बागमतीको कमजोर संसदीय भूमिका, नियमावलीविपरीत गतिविधि
![बागमतीको कमजोर संसदीय भूमिका, नियमावलीविपरीत गतिविधि](https://npcdn.ratopati.com/media/news/bagmati-pradesh-sawa_sYbso70HCo.jpg)
मकवानपुर । बागमती प्रदेशसभामा संसदीय भूमिका कमजोर बनिरहेको छ । जसका कारण प्रदेशसभाको बैठक आह्वानदेखि संसद्का गतिविधिले खासै प्रभाव पार्न नसकेको देखिएको हो ।
बैठक व्यवस्थापनमा सभामुख भुवनकुमार पाठकले चासो नदिएको टिप्पणीसमेत सांसदहरूले गर्दैआएका छन् ।
सभामुख पाठकले सही ढंगबाट व्यवस्थापन नगर्दा पछिल्लो समय गत माघ १६ मा आह्वान भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै संसदीय अभ्यासमा कमजोरी देखिएको उनीहरूको भनाइ छ ।
सांसदहरूले संसदीय अभ्यासविपरीत काम भन्दै टिप्पणी गरेका थिए । तर, सांसदहरूको भूमिका पनि अत्यन्त कमजोर बनिरहेको देखिन्छ । बैठकमा उपस्थितिदेखि संसद्मा जनताका मुद्दा उठाउने सवालमा सांसदहरूले चासो कम देखिएको हो ।
बैठकमा सांसदहरूको उपस्थिति न्यून बनिरहेको छ भने उपस्थित सांसदहरू पनि बैठकभन्दा बढी बाहिर नै व्यस्त हुने गरेका छन् ।
सांसदहरूको संसद् बैठकमा उपस्थिति न्यून मात्र नभई प्रस्तुतिमा पनि कमजोरी देखिएको छ । प्रदेशसभामा पेस भएका विभिन्न विधेयकका छलफलमा समेत उनीहरूको उपस्थिति न्यून छ । विधेयकमाथिको छलफलमा समेत उनीहरूले खासै चासो दिएका छैनन् ।
नियमावली र अभ्यासविपरीत गतिविधि
प्रदेशसभाको गत असोज १८ बाट आह्वान भएको संसद् बैठकमा नियमावली र अभ्यासविपरीत गतिविधि भए । यो एक साताको अवधि निर्धारण गरी सांसदहरूलाई सूचना गर्नुपर्ने अभ्यास छ, तर प्रदेशसभा सचिवालयबाट माघ १८ को बैठकका लागि १५ गते मात्र सूचना गरिएको थियो ।
यस विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पनि टिप्पणी गरेका थिए । १८ गतेको बैठकमा उनले व्यवस्थामाथिको हस्तक्षेप भएको भन्दै टिप्पणी गरेका थिए । संसदीय अभ्यासमा एक साताको समय निर्धारण गरेर संसद् अधिवेशन आह्वान हुनुपर्नेमा तीन दिनमा बोलाउनु व्यवस्थामाथिको प्रहार भएको उनको टिप्पणी थियो ।
यता गत २३ गतेको बैठकमा विशेष समयको कार्यसूची नहुँदै सांसद तीर्थ लामाले आफ्ना धारणाहरू राखेका थिए । सांसद लामाले बैठक सुरु हुनासाथ कार्यसूचीमा प्रवेश गर्नुअघि नै आकस्मिक समय मागेर धारणा राखेका थिए ।
संसदीय अभ्यासमा आकस्मिक समयमा आसनबाटै उठेर धारणा राख्ने गरिन्छ । तर, सांसद लामालाई सभामुखले केही विशेष विषय भए राख्न अनुमति दिएलगत्तै उनले रोस्टममा चढेर आफ्ना धारणा राखेका थिए ।
सांसद लामा उभिएर सभामुखलाई रोकेर गत असोजमा भएको विपत्तिमा सरकारको उपस्थिति कमजोर भएको गुनासो गरेका थिए । सो क्रममा उनले १० मिनेट धारणा राखेका थिए । सांसद लामाले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख पाठक कार्यसूचीतर्फ अघि बढेका थिए । सो गतिविधि रोक्न नसकेको भन्दै सांसदहरूले सभामुखको आलोचनासमेत गरे ।
समयको बेवास्ता गर्ने सांसदहरूको प्रमुख समस्या नै हो । गत २३ गतेको बैठकमा पनि सोही ढंगको गतिविधिहरू संसद्मा देखिए । जसकारण विधेयक पेस गरेर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रोस्टम चढेका मन्त्री ३ मिनेटसम्म उभिन बाध्य भए । जसलाई संसदीय अभ्यासविपरीत घटनाका रूपमा व्याख्या भइरहेको छ । उक्त बैठकमा सभामुख पाठकले युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई प्रदेश खेलकुद परिषद् ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए । रोस्टममा पुगेका मन्त्री महर्जन सदन सुरु भएको १५ मिनेटसम्म पनि बैठक कक्षमा प्रवेश नगरेका कारण राप्रपाका सांसदहरूले आकस्मिक समय माग्दा केहीबेर होल्ड हुनपर्यो ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले आकस्मिक समय माग गरेर आफू बसेको बेन्चको माइकबाटै बोलेर मन्त्रीलाई होल्ड गराए । उनको प्रश्न पनि जायज थिएन । न उनको नियमापत्ति नै थियो । संसदीय अभ्यासका क्रममा नियमापत्तिबाहेक अन्य विषयमा सांसदहरूले आकस्मिक समय लिने अभ्यास छैन ।
तर, नेता थापाले समय लिएर विधेयककेन्द्रित नभई संसदीय दलको बैठक बसिरहँदा नपर्खिएर सदन सुरु गरेको प्रति नेता थापाको आक्रोश थियो । सो विषयमा पनि सभामुख पाठकको रुलिङ हुन सकेन ।
स्वास्थ्य मन्त्रीको जवाफ यातायात मन्त्रीबाट
संसदको अनुसार माघ २३ गतेको बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस भएको थियो । सोही दिनको दोस्रो बैठकमा उक्त विधेयकमाथि छलफलको कार्यसूची थियो । कार्यसूचीअनुसार स्वास्य मन्त्री किरण थापाले विधेयक पेस गरेका थिए । तर, विधेयकमाथिको छलफलका क्रममा भने मन्त्री थापा उपस्थित थिएनन् । दुई छोरोको विवाह भएका कारण उनी संसद् बैठक छोडेर भक्तपुर हिँडिसकेका थिए । जसका कारण उनको मन्त्रालयको तर्फबाट विधेयकमाथिको छलफलमा प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनलाई जिम्मेवारी थमाइएको थियो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशका स्वास्थ्य मन्त्री थापाको तर्फबाट यातायात मन्त्री महर्जनले माओवादी केन्द्रमा प्रमुख सचेतक रत्न प्रसाद ढकालले उठाएका प्रश्नबारे जवाफ दिन परेको थियो । जवाफमा मन्त्री महर्जनले यो विधेयक कानुनसम्मत ढंगबाट ल्याएको र विधेयक ठीक छ भन्ने विश्वास व्यक्त गरे । त्यसपश्चात् उक्त विधेयकलाई सभामुख पाठकले निर्णयार्थ पेस गराएर विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गराएका थिए ।
यता संसदीय अभ्यासविपरीत माघ २४ गतेको बैठकमा प्रस्तावरहित ढंगबाट विशेष समयको कार्यसूची निर्धारण गरिएको थियो । सभामुख पाठकले सो बैठकमा प्रस्ताव नै नराखी कार्यसूचीमा विशेष समय निर्धारण गरेका थिए ।
विशेष समयमा निर्वाचन क्षेत्रलक्षित सांसदहरूले धारणा राख्नुपर्ने सर्त गरिएको थियो । उक्त विषयमा सांसदहरूले संसदीय अभ्यासविपरीत सभामुखले काम गरिरहेको आरोप लगाएका छन् । सभामुखले व्यवस्था र सांसदहरूको भूमिकालाई कमजोर पर्ने तथा सीमित घेरामा राख्ने गरी काम गरेको बताएका थिए । २४ गतेको बैठकमा धारणा राख्दै सांसद रामकुमार पहाडीले सांसदहरूको भूमिका खुम्च्याउन खोजेको आरोपसमेत लगाएका थिए ।
संसद्लाई व्यवस्थित बनाउन जिम्मेवार छुः सभामुख पाठक
प्रदेशसभाका सभामुख पाठकले संसदलाई सक्रिय र व्यवस्थित बनाउन भूमिका निर्वाह गरिरहेको दाबी गरे । संसद्लाई व्यापक र व्यवस्थित ढंगबाट सञ्चालनका लागि आफू जिम्मेवार ढंगबाट अघि बढेको उनको भनाइ थियो ।
संसद्का गतिविधिमा आफू नियमविपरीत गएको उनले दाबी गरे । ऐन कानुन र संविधानले दिएको अधिकारमा रहेर संसद्को नेतृत्व गरिरहेको उनले बताए । संसद्मा रहेका हरेक कम्पोनेन्टहरूलाई जिम्मेवार बनाउन भूमिका खेले पनि केही अस्वाभाविक कामहरू भइरहेको भने उनको भनाइ थियो ।
अनुकूलताको आधारमा व्याख्या विश्लेषण गर्ने र भूमिका देखाउने भएकाले समस्या भएको उनले टिप्पणी गरे । सदनको मर्यादा र अभ्यासका विषयमा सांसदहरू पनि गम्भीर तथा जिम्मेवार रहनुपर्ने उनले बताए । समयमै बैठक हलमा उपस्थित नहुनु, छलफलमा सहभागी नहुनु, नियमापत्तिलगायत अधिकारका सन्दर्भमा सम्बन्धित दल र सांसद गम्भीर बन्नुपर्ने उनले जिकिर गरे ।
अस्वाभाविक र आकस्मिक रूपमा हुने गतिविधिका सन्दर्भमा आगामी दिनमा सुधार गरेर अघि बढ्नेगरी संसदका काम अघि बढ्ने उनले बताए ।
निर्वाचन क्षेत्रलक्षित विशेष समयले सांसदहरूको भूमिकालाई थप जिम्मेवार र सशक्त बनाउन भूमिका खेल्ने उनको विश्वास छ । उक्त विषयलाई संसदीय अभ्याससँग सन्तुलित बनाएर अघि बढाएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वस्थानी कथामा पढेको ठाउँ शालीनदी घुम्दा
-
समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
-
धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
-
प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन
-
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र
-
केबलकारको नाममा किन भयो अशान्ति ?