आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय
विश्व राजनीति

दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?

आइतबार, २७ माघ २०८१, ०८ : ५९
आइतबार, २७ माघ २०८१

नयाँ दिल्ली । सन् २०१४ को लोकसभा चुनावमा आज आदमी पार्टीका संस्थापक अरविन्द केजरीवालले वाराणसीबाट नरेन्द्र मोदी विरुद्ध चुनाव लडेका थिए । जुन चुनावमा उनले ३ लाख ७१ हजारभन्दा बढी मतले पराजय बेहोरेका थिए।

अहिले केजरीवाल आफ्नो नयाँ दिल्ली विधानसभा सिटमा भाजपाका परवेश वर्मासँग तीन हजारभन्दा बढी मतान्तरले हारे। केजरीवालले पहिलो हार भाजपाका शीर्ष नेता नरेन्द्र मोदीबाट भोगे भने दोस्रो हार भाजपाका राज्यस्तरीय नेता प्रवेश वर्माबाट भयो।

जवकि त्यतिबेला आम आदमी पार्टी गठन भएको दुई वर्ष पनि भएको थिएन। अहिले १२ वर्ष पुरानो भइसकेको आम आदमी पार्टी कमजोर अवस्थामा पुगेको हो । 

आम आदमी पार्टीको  उदय नै दिल्लीबाट भयो ।  २०१३ देखि आपले दिल्ली विधानसभा चुनावमा लगातार जित हासिल गरिरहेको थियो । तर २०२५ मा यसको विजय रथ रोकिएको छ।

भ्रष्टाचार मुद्दामा जमानतमा जेलबाट बाहिर आउँदा केजरीवालले यो हारको सामना गर्नु परेको छ।

जमानतमा रिहा भएपछि अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए भने आफू इमान्दार छु कि छैन भन्ने कुराको निर्णय जनताले गर्ने बताएका थिए । यदि केजरीवालले जितेको भए, यसले उनको आत्मविश्वास बढाउँथ्यो र उनले भाजपामाथि दबाब बढाउन सक्थे । आफूलाई कथित आरोपमा केन्द्र सरकारले जानाजानी फसाएको भन्नेबाटो उनमा हुन सक्थ्यो ।

तर अब दिल्लीमा आम आदमी पार्टीको पराजयले अरविन्द केजरीवालको राजनीति चुनौतिपूर्ण छ। अब आम आदमी पार्टीको सरकार पञ्जाबमा मात्र बाँकी छ। यो हारले पञ्जाबमा आपको राजनीतिलाई पनि असर गर्न सक्ने बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

पञ्जाब विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक आशुतोष कुमारका अनुसार  केजरीवालको हारले पञ्जाबमा कांग्रेसलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ। पञ्जाबमा कांग्रेस केही बलियो छ र केजरीवालको हारले उसको आत्मविश्वास बढाउनेछ। 

उनका अनुसार दिल्ली विधानसभा चुनावको नतिजाको सन्देश केवल दिल्लीमा मात्र सीमित हुनेछैन। यस वर्ष बिहारमा पनि विधानसभा चुनाव हुँदै छ। 

गुजरात विश्वविद्यालयका सामाजिक विज्ञानका प्राध्यापक गौराङ जानी यो हारले केजरीवालको राजनीतिमा नराम्रो असर पर्ने विश्लेषण गर्छन् । 

उनले भने, 'दिल्लीमा आम आदमी पार्टीमाथि ब्रेक लगाउनुको पनि प्रतीकात्मक अर्थ छ। यो अयोध्यामा भाजपा हारे जस्तै हो। यदि केजरीवालले जितेका भए उनले भाजपाले आफूलाई भ्रष्टाचारको मुद्दामा फसाएको भन्न हिम्मत गर्ने थिए, तर अब उनी त्यो भन्न सक्ने अवस्थामा छैनन्।ु

केजरीवालले अब भाजपासँग लड्ने कि कांग्रेससँग भन्ने सोच्नुपर्ने उनको भनाइ छ । उनले भने, 'केजरीवालले देशभर कांग्रेसलाई कमजोर बनाएका छन्। गुजरातको पछिल्लो विधानसभा चुनाव हेर्ने हो भने यसले भाजपालाई मात्र फाइदा पुर्‍यायो। आम आदमी पार्टीको राजनीति वैचारिक रूपमा भ्रमित छ। यो हार पछि सायद उनीहरूले आफ्नो लाइन स्पष्ट पार्नेछन्।

केजरीवाललाई केही मानिसहरूले नरेन्द्र मोदीको चुनौतीकर्ताको रूपमा हेरेका थिए। जेएनयूका राजनीतिशास्त्रका सह-प्राध्यापक सुधीर कुमारले हारपछि केजरीवालले भाजपाको बहुमतवादको राजनीतिको सामना कसरी गर्न सक्छन् भन्ने प्रश्न अगाडि आएको बताए ।

यो हारपछि केजरीवालले राजनीतिमा आफूलाई सान्दर्भिक बनाउन धेरै संघर्ष गर्नुपर्ने उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप