अठारौँ त्रिमूर्ति दिवसमा तीन जना पुरस्कृत

काठमाडौँ । अठारौँ त्रिमूर्ति दिवसमा तीन जना पुरस्कृत भएका छन् । नाट्य सम्राट् बालकृष्ण समको १२३ ओैँ जयन्ती र अठारौँ त्रिमूर्ति दिवसमा ४ जना पुरस्कृत भएका हुन् ।
त्रिमूर्ति निकेतनको आयोजनामा भएको सो कार्यक्रममा त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौडयाल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थीले रामबाबु सुवेदी, प्रा.डा.सावित्री कक्षपती र प्रा.डा.बेन्जु शर्मालाई पुरस्कार प्रदान गरेका छन् ।
६ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्द कविताको सिर्जना एवम् छन्द काव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान दिने सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिएको छ ।
नाट्य सम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्ताबेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली रङ्गकर्मको संवर्धनमा समेत समाहित हुँदै नेपाली भाषा साहित्यको सेवामा मन, वचन र कर्मले समर्पित कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको छ ।
विगत ६ दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको छ । यी तीनै पुरस्कारका राशि जनही एक एक लाख रुपैयाँ र ताम्रपत्र रहेका छन् ।
समारोहमा मुक्तक साम्राज्ञी उषा शेरचनले आफ्नो कविता सुनाएकी थिइन् । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरू तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले आ आफ्नो मन्तव्य राखेका थिए ।