मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘तरुण’हरूको लक्ष्य के हो ?

कांग्रेसीभित्र युवा पुस्ता

आइतबार, २७ माघ २०८१, १२ : ३३

बीपी कोइरालाले २०१३ सालतिर एक कार्यकर्तालाई एउटा पत्रमा लेख्नुभएको थियो— 
‘नेपाली कांग्रेस, क्रान्ति र क्रान्तिपछि उदय भएको प्रजातान्त्रिक शक्तिको प्रतीक हो र प्रत्येक व्यक्तिले आफ्नो स्वार्थ छाड्नुपर्छ । देशको उन्नति हाम्रो लक्ष्य हो, कांग्रेस संस्था हाम्रो साधन हो, हामी सेवक हौँ भन्ने भावना सबैको मनमा हुनुपर्छ  । चुनावमा स्वार्थी व्यक्तिलाई मौका दिनु हुँदैन । यदि कसैले कांग्रेसलाई व्यक्तिगत स्वार्थको साधन बनाउन खोज्छ भने त्यसलाई कांग्रेसबाट टाढै राख्नुपर्छ  । हामी सबैले निःस्वार्थ सेवाको व्रत लिनुपर्छ । गेरुवा रङको लुगा नलगाए पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ ।’ 

आज कांग्रेस पार्टीलाई साँच्चै पुनर्निर्माण गर्ने हो भने बीपीको भनाइलाई नै मूलपाठ बनाइनुपर्छ । युवाको नाममा ग्याङहरूले युवालाई इमोसनल ब्ल्याकमेलिङ गर्न थालेको यो समयलाई चिन्न र चिनाउन सक्नुपर्छ । एक समय युवापुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा युवाको उपस्थिति बिस्तारै पातलिँदै छ  । पुरानाले मरिगए ठाउँ नछाडेको र आफ्नै युवा अवस्थालाई अघिल्ला पुस्ताका नेताले भुलेको देखिन्छ  । किनकि आफू युवा हुँदाकै उमेर समूहको युवाले जिम्मेवारी खोज्दा उमेर नपुगेको, हतारिएको, अनुभव नभएको, अझ केही समय पर्खनुपर्ने वा धैर्य गुमाएको भन्ने गरिन्छ  । 

यस्ता भनाइ मात्र होइन आलोचनात्मक चेतलाई मूलधारका पार्टीले नरुचाएको आभास सर्वत्र छ  । परिणामतः युवाहरू राजनीतिबाट टाढिने क्रम बढ्दो छ  । 
किन यस्तो हुँदै छ ? जवाफ अनेकौँ छन् । राजनीति गरिरहेका र यसलाई फोहोरी खेलको संज्ञा दिइरहेका दुवैथरीबाट युवालाई राजनीतिमा आउन हतोत्साही बनाउने गरेको पाइन्छ  ।

यो आलेखमा कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको विषयमा चर्चा गर्न खोजिएको छ । तरुणको इतिहास, यसको वर्तमान र अझ बढी यसको भावी मार्गचित्रबारे बहस उठान गर्न खोजिएको हो । 

के नेपाली कांग्रेसभित्र हामी र हाम्रो पुस्ता विकल्प हो भने हाम्रो लक्ष्य के हो ? यो समाजलाई दिन खोजेको के हो, गर्न खोजेको के हो ? हाम्रो पुस्ताले जनताले बुझ्ने भाषामा पहिले यो प्रस्ट पार्न सक्नुपर्छ ।

यो शताब्दीको पहिलो दशकमै जसरी बीपीले नेपाल तरुण दलको परिकल्पना गर्नुभयो, यसलाई एउटा सहायक सङ्गठन भन्दा पनि परिवर्तनको अग्रदस्ताका रूपमा व्याख्या गर्दै २०१० कात्तिक १० यसको जग बसाल्नुभयो । उहाँप्रति कृतज्ञ नभई आलेखअघि बढाउनु पनि इतिहासप्रतिको अपमान हुन्छ । 

त्यस बेलै बीपीले तरुण दललाई मुलुक परिवर्तनको मेरुदण्ड मान्नुभएको थियो । खासगरी आँट र साहसका धनी युवा, विद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी विचारलाई जनतामा स्थापित गराउने बीपीको लक्ष्य थियो । 

स्वतन्त्रता र परिवर्तनको रक्षार्थ बीपी कोइरालाले निर्माण गर्न खोजेको दरिलो ढाल हो, नेपाल तरुण दल । अझ भनौँ नेपाली माटो सुहाउँदो समाजवादी मोडलको उत्तम सारथि हो, तरुण दल । तसर्थ यो युवाहरूको एउटा प्रतिनिधि संस्था मात्र होइन, परिवर्तन र विद्रोहको एक मात्र संवाहक शक्ति हो, देश र जनताको विश्वास पनि हो । 

आन्दोलनको मैदानबाटै जन्मेर नेपाली जनताको मुक्तिका निम्ति अनवरत सङ्घर्षरत युवालाई जोड्ने पहिलो सङ्गठन हो, नेपाल तरुण दल । १०४ वर्षको जहानियाँ राणाशासनको अन्य र २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपाली राजनीतिलाई गतिशील बनाउने, युवा सरोकारका मुद्दालाई मूर्तरूप दिने, साथै नेपाली कांग्रेसको राजनीतिलाई समाजवाद उन्मुख बनाउने ध्येयका साथ स्थापना भएको हो नेपाल तरुण दल । 

२००७ सालको क्रान्ति सफल गर्नका लागि पार्टीले स्थापना गरेको मुक्ति सेना प्रजातन्त्र स्थापनापश्चात् विघटन गरिएको थियो । त्यसपछि नेपाली कांग्रेसलाई खड्किएको युवा सङ्गठनको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल तरुण दलको स्थापना भयो । 

तरुण दलको इतिहास सामान्य छैन । २०१२ सालमा वीरगन्जमा भएको पार्टी महाधिवेशनले आफ्नो संगठनलाई समाजवादी पार्टी घोषणा गरेको र २०१५ सालमा भएको पहिलो निर्वाचनमा पार्टीलाई दुईतिहाइ सिट दिलाउन महत्त्वपूर्ण भूमिका तरुण दलको थियो । यो गर्विलो इतिहासको साक्षी संगठनको एक पहरेदार हुनुमा गर्भ महसुस गरेको छु । २०१७ सालमा नेपाल तरुण दलकै महाधिवेशन स्थल द्रोण शमशेरको दरबार थापाथलीबाट राजा महेन्द्रले सेनाको जत्था प्रयोग गरी बीपी कोइराला, गणेशमान सिंह लगायत नेतालाई गिरफ्तार गरेर दलमाथिको प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । पक्राउ पर्नुअघि बीपी विश्वमा समाजवादको अन्तिम विजय हुनेमा आफ्नो विश्वास प्रकट गरिरहनुभएको थियो । उहाँले राजनीतिलाई सत्ता सङ्घर्षका रूपमा कहिल्यै लिनुभएन, बरु युवालाई सङ्गठित गर्दै समाज परिवर्तन गर्ने हुटहुटी जीवित थियो । 

०१७ सालमा राजा महेन्द्रको शाही कुका विरुद्ध सडकमा टाउकोमा कफन बाँधेर उत्रने युवासँग बीपी कोइरालाको एउटा सपना थियो– प्रजातान्त्रिक समाजवादी विचारलाई युवाका माध्यमबाट जनतामा स्थापित गराउने । देशभरबाट जम्मा भएका तरुणलाई सम्बोधन गर्दै बीपीले भन्नुभएको थियो, ‘अहिले विश्वमा शक्तिको नग्न होड चलिरहेको छ र तानासाही व्यवस्थालाई ग्राह्य बनाउने हेतुले समाजवाद स्थापनाका लागि आर्थिक विकास अपरिहार्य छ । समाजवाद सिर्जनाका लागि उत्पादनका साधनको पूर्ण विकास र औद्योगिक उन्नति आवश्यक हुन्छ ।’ 

केवल आर्थिक विकासलाई मात्र समाजवाद भन्न नसकिने बरु व्यक्ति नै समाजवादको जीवित तत्त्व भएको निष्कर्ष थियो । उहाँ समाजवाद र प्रजातन्त्रलाई अभिन्न अंग मान्नुहुन्थ्यो । ‘जुन समाजमा नागरिक स्वतन्त्रता अपहरण हुन्छ वा उनीहरूले सङ्गठनको स्वतन्त्रता पाउँदैनन्, जहाँ न्यायालय स्वतन्त्र छैन, जहाँका नागरिकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा स्वच्छन्दतापूर्वक बहस गर्न पाउँदैनन्, त्यहाँ समाजवाद पनि रहन सक्दैन’ बीपीको मान्यता थियो । नेपालमा युवाको मुद्दा बोक्ने पहिलो पार्टी नेपाली कांग्रेस र बीपी कोइराला प्रजातान्त्रिक शक्तिका नायक मात्र होइनन्, आन्दोलन पनि हुन् । 

नेपालमा युवाको मुद्दा स्थापित हुनुभन्दा ठिक ३४ वर्ष अगाडि ४ मे १९१९ का दिन चिनियाँ युवा विद्यार्थीले तत्कालीन सरकारविरुद्ध विद्रोह गरे । तत्कालीन सत्ताको ऐतिहासिक ठाउँ ‘तियानमिन स्क्वायर’लाई १०औँ हजार युवा उपस्थितिले कब्जा भयो । यो युवा विद्रोहले सरकारको नैतिक धरातललाई उदाङ्गो बनाइदियो । तत्पश्चात् आत्तिएको सरकारले प्रदर्शनकारीमाथि निर्मम दमन गर्‍यो र सयौँ युवा हत्या गर्‍यो । यो चिनियाँ युवाहरूको चेतना, साहस र बलिदानको जीवित प्रयोग थियो भन्न सकिन्छ । सँगै १६ वर्षपछि (१६ जुन १९७६ मा) दक्षिण अफ्रिकाका काला जातिका युवाले अफ्रिकी शिक्षा ऐनविरुद्ध विद्रोह गरेका थिए । यो विद्रोहमा २०औँ हजार युवा सहभागी थिए । मूलतः यसको नेतृत्व दक्षिण अफ्रिकी युवा–विद्यार्थी संगठनले गरेको थियो । यो सङ्गठनको स्थापना आफैँमा एक विद्रोह थियो । गोरा युवाहरूको दबाबमा रहेको संगठनबाट विद्रोह गरी निर्माण गरिएको काला युवा नयाँ संगठनका रूपमा स्थापना भएको थियो । 

यो विद्रोहलाई ‘सोवेटो’ विद्रोहको नामले चिनिन्छ । विभिन्न अध्ययन प्रतिवेदन अनुसार सरकारले गरेको त्यस बेलाको दमन (१६ जुन)को दिन पाँच–सात सय युवा मारिएका थिए । युवाको विद्रोही चेतनाको प्रदर्शन थियो त्यो । साउथ अफ्रिकामा युवाको वीरतापूर्ण र विद्रोहको स्मरणका रूपमा हेर्ने गरिन्छ । 

पृष्ठभूमिले इतिहास वर्णन गर्दा हामीले कहिल्यै भुल्न नहुने सत्य त्यो २०१७ पुस १ गते अवसान भएको तरुण दल २०५४ कात्तिक ५–७ गतेको पार्टी महासमिति बैठकले पुनर्जीवन गरेको तितो यथार्थ स्विकार्न नकार्नु हाम्रो पुस्ताका लागि बेइमानी हो । 

इतिहास बोकेको संगठन तरुण दल भने अहिले मातृपार्टीका कारण मरणासन्न अवस्थामा छ । उसो त केही संकुचित सोच भएका र वर्णसङ्करको हालीमुहाली भएकाले नेपाली कांग्रेसले आफ्नो सिद्धान्तसँगै बीपीलाई छाड्ने काम भएको छ भन्ने आम समाजमा व्याप्त छ । तरुण दलले कांग्रेसलाई ठुलो दलका रूपमा स्थापित गर्न प्रारम्भिक दिनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो तर आज तरुण दल पार्टीको अन्य निकायमा भूमिका नपाएका केही थान युवालाई थन्क्याउने डम्पिङ साइड बन्न पुगेको छ । 

पार्टी युवाहरूको तमाम विषयमा अनिर्णयको बन्दी बन्दा आमनिर्वाचन जस्तो राजनीतिक उत्सवमा पनि आशालाग्दा युवालाई परिचालन गर्न सकेन । मुलुकमा भ्रष्टाचार व्याप्त छ, महँगीले आकाश छोएको छ, मानव अधिकार हननका दर्जनौँ घटना भइरहेका छन् । तर, यी विषयलाई उठाएर राज्यलाई सही बाटोमा हिँडाउन भूमिका खेल्नुपर्ने कांग्रेस र शान्तिपूर्ण रूपमा सडकमा निस्किनुपर्ने तरुण दल बेखबर प्राय छ । 

मातृ पार्टी कांग्रेस स्वयं दिशाविहीन अवस्थामा छ । यसको मूल कारण विचार–विमर्शको अनुपस्थिति नै हो । राजनीतिको लक्ष्य र कार्य पद्धतिलाई पार्टी नेतृत्वले आम कार्यकर्तासम्म पुर्‍याउन सक्नुपथ्र्याे, तर त्यसो हुन सकेको छैन । 

मलाई लाग्छ, जसमाथी समाजले अझै आशा राखेर बसेकाले मात्र होइन यस्तो उद्देश्यमा समर्पित कांग्रेसजन, समर्थक, शुभेच्छुकले खुला आह्वान गर्नुपर्ने बेला आएको छ । पार्टीभित्र मौलाएको गलत प्रवृत्ति र बदनाम पात्रविरुद्ध विद्रोहको खुला घोषणा गर्नुपर्ने दिन आएको छ । नयाँ सिर्जनशील परिपक्व नेपाली कांग्रेस निर्माणको मन, वचन र कर्मले सङ्कल्प गर्नुपर्ने दिन आएको छ । 

नयाँ नीति तथा सिद्धान्त छाँट्नु पनि पर्दैन, कांग्रेसको स्थापनाकालीन सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद अहिले पनि उत्तिकै सान्दर्भिक छ  । सिद्धान्त दिनदिनै नयाँ उम्रिने पनि होइन  । मुख्य कुरा त्यसको गतिशील व्याख्या र प्रयोग हो  । नीति सिद्धान्त र त्यसप्रतिको निष्ठा, व्यवहार हो  । स्वयंसेवकको अनुशासित संस्था बनाउन सक्नु पनि हो । भ्रातृ संस्थाहरूको पुनरवलोकनसँगै पार्टीभित्रका रित्तो विभागको पनि समीक्षा हुनुपर्छ । मलाई लाग्छ नीति विमर्श, प्रशिक्षण र सूचना प्रविधिको प्रयोगमा निपूर्ण रहेको केही चुस्त विभाग भए पर्याप्त हुन्छन् । 

राजनीति किन गर्ने ? अहिले सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो  । ‘जोगी बन्न राजनीतिमा लागेको हो र ? भनेर उल्टै प्रश्न बर्सिन्छन् । 
राजनीति सेवा हो, सेवाको संस्कृति राजनीतिज्ञको आचरण हो  । सुविधा भोग र धन कमाउन अरू अनेक बाटा छन् । उद्यमशील मानिसले त्यो गरेरै देखाएका छन् । सुविधाभोग र कमाउधन्दालाई राजनीतिबाट टाढै राख्न सक्नुपर्छ  । 

  • युवापुस्ता 

राजनीति फोहोर भयो भनेर किनारमा बसी औँला ठड्याएर मात्र युवाको दायित्व पूरा होला ? अवश्य हुँदैन  । उसले आफैँभित्र पसेर यसलाई सफा गर्ने आँट गर्नैपर्छ  । यस्तो आँट नगर्ने हो भने खराब मानिसबाट सधैँ शासित हुन मञ्जुर हुनुपर्छ । 

युवा र राजनीतिसँग अभिन्न रूपले जोडिएका केही सवाल छन्— एउटा सचेत युवाले कुन बाटो रोज्ने ? राजनीति केवल सान, दौलत र पदका लागि मात्र गर्ने कि विकास र समृद्धिका लागि ? राजनीतिलाई सेवा ठान्ने कि पेसा बनाउने ? अरू क्षेत्रमा असफल भएपछि रोजिने क्षेत्र राजनीति बनाउने कि हर क्षेत्रमा अब्बल हुनेको रोजाइको क्षेत्र बनाउने ? असल नीतिहरूको नीति राजनीति बनाउने कि खराब र समाजले नरुचाएका शासकहरूको शासन व्यवस्थाको भरिया बनाउने ? युवालाई वर्तमानको साझेदार मान्ने कि भविष्यको भागिदार ? पालो कुरेर ऊर्जा मरिसकेपछि जिम्मेवारीमा आउने कि समयमै पहलकदमी लिने ? यी यावत् प्रश्न छन् । 

आज समाजले विकल्प खोजिरहेको होला तर विकल्प केवल अनुहारको होइन, विचार र दृष्टिकोणको पनि हो । पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवालाई देखिरहेको अनुहार पनि भए होलान् । तर देउताको अवतार मानिदै घर–घरमा पुजिएका राजालाई प्रश्न गर्दै लड्ने र अन्ततः विस्थापित गर्ने उसको समकालीन समयको दृष्टिकोण, साहस र सफलता चानचुने छैन । 

माथिल्लो दर्जाको नेतालाई भ्रातृ संस्थाको नेता चाहिँदैन उनीहरूका लागि कार्यकर्ता भइदिए पुग्छ । नभए कर्णप्रिय भाषण अगाडि पार्टीमा रहेका, माननीय भएका अनुहार र विगतको भ्रातृ संस्थाको नेतृत्वमा रहँदाको कर्म हेरौँ प्रस्ट छ । यो पनि प्रस्ट छ कि महाधिवेशनको खेल हेर्न अहिलेको जाल झेलको टिमहरूलाई टिकट कटाएर ल्याएका दर्शक पनि देखिनेवाला छैनन् । 

उसो भए महाधिवेशन नभए के हुन्छ ? लगभग विगतको दशकको क्रमभंगता हुँदैन । पात्र छाडौँ, कम्तीमा अहिले देखिएको, सुनिएको, अनुभूति गरिएको संगठन पनि गुमनाम हुन्छ । म यति कुरामा प्रस्ट छु, अहिलेको नेतृत्व वा फरक मत नै राख्ने साथीहरू समयको संवेदनशीलता बुझेर युवाको तरुण राजनीतिको औचित्यता प्रस्ट गराउने ल्याकत राख्नुहुन्छ । व्यक्तिको परिचय बोकेर संगठनमा लाग्नु र संगठनले दिएको परिचयले कर्म गर्नु उद्देश्य र मर्मको हिसाबले जिम्मेवारीको दायित्वले जित्छ । 

एउटा केन्द्रीय सदस्य आफैँमा संस्था हो । संवेदनशील भएर लक्ष्य उन्मुख हुनुपर्छ, तर यहाँ आफ्नो टिम र नजिकका मान्छे र टाढाको फरक टिमको ट्यागले के तरुण आजको युग सुहाउँदो बन्छ त ? यो प्रश्न आफैँलाई सोध्नुपर्ने दिन आएको छ । 

नेपाल तरुण दलको विकल्प तरुण दल नै हो । यो कुरालाई अक्षरशः पालना गर्ने हो भने आज बजारका नयाँ वा पुरानो भनिएको कुनै कम्युनिस्ट वा राष्ट्रिय स्वतन्त्र पार्टी का भ्रातृसंस्था तरुणदलको प्रतिस्पर्धी हुन सक्दैनन् । 

नेपाल तरुण दलले आफ्नो स्थापनाको जग र मूल उद्देश्यलाई पुनर्जागरण गर्न जरुरी छ  । नेतृत्वमा गिरोहका नाइके दाइ, दिदी, भाउजू वा तिनका आसेपासेलाई बोकेर होइन, नयाँ प्रण र वाचासहित स्वयंसेवीहरूको स्वस्फूर्त जमात तयार गर्नु आवश्यक छ  । संस्थागत रूपमा नयाँ रूपान्तरण आवश्यक छ । नेतृत्वमा कोही नयाँ अनुहार आउँदैमा पुग्दैन, रूपान्तरणको एजेन्डा बोक्न जरुरी छ । 

वास्तवमा तरुण दलको स्थापना प्रजातान्त्रिक समाजवादप्रति आस्था जगाउने, समाजवादी तरुणबिच एकता बलियो बनाउँदै अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग सम्बन्ध स्थापित गर्ने, युवा र तरुणलाई प्रजातान्त्रिक समाजवादको सिद्धान्त अन्तर्गत बौद्धिक, सांस्कृतिक, शैक्षिक तथा राष्ट्र निर्माण कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले भएको थियो । तरुण दल मात्र नभएर कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संगठनहरू पनि प्रभावकारी बन्न सकेका छैनन् । आज युवा विद्यार्थी र तरुणले मुलुकको उन्नतिभन्दा आफ्नै उन्नतिलाई प्रधान ठान्न थालेका छन् । 

२०१६ जेठमा बीपीले नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको शपथ लिएलगत्तै तरुण दललाई विकास र जनचेतनाको अभिभारा सुम्पेका थिए । कांग्रेसको सरकारले अघि सारेका प्रत्येक प्रगतिशील कार्यहरूको कार्यान्वयनमा प्रतिगामीहरूको प्रहार परास्त गर्ने पहिलो शक्ति भएर युवाहरूकै संगठन अगाडि आयो । 

बीपीले सबैभन्दा बढी भरोसा गरेको संगठन तरुण दल आज वैधानिक अस्तित्वमा मात्र छ । देशैभरका जिम्मेवार सदस्यले भ्रातृ एवं शुभेच्छुक संगठनको संरचना परिवर्तन तथा परिचालनका बारेमा विहंगम बहस गर्न आवश्यक छ । नेपालमा वामपन्थी वर्चस्व बढ्दै जानुमा वामहरूको असल कामभन्दा कांग्रेसको असफल नीति मुख्यतः जिम्मेवार छ । समयमै कांग्रेसले युवाहरूलाई वैचारिक फाँटमा सशक्त नबनाउने हो भने पार्टीको भविष्यप्रति संशय त पैदा हुन्छ नै, लोकतन्त्रको स्थायित्वमा समेत प्रश्न उठ्नेछ । 

प्रश्न हामी माथि छ, जसले नेपाली कांग्रेसलाई नवीन ऊर्जा भर्न सक्छु सक्छौँ भनेर सडक–सदन संघर्ष पनि गर्छाैं । के नेपाली कांग्रेससभित्र हामी र हाम्रो पुस्ता विकल्प हो भने हाम्रो लक्ष्य के हो ? यो समाजलाई दिन खोजेको के हो, गर्न खोजेको के हो ? हाम्रो पुस्ताले जनताले बुझ्ने भाषामा पहिले यो प्रस्ट पार्न सक्नुपर्छ । तत्पश्चात् विकल्पका रूपमा समय आफैँले हामीलाई अघि सार्छ, कसैले रोकेर रोकिन्न । मागेर पुस्तान्तरण र सत्ता हस्तान्तरण कहिल्यै हुँदैन । युवाहरूको उत्पादनको स्रोत बन्द गरेर युवा नेतृत्व खोज्नु भनेको कारखाना बन्द गरेर त्यसैको सामान खोज्न बजार दौडनुजस्तै हो  । आजको राजनीतिक बजारमा उद्योगी, व्यापारी, ठेकेदार, कलाकार, बिचौलिया र दलालहरूको उपस्थिति बाक्लिँदै जानु यसैको उपज हो  । यसप्रति बेलैमा सचेतता नअपनाए राजनीतिले सही दिशा लिनै सक्दैन  । 

यी सवाल केवल युवाका मात्र होइनन् सिंगो राजनीतिक क्षेत्रका हुन् । मुद्दाहरू केवल एउटा उमेर समूहका मात्र होइनन् देशकै हुन् । यसर्थ युवाहरूलाई भविष्यको कर्णधार मात्र होइन वर्तमानको साझेदार ठान्नु नै उनीहरूको अस्तित्वलाई स्वीकार गर्नु हो । समग्र युवापुस्तालाई न्याय दिनु हो । 
(लेखक बास्तोला नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पोषकुमार बास्तोला ‘पुष्कर’
पोषकुमार बास्तोला ‘पुष्कर’
लेखकबाट थप