आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय
दिल्ली विधानसभा निर्वाचन

२७ वर्षपछि दिल्लीमा भाजपाको कमब्याक, यी हुन् जितका कारण

शनिबार, २६ माघ २०८१, २१ : ३८
शनिबार, २६ माघ २०८१

नयाँदिल्ली ।  लगभग तीन दशकदेखि दिल्लीमा चुनावी जितको पर्खाइमा रहेको भारतीय जनता पार्टी (भाजपा)ले अन्ततः सत्ताको पासा पल्टाउन सफल भएको छ। यससँगै आम आदमी पार्टी ११ वर्षपछि सत्ताबाट बाहिरिने निश्चित बनेको छ। 

भाजपाले अन्तिम पटक १९९३ मा दिल्लीमा चुनाव जितेको थियो। पछिल्ला केही चुनावहरूमा भाजपाले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहारलाई अगाडि सारेर चुनाव लडेपनि जित हात पार्न सकेको थिएन । यस पटक भने जनताले भाजपालाई मनुमोदित गरिदिए । तर यस पटक भाजपाले दिल्लीमा मुख्यमन्त्रीका लागि कुनै अनुहार प्रस्तुत नगरेपनि मोदीको नाममा विश्वास दिए । 

बीबीसी हिन्दीले भाजपाको जितमा ठूलो भूमिका खेलेका विभिन्न कारणहरू प्रस्तुत गरेको छ । जसमा बजेटको प्रभाव पनि एक भएको बीबीसीको विश्लेषण छ ।  एकातिर दिल्लीमा विधानसभा चुनावको प्रचार चलिरहेको थियो भने अर्कोतिर आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री निर्मला सीतारमणले १२ लाख रुपैयाँसम्मको वार्षिक आयमा कर छुटको घोषणा गरिन्।

दिल्लीमा ५ फेब्रुअरीमा विधानसभा चुनावको मतदान भएको थियो र त्यसको चार दिन अगाडि भएको यो घोषणाले मध्यम वर्गमा ठूलो प्रभाव पार्ने मानिएको छ। वरिष्ठ पत्रकार रविन्द्र बावा बजेटले नतिजा भाजपाको पक्षमा गएको हुन सक्ने र आम आदमी पार्टीलाई यसबाट ठूलो क्षति भएको हुन सक्ने बताउँछन् । 

यसअघि जनवरीको मध्यमा केन्द्र सरकारले आठौं तलब आयोग गठनको घोषणा गरेको थियो। केन्द्र र राज्य सरकारका कर्मचारीहरूको ठूलो संख्या दिल्लीमा बसोबास गर्छ र यो घोषणाले भाजपालाई ठूलो चुनावी फाइदा पुर्‍याएको मानिन्छ।

अर्कोतर्फ आम आदमीको सरकारप्रति जनताको विश्वास घट्दै गएको पनि बीबीसीको विश्लेषण छ । आम आदमी पार्टी विगत ११ वर्षदेखि दिल्लीमा निरन्तर सत्तामा थियो। यस अवधिमा, आप सरकारले दिल्लीका जनताका लागि धेरै घोषणाहरू पनि गर्यो।

यसमा निस्शुल्क बिजुली र पानी, महिलाका लागि निशुल्क बस यात्रा, वृद्धवृद्धाका लागि निस्शुल्क तीर्थयात्रा आदि समावेश छन् । वरिष्ठ पत्रकार प्रमोद जोशी भन्छन्, ‘दिल्लीको स्रोतसाधनको सहयोगमा आम आदमी पार्टी सरकारले धेरै कुराहरू निस्शुल्क दियो, जुन बस्तीवासी र गरिबहरूलाई मन पर्यो। तर मध्यम वर्गले सायद महसुस गरेको हुनुपर्छ कि यस समयमा दिल्ली जस्तो शहरको पूर्वाधारमा जुन विकास हुनुपर्ने थियो त्यो भएन, जुन देशको राजधानी र यहाँ बस्ने मानिसहरूको लागि धेरै महत्त्वपूर्ण छ।’

यसपटक भाजपालाई अर्को कुराबाट पनि फाइदा भएको मानिन्छ । त्यो हो आम आदमी पार्टीले दिल्ली महानगरपालिका कब्जा गर्नु। यसैगरी आम आदमी पार्टीको हारको एउटा प्रमुख कारण यसको सबैभन्दा ठूलो नेतामाथि लागेको आरोपलाई पनि मानिन्छ।  कथित मदिरा घोटालामा संलग्न भएको आरोप आपका नेता अरविन्द केजरीवालमाथि लाग्यो । 

जबकि आम आदमी पार्टी र अरविन्द केजरीवालले स्वच्छ राजनीति, पारदर्शी राजनीति गर्ने वाचाका गरेपनि भ्रष्टाचारको गम्भीर आरोपमा केजरीवाल फसे । यो प्रकरणले  घेरिएका पूर्व मुख्यमन्त्री केजरीवाल मात्र होइन, दिल्ली सरकारमा मन्त्री रहेका मनीष सिसोदिया र सत्येन्द्र जैनले पनि चुनाव हारे।

दिल्लीमा पछिल्लो चुनाव १९९३ मा भाजपाले जितेको थियो। त्यसपछि, राज्यका पार्टी नेता तथा कार्यकर्ताहरूलाई एकताबद्ध गर्नु र तल्लो तहमा पार्टीलाई व्यवस्थित राख्नु उनको लागि ठूलो चुनौती थियो।यहीबीचमा अहिले भाजपाले अन्य दलबाट आएका नेताहरूलाई पनि कुशलतापूर्वक प्रयोग गर्‍यो। जसको नतिजा दिल्लीमा अहिले आएको छ । 

चुनावमा  भाजपाले बहुमत अर्थात ४८ सिट जित्दा गत चुनावमा ६२ सिट जितेको आम आदमी पार्टीले यस पटक २२ सिट मात्र पाएको छ । कांग्रेस भने बढारिएको छ । भाजपा २७ वर्षपछि दिल्लीको सत्तामा कमब्याक भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप