शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

यी दुई रानी : जसको सक्रियतामा खुल्यो त्रिभुवन विश्वविद्यालय

शनिबार, २६ माघ २०८१

काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १०औँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । यो एपिसोड त्रिभुवन विश्वविद्यालयकी प्रथम कुलपति कान्तिराज्यलक्ष्मी देवी शाह र त्रिभुवन विश्वविद्यालयकी प्रथम सहकुलपति ईश्वरीराज्यलक्ष्मी देवी शाहका सम्बन्धमा छ ।

कान्तिराज्यलक्ष्मी देवी शाह

  • जन्ममिति : सन् १९०६ जुलाई ०५
  • जन्मस्थान : खेरी, सीतापुर, भारत
  • निधन : सन् १९७३ अप्रिल १२
  • माता : रानी कृष्णावती देवी
  • पिता : राजा अर्जन/अर्जुन सिंह

ईश्वरीराज्यलक्ष्मी देवी शाह

  • जन्ममिति : सन् १९०७ सेप्टेम्बर
  • जन्मस्थान  : खेरी, सीतापुर, भारत
  • निधन : सन् १९८३ जुन २७
  • माता : रानी कृष्णावती देवी
  • पिता : राजा अर्जन/अर्जुन सिंह

अन्य क्षेत्रमा झैँ शिक्षा क्षेत्रको विकासमा पनि नेपाली नारीको विशेष योगदान रहेको छ । वि.सं. २००७ सालमा १०४ वर्षे निरङ्कुश राणाशासनको अन्त्य भएपछि मुलुकमा शैक्षिक जगत्ले पनि उडान भर्ने अवसर पायो ।

ठाउँ, ठाउँमा विद्यालय, महाविद्यालय खुल्न थाले । विश्वविद्यालय स्थापनाका लागि पनि अग्रसारिता रह्यो । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना हुन पुग्यो ।  त्रिभुवन विश्वविद्यालयले थोरै समयमै सङ्ख्यात्मक तथा गुणात्मक रूपमा प्रगति गर्दै अघि बढ्यो । 

त्रिभुवन विश्वविद्यालयको स्थापना, सञ्चालन तथा प्रगतिमा कान्तिराज्यलक्ष्मी देवी शाह तथा ईश्वरीराज्यलक्ष्मी देवी शाहको स्तुत्य योगदान रहेको छ । त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि भूमि तथा आर्थिक बन्दोबस्त जुटाउन दुवै रानीबाट उदार हृदयको परिचय दिइएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्थापना सँगसँगै केन्द्रीय पुस्तकालय समेत स्थापना गरियो । शिक्षा पत्रकार प्रकृति अधिकारीका अनुसार ‘स्वर्गीय राजा त्रिभुवनका नाममा विश्वविद्यालय स्थापना गर्ने इच्छा रानी कान्तिराज्यलक्ष्मी देवी शाह तथा ईश्वरीराज्यलक्ष्मी देवी शाहको थियो ।

यसका लागि समिति गठन गर्ने निधो भयो । दुवै रानीको अध्यक्षतामा समिति गठन गरियो । समितिका सदस्यमा खड्गनरसिंह राणा, प्रोफेसर भैरवबहादुर प्रधान, शिक्षा डाइरेक्टर शारदाप्रसाद उपाध्याय, सरदार हंसमान सिंहलाई राखियो ।

सदस्य सचिवको जिम्मेवारी महेश्वरकुमार सिंहलाई दिइयो । विश्वविद्यालयसम्बन्धी दैनिक कार्य सञ्चालनका लागि डा. परासरनारायण सुवाललाई नियुक्त गरियो । 

विश्वविद्यालयको नाम त्रिभुवन विश्वविद्यालय राख्ने निधो भयो । तत्कालका लागि कामकाज गर्न त्रिपुरेश्वरको सरकारी गेस्ट हाउसमा कार्यालय राख्ने निर्णय गरियो ।

२०१२ साल चैत १८ गते राजा त्रिभुवनको वार्षिक पुण्यतिथिको अवसर पारेर काठमाडौँको टुँडिखेलमा सार्वजनिक सभाको आयोजना गरियो । त्यहाँ विश्वविद्यालय स्थापनाका लागि एउटा कमिसन गठन गरियो । २०१३ साल वैशाख १ गते नारायणहिटी दरबारमा तत्कालीन जेठा मुमा बडामहारानी कान्तिराज्यलक्ष्मीदेवी शाहको सभापतित्वमा त्रिभुवन विश्वविद्यालय कमिसनको पहिलो बैठक बस्यो । बैठकमा त्रिवि कमिसनको विधान पेस गरिएको थियो ।

बैठकमा कान्तिराज्यलक्ष्मीदेवीले विश्वविद्यालय स्थापनाको काम जतिसक्दो चाँडो होस् भन्ने आफ्नो इच्छा जताइन् । २०१५ साल असार ११ गते विशेष दिन बन्नपुग्यो, त्रिभुवन विश्वविद्यालयका लागि । नेपालको पहिलो विश्वविद्यालयको भवन शिलान्यास यसै दिन भएको हो । काठमाडौं उपत्यकाका विभिन्न कलेज र विद्यालयका विद्यार्थी तथा शिक्षकलाई कीर्तिपुरको ट्याङ्लाटारमा उपस्थित गराइएको थियो ।

बिहान १० बजेर ४० मिनेटको साइतमा त्रिभुवनका दुवै रानीले त्रिभुवन विश्वविद्यालयको शिलान्यास गरे । कार्यक्रमको सभापतित्व सुवर्णशमशेर जबराले गरेका थिए ।

उनी त्यसबेला मन्त्रिमण्डलका अध्यक्ष थिए । शिक्षामन्त्री रणधीर सुब्बा थिए ।

सिक्रीमा झुन्डाइएको आधारशिलालाई रानीहरूले पूजा गरे । नजिकै खनिएको जगमा तिनलाई राखियो ।

उपनिषद्का वाक्य ‘तमसोमा ज्योर्तिगमय, असतोमा सद्गमय, मृत्योर्मा अमृतं गमय’ का साङ्गीतिक स्वर गुञ्जायमान भए ।

वेद र मङ्गल वाद्यध्वनिका बीच दुवै रानीले स्वर्णजडित चाँदले पालैपालो जगमा सिमेन्ट–मसला राखी शिलान्यास गरिन् ।

चाँदीको कोदालीबाट खनिएको माटोलाई चाँदीको डालामा राखेर जगमा खसालिन् ।’

विश्वविद्यालय स्थापनाका लागि विभिन्न ठाउँ हेरिंदा ट्याङ्लाटार, कीर्तिपुर नै सबैभन्दा राम्रो ठहराइएको थियो ।

उपयुक्त स्थलको खोजी कार्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अग्रणी भूमिका रहेको छ ।

विश्वविद्यालयका गतिविधि अगाडि बढाउन चालिएका यिनै सत्कार्यका फलस्वरूप त्रिभुवन विश्वविद्यालय स्थापना हुनसक्यो ।

जहानिया राणाशासनविरूद्ध प्रजातान्त्रिक आन्दोलनमा राजा त्रिभुवनबाट प्राप्त भएको प्रेरणा, प्रोत्साहन र सहयोग कसैबाट अविदित यथार्थ होइन ।

मुलुकलाई प्रजातान्त्रिक पद्धतिद्वारा अग्रसर तुल्याउन क्रियाशील श्री ५ त्रिभुवनबाट देशको आधुनिक शिक्षा प्रणालीको जग बसाउन उहिल्यै परिकल्पना गरिएको थियो ।

दुःखद पक्ष, परिकल्पना अनुरूप विश्वविद्यालयको स्वरूप खडा हुनु अगावै २०११ फागुन ३० गते उनको स्वर्गारोहण हुनपुग्यो ।

राजा त्रिभुवनको हृदयरोगको उपचारका क्रममा ज्युरिच, स्वीट्जरल्यान्डमा स्वर्गारोहण भएको हो ।

स्वर्गीय श्री ५ त्रिभुवनको पवित्र आकाङ्क्षा साकार पार्न तत्कालीन मुमा बडामहारानीहरूबाट २०१२ साल चैत १८ गते विश्वविद्यालय स्थापनाको घोषणा भएको थियो ।

सोही दिन त्रिभुवन विश्वविद्यालय कमिसन पनि गठन गरिएको हो ।

विश्वविद्यालयको स्थापना, परिचालन, व्यवस्थापन लगायत व्यापक कामको गहन जिम्मेवारी त्रिवि कमिसनमा थियो ।

यसको नेतृत्व कान्तिराज्यलक्ष्मीदेवी शाहबाट भएको थियो ।

यस कमिसनको अढाइवर्षे सक्रियतापछि वि.सं. २०१५ आषाढ शुक्ल नवमी तिथिका दिन तत्कालीन श्री ५ जेठा तथा कान्छा मुमा बडामहारानी कान्तिराज्यलक्ष्मीदेवी शाह र ईश्वरीराज्यलक्ष्मीदेवी शाहबाट कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालयको शिलान्यास भएको हो ।

वि.सं. २०१६ साल जेठ १३ गते ‘त्रिभुवन विश्वविद्यालय ऐन’ लागू भयो ।

कान्तिराज्यलक्ष्मीदेवी शाह त्रिभुवन विश्वविद्यालयको प्रथम कुलपति  र, ईश्वरीराज्यलक्ष्मीदेवी शाह त्रिभुवन विश्वविद्यालयको प्रथम सहकुलपति बनिन् ।

त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि दुवै रानीका निजीकोषबाट मनग्ये खर्च गरिएका थिए ।

तत्कालीन मुमा बडामहारानी कान्तिराज्यलक्ष्मीदेवी शाह तथा ईश्वरीराज्यलक्ष्मीदेवी शाहले विश्वविद्यालयका लागि लुभुँ, ललितपुरमा रहेको आफ्नो तीन सय ७५ रोपनी बिर्ता जग्गा समेत प्रदान गरेका थिए ।

कान्तिराज्यलक्ष्मीदेवी शाह तथा ईश्वरीराज्यलक्ष्मी देवी शाहबाट वि.सं .२०१८ साल पुस २७ गते कुलपति तथा सहकुलपति पदबाट अवकाश लिइएको हो ।

२०१५ आषाढ शुक्ल नवमी अर्थात् स्व. श्री ५ त्रिभुवनको जन्मतिथिका दिन शिलान्यास गरिएको त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०१६ साल असोज चार गतेदेखि उच्चशिक्षाको पठनपाठन प्रारम्भ भयो ।

कान्तिराज्यलक्ष्मी देवी शाह नेपालका शाहवंशीय आठौं महाराजाधिराजकी जेठी महारानी हुन् ।

नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा दुवैको अद्वितीय भूमिका रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको स्थापनाकालदेखि यसको विकासमा उनले पुर्‍याएको योगदान अविस्मरणीय छ ।

कान्तिराज्यलक्ष्मी देवी शाहको चिरकालीन स्मृतिका लागि उनकै नाम जोडी महाराजगञ्ज, काठमाडौंमा ‘कान्ति बाल अस्पताल’ स्थापना भई निरन्तर सञ्चालनमा रहेको छ ।

उनका छोरा महेन्द्रवीर विक्रम शाह नेपालका शाहवंशीय नवौं श्री ५ महाराजाधिराज बने ।

राजा महेन्द्र राजनीतिक तथा कूटनीतिक क्षेत्रमा माहिर रहेको उदाहरण उनका काम, कारवाहीले देखाएका छन् ।

राष्ट्र, राष्ट्रियताको सम्बद्र्धनमा उनको उल्लेख्य देन रहेको छ ।

२०१७ सालको राजनीतिक कदमप्रति आलोचनात्मक दृष्टिकोण रहे तापनि बाँकी कुरामा उनको सदैव प्रशंसा हुँदै आएको छ ।

 

सन् १९१९ मार्च महिनामा कान्तिराज्यलक्ष्मी देवीको विवाह भएको हो । उनकै  बहिनी ईश्वरीराज्यलक्ष्मी देवीको पनि सोही बखत विवाह भएको हो । दुवै दिदीबहिनी भारतकी राजपूताना सुपुत्री हुन् । कान्तिराज्यलक्ष्मी देवी शाहको जन्म सन् १९०६ जुलाई ०५ मा खेरी, सीतापुर, भारतमा भएको हो । उनकी माताको नाम कृष्णावतीदेवी र पिता अर्जुन सिंह हुन् । उनका पिता राजा अर्जन नामले पनि चिनिएका थिए । ईश्वरीराज्यलक्ष्मी देवी शाहको जन्म सन् १९०७ सेप्टेम्बरमा खेरी, सीतापुर, भारतमा भएको हो । माता कृष्णावती र पिता अर्जुन सिंहकी कान्छी छोरी हुन् उनी । श्री ३ चन्द्रशमशेरको पालामा दुवै दिदीबहिनीलाई यहाँ झिकाई विवाह गरिएको इतिहासकारहरूले औंल्याएका छन् ।

 

राजा त्रिभुवन स्वर्गीय भएपछि, महारानी कान्तिराज्यलक्ष्मी देवीले बहिनीसहित अघि सरी उदारमनाका साथ त्रिभुवन विश्वविद्यालय स्थापनामा जोड लगाएकी हुन् ।

कुलपतिको जिम्मेवारी समेत सह्मालेर विश्वविद्यालयलाई उनले अग्रगति दिएको पाटो स्मरणीय छ ।

ईश्वरीराज्यलक्ष्मीदेवी शाह राजा त्रिभुवनकी कान्छी महारानी हुन् ।

त्रिभुवन विश्वविद्यालयकी प्रथम सहकुलपतिको गौरव उनलाई प्राप्त छ ।

उनले सन् १९५० मा कान्ति ईश्वरी हाई स्कुल स्थापना गरेकी थिइन् ।

सन् १९५१ मा उनले आफ्नो उद्यानसहितको निजी भूमि त्रिभुवन आदर्श विद्यालय, फर्पिङलाई प्रदान गरिन् ।

शान्ति निकुञ्ज हाईस्कुललाई पनि उनीबाट १५ रोपनी भूमि प्राप्त भएको छ ।

ईश्वरीराज्यलक्ष्मीले सन् १९५५ मा त्रिभुवन विश्वविद्यालय आयोगको उपाध्यक्षको जिम्मेवारी सह्मालिन् ।

सन् १९५९ देखि १९६१ सम्म त्रिभुवन विश्वविद्यालयको सहकुलपतिका रूपमा रही उनले मुलुकको शैक्षिक विकासलाई अग्रगति दिएको पक्ष स्मरणीय छ ।

त्रिभुवन विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा उनले ३१० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् ।

सन् १९७० मा कान्ति ईश्वरी शिशु विद्यालय स्थापना गरियो ।

पछिल्ला अवधिमा उनले तीर्थव्रत, पूजापाठ एवं परोपकारी कार्यमा आफूलाई प्रवृत्त गराएकी थिइन् ।

हाल भारतको उत्तरप्रदेशमा पर्ने छत्र, बारहगाँव तथा अवधका तत्कालीन राजा अर्जुन सिंह साहिबा तथा कृष्णावती साहिबाकी छोरी हुन्– कान्तिराज्यलक्ष्मी तथा ईश्वरीराज्यलक्ष्मी ।

दिदी, बहिनी दुवैको सानै उमेरमा राजकुमार त्रिभुवनसँग सन् १९१९ मार्च १३ तारिखमा  विवाह भएको थियो ।

कान्तिराज्यलक्ष्मीका महेन्द्र, हिमालय र त्रैलोक्य छोरा तथा विजया र भारती छोरी भए ।

ईश्वरीराज्यलक्ष्मीका वसुन्धरा छोरा र नलिनी छोरी भइन् ।

वि.सं. २०२८ माघ ०२ गते कान्तिराज्यलक्ष्मीले पुत्रशोक बेहोर्न पर्‍यो ।

दियालो बङ्गला, भरतपुरमा राजा महेन्द्र दिवंगत भएका हुन् ।

उनले नाति राजा वीरेन्द्रको शुभराज्याभिषेक चाहिं हेर्न पाइनन् । २०२९ साल चैत ३० गते उनी स्वर्गीय भइन् ।

ईश्वरीराज्यलक्ष्मी २०४० असार १३ गते यस संसारबाट बिदा भएकी हुन् ।

मुलुकमा यतिखेर सरकारी तथा निजी गरी अनेक विश्वविद्यालय स्थापना भएका छन् ।

ती हुन्–

  • नेपाल संस्कृत विश्वविद्यालय (वि.सं. २०४३),
  • काठमाडौं विश्वविद्यालय (वि.सं. २०४८),
  • पूर्वाञ्चल विश्वविद्यालय (वि.सं. २०५१),
  • पोखरा विश्वविद्यालय (वि.सं. २०५४),
  • लुम्बिनी विश्वविद्यालय (वि.सं. २०६१),
  • सुदूरपश्चिम विश्वविद्यालय (वि.सं. २०६७),
  • मध्यपश्चिम विश्वविद्यालय (वि.सं. २०६७),
  • नेपाल कृषि तथा वन विश्वविद्यालय (वि.सं. २०६७),
  • नेपाल खुला विश्वविद्यालय (वि.सं. २०७३)
  • राजर्षि जनक विश्वविद्यालय (वि.सं. २०७४)
  • गण्डकी विश्वविद्यालय (वि.सं.२०७६)  
  • मधेश कृषि विश्वविद्यालय (वि.सं.२०७८)
  • लुम्बिनी प्राविधिक विश्वविद्यालय (वि.सं.२०७९)
  • मधेश विश्वविद्यालय (वि.सं.२०७९)
  • मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालय (वि.सं.२०८०)

यसबाहेक अन्य विश्वविद्यालय खुल्ने क्रम पनि जारी छ ।

नेपालको शैक्षिक यात्रा तथा विश्वविद्यालयको इतिहासमा प्रथम कुलपति कान्तिराज्यलक्ष्मी देवी शाह तथा प्रथम सहकुलपति ईश्वरीराज्यलक्ष्मीदेवी शाह अविस्मरणीय छन् । नेपालमा विश्वविद्यालयको इतिहासमा सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । यस अर्थमा त्रिभुवन विश्वविद्यालय कीर्तिमानी छ तर स्वस्थ एवं सबल छैन । यसका सामु अनेक चुनौती तेर्सिएका छन् । शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै त्रिभुवन विश्वविद्यालयलाई देश तथा दुनियामा ख्यातिवान् बनाउनु आजको आवश्यकता बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया