौका हिर्काए । ओपनर दिमुथ करुणारत्नेले ३६ रन बटुले । रमेश मेन्डिसले पनि २८ रन बनाए ।
अस्ट्रेलियाका बलर मिचेल स्टार्क, म्याथ्यू कुहेनम्यान र नाथन लियोनले तीन–तीन विकेट लिए । ट्राभिस हेडले पनि एक विकेट हात पारे । एलेक्स केरी म्यान अफ दि म्याच घोषित भए । अस्ट्रेलियाकै स्टिभन स्मिथ म्यान अफ दि सिरिज घोषित भए ।
अब अस्ट्रेलिया र श्रीलंकाबिच दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेलिने छ । पहिलो एकदिवसीय बुधबार कोलम्बोमा खेलिने छ । दोस्रो एकदिवसीय पनि आगामी शुक्रबार कोलम्बोमै खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता