नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख हुन् नैनसिंह महर । पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व हाँकिसकेका महर पछिल्लो समय भने पार्टीको १५ औँ महाधिवेशन केन्द्रित अभियानमा लागेका छन् । उनै महरसँग रातोपाटीले उम्मेदवारी घोषणा, पार्टीको महाधिवेशन सार्ने हल्लासँगै समसामयिक विषयमा रातोपाटीले संवाद गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको संवादको सम्पादित अंशः
हाइस्कुलको विद्यार्थी छँदै नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गर्ने मौका मिल्यो । त्यसबेलादेखि सरकारी जिम्मेवारी पाइनसकेको तर, पार्टीको भ्रातृ संस्थामा बसेर होस् वा कुनै पनि मोर्चामा बसेर काम गर्ने बानी बसेको कारणले थकाइ भन्ने लाग्दैन । देशभरका साथीहरूले पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गर्नुभयो र अहिले नेपाली कांग्रेसको शिक्षाजस्तो अत्यन्तै महत्त्वपूर्ण विभागको जिम्मेवारी मेरो काँधमा छ ।
नेपालमा २०२८ सालभन्दा पछि शिक्षा ऐन बनेको छैन । यस्तै, नेपाली कांग्रेस जस्तो पार्टीमा आफ्नै शिक्षा नीति नभएको अवस्था छ । बनाउनुपर्छ भनेर मैले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विषय प्रवेश गराएको छु । त्यसअनुसार ३/४ वटा कार्यक्रम सम्पन्न भएका छन् । ६ हजार ७४३ वडा तथा १६५ वटै निर्वाचन क्षेत्रमा पु¥याएर कांग्रेसमात्र होइन कि फरक बिचार राख्ने तथा श्रमिक किसानदेखि वुद्धिजीवीसम्मको बिचारलाई समावेश गरेर नेपालको शिक्षा नीति बनाउने कोसिसमा छौँ ।
९ लाख ७३ हजारभन्दा बढी व्यक्तिसँग छलफल र संवाद गरेर नीति बनाउने कोसिसका साथ प्रक्रिया अघि बढाएका छौँ । यसबाहेक व्यक्तिगत जिन्दगी, घरपरिवार तथा समाजप्रतिको आफ्नो उत्तरदायित्वको कुरा सँगसँगै अघि बढिरहेको छ ।
२०७९ मंसिरको २३ गते मैले त्यस दिन संसदीय मोर्चाबाट जिम्मेवारी बहन गर्ने अवसर नपाइसकेपछि सामाजिक सञ्जालमा लेखेको हो । नेपाली कांग्रेसलाई न्यायसङ्गत र विवेकसङ्गत पार्टी बनाउन १५ औँ महाधिवेशनमा आजैबाट कार्यप्रारम्भ गर्ने भनेर लेखेँ । त्यस दिनबाट मेरो यात्रा जारी छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको चुरो व्यक्ति महामन्त्री हो । पार्टीको फङ्सनदेखि लिएर तमाम कार्यकर्तामा आशाको सञ्चार जगाउने र पार्टीलाई चलायमान र सशक्त बनाउने पदीय जिम्मेवारी महामन्त्रीको हो । दैनिक कार्य सञ्चालनदेखि लिएर राष्ट्रको जीवनमा आएका ठुलठुला अप्ठ्यारामा आफूलाई अब्बल नेतृत्वदायी भूमिकामा उभ्याउने र जनताको पनि आकर्षणको केन्द्रविन्दु बनाउनका लागि महामन्त्री नै प्रमुख पात्र हो ।
गिरिजाप्रसाद कोइराला महामन्त्री भएकै बेला प्रधानमन्त्री बन्नुभयो । त्यस्तो महामन्त्री बन्न सक्नुपर्छ र पार्टीलाई सशक्त भूमिकामा लैजान सक्नुपर्छ भन्दै आएको छु । सभापति पश्चात् महत्त्वपूर्ण पद महामन्त्री भएकाले त्यो कार्यकारी भूमिकालाई सम्पादन गरेर नेपाली कांग्रेसलाई विवेकसङ्गत र न्यायसङ्गत निर्णय गर्न सक्ने पार्टी, भरोसाको केन्द्र बनाउन इच्छा लागेको हो ।
प्रजातान्त्रिक दलभित्र चुनाव लड्न ३ जना व्यक्ति मैदानमा रहुन्जेलसम्म पनि २ जनलाई आफ्नो पक्षमा उभ्याउने प्रयास जारी रहन्छ र त्यहाँबाट समूहको निर्माण हुन्छ । त्यसकारण वैचारिक रूपमा एक ठाउँमा उभिने विषयलाई धेरै हौवाको रूपमा लिनुपर्छ भन्ने मलाई लाग्दैन ।
तर, कांग्रेसमा क्रियाशील सदस्यता वितरणदेखि लिएर वडा तहदेखि केन्द्रसम्म स्लिप बाँडेर समूह देखाउने र झगडासमेत गरेर चुनावमा जाने अनि त्यसबाट आएको केन्द्रीय कार्यसमितिबाट निष्पक्ष र न्यायसँग काम हुन्छ भन्ने कल्पना गर्न सकिँदैन । मैले १४ औँ महाधिवेशनमा उठाएको १४ एजेन्डामध्ये एक गुटको संकटबाट पार्टीलाई मुक्त गराउन गुटविहीन संगठन बनाउँ भन्ने थियो । त्यसका लागि आचारसंहिता बनाएर गुटगत निर्वाचन लड्नेहरूको उम्मेदवारी खारेज हुन सक्ने बनाउनुपर्छ । कसैको कुर्ताको फेर समाउने, कसैको वैशाखीको साहारामा आफू वैतरणी तर्ने काम भएपछि गुट बन्छ नै । यो १८ महिनामा ७२ जिल्ला पुगेर गुटविहीन पार्टी बनाउन साथीहरूसँग कुरा उठाएको छु । त्यसकारण पार्टीको आन्तरिक चुनावमा मैले यो वा त्यो टिम भनेर अहिले नै चासो दिइसकेको अवस्था छैन ।
यद्यपि मैले भनेका कुरा पास भएन, महाधिवेशनस्थलबाट त्यो अनुमोदन भएन, महासमितिबाट विधान बनिरहँदा अनुमोदन भएन भने कतै न कतै आफू पनि समावेश हुनैपर्छ नि ।
एक वर्ष हाम्रो वैधानिक कार्यकाल बाँकी छ । विधानले अर्काे एक वर्ष थप गर्ने मौका दिएको छ । यसको अर्थ दुई वर्ष समय बाँकी छ । मैले अबको १८ महिना पश्चात् मात्र अवस्था आए म कता, कसै न कसैसँग मिलेर महाधिवेशन लड्ने जानकारी गराउँछु ।
मैले लाज नमानीकन भन्नुपर्छ कि मानिसहरूले तीन विषय हेर्ने रहेछ । कुनै निर्वाचनमा कसैलाई समर्थन गर्दै गर्दा जुनसुकै तहको निर्वाचन भए पनि फलानो व्यक्ति निर्वाचित भएपश्चात् मेरो देशले के प्रगति गर्छ र देशलाई कहाँ पु¥याउँछ भन्ने । दोस्रो, ऊ जुन संस्थामा बसेको छ, त्यो संस्थाको प्रगति हुन्छ कि हुँदैन र तेस्रोचाहिँ व्यक्तिगत रूपमा इच्छा र चासो छन्, त्यसलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने ।
मैले भन्न खोजेको यी तीन चासोको जब मिलन हुन्छ, त्यही नेतृत्वसँग टाँसिन खोज्ने हो । यी तीनै विषय जसले कार्यान्वयन गर्न सक्छ भन्ने मलाई लाग्छ, त्यसैसँग सहकार्य हुन्छ । म एक्लो छैन । मैले मान्ने नेता, मलाई मान्ने शुभचिन्तक साथीहरू सबैको राय सुझाव लिएरमात्र निर्णय लिन्छु ।
मान्छे तोक्न मलाई बाध्य नपार्नुहोस् । मलाई लाग्छ ५÷७ जना मानिसहरू चुनावी मैदानमा उत्रनु हुन्छ । हिजो सभापतिमा प्रतिस्पर्धामा उत्रिनुभएका नेताहरू त्यहाँबाट ब्याक हुने अवस्था हुँदैन । नयाँ केही साथीहरू हामी प्रतिस्पर्धा गर्छौं भन्दै २÷३ जना थपिनुहुन्छ । अहिलेको अवस्थामा ७ जनाभन्दा बढी नेता नेपाली कांग्रेसको सभापतिमा पहिलो चरणमा प्रतिस्पर्धा गर्नुहुन्छ ।
अहिले जति पनि नाम सुन्नु भएको छ, सबैसँग तीनदेखि पाँच सय मत छ । पछि जोड्दै अलाइन्स हुँदै बढी पुग्ने हो । त्यसकारण दोस्रो चरणमा कुन कुन चिजले मतदाता प्रभावित हुन्छ, पद प्रतिष्ठा आफ्नो नाफाघाटा सबै हेर्छ । अनि क्षयीकरण हुँदै गएको राजनीतिक शक्तिलाई पुनः प्राप्त गर्न खोज्छ ।
मैले १४औँ महाधिवेशनमा उठाएका १४ एजेन्डा कार्यान्वयन गर्ने अवसर प्राप्त भएको छैन । मैले त्यसबेला एक व्यक्ति, एक पद र समयसीमाको कुरा गरेको थिएँ । मैले निशुल्क शिक्षा, स्वास्थ्यसँगै व्यवस्थित यातायात सञ्चार र उद्यमशीलतासहितको रोजगार नेपाली कांग्रेसको सरकार, जनताको अधिकार भनेको थिएँ । अन्तर्राष्ट्रिय दृष्टिकोणमा कांग्रेस पार्टी बलियो बनाउने, पार्टीभित्र गुटबन्दी कम गर्न व्यक्तिगत चुनाव लड्ने कुरा गरेको थिएँ । यस्तै क्रियाशील सदस्यता वितरण प्रशिक्षणको आधारमा विरतण गर्ने, युवा कांग्रेस निर्माण तथा राजनीतिक पार्टी देशको छुट्टै थिङ्क ट्याङ्कको कुरा गरेको थिएँ । अहिले देशमा विज्ञहरूको समूह नै छैन । त्यसैले थिङ्क ट्याङ्कको व्यवस्थापन लगायतका विषय छन् । जलवायु परिवर्तन जस्तो गम्भीर मुद्दामा केन्द्रदेखि टोलसम्म तीन–तीन सदस्य युनिट बनाउने लगायत समसामयिक मुद्दा महाधिवेशनसम्म थपेर जाने हो ।
यिनै विषयलाई अगाडि सारेर नेपाली कांग्रेसको संगठनलाई विवेकसङ्गत र न्यायसङ्गत बनाउने समग्र नेपाली कांग्रेसको एजेन्डा हो । यसबाहेक एआईका विषय तथा पार्टीलाई डिजिटलाइज प्रोसेसमा लाने जस्ता धेरै कुरा छन् । यसका कार्यान्वयनको सन्दर्भ हो ।
महामन्त्री पदमा लड्नका लागि सामाजिक सञ्जालमा पोस्ट गरेको कुरा नै मेरो पहिलो घोषणा हो । मेरो अन्तिम घोषणा पनि त्यही नै हो । त्यसमा कुनै करेक्सन आवश्यक छैन ।
मलाई समय, मेरो योग्यता सबै कुराले प्रेसर ग¥यो । मैले पार्टीभित्र गरेको लगानी, योगदान तथा जनताको अपेक्षा अनुसार नैतिकवान नेता नेतृत्वमा गएपश्चात् कांग्रेस यसभन्दा परिस्कृत बन्थ्यो कि, पार्टी रूपान्तरण गर्न हुन्थ्यो कि भन्ने चाहना छ ।
समयको गतिसँगै अघि जान सकिएन, परिस्कृत हुन सकिएन भने लोप भएर जाने खतरा बढ्छ । हामी पाँच सय वर्ष बाँच्ने भएको भए क्रमैसँग अघि बढ्दै जाने थियौँ, अहिले फलाना दाइलाई छाड्ने र भोलि आउँछु भन्ने हुन्थ्यो । उमेरको प्रेसर पनि त ८० वा ९० को हो नि । मैले त राजनीतिबाट बहिर्गमनको पारामिटर बनाउनु पर्छ भनेर या त वृद्ध भत्ता खाने उमेर या त ७३ वर्षमा, राजनीति त यी दुईमध्ये एक उमेरमा छाड्नु पर्छ नि । सधैँ राजनीति गर्ने त होइन ।
त्यसकारणले समयको प्रेसरलाई बुझेर ४९ वर्ष नाघिसकेको सन्दर्भमा मैले महामन्त्रीबाहेक अन्य विकल्पमा जान सक्ने अवस्था छैन ।
लोकतान्त्रिक पद्धतिको सबैभन्दा प्रमुख विशेषता भनेको आवधिक निर्वाचन हो । पार्टीभित्र वा बाहिरको आवधिक निर्वाचन प्रजातन्त्रको प्रमुख विशेषता भएकै कारण नेपाली कांग्रेस त्यसको अनुयायी हो । आवधिक निर्वाचन कांग्रेसको निजी मुद्दा हो । देश संविधान र पार्टी विधान अनुसार चल्छ ।
अर्काे कुरा जीवनभर लोकतन्त्रका लागि लड्नुभएका एक अभियन्ता र आज पनि लोकतन्त्रको आधारभूत सिद्धान्तमा कटिवद्ध व्यक्ति पार्टीको सभापति भएको बेला यो कुरा कसले किन गरिरहेको छ, मलाई बढो अचम्म लागेको छ ।
पार्टी सभापतिसँग व्यक्तिगत कुरा हुँदा उहाँले नियमित महाधिवेशन समयमै गर्नुपर्छ भन्नुभएको छ । म पुनः नउठ्ने भएकाले राम्रो नेतृत्व स्थापित गर्नका लागि तपाईंहरू मिलेर जानुहोस् भन्नुभएको छ । यो बेमौसमी बाजा र यो प्रश्नको तुक छैन ।
प्रजातन्त्रमा आवधिक निर्वाचनको खिलाफमा जाने कुरा स्वीकार्य हुँदैन । नेपाली कांग्रेसको विधानले दिएको ४ वर्षभित्रै महाधिवेशन गर्ने र केही समस्या परे एक वर्ष थप्ने अर्थात् त्यो पाँच वर्ष बाहेक बाहिर जाने कुरा लोकतन्त्रवादीका लागि स्वीकार्य हुने विषय होइन । आवधिक चुनावमा विश्वास नगर्ने लोकतन्त्रवादी हुनै सक्दैन । त्यसकारण समयमै अधिवेशन हुन्छ । हाम्रो पार्टी सभापतिको लोकतन्त्रप्रतिको प्रतिवद्धता छ । त्यसकारण चुनावमा शंका गर्ने बाहिरका कुरामात्र हुन् ।
सरकार सात बुँदे सहमति टेकेर गठन भएको हो । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पछिल्लो पटक सरकारको विषयमा समीक्षा भएको छैन । केन्द्रीय समिति बैठक नै बसेको छैन । सय दिने अभियानमा पनि जनताबाट केही कुरा आएका छन् । ७७ जिल्लाबाटै पार्टी र सरकारबारे जनताको रिमार्कस आएका छन् । त्यसबारे छलफल गर्नुपर्ने छ ।
सरकार जुन गतिमा जानुपर्ने हो त्यहाँ पुगेको छैन । त्यहाँ जाने अभ्यास पनि थालनी भएको छैन । जुन–जुन प्रतिवद्धता गरिएको थियो, त्यसमा पनि सरकार वामे सर्न सकेको छैन । केन्द्रीय समिति बैठक बसेर केही निर्णय सार्वजनिक गर्नुपर्ने बाध्यता अहिले हामीकहाँ छ ।
सदस्यहरूको पार्टीमा खासै धेरै भूमिका हुँदैन तर बाँकी पदाधिकारीले हामी कार्यकारी तहमा पुगेर नेपाली कांग्रेसको आन्तरिक जीवनलाई यसरी संगठित बनाएर लैजान्छौँ र कांग्रेसको जीवनलाई यो ठाउँमा पु¥याउँछौँ भनेर मौखिक र लिखित दुबै प्रतिवद्धता गरेका थिए– महाधिवेशनको हलभित्र र बाहिर ।
आज त्यसको समीक्षाचाहिँ भएको छैन । कुनै पनि पदाधिकारीले आफ्ना यी–यी एजेण्डा पूरा गरेँ भनेको कहीँ कतै देखिएको छैन । यो देखिनु पर्छ । मतदाताले पनि खोजेका छन् यो विषय । त्यो जानकारी दिने बेला भयो ।
भोटरले पार्टीको कुनै फोरममा आएर मलाई जानकारी चाहियो भन्न सक्दैन, तपाईंहरूले केन्द्रीय समिति बैठकमा कुरा उठाउनुपर्ने भयो ।
मतदाताको अधिकारको विषय हो । जुन जुन प्रतिवद्धता व्यक्त गरिएर मत मागिएको थियो र जित्यो, जित्ने नेताले आफूलाई दिएको बचन अनुसार कार्यसम्पादन ग¥यो कि गरेन भन्ने जानकारी राख्ने अधिकार र कर्तव्य पनि मतदाताको हो ।
हामीले काम दिन सक्यौँ र मिसनमा लैजान सके मान्छे थप्न सकिन्छ । नभए छोटो कमिटीले पनि काम गर्न सक्ने भयो । विभागमा उनीहरूलाई काम दिन सकेनौँ भने उल्टै भारजस्तो हुन्छ । हामीले जिम्मेवारी दिँदा वा समिति ठुलो बनाउँदा विधानले भने अनुसारको काम दिन सकेनौँ भने त्यो दायित्व थोपरेको हुने रहेछ ।
त्यसकारण हामी समिति पनि बनाउँछौँ । विभाग पनि विस्तार गर्छाैं र द्रुत गतिमा लान्छौँ । टीओआर बनाएर, कार्यसम्पादन गरेर रिजल्ट पनि दिन्छौँ ।
शिक्षा क्षेत्रमा धेरै लुप होल र प्वाल छ तर यसको अर्थ प्रगति नभएको भन्ने पनि होइन । आज २१ वटा प्रतिष्ठान र विश्वविद्यालय छन् । प्राविधिक क्षेत्रमा पर्याप्त जनशक्ति देशलाई चाहिने उत्पादन गरेका छौँ तर समयको बदलाव सँगै समाजमा आएको चेतना, विश्वको परिवर्तनको सिस्टम छ । त्यसमा आएको बदलावका कारण हामीले पनि त्यसमा नयाँ उत्पादन गर्नुपर्ने छ ।
यहाँ विद्यार्थी, शिक्षक, अभिभावक सबैका समस्या छन् । समग्रमा देशलाई आवश्यक म्यानपावर उत्पादन गर्न सकिरहेका छौँ कि छैनौँ भन्ने चिन्ता र चासो छ । यी सबैको समाधान खोज्ने गरी हामी शिक्षा नीति बनाउन लागि परेका छौँ । नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक राज्यका लागि समेत रिफरेन्स हुने गरी निर्माण हुन्छ र कांग्रेसको वेबसाइटमा राखिन्छ ।
आज नेता र नेतृत्व नीति निर्माणमा मात्र समिति होइन, त्यो बनेको नीति कार्यान्वयन गर्न सक्ने, त्यो क्षमता र ढाडस भएको नेतृत्व र पार्टीको आवश्यक्ता छ । त्यो पनि निर्माण गर्ने गरी विभागले काम गर्छ ।
समाजभित्र थुप्रै समस्या छन् । बीपी कोइराला बाहेक नेता पनि भएन, समाज पनि बनेन भन्ने सबैमाथि प्रश्नैप्रश्न उभिँदै आएको छ । सार्वजनिक पदमा बसेकाप्रति प्रश्न र त्यसमा पनि चारित्रिक र सार्वजनिक जीवन उठ्ने गरेको छ । त्यो प्रश्न नउठ्ने खालको राजनीतिक नेतृत्व देशलाई पनि खाँचो छ । यतिमात्र होइन, समाजमा श्रमिकदेखि लिएर पत्रकार, वकिल, डाक्टर लगायत सबै क्षेत्रमा सार्वजनिक जीवन बिताउनेहरूले प्रश्न नउठ्ने चरित्र निर्माण गरेर कार्यसम्पादन गर्न लागे समाज फट्को मार्छ । मचाहिँ कम्तीमा त्यो बाटोमा लाग्ने अभ्यासमा छु ।
प्रतिक्रिया