आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह

शनिबार, २६ माघ २०८१, २३ : २२
शनिबार, २६ माघ २०८१

काठमार्डौँ । पछिल्लो समय आगलागीका घटना बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायाम लागेसँगै आगलागीका घटना बढिरहेको जनाउँदै यो क्रम अझै बढ्न सक्ने भएकाले सचेत हुन अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आफू सचेत हुँदा पनि धेरै घटना हुनसक्ने भन्दै घटना भइहाले सावधानी अपनाउनुपर्ने र व्यक्ति स्वयं सचेत हुनुपर्ने बताए । अधिकांश आगलागी मानवसिर्जित रहेकाले पनि समयमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए। 

जिल्ला प्रहरी परिसर काठमाडौँले आज मात्रै उपत्यकामा सिंहदरबारस्थित खानेपानी मन्त्रालयको कोठामा र काठमाडौँ अनामनगरको राजन मिट सपमा आगलागी भएको जानकारी दिएको छ ।

परिसरले आजै एक सूचना जारी गरी गत पुस १ गतेदेखि आजसम्म काठमाडौँमा ३४ वटा आगलागीका घटना भएका सार्वजनिक गरेको छ । परिसरले आगलागीबाट जोगिन र ध्यान दिन सबैमा अनुरोध पनि गरेको छ ।

यसरी जोखिन सकिन्छ आगलागीबाट 

परिसरद्वारा आज सार्वजनिक सूचनामा सलाई, लाइटरजस्ता आगजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्न, ‘स्मोक डिटेक्टर’ राख्न, आगलागीबाट बच्नका लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्न अनुरोध गरिएको छ । 

यसैगरी, आगलागी भएको अवस्थामा वरपर रहेका व्यक्तिहरूलाई (अलार्म बजाएर वा चिच्याएर) जानकारी गराउन तथा सकभर चाँडै बाहिर निस्कन पनि अनुरोध गरिएको छ । 

‘कहिलै पनि घरभित्र लुक्ने प्रयास नगर्नुहोस्, घरबाहिर निस्कि सकेपछि सबै परिवार सुरक्षित बाहिर आए/नआएको यकिन गर्नुहोस् । आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय प्रहरीलाई जानकारी गराउनुहोस्, धुवाँ भरिएको स्थान भएर बाहिर निस्कनुपर्दा घोप्टो परेर घिस्रेर निस्कनुहोस् । जसले गर्दा श्वासप्रश्वासका लागि सहज हुन सक्दछ’, परिसरले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ । 

ढोका खोल्नुअगाडि ढोका ताते/नतातेको यकिन गर्न, यदि ढोका तातेको भए उक्त ढोका नखोली अन्य मार्ग भएर बाहिर निस्कन तथा लगाएको कपडामा आगोले टिप्यो भने नदौडन पनि अनुरोध गरिएको छ । काठमाडौँ प्रहरीले यसरी दौडिएको अवस्थामा आगो अझ चाँडै बल्ने हुनाले रोकिएर आगो निभाएर मात्र भाग्न पनि अनुरोध गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप