घर पुगे हमासले रिहा गरेका थाई बन्दी
![घर पुगे हमासले रिहा गरेका थाई बन्दी](https://npcdn.ratopati.com/media/news/26329d80-e69d-11ef-99c6-275a6e1898e4.png_jJGuILDmFJ.webp)
बैंकक । प्यालेष्टिनी सशस्त्र समूह हमासले गाजामा गएको महिनाको अन्त्यतिर रिहा गरेका पाँच जना थाई नागरिक स्वदेश फर्किएका छन् । झन्डै ५०० दिन थुनामा रहेको उनीहरू अन्ततः घर पुगेका हुन् ।
२०२३ को अक्टोबरमा हमासले दक्षिण इजरायलमा आक्रमण गरेर कयौँलाई बन्दी बनाएको थियो । यस क्रममा दक्षिणी इजरायलमा कार्यरत पोङसाक थाएन्ना, साथियन सुनानखाम, वाचारा श्रीओउन, बान्नावत साइथाओ र सुरासाक लाम्नाओलाई पनि हमासले आफ्ना कब्जामा लिएको थियो ।
आइतबार बिहान बैंकक सुवर्णभूमि विमानस्थलमा पाँचै जनाले भावविह्वल मुद्रामा आ–आफ्ना आफन्तहरूसँग भेटघाट गरेका थिए । ‘यसलाई शब्दमा कसरी बयान गरौँ मलाई थाहा छैन,’ थाएन्नाले भने ।
आफूहरूलाई रिहा गर्न खटिएका अधिकारीहरूलाई उनले धन्यवाद भनेका थिए । घर फर्किन पाउँदा आफूहरू निकै खुसी भएको पनि उनले बताए । इजरायल र हमासबीच युद्धविराम सम्झौताअन्तर्गत उनीहरूलाई रिहा गरिएको हो । हमासले चरणबद्ध रूपमा बन्दीहरूलाई रिहा गरिरहेको छ ।