सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : पाथीभरा केबलकार विवाद

‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’

आइतबार, २७ माघ २०८१, ०९ : ४२
आइतबार, २७ माघ २०८१

पाथीभरा मुक्कुम्लुङमा केबलकार बनाउने विषयमा विवाद भइरहेको छ । यो घटनाले देशभित्र र बाहिरका नेपालीहरू तरङ्गित भएको अवस्था छ । खासगरी लिम्बू समुदायका दाजुभाइहरूले केबलकार बनाउने निर्णयको विरोध गरेका छन् ।

लिम्बू भाषामा सबै डाँडाकाँडा, देवी देउरालीको नाम मुन्धुममा आउँछ । त्यो मुन्धुमसँग सम्बन्धित भए पनि हाम्रोमात्रै हो भन्नु राम्रो नहोला कि भन्ने मेरो कुरा हो । हाम्रो लिम्बू समुदायको मुन्धुमीस्थल भनेर गयौँ, विकास निर्माणलाई बाधा अवरोध गर्‍यौँ भने हाम्रो लिम्बूवान क्षेत्रमा कुनै पनि विकास हुँदैन । खोलामा पनि विद्युत् निकाल्न नहुने, डाँडाकाँडामा बाटो लान पनि नहुने, रेल लान नहुने, केबलकार बनाउन नहुने, कुनै पनि भौतिक संरचना बनाउन नहुने भन्न थाल्यौँ भने हाम्रो ठाउँचाहिँ कहिले विकास गर्ने ?

म पनि एउटा लिम्बू हुँ । यो ठाउँ लिम्बू बसेको भूमि हो । लिम्बूहरूको बाहुल्यता भएको ठाउँ हो तर आफ्नो धर्म, संस्कृति, पहिचान भनेको त कसैले खोसेको छैन नि ! साझा धरोहर, आस्थाको केन्द्रको रूपमा स्थापित भइसकेपछि पाथीभरा माताको पाउमा पुग्नलाई बुढाबुढी, अशक्त, अपाङ्ग, विदेशी धार्मिक पर्यटकहरूलाई ल्याउन, अझै भक्तजनको सहजताका लागि केबलकार बनायौँ भने त्यसले आर्थिक समृद्धि नै हुन्छ ।

केबलकार कम्पनीले सिण्डिकेट लगाएर सबै पैसा लैजान्छ भन्ने कुरा पनि होइन । हामी आज २१ औँ शताब्दीमा आएर पनि विकास चाहँदैनौँ, विकास हुनु पर्दैन भन्यौँ भने हाम्रो भावी पुस्तालाई गरिखाने आधार के हुन्छ ? यो भावी सन्ततिहरूको चिन्ताको विषय पनि हो । हाम्रो सन्ततिहरू अध्ययन गर्छन्, विदेश जान्छन् । उनीहरू विदेशमात्रै जाने हो ? पढेर रोजगारी नपाउने, व्यवसाय गरेर खाने आधार नहुने अवस्थामात्रै बनाउने हो ? खाडीमा ४०–४५ डिग्रीको तातोमा लेबर बन्नमात्रै जाने हो ?

उनीहरू अहिले यहाँ रोजगारीको अवस्था नभएर गएका न हुन् । सबैले पढेको छ, शिक्षा हासिल गरेको छ । आफ्नै गाउँ, ठाउँमा केही गरौँभन्दा केही आधार छैन । त्यसको विकल्प भनेको विदेश नै हो । अब हामीले विदेशमात्रै जाने हो कि यही देशमा केही गर्न सक्ने आधार बनाउने हो ? हामीले नयाँ ढंगले कसरी विकास गर्ने ? विकासको मोडालिटी नयाँ कसरी बनाउने भन्ने हाम्रो चिन्ताको विषय हो । यो चिन्ता लिनु जिम्मेवारी र आवश्यकताको कुरा हो । हामीलाई त्यो बोध पनि भएको छ ।

केबलकार पाथीभरामा लैजान सक्यौँ भने भक्तजनहरूको चाप बढ्छ । त्यसले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीलाई नै राम्रो हुनेछ ।

पहिचान र संस्कृति, संस्कार आफ्नो ठाउँमा छ । त्यसले गर्दा सबैको संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्दै विकास पनि गर्नुपर्छ । विकास नगरी कुनै पनि नागरिकलाई बाँच्ने आधार राज्यले बनाउन सक्दैन । हामीलाई त्यो बोध भएन र त्यसको जिम्मेवारी लिन सकेनौँ भने हाम्रा सन्ततिले दुःख पाउँछन् ।

हिजो बाउ, बाजे र पुर्खाले गर्न सकेनन् । त्यो अवस्था पनि थिएन होला तर, अहिले विज्ञान र प्रविधिले यत्रो विकास गरिसकेको छ । अब हामीले गोरु पनि पाल्न छोडिसक्यौँ । किसानको लागि हलो जोत्ने, धान काट्नेदेखि मानिसले गर्ने कामहरू पनि यन्त्रबाटै गर्न थालिसकेको अवस्था छ । अहिले धेरै मानिसहरू सोखिन पनि भए । विज्ञानले मानिसलाई अल्छे पनि बनाएको छ । अहिले घरैमा बसीबसी लाखौँ कमाउने समय आइसकेको छ । त्यसकारण अब हामीले नयाँ के गर्ने त भन्ने विषयमा विकासको नयाँ मोडालिटी ल्याउनु पर्छ र ठाउँको विकास र समृद्धि गर्नुपर्छ । त्यसका लागि सबै लाग्नु पर्छ । आफ्नो माग, पहिचान र संस्कृति पनि संरक्षण गरेर लानुपर्छ ।

केबलकार पाथीभरामा लैजान सक्यौँ भने भक्तजनहरूको चाप बढ्छ । त्यसले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीलाई नै राम्रो हुनेछ । अझै केबलकारको माध्यमबाट धेरै धार्मिक पर्यटकहरूलाई लान सकिन्छ । ताप्लेजुङ जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको एउटा जिल्ला पनि हो । यहाँ कञ्चनजंघा हिमाल छ । विभिन्न तालतलैयादेखि विभिन्न पर्यटक घुम्ने ठाउँहरू भएको जिल्ला हो । पाँचथरमा पनि त्यतिकै रमणीय ठाउँ छन् । इलाममा पनि छ । झापामा पनि विभिन्न पर्यटकीय स्थान छन् । हामीले समग्रमा कोशी प्रदेशमा संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतका ठाउँमा पनि पर्यटकलाई कसरी ल्याउन सकिन्छ भनेर चिन्ता गरौँ न ।

नेपालीहरू आज विदेश गएर हाम्रो पहिचानलाई बचाउनु पर्छ भनेर पैसा पठाइरहेका छन् । यो पैसाले पहिचानको संरक्षणभन्दा दाजुभाइ भिडाएर, झगडा गराएर एकापसमा युद्धतिर जाँदैछ जस्तो मलाई लाग्छ । हाम्रो मुलुकमा विकास नभएर विदेशमा गएर काम गरेर आफ्नो परिवार पालिरहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो प्रश्न छ– फेरि भावी पुस्तालाई पनि त्यहीँ पठाउने हो ?

अहिले पनि ४० लाख बढी नेपाली विदेशमा काम गर्न गएका होलान् । ती ४० लाख नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई यहाँका पहिचानवादीहरूले ‘हामीलाई राज्यले अतिक्रमण गर्‍यो, हाम्रो थातथलोहरू अतिक्रमण गर्‍यो । हाम्रो मुन्धुमीस्थल, धर्म संस्कृतिमाथि आक्रमण गर्‍यो’ भनेर विभिन्न अफवाह फैलाएका छन् । त्यसैलाई आधार मानेर उनीहरूले तपाईंहरू लड्नुहोस्, हामी मासिक १ डलर भए पनि पठाउँछौँ भनेर व्यापक पैसा पठाइरहेको मैले बुझेको छु । त्यो कुराले हामी आफैँ दाजुभाइ र नेपाली–नेपाली, जात जातिमा लडाइँ गराउने अवस्था सिर्जना भएको छ । युद्ध र विवाद उत्पन्न गर्नका लागि अराजकताका फैलाउनका लागि आर्थिक स्रोत नै आवश्यकता पर्छ । त्यो आर्थिक प्रलोभनले केही साथीहरूले पैसा कमाउलान् । जस्तै प्रेम एक्तेन, राम माखिमलगायतका साथीहरूको खातामा पैसा आउँछन् । महिनामा ८–१० लाख डलर आउला । आन्दोलन गर्नेहरूलाई दैनिक १ हजार, १५ सय दिएर आन्दोलनमा लगाइएको छ । राज्यसँग लड्नुपर्छ भनेर जताततै अराजकता खडा गरेपछि त राम्रो हुँदैन नि ! म विदेशमा रहनेहरूलाई पनि आग्रह गर्न चाहन्छु । आज तपाईंहरूको सहयोगले यहाँ राम्रो भइरहेको छैन ।

आफ्नो आफ्नो पहिचान भनेको सबैलाई थाहा छ । पाथीभरा के हो ? त्यहाँको धर्म संस्कृति के हो ? केबलकार के हो भन्ने कुरा नबुझी आगोमाथि तेल थप्ने काम नगरिदिनुहोस् । आगोलाई कसरी निभाउने भन्ने कुरामा चिन्ता लिनुहोला । बलिरहेको आगोलाई तेल थपिदिने हो भने झन् सल्किन सक्छ । देशमा ठुलो जातिय, धार्मिक दंगा हुन पनि सक्छ । विदेशमा बस्ने नेपालीहरूले देशमा गरिखाने ठाउँ नभएर आफू विदेश आएको भन्ने कुरालाई बिर्सन भएन । केबलकार बनेर त्यहाँ लाखौँ भक्तजन आउँदा नेपालमा रहेका युवालाई व्यावसायिक बन्न मद्दत गर्छ । त्यसले यहीँ बसीबसी लाखौँ कमाइ हुनसक्छ भन्ने कुरा पनि बुझिदिनुपर्छ ।

बरु तपाईंहरू पनि फर्केर आउनुहोस् । केबलकार बनाऔँ । देशका विभिन्न स्थानमा विभिन्न प्रोजेक्ट बनाऔँ । केबलकार बनाउने चन्द्र ढकाल भनेको नेपाली नै हो । उहाँ उद्योग वाणिज्य महासंघको प्रमुख व्यक्ति पनि हो । उहाँले पनि यो विकास निर्माणको जिम्मा लिनुपर्छ । देशमा विकास नभएकै कारण सारा युवाहरू विदेशिनु परेको अवस्था छ । रोजगारीको सुनिश्चितता नभएर नै विदेश पलायन हुनुपरेको हो । अहिले जताततै केबलकार बन्ने, बाटो खनिने, रेल आउने, विभिन्न प्रशोधन उद्योग खोलिने हो भने हाम्रो देशका नागरिकहरू विदेश जानै पर्दैन ।

राज्यले यो मुद्दा उठाउँदै आएका पहिचानवादी साथीहरूसँग छलफल गर्नुपर्छ । हाम्रो धर्म–संस्कृति र सभ्यतामाथि अतिक्रमण भयो, राज्यले १८३१ सालदेखि दमन गरिरहेको छ भन्ने उनीहरूमा छ । के दमन भयो ?

अमेरिकामा आज ८० लाखसम्म खर्च गरेर गएका नेपालीहरू फर्किनु परेको अवस्था छ । भोलि अरु देशमा पनि नेपालीहरू सुरक्षित नहुन सक्छन् । हङकङ, कोरिया, चाइनाले पनि आर्थिक अवस्था खस्केको भन्दै नेपालीहरू फर्काइदिन सक्छ । त्यसबेला नेपालमा पनि विकास भएन भने के खाने ? माटो र ढुंगा खानु ?

नेपालमा जडीबुटीहरू कुहिएर गएको छ । त्यसलाई व्यापार गर्ने, राज्यले त्यसको तालिम दिने, शिक्षा दिनेतिर जानुपर्छ । राज्यले पाथीभरामा केबलकार बनोस् भनेर अनुमति दिनु नराम्रो होइन । राज्य वा स्थानीय जनता आफैँले बनाउन नसक्दा कुनै निजी क्षेत्रले बनाउँछु भन्दा अनुमति दिने कि नदिने ? यस्तो कुरामा त राज्यलाई हामीले धन्यवाद दिनुपर्छ । कहिले पनि जनताप्रति राज्यको नेगेटिभ सोच हुँदैन । हामी जनताले पनि पोजेटिभ सोच बनाएर एकताबद्ध भएर, छलफल गरेर, कसैको धर्म, संस्कृतिमाथि अतिक्रमण नहुने, कसैको पहिचानमाथि कुनै किसिमको बाधा अवरोध नहुने हिसाबले केबलकार बनाउनु पर्छ ।

  • विवाद समाधान कसरी गर्ने त ?

राज्यले यो मुद्दा उठाउँदै आएका पहिचानवादी साथीहरूसँग छलफल गर्नुपर्छ । हाम्रो धर्म–संस्कृति र सभ्यतामाथि अतिक्रमण भयो, राज्यले १८३१ सालदेखि दमन गरिरहेको छ भन्ने उनीहरूमा छ । के दमन भयो ? हाम्रो किपट, हाम्रो भू्गोल खोसियो, डाँडाकाँडा खोसियो, १८३१ को सम्झौतामा के थियो भनेर खोजेर हुन्छ ? फलानोले यस्तो गरेको, पृथ्वीनारायणले यस्तो भनेको थियो, हामीले खोज्ने अधिकार छ, माग्ने अधिकार छ भनेर हुन्छ ? संसार मंगलग्रहमा मानवबस्ती बसाल्न खोजिरहेको छ, अब हामी ढुंगे युगमा फर्किने हो ? मेरो डाँडा, मेरो खोला, मेरो ढुंगा भनेर गयौँ भने हामीले कसरी हाम्रो भावी सन्ततिलाई बाँच्ने आधार खडा गर्ने ? विकास निर्माणमा त हामी जान सक्दैनौँ । यो मेरो पुरानो पुर्खाले बनाएको घर, पुर्खाले संरक्षण गरेको ठाउँ भनेर बस्यौँ भने कसरी विकास गर्ने ? पढेलेखेकै बुद्धिजीवीले यस्तो कुरा गरेका छन् । जो अमेरिकामा बसेर आदिवासी जनजातिको विषयमा थेसिस गरेका, डाक्टर गरेका साथीहरूले यस्तो कुरा गरिरहेका छन् । देशविदेश घुमेर आएका मानिसहरूले त्यो देश कसरी विकास भयो ? त्यहाँको जनताको जीवनस्तर कसरी उकासियो भन्ने कुरा बुझीबुझी पनि नेपाललाई अराजकतातिर लैजाने काम गरेका छन् । हाम्रो ठाउँ, हाम्रो संस्कृति भनेरमात्रै जाँदा कहिले विकास हुने ?

यो विषयमा राज्यले पनि मसिनो ढंगले वार्ता गर्नुपर्छ । वार्ता सकारात्मक ढंगले अगाडि बढोस् । पहिचानवादीहरूले पनि बुझ्नुपर्छ । मुलुकमा विकासका योजनाहरू कसरी भित्र्याउने भन्ने विषयमा गहन ढंगले छलफल गर्नुपर्छ । कुनै पनि जात, समुदाय, ठाउँको पहिचान र सभ्यतालाई बिग्रन नदिने गरी विकास निर्माण गर्नुपर्छ । मेरो गोरुको बाह्रै टक्का हुनुहुँदैन । कुनै जातको कुनै धर्म वा डाँडाकाँडा पेवा होइन । हिजो लिम्बूहरूले राज्य चलाएको ठाउँमा सबै सरकारी जग्गा लिम्बूहरूले पाउने हो र ? कर्णालीमा सबै ऐलानी जग्गा त्यहाँको बाहुनहरूले पाउने हो ? तामाङ बसेको ठाउँमा तामाङले वा थारु बसेको ठाउँमा थारुहरूले पाउने हो र ? यस्तो कुरा गर्नु भएन ।

हामी बहुजाति, बहुभाषिक बसेको मुलुकमा कसरी सबै जातिहरूको आफ्नो पहिचान, संस्कृतिलाई नामेट नहुने किसिमले संरक्षण र सम्बर्द्धन गरेर लानुपर्छ र विकास गर्नुपर्छ भन्ने तरिकाले वार्ताबाट निष्कर्ष निस्कन सकोस् । केबलकार ताप्लेजुङ जिल्लामा आउँदै गर्दा हामीले यो पनि राखेनौँ भने ताप्लेजुङमा मात्रै होइन, लिम्बूवान (९ जिल्ला) क्षेत्रमा कुनै पनि कम्पनी आउनेवाला छैन । विकास हुनेवाला छैन । यसरी रोक्दै गयौँ, यसरी हाम्रो ठाउँमा विकास हुनुहुँदैन भन्ने हो भने भावी सन्ततिले पनि सराप्ने छ । अहिलेको युग भनेको वैज्ञानिक युग हो । त्यही अनुसार अगाडि बढ्नुपर्छ ।

  • म माथि थ्रेट छन् तर केही फरक पर्दैन

म एउटा सकारात्मक कुरा गर्ने मान्छे हुँ । मेरो सकारात्मक पक्षलाई यो कुरा सही छ भन्दाभन्दै पनि उहाँहरूले यो मान्छेलाई वंशबाटै निकाल्नुपर्छ, वंशबाटै यसलाई बहिष्कार गर्नुपर्छ, लिम्बूबाटै यसलाई आउट गराउनु पर्छ भन्नु सामान्य कुरा हो । जसको बुद्धि र विवेक जति छ, उसले त्यति नै कुरा गर्ने हो । उसको भनाइप्रति मैल भन्नुपर्ने कुनै तर्क छैन । विश्वले हेरेको छ– अमिर मादेन फुङलिङको नगरप्रमुख हो । नगरप्रमुख भनेको अभिभावक हो । यहाँको जनताले अमिर मादेन के बोल्दैछ भन्ने कुरा बुझेको छ । कतिपयले मेरो कुरालाई नकारात्मक ढंगले लिएका छन् । मलाई गद्दार भन्छन्, मार्छु, काट्छु भनेका छन् । यो सामान्य कुरा हो ।

  • आन्दोलनमा सबै बाहिरका मान्छे

आन्दोलनमा सबै बाहिरका मान्छे छन् । तेह्रथुम, धनकुटा, इलामबाट मानिसहरू आएका छन् । सबैलाई पैसा दिएर ल्याएको हो । यहाँका स्थानीय कोही लागेका छैनन् । वार्ताबाट समस्या समाधान नभए राज्यले त्यहाँ केबलकार बनाउनु हुन्छ कि हुँदैन भनेर ताप्लेजुङ फुङ्लिङ नगरपालिकाभित्र जनमतसंग्रह गर्दा हुन्छ । जिल्लाभर गर्दा धेरै खर्च लाग्ला । त्यसरी जनमतसंग्रह गर्दा नबनाउँ भन्यो भने नबनाउँ तर, यहाँ फुङ्लिङ नगरपालिकाको जनसंख्या २९ हजार जति छ । त्यसमा २ सय मानिसमात्रै बनाउनु हुँदैन भन्छन्जस्तो लाग्छ । अरुको चाहिँ अधिकार होइन ? बनाउनु पर्छ भन्नेहरूको अधिकारचाहिँ हुँदैन ?

हाम्रै छिमेकी देशबाटै यहाँ अराजकता, धार्मिक र जातीय द्वन्द्व फैलाउन खोजिरहेको छ । अमेरिकाले धार्मिक द्वन्द्व गराउन खोजिरहेको छ । पश्चिमा मुलुकले आक्रमण गरिरहेको छ ।

हाम्रो अधिकार खोसियो, स्थानीयलाई लाठीमुङ्ग्री र गोली बर्साइयो, राज्यले हामीमाथि दमन गर्‍यो भनेर बाहिरका मानिसहरू किन बोल्नु ? ताप्लेजुङमा जन्मेर यहाँ बस्ने ठाउँ होइन, यहाँ गरिखान पनि सकिँदैन भनेर कोही झापा, कोही मोरङ, सुनसरी, काठमाडौँ जाने अनि त्यहाँबाट केबलकार बनाउनु हुँदैन भन्ने ? त्यसो भए ताप्लेजुङलाई मसानघाट बनाउने त ? हामीलाई विकास चाहिँदैन ? हाम्रो भावी सन्ततिहरू यहाँ बाँच्नु पर्दैन ? कमाउनु पर्दैन ? सबैलाई खाडी मुलुकमा रगत पसिना बगाउन पठाउने ? यहाँको जनताले ताप्लेजुङलाई चलायमान बनाउनु पर्छ भनेर भन्न पाउने कि नपाउने ?

यहाँ भक्तजनहरू आउने चाप बढ्दा हामीले यहाँ उत्पादन गरेका अर्ग्यानिक चिज खुवाउन सक्नुपर्छ, हामीले उत्पादन गरेका खाद्यान्न वस्तुहरू प्याकेजिङ गर्न सक्नुपर्छ, विभिन्न बाँसको ठुटा, जराहरूलाई कला भरेर कोसेलीको रूपमा पठाउनु पर्छ । यहाँको जडीबुटी बिक्री गर्न सक्नुपर्छ । यहाँका हरेक नागरिक रोजगार बन्छन्, व्यवसायीहरू चलायमान हुन्छन् । हाम्रो कुरा त त्यो पो हो त । ताप्लेजुङको प्रभावित क्षेत्रलाई के दिने ? कम्पनीसँग के माग्ने ? त्यो माग मुद्दा खै ? जनताका माग मुद्दा कुनै पनि उठेको छैन । लिम्बू समुदायले उठाइरहेको कुरा संस्कृतिमाथि अतिक्रमण भयो, हाम्रो मुन्धुमी थलोमाथि अतिक्रमण, सभ्यतामाथि अतिक्रमण भयो, भूगोलमाथि अतिक्रमण भयो भन्ने कुरामा राज्यसँग छलफल गरौँ । हाम्रो फक्ताङलुङसम्म बाटो पुर्‍याउँ । त्यहाँ जानका लागि सहज होस् । कञ्चनजंघा जाने बाटो छोटो बनाउँ । फुङफुङे झरनामा केबलकार राखिदिनुहोस् भन्नेजस्ता विकासे माग पो राख्ने हो । हामीले पनि विभिन्न मुन्धुमीस्थलहरूमा आउने भक्तजनहरूलाई चिनाउनु पर्छ । त्यहाँ पनि पुर्‍याउनु पर्छ भन्नेतिर पो जानुपर्छ त । यसरी जाँदा वार्ताबाट निकास निकाल्छ र विकास हुन्छ । विकास हुने वातावरण बनाउनु पर्छ । त्यस्ता माग पहिचानवादीले राख्नुपर्छ ।

कुनै पनि जातिको, धर्मको आफ्नो आस्थालाई अतिक्रमण नहुने गरी छलफल र संवाद गर्नुपर्छ । लाठी पनि नभाँचिने, सर्प पनि मर्ने हिसाबले हामी गयौँ भनेमात्रै राम्रो हुन्छ । लिम्बूवानमा पनि विवाद निकाल्ने, त्यही लिम्बू उता तामाङकोमा गएर, थारुकोमा गएर, मगरकोमा पनि गएर, उता क्षेत्री–बाहुनकोमा पनि गएर र लड्नुपर्छ है मात्रै भन्ने हो भने विकासचाहिँ कसले गर्ने हो ? सरकारले चाहेको कुरा विकास गर्न नपाउने हो भने कसले गर्ने ?

  • यो आन्दोलनमा विदेशी लगानी छ

हाम्रै छिमेकी देशबाटै यहाँ अराजकता, धार्मिक र जातीय द्वन्द्व फैलाउन खोजिरहेको छ । अमेरिकाले धार्मिक द्वन्द्व गराउन खोजिरहेको छ । पश्चिमा मुलुकले आक्रमण गरिरहेको छ । लिम्बू, शेर्पा, तामाङ, राईलाई कसले उचालेको छ भनेर तपाईं हामीले भन्नै पर्दैन नि । यहाँ भित्रभित्र ठुलो लगानी छ ।

अमेरिकाको कुनै संस्थाले नेपालमा ५ लाख डलर लगानी गरेको कुरा त बाहिरिएको पनि छ । यहाँ सुरुमात्रै हुनुपर्छ । खर्च त कति आउँछ आउँछ ? स्वार्थ के छ, मलाई थाहा छैन । नेपालमा जहिले पनि अराजकता, जहिले पनि एउटा द्वन्द्व । यो हाम्रो छिमेकी राष्ट्रकै चाहना हो । एउटा केही निहुँ पाउनु हुँदैन । भित्रभित्रै कति खर्च गरेको छ । राज्य पनि यसमा सेन्सेटिभ हुनुपर्छ । आफैँ पनि एकआपसमा दलहरू मिलेका छैनन् । एकआपसमा तानातान, हानाहान, जनताको गाली खानुभन्दा बाहेक केही छैन । त्यसले गर्दा विकास निर्माणको कुरामा राज्य चुक्नु हुँदैन । राज्यले घुँडा टेक्नु हुँदैन ।

राज्यले बरू विकास निर्माणको लागि छुट्टै कानुन बनाउनु पर्छजस्तो लाग्छ । विकास निर्माणको आधार बनाउनु पर्छ । गोली हानेर, ठोकेर त विकास हुँदैन तर, यसलाई यहाँ ठुलो प्रपोगाण्डा मच्चाइयो । हामीलाई गोली हानेर, ताप्लेजुङको स्थानीयलाई गोली हानेको भनेर प्रपोगाण्डा चलाइयो । बुझ्नु छैन । त्यहाँ किन केबलकार बनाउनु पर्छ ? पाथीभरा माताको महिमा के हो भन्ने कुरा बुझेरमात्रै हल्लाखल्ला गर्नुपर्छ । पहिचानवादी समूहलाई सहमत गराएर वार्ता र सम्वादबाटै विकास निर्माणको मोडालिटी बनाउनु पर्छ । राज्य पनि स्थलगत आउने, पहिचानवादी साथीहरू पनि आउने र यहाँको स्थानीयको भनाइ के हो ? त्यो पनि बुझ्ने । स्थानीयको धर्म, संस्कृति, मुन्धुमी थलो अतिक्रमण भएको भन्ने लागेको छ कि छैन त्यो पनि बुझ्ने । राज्यमा पुरातत्व विभाग छ । त्यसको अनुसन्धान त्यहाँबाट हुनुपर्छ । बुझ्नु पर्छ । लिम्बूहरूले आदिमकालदेखि, आजभन्दा १ हजार वर्षभन्दा अगाडिदेखि मुन्धुमी थलो बनाएको भन्छन् । त्यो इतिहास नै छैन । काहीँ कुनै इतिहासको पानामा लेखेको हुनुपर्‍यो नि । मुक्कुम्लुम्माको अर्थ मुकुम् भनेको शक्ति, लुम्मा भनेको ढुंगा हो । यो भाषा हो । शेर्पा जातिको भाषाबाट पनि भनिन्छ । विभिन्न आफ्ना आफ्नै जातीय भाषा छ । जो जसको भाषा उसले त्यही भाषाबाट भन्ने हो नि । खुकुरीलाई लिम्बूले फेजा भन्छ । अब यो फेजा हाम्रो हो, अरुले चलाउन पाउँदैन भन्न मिल्छ ? त्यो त लिम्बू भाषामा भनिएको मात्रै त हो ।

विभिन्न थात थलोको नाम लिम्बू भाषाबाट राखिएको छ । पहिले ताप्लेजुङका ५० वटा गाविसको नाम लिम्बू भाषाबाटै राखिएको हो । त्यतिबेला मुक्कुम्लुङ्मा भनिन्थ्यो भने मुक्कुम्लुङ्मा राख्नुपर्थ्यो नि त ! त्यो त्यतिबेला कोही लिम्बूहरूले किन माग गरेनन् ? त्यो कपोलकल्पित आधार देखाएर लडाइँ लडेर हुँदैन । म पनि एउटा लिम्बू हुँ । मैले पनि धेरै इतिहास पढेको छु । यहाँको किम्बदन्ती के हो भन्ने मैले पनि बुझेको छु । हाम्रो मुन्धुमीस्थल हो, हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो भनेर विकासलाई बार लगाएर रोक्नु हुँदैन । त्यसरी रोकियो भने हाम्रो ताप्लेजुङको भविष्य समाप्त हुन्छ । ताप्लेजुङमा त केही नबन्ने भयो नि ! भावी सन्ततिहरूले हामीलाई त सराप्ने भयो । अहिले लड्ने मानिसहरू ६०–७० वर्षमा सबै मरिसकेको हुन्छ । अनि हाम्रा सन्ततिले चाहिँ कसैले केबलकार बनाउन नदिएको रे, कसैले दिएको रे ? त्यसमै झगडा भयो रे भनेर भोलि भन्छन् नि ! देशका विभिन्न स्थानमा भएको विकास देख्लान् । अनि यहाँ किन बनेन भन्दा हाम्रा पुर्खाको कारणले, हाम्रा मुन्धुमीस्थल भनेर बनाउन दिएन भन्ने ? मुन्धुमीस्थलले खान दिन्छ ? भगवान मान्ने भनेको आफ्नो आत्मामा पो त । मान्नकै लागि एउटा ढुंगा गाडेर पनि मान्न सकिन्छ ।

(फुङलिङ नगरपालिका प्रमुख मादेनसँग रातोपाटीका लागि अर्जुन आचार्यले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमिर मादेन
अमिर मादेन
लेखकबाट थप