स्वस्थानी कथामा पढेको ठाउँ शालीनदी घुम्दा
![स्वस्थानी कथामा पढेको ठाउँ शालीनदी घुम्दा](https://npcdn.ratopati.com/media/news/shiwanshi-khadka_TadyIXE1PV.jpg)
साथीहरू ! माघमा हरेक वर्ष हाम्रो घरमा स्वस्थानी कथा भन्ने गरिन्छ । धेरै साथीको घरमा पनि भनिन्छ होला । स्वस्थानी कथामा भनेको शालीनदी भन्ने ठाउँमा भने म यसअघि कहिले गएको थिइनँ । यसपालि पहिलोपटक बाबा–ममीसँग घुम्न गएँ ।
‘कुमारजी आज्ञा गर्नुहुन्छ— हे अगस्त्य मुनि’ भनेर स्वस्थानी कथा सुरु हुन्छ । मैले पनि कुनै कुनै अध्याय पढेकी छु । स्वस्थानीमा साँखुको शालीनदीको पनि कथा छ । त्यसैले त्यो ठाउँ कस्तो रहेछ भनेर हेर्न गएको थिएँ ।
स्वस्थानीको कथामा भएको साँखुलाई लावण्य देश भनिदो रहेछ । शालीनदी घुम्ने क्रममा स्वस्थानी मन्दिर पनि दर्शन गरियो । कथामा भनेजस्तो शालीनदी देखियो तर सानो रहेछ । थुनेर पोखरीजस्तो बनाएर डुबुल्की मार्ने, नुहाउने गरेको देखेँ । उक्त पानीलाई पवित्र मानेर धेरैले बोतलमा पनि घरघर लगेको पाइयो । पारिपट्टि शिव भगवानको मूर्ति रहेछ, जहाँबाट झरना झरिरहेकाले फोटो खिच्नेहरूको भीड देखेँ ।
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने शालीनदी मेलामा रातो रङको एउटै पोसाक लगाएर स्वस्थानीको व्रत बस्नेहरू नजिकैको माधवनारायण मन्दिर वरिपरि बसेर पूजाआजा गरिरहेका थिए । घुम्ने क्रममा गोमाको कुटी भनेर बनाइएको एउटा टहरा रहेछ, जहाँ परिक्रमा गर्दै दर्शनार्थीले पैसा, फूलपाती चढाएको देखेँ, मैले पनि चढाएँ । मेलामा कुरौनी, तितौरा, खेलौनाका सामान, दाल, गेडागुडीका पसल पनि धेरै थिए । बालबालिकाका लागि खेल्न रोटेपिङ, चिप्लेटीदेखि विभिन्न खानेकुरा राखिएका थिए । हामीले पनि कुरौनी किन्यौँ ।
बिदाको दिन भएकाले शालीनदीमा धेरै घुइँचो थियो । हरेक बसमा ‘शालीनदी तीर्थयात्रा’ भनेर लेखिएको थियो । जाँदा सजिलै गएका हामी घुमफिरमा त रमाइलै भयो, तर फर्कने बेलामा बसमा सिट नपाएर उभिएरै फर्कनुपर्यो ।
स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा–आराधना र स्वस्थानीदेवीको पूजा गरेमा चिताएको फल प्राप्त हुन्छ भनिएको छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रतमा भगवान् शिवको पूजा आराधना गरिन्छ । यो व्रत बस्नाले स्वस्थानी कथामा बयान गरिएजस्तै सुख, शान्ति, रोग पनि नष्ट हुने विश्वास गरिन्छ । साथीहरू ! तपाईंहरूले पनि शालीनदीको भ्रमण गर्दा धेरै कुरा देख्न सक्नुहुनेछ ।
०००
कक्षा : ४
विद्यालय : बागमती बोर्डिङ सेकेन्डरी स्कुल, सुकेधारा काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित फर्ममा फर्किँदा भारतलाई शृङ्खला
-
कर्णालीमा स्थानीय सेवा ऐन विवाद : संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा, पालिकाको काम ठप्प
-
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
-
सोमबार कुन राशिका लागि शुभ ?
-
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै