आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म

आइतबार, २७ माघ २०८१, ०० : २०
आइतबार, २७ माघ २०८१

काठमाडौँ । राजधानीको व्यस्त दैनिकीबाट दिक्क भएको बेला छोटो फुर्सद निकालेर ‘रिफ्रेस’ हुने चाहना कसलाई नहोला र ! तर, कहाँ जाने ? हुन त रोजाइ आ–आफ्ना हुन्छन् । 

जसमध्ये, काठमाडौँको कोलाहलपूर्ण वातावरणबाट थोरै टाढा सञ्चालनमा छ– ग्रीनभ्याली रिसोर्ट । शिवपुरी जंगलको काँख अर्थात बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित डाँडागाउँमा यो रिसोर्ट सञ्चालनमा रहेको हो । जहाँ शान्त वातावरणमा काठमाडौँ उपत्यकाको रमणीय दृश्य हेर्दै पारिवारिक वातावरण पाउन सकिन्छ । नामजस्तै रमणीय र हरियाली वातावरणमा छ, ग्रीनभ्याली ।

‘रिसोर्टमा पूर्णतः पारिवारिक वातावरण छ । आन्तरिक पर्यटकलाई प्राथमिकता दिएको रिसोर्टबाट हिमाली दृश्यावलोन र काठमाडौँ उपत्यका पूरै देख्न सकिन्छ’, रिसोर्टका महाप्रबन्धक गणेश श्रेष्ठले भने, ‘काठमाडौँ सहरबाट नजिक भएकाले जुनसुकै बेला आउन सकिन्छ ।’ उनका अनुसार पाहुनाको आवश्यकताअनुसार निश्चित शुल्कमा घरदेखि रिसोर्टसम्म आउजाउका लागि यातायातको समेत व्यवस्था गर्ने गरिएको छ ।  परिवारसहित रिफ्रेस हुन आउनेदेखि रिसोर्टमा पिकनिक, सभा र सेमिनारहरू बढी हुने गरेका छन् ।  वैवाहिक इभेन्टका लागि पनि यो उपयुक्त रहेको उनको भनाइ छ । 

f0f8fb08-fee7-43d2-8e4c-ddfb21fbe427

‘हामीसँग सामान्य कार्यक्रम गर्नका लागि हुने २५–३० जना क्षमताको हल छ । अर्को १०० जना क्षमताको हल पनि छ’, उनले भने, ‘ओपन गार्डेनमा १ हजार जनाको क्षमता छ ।’ रिसोर्टमा बैंक, हस्पिटल, सहकारीदेखि विभिन्न संघसंस्थाले कार्यक्रम र पिकनिक गर्दै आएको बताउँदै उनले शनिबार तीन वटासम्म पिकनिक हुने गरेको बताए । 

रिसोर्टमा बुढानीलकण्ठ मन्दिरबाट बायाँ लागेपछि साढे ५ मिटर माथि डाँडागाउँस्थित आर्मी ब्यारेक सँगै छ । रिसोर्टको लोकेसन गुगल म्यापमा पनि भएकाले सहजै पत्ता लगाउन सकिन्छ । शिवपुरी जंगलैजंगल सेनाको चेकपोस्ट पार गरेर पुग्न सकिने रिसोर्टसम्मको सडक पिच भएकाले यात्रा गर्न गाह्रो भने छैन । 

श्रेष्ठका अनुसार रिसोर्टमा आउनेहरू २९ सय रुपैयाँमै टेन्टमा बस्न सक्छन् । जसमा डिनर र ब्रेकफास्टको समेत व्यवस्था छ । महँगो तिर्नेलाई ९ हजार ५०० सम्म पर्ने कोठाहरू पनि छन् । यस्तै प्याकेजमा हाइकिङका साथै रिसोर्टबाट सूर्यचौर नजिकै भएकाले त्यहाँबाट हिमालको दृश्यावलोकन गराउनेलगायतको व्यवस्था समेत गरिएको छ । 

5693001f-1aee-42aa-bcb8-ef79637a749a

२२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा दुई हल, तीन वटा रेस्टुरेन्टका साथै ओपन किचेन र ३६ वटा कोठाहरू रहेको श्रेष्ठले बताए । अर्को राम्रो पक्ष के छ भने रिसोर्टले ८० प्रतिशत स्थानीयलाई नै रोजगारी दिइएको छ । कुनै पनि स्टाफ राख्नुपर्दा पहिला गाउँको मान्छेलाई प्राथमिकता दिने र उनीहरू उपलब्ध भएमा तालिम गराएर रोजगारी दिने गरेको उनको भनाइ छ । विगत १३ वर्षदेखि सञ्चालनमा रहेको रिसोर्टमा करोडौँ लगानी भइसकेको श्रेष्ठको भनाइ छ । 

एक हिसाबले भन्ने हो भने डाँडागाउँलाई नै रिसोर्टले चिनाउने गरेको छ । रिसोर्टको सञ्चालक भने भोलाविक्रम थापा हुन् । खासमा उनले रिसोर्ट नै बनाउने भनेर प्रोपर्टी लिएका थिएनन् । परिवार कहिलेकाहीँ आएर बस्नकै लागि भनेर सुरुमा जग्गा लिएको श्रेष्ठ स्मरण गर्छन् ।  सोहीअनुसार सुरुमा सामान्य होमस्टे सञ्चालन गरिएको थियो भने पछि क्रमशः रिसोर्ट विस्तार भएको हो ।  

रिसोर्टमा पारिवारिक वातावरण त छ नै आर्गानिक खाना पनि पाइन्छ । आफ्नो चाहनाअनुसार खानेकुराको स्वाद चाख्न  त पाइन्छ नै साथसाथै रिसोर्टमा अर्गानिकपन पनि पाइने श्रेष्ठको भनाइ छ । उनका अनुसार धनियाँ, साग र लसुन रिसोर्टकै खाली जमिनमा उत्पादन हुन्छ । यस्तै लोकल कुखुरा र फ्रेस ट्राउट पनि पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप