सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : पाथीभरा केबलकार विवाद

‘कि हामीलाई सिद्ध्याउनु पर्छ, कि केबलकार निर्माण रोक्नुपर्छ’

आइतबार, २७ माघ २०८१, १० : ०१
आइतबार, २७ माघ २०८१

ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद भइरहेको छ । उक्त विवाद समाधानका लागि सरकार र ‘नो केबलकार समूह’बिच प्रारम्भिक चरणमा वार्ता भएको छ । निर्णायक वार्ता माघ २७ गतेका लागि तोकिएको छ ।

प्रारम्भिक चरणको वार्ता समितिमा बसेका ‘नो केबलकार समूह’का संयोजक अम्बरजङ लिम्बू सरकारको मानसिकताले वार्ता सफल हुन नसक्ने सङ्केत गर्छन् । उनले त सरकारले केबलकार बनाउन खोजे आफूहरूलाई सिद्ध्याएर मात्रै सम्भव हुने बताए । प्रस्तुत छ, उनीसँग रातोपाटीकर्मी अर्जुन आचार्यले गरेको कुराकानी ।

  • तपाईं वार्तामा बस्नु भयो । सरकारको मनोविज्ञान के पाउनु भयो ?

– वार्तामा कर्मचारी थिए । उहाँहरूको कुरामात्रै हावी भयो । उहाँहरूको आफ्नो सीमा पनि थियो होला । त्यसले पनि त्यहाँ समस्या भयो । उहाँहरूले राजनीतिक कुरा गर्न सक्ने अवस्था पनि थिएन । सहमति गर्दा पनि आफैँले व्यहोर्नुपर्ने अवस्था हुन्छ भन्ने कुरा गर्नुभयो । त्यसैले हामीले भनेको कुरा धेरै मान्नुभएन ।

अर्को कुरा, राजनीतिक व्यक्तिहरूसँग भेट्दा ठिकै कुरा गर्ने तर, यता वार्तामा आउँदा त्यसलाई स्वीकार नगर्ने, सहयोग नगर्ने खालको भयो । उनीहरूको कुरा केबलकार निर्माण गर्नेतिरै जोड रहेको आभास पाइयो ।

  • तपाईंहरूले राखेका मागलाई नजरअन्दाज गरियो ?

– मूल कुरामा त्यस्तै देखियो । अरु कुरा त हाम्रा सहायक कुरा न हुन् । हामीले तत्काल काम रोक्नुपर्छ भनेका थियौँ । त्यो विषयमा निर्णय गर्नै नसक्ने कुरा आयो । त्यसकारण कर्मचारीसँगको वार्ताले समाधान दिन्छ जस्तो लागेन ।

  • तपाईंहरूको मूल अडानचाहिँ के थियो ?

– चलिरहेको आन्दोलनलाई वार्तामा ल्याउने वातावरण बनाउनका लागि भनेर हामीले अल्पकालीन र दीर्घकालीन भनेर दुई वटा कुरा अगाडि बढाएका थियौँ । अल्पकालीन कुरामा हामीले सशस्त्र प्रहरी र जनपथ प्रहरी नाम्जाङेबाट फिर्ता हुनु पर्ने, निर्माणाधीन केबलकारको काम रोक्नुपर्ने, पक्राउ परेकाहरूलाई छोड्नुपर्ने, घाइतेहरूलाई उपचार गर्नुपर्ने भन्ने थियो ।

त्यसमध्ये क्याम्प हटाउने र काम रोक्ने विषयमा सहमति हुन लामो वार्ता गर्नुपर्‍यो । यस्तै केबलकार खारेजीको कुरा छ । क्षतिपूर्ति दिनका लागि अध्ययन समिति गठन गर्ने, छानबिन गर्ने र कानुनी कारबाही गर्ने कुरा छ । पाथीभरा क्षेत्र विकास समिति गठन आदेशले त्यहाँ करिब ३ हजार घरधुरी विस्थापित गर्ने अवस्था छ । त्यसलाई हामीले पुनर्विचार गर या खारेज गर भन्ने माग गरेका छौँ । किनभने ३ हजार घरधुरी विस्थापित हुनेबित्तिकै उनीहरू सुकुमबासी हुन्छन् ।

  • सुरक्षाकर्मीचाहिँ किन फिर्ता हुनुपर्‍यो त ?

– उनीहरूले मुक्कुम्लुङ संरक्षकहरूमाथि अनाहकमा गोली चलाए । अहिले पनि पाथीभरा जाने मानिसहरूलाई सुरक्षाको नाममा खानतलासी गरिरहेका छन् । त्यो गर्ने काम नै होइन । उनीहरूको मुख्य उद्देश्य भनेकै केबलकार निर्माणको सुरक्षा दिने हो । त्यसकारण पनि उनीहरू हट्नुपर्‍यो भनेको हो तर, अन्तिममा काम रोक्ने कुरामा उनीहरू सहमत भए पनि सुरक्षाकर्मी हटाउने बारेमा अर्को पटकको वार्तामा छलफल गर्ने कुरा भयो ।

  • २७ गते हुने वार्ता, छलफल र संवादले कुनै निष्कर्ष निस्किएला ?

– सरकारको तर्फबाट के गर्छन्, त्यो उनीहरूको कुरा भयो । सरकारले बेवास्ता गरे धेरै क्षति हुनसक्छ । सरकारले सधैँ निष्कर्ष नदिएर बस्ने अवस्था त बन्दैन होला । हामीलाई पनि के थाहा छ भने विभिन्न धर्म, तीर्थयात्रा भनेको पर्यटकीयस्थल होइन, आध्यात्मिक स्थल हो । त्यहाँ शान्ति पाउने ठाउँ हो, ध्यान गर्ने ठाउँ हो । त्यस्तो ठाउँमा केबलकार लाने, आराधनाको सिस्टमलाई ब्रेक गरिदिने, प्राकृतिक हिसाबले जनावरहरूको रुटहरू ब्रेक हुने, हजारौँ वर्षमा हुर्किएका पचासौँ हजार लालीगुराँस र मुन्धुमी वृक्षहरू नासिने, काटिने काम भएको छ । त्यस्तो हुनुहुँदैन । त्यो वातावरणीय हिसाबले पनि गर्नुहुँदैन र आध्यात्मिक हिसाबले पनि गर्नु हुँदैन ।

त्यो क्षेत्रमा रेडपान्डा, डाँफेलगायतका लोपोन्मुख पशुपंक्षीको रुट पनि ब्रेक हुन्छ । त्यसले पर्यावरण र जनावरको बसोबासस्थल पनि खलबलिन्छ । त्यहाँ केबलकार लानुहुँदैन । पहिलेदेखि त्यो ठाउँ जुन प्राकृतिक अवस्थामा छ, त्यही अवस्थामा हुनुपर्छ । त्यहाँ माथिल्लो फेदीदेखि पूजा सुरु हुन्छ । थानमै केबलकार लगेपछि त्यसको महत्त्व त सकियो नि । त्यसपछि तीर्थस्थल पनि नरहने अवस्था भयो ।

हिन्दुहरूको चारधाम पनि सुरक्षित छ । चाइनाको कैलाश पर्वतहरू पनि सुरक्षित छन् । त्यहाँ जाँदा आफ्नो विधि विधानबाट जानुपर्छ भन्ने हाम्रो माग हो ।

  • सरकारले त निर्माण गर्नुपर्छ नै भनिरहेको छ । २७ गते पनि सहमति नभए के हुन्छ ?

– आन्दोलन जारी रहन्छ । सरकारले कतिसम्म दमन गरेर सिद्ध्याउँछ, त्यो सरकारको कुरा भयो । आन्दोलन रोकिने कुरा हुँदैन । अहिलेसम्म पनि सरकारले दमन नै गरेको हो । अहिले पनि पर्यावरणीय अध्ययन गरेका कुराहरू सार्वजनिक गरेका छैनन् । केबलकार बनाउनुपर्छ भन्नेहरूको नियत त चन्द्रागिरीमा पनि देखिन्छ । सदियौँदेखिको वनमा होटलहरू चलाउने, आफ्नो उद्देश्यभन्दा फरक कुरा गर्ने, तीर्थयात्रीहरू हिँड्दा पनि शुल्क लिने खालको छ । त्यसकारण हामीले गर्ने आन्दोलन र विद्रोह निरन्तर छ र रहन्छ । कि हामीलाई सिद्ध्याउनु पर्छ ।

नेपाल सरकार पक्ष राष्ट्र भएको र संसदलेसमेत पारित गरेको आइएलओ १६९ अनुसार साथै नेपालको संविधान ०७२ को धारा २६ तथा धारा ३२ अनुरूप समुदायको धार्मिक, सांस्कृतिक र आध्यात्मिक विषय सम्बन्धित नागरिक समुदायले संरक्षण गर्न पाउने प्रावधान अनुसार मुक्कुम्लुङ क्षेत्रको संरक्षण गर्ने गर्न पाउने अधिकार हामीलाई दिएको छ । अहिले मुक्कुम्लुङ पाथीभरामा केबलकार नलाने कुरामा ताप्लेजुङका धेरै जनप्रतिनिधिहरू र पार्टीहरू पनि सहमत छन् । उनीहरूको कुरा पनि केबलकार निर्माण रोकिनुपर्छ भन्ने नै छ ।

सांसद योगेश भट्टराई फ्रन्टमा बोलेको देखिन्छ । फुङ्लिङ नगरपालिकाको मेयर बोलेको सुनिन्छ । बाँकी सबैको एउटै धारणा केबलकार बन्नु हुँदैन भन्ने छ । त्यसकारण सरकारले सहज ढङ्गले केबलकार बनाउन सक्छ भन्ने लाग्दैन । पवित्र आध्यात्मिक सांस्कृतिक स्थल मुक्कुम्लुङमा केबलकार बनाएर त्यसको पवित्रतालाई ध्वस्त बनाउने काम गर्नुहुँदैन ।

  • सरकारले पूरै शक्ति लगाएको छ तर पनि अझै केबलकार बन्दैन भन्ने लाग्छ तपाईंलाई ?

– वास्तवमा हाम्रोे आदर्श पवित्र स्थानहरूलाई जोगाउनु पर्छ । स्वयम्भुको उकालो जान गाह्रो छ नि ! जान सजिलोका लागि त्यहाँ पनि घिर्लिङ वा केबलकार राखौँ न त !

पाथीभरा मुक्कुम्लुङको पनि माथिल्लो फेदीदेखि पूजा पाठ सुरु हुन्छ । त्यहाँबाट धागोको डोरो टाङ्ग्दैटाङ्ग्दै माथि मुख्य थानमा पुग्ने हो नि ! त्यसपछि मात्रै सोचेको मनोकांक्षा पूरा हुने भन्ने विश्वास छ । त्यो कुरा नै नभएपछि केबलकारमा सिधै जाँदा त्यसको महत्त्व हुँदैन । त्यसकारण त्यहाँ केबलकार लानुहुँदैन भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ ।

हिन्दुहरूले पनि मुक्कुम्लुङ पाथीभरा आराधना गर्नुहुन्छ । लिम्बू मुन्धुम अनुसार पनि त्यस ठाउँ उपर अगाध आस्था राखिन्छ ।

  • लिम्बू समुदाय र मुक्कुम्लुङको सम्बन्धचाहिँ के हो ?

मुन्धुम अनुसार जति पनि याक्थुङ लिम्बू जातिहरू उत्पत्ति हुँदा दुई जना स्त्री पात्र आउँछन् । एउटा मुक्कुम्लुङमा र अर्को भनेको फियाम्लुङ्मा हो । सिकारी सावा युक्पुङगेम्बाले यी दुवै जनासँग संसर्ग गरेपछि जन्मिएका तेल्लारा लाहादङ्ना र सुच्छुरु सुहाम्फेबा एक आपसमा एउटै बाबुका सन्तान भन्ने थाहा नपाएर विवाह भएपछि जन्मिएका सावा येतहाङ अर्थात् सकल आठ मानवहरू नै आजका लिम्बू जातिका पूर्वज हुन् । यिनका आदि जननी नै मुक्कुम्लुङ हुन् । संसारमा भएका लिम्बूहरूको यही अटल विश्वास छ ।

मुक्कुम्लुङ क्षेत्र तिनै मुक्कुम्लुङमाको प्रतीक हो । मुक्कुम्लुङमाले यही पहाडमा तान बुनेको, बसेको हाम्रो मुन्धुम हो । डोरो तान्दै जानुको सार पनि उसको तानसँग जोडिएको हो । त्योचाहिँ जीवनको प्रतीकको रूपमा लिइन्छ । त्यो कुरा हिन्दुहरूले पनि मानिरहेको कुरा हो । त्यसरी धागोको डोरो टाँगेमा मनोकांक्षा पूरा हुने, धागो तोडियो, लट्टा पर्‍यो भने अशुभ हुन्छ भन्ने मान्यता पनि छ । यो कुनै थान वा कुनै धर्मसँग मात्रै जोडिने कुरा पनि होइन ।

जापानमा माउन्ट फुजी छ । जापानिजहरूले त्यो पहाडैलाई मान्छन् । कोरियाको माउन्ट पाएक्तु हिमाल छ जसलाई कोरियनहरू पूरा हिमाललाई पूजा गर्छन् । यस्तै लिम्बूहरूले पनि मुक्कुम्लुङ पहाडलाई नै मान्छन् र पूजा गर्छन् । हिन्दुहरूले माथिको मन्दिरलाई मान्लान् । जे भए पनि त्यो पवित्रस्थान हो । पवित्र स्थलको अस्तित्वलाई खण्डित हुन दिनुहुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप