स्वस्थानी कथामा पढेको ठाउँ शालीनदी घुम्दा

साथीहरू ! माघमा हरेक वर्ष हाम्रो घरमा स्वस्थानी कथा भन्ने गरिन्छ । धेरै साथीको घरमा पनि भनिन्छ होला । स्वस्थानी कथामा भनेको शालीनदी भन्ने ठाउँमा भने म यसअघि कहिले गएको थिइनँ । यसपालि पहिलोपटक बाबा–ममीसँग घुम्न गएँ ।
‘कुमारजी आज्ञा गर्नुहुन्छ— हे अगस्त्य मुनि’ भनेर स्वस्थानी कथा सुरु हुन्छ । मैले पनि कुनै कुनै अध्याय पढेकी छु । स्वस्थानीमा साँखुको शालीनदीको पनि कथा छ । त्यसैले त्यो ठाउँ कस्तो रहेछ भनेर हेर्न गएको थिएँ ।
स्वस्थानीको कथामा भएको साँखुलाई लावण्य देश भनिदो रहेछ । शालीनदी घुम्ने क्रममा स्वस्थानी मन्दिर पनि दर्शन गरियो । कथामा भनेजस्तो शालीनदी देखियो तर सानो रहेछ । थुनेर पोखरीजस्तो बनाएर डुबुल्की मार्ने, नुहाउने गरेको देखेँ । उक्त पानीलाई पवित्र मानेर धेरैले बोतलमा पनि घरघर लगेको पाइयो । पारिपट्टि शिव भगवानको मूर्ति रहेछ, जहाँबाट झरना झरिरहेकाले फोटो खिच्नेहरूको भीड देखेँ ।
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने शालीनदी मेलामा रातो रङको एउटै पोसाक लगाएर स्वस्थानीको व्रत बस्नेहरू नजिकैको माधवनारायण मन्दिर वरिपरि बसेर पूजाआजा गरिरहेका थिए । घुम्ने क्रममा गोमाको कुटी भनेर बनाइएको एउटा टहरा रहेछ, जहाँ परिक्रमा गर्दै दर्शनार्थीले पैसा, फूलपाती चढाएको देखेँ, मैले पनि चढाएँ । मेलामा कुरौनी, तितौरा, खेलौनाका सामान, दाल, गेडागुडीका पसल पनि धेरै थिए । बालबालिकाका लागि खेल्न रोटेपिङ, चिप्लेटीदेखि विभिन्न खानेकुरा राखिएका थिए । हामीले पनि कुरौनी किन्यौँ ।
बिदाको दिन भएकाले शालीनदीमा धेरै घुइँचो थियो । हरेक बसमा ‘शालीनदी तीर्थयात्रा’ भनेर लेखिएको थियो । जाँदा सजिलै गएका हामी घुमफिरमा त रमाइलै भयो, तर फर्कने बेलामा बसमा सिट नपाएर उभिएरै फर्कनुपर्यो ।
स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा–आराधना र स्वस्थानीदेवीको पूजा गरेमा चिताएको फल प्राप्त हुन्छ भनिएको छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रतमा भगवान् शिवको पूजा आराधना गरिन्छ । यो व्रत बस्नाले स्वस्थानी कथामा बयान गरिएजस्तै सुख, शान्ति, रोग पनि नष्ट हुने विश्वास गरिन्छ । साथीहरू ! तपाईंहरूले पनि शालीनदीको भ्रमण गर्दा धेरै कुरा देख्न सक्नुहुनेछ ।
०००
कक्षा : ४
विद्यालय : बागमती बोर्डिङ सेकेन्डरी स्कुल, सुकेधारा काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
-
मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता