‘गिभ रेस्पेक्ट टेक रेस्पेक्ट’ नहुँदा समाजमा मौलाउँदै छ 'डिभोर्स'
![‘गिभ रेस्पेक्ट टेक रेस्पेक्ट’ नहुँदा समाजमा मौलाउँदै छ 'डिभोर्स'](https://npcdn.ratopati.com/media/news/suresh-asrin_TPkP95GT9a.jpg)
‘जसले विवाह गर्यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो ।’ समाजशास्त्रका प्रा.डा. युवराज लुइँटेल भन्छन् । हरेक विवाहित जोडीको जीवन प्रेमिल र सुखद होस् भन्ने चाहना कसको हुँदैन होला र ! तर दुःखद कुरा शिरको सिन्दुरको रङ फिक्का हुन नपाउँदै नेपालका महिला सेलिब्रेटीहरूको सम्बन्ध विच्छेदको खबरहरू पत्रपत्रिकामा छापिन थाल्छन् ।
अमेरिकी लेखक तथा पत्रकार जेनिफर वेनर सम्बन्धविच्छेदलाई त्यस्तो दुःखद घटना मान्दिनन् । ‘जति पीडा वैवाहिक सम्बन्धमा रहिरहनुमा हुन्छ, त्यति दुःख सम्बन्धविच्छेद गर्दा हुँदैन,’ उनको भनाइ छ । जेनिफरले भनेजस्तो वैवाहिक जीवन त्यति दुःखद र कष्टकर पनि होइन । त्यस्तो हुन्थ्यो भने पक्कै पनि विवाह दर्ता भन्दाबढी सम्बन्धविच्छेदका ल्याप्चेहरूले नेपाली कागजका पन्ना भरिन्थे होलान् ।
समान रूपमा महिला र पुरुषलाई बराबरी महत्त्व दिइएको ‘नारी समानता’को कुरा गर्ने फेमिनिस्टहरू सम्बन्धविच्छेदबाट मानिसको जीवन अन्त्य हुँदैन, बरु नयाँ जीवन सुरुवातको ढोका खुल्छ भन्ने मान्यतामा बाँचेकाहरू पनि छन् । नेपालको इतिहासदेखि आजसम्म एकल महिलाप्रति दृष्टिगोचर गर्ने हो भने अपवाद बाहेकका एकल महिलाहरू सामाजिक, आर्थिक र राजनीतिक रूपमा सफलता प्राप्त गरेका छन् भने अधिकांश महिलाको जीवन कष्टदायक नै रहेको देखिन्छ । यद्यपि नारी समानतालाई निकै महत्त्व दिएका देशमा पनि उच्च पदमा पुगेका र सेलिब्रेटी महिलाको जीवनमा पारपाचुके अत्यधिक भएको कुरालाई भने आत्मसात गर्नैपर्छ ।
नेपाली समाजमा ‘सम्बन्धविच्छेद’ भन्ने सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन छ, फलानीले त डिभोर्स गरी रे नि ! कस्तो संस्कारहीन आइमाई ! यस्ता शब्दहरू पँधेरो, मेलापात र फुर्सदका समयमा चिया–चौतारीमा कुरा काट्ने माध्यम बन्छ । जसरी ‘विवाह’बारे सुन्दा उत्साह र उमंगले भरिएको प्रतिक्रिया पाउँछौँ, सम्बन्धविच्छेदको खबरमा फरक प्रतिक्रिया जनाइहाल्ने नेपालीपन आज पनि उस्तै छ ।
गायिका एलिना चौहान नेपाली गायन क्षेत्रमा चर्चित छन् । उनले अस्ट्रेलिया बस्ने बाग्लुङका विष्णु सापकोटासँग यसै वर्षको वैशाख ५ गते प्रेमविवाह गरेकी थिइन् । तर नौ महिना नबित्दै उनीहरुको सम्बन्धविच्छेद हुन पुग्यो ।
एलिना चौहान पछिल्लो समय सम्बन्ध–विच्छेद गर्ने एक प्रतिनिधि पात्र मात्र हुन् । यसअघि पनि नेपाली चलचित्र क्षेत्रका नायक नायिका, राजनीतिक क्षेत्रका राजनीतिकर्मीका सम्बन्धविच्छेदका खबर नआएका पनि होइनन् । एलिनाको हकमा जुन परिस्थिति आइलाग्यो, त्यो धेरैको वैवाहिक जीवनमा नआउला भन्न सकिन्न । किनभने पुरुष मानसिकताले महिलालाई घरगृहस्थीको चौघेरा नाघेर बाहिर निस्किन बन्देज गर्छ । स्वतन्त्रपूर्वक आफ्ना आमाबुवाका काखमा बसेकी छोरी जब बिहे भएर अर्काे घरमा जान्छे तब उसको बोली, उसको हाँसो, उसको पहिरन, उसको हिँडाइ, उसको खानपान आदि कुरामा अरुकै अधीनमा हुनुपर्छ भन्ने मान्यता जो स्थापित छ ।
- पितृसत्ताको रोग
पुरुष भन्नेबित्तिकै समाजले उसमाथि ठुलो अपेक्षा राखेको हुन्छ । समाजसेवी बनोस्, ठुलो नेता बनोस्, आफूलाई निडर मर्दाङ्गी बनाओस्— यो कुरा पुरुषवादी समाजले स्वयं स्वीकार गर्छन् । यसका लागि उनीहरू आफूलाई सोही अनुसार शक्तिशाली, प्रभावी, पराक्रमी, आक्रामक, निडर र बहादुर देखाउन तत्पर हुन्छन् । यस्तो प्रवृत्तिले पुरुषवादी समाजले बनाएको मस्क्युलिनिटी र फेमिनिटीको संरचनामाथि कहिल्यै प्रश्न गर्दैन । यदि एलिना चौहान पनि समाजको पितृसत्ताले पवित्र विवाहित अन्योन्याश्रित सम्बन्धलाई शासक र शासितका रूपमा स्थापित गरेर महिलालाई कज्याएर आफू बलियो बन्ने र समान हैसियत स्वीकार नगर्ने उनैका पतिबाट प्रताडीत भएकी हुन् भने पनि ढुङ्गा बोल्ला वर्तमान पुरुषवादी चिन्तन बोकेको हाम्रो समाज बोल्दैन ।
लैंगिक समानता चाहने पुरुषले सामाजिक न्याय, लोकतन्त्र, सह–अस्तित्व सुख र शान्ति स्थापित होस् भन्ने चाहन्छन् । नारीवादी पुरुष समाजले पितृसत्तालाई अस्वीकार गर्नुपर्छ । उसले बालबालिका, महिला, पुरुष, ट्रान्सजेन्डर्स र सबै जाति र वर्गका विरुद्ध हुने कुनै पनि किसिमको भेदभाव र हिंसाका लागि आवाज उठाउनुपर्छ । तब घरको चौधेराभित्रको अँध्यारोमा हुने महिला हिंसाका कारण कुनै पनि क्षेत्रका विवाहित महिला डिभोर्सी हुनुपर्दैन ।
हाम्रो समाजमा शिक्षित र आत्मनिर्भर महिलाको संख्या बढिरहेको छ । पहिलेको तुलनामा मानवीय चेतनास्तरको बढोत्तरीले गर्दा महिलाको विद्रोह गर्ने क्षमता पनि बढ्दै गएको देखिन्छ । जसका कारण बलात्कार, सार्वजनिक क्षेत्रमा हुने अस्वाभाविक क्रियाकलाप, घरेलु हिंसा र गलत परम्पराविरुद्ध विद्रोह बोल्ने आँट तुलनात्मक बढेको छ, यो राम्रो पक्ष हो । यहाँनेर पुरुषले परम्परा धान्न खोज्ने र महिलाले भत्काउन खोज्ने चाहनाको अन्तर विग्रहमा बदलिँदै जाँदा त्यसको उत्कर्ष ‘डिभोर्स’ बन्न पुग्छ, यो सत्यतालाई बुझनुपर्छ ।
अर्काे भय र डरलाग्दो पाटो के छ भने घुम्ने, रमाउने, नयाँ नयाँ कपडा किन्ने आदि जस्ता विलासी वस्तुमा महिलाको चाहना समयक्रम अनुसार दिनानुदिन तीव्र बढ्दै छ । जसले पुरुषलाई मानसिक रूपमा तनाव र भौतिक रूपमा ऋणको भारी बोकाउँदै लागिरहेको छ । जसबाट निस्किन पनि पुरुषहरूले डिभोर्स फाइल गर्ने गरेको पाइन्छ ।
- विवाहको रोजाइ
विवाह युवायुवतीका लागि खुसी सञ्चारको कुरा हो । गाँसदेखि लाससम्मको जीवन बिताइसक्दा पनि अन्जान रहने श्रीमान्–श्रीमती दुवै एकअर्काका परिपूरक हुन जीवनमा सबैभन्दा धेरै माया लाग्ने र माया गर्ने कोही छन् भने यी दुवै दम्पती छन् । तर आजभोलि विवाहको रोजाइ गलत हुन थालेको छ ।
हिजो विवाह पूर्व घर–परिवार, खान–लाउन पुग्ने झिटिझाम्टो हेरिन्थ्यो भने आज व्यक्तिको पर्सनालिटी हेरिन्छ । केटाले के काम गर्छ, कस्तो आचरणको छ, संस्कारी छ कि छैन आदि–इत्यादि हेरिँदैन । केटा जस्तोसुकै होस्, मतलब छैन । केवल ऊसँग धन दौलत कति छ, अमेरिका,अस्ट्रेलिया, क्यानडा युरोप कहाँ छ, मुख्य त्यो हेरिन्छ, केटा अरबमा छ, भने अब उप्रान्त उसले योग्य वधु पाउन मुस्किल हुँदै गएको सत्य हो ।
केटाकेटी दुवैले आफ्नो हैसियत समानको वरवधु चुन्ने र ‘गिभ रेस्पेक्ट टेक रेस्पेक्ट’ को जीवनशैली अपनाउने हो भने समाज समतामूलक बन्छ, डिभोर्सका घटना कम हुँदै जान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका सांसदलाई नयाँ ल्यापटप दिने तयारी
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले गरे स्नान
-
पूर्वाधारका पर्खाइमा सुनछहरा
-
१० खेलाडीमा सीमित बार्साको शानदार जित, रियलसँग दुरी घटायो
-
रोहित फर्ममा फर्किँदा भारतलाई शृङ्खला
-
कर्णालीमा स्थानीय सेवा ऐन विवाद : संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा, पालिकाको काम ठप्प