शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
संस्मरण

नेवारपानी : सम्झना–बिर्सनाका तरेली

शनिबार, २६ माघ २०८१, १९ : ००
शनिबार, २६ माघ २०८१

उत्तरतिर गणेश, मनास्लुका हिम–चुचुराहरू र तिनलाई अविराम एकटक नियालिरहने लोभमा देखिन्छ भैरवीको थुम्को, त्यसै थुम्कोलाई चारैतिरबाट ऐना हेरेजस्तै हेरिरहने दामगाडेको लेक, ढुङ्गे चुली, निमारे तथा पचभैयाको उत्तुङ्ग थुम्काथुम्कीहरू एक आपसमा मस्कामस्की गरिरहेका छन् । 

माझमा लमतन्न सुतिरहेको छ, सुकौरा (लोकबोलीमा सुकोर) खोला । सुकौराको दायाँबायाँ हरिया र भरिला देखिने पाखो बारी र बिच–बिचमा थपक्क बसेका र बनाइएका घरगाउँहरू— कुसुण्डे, मान्के, मैदान, नेवारपानी, अँधेरीखोला, सुकौरा बजार, (सच्याएर बनाइएको सुनौला बजार) रानीस्वाँरा, नवलपुर कतै जोडिएजस्ता र कतै छुट्टिएर बसेका जस्ता देखिन्छन् । 

तीनतलेदेखि मैदानसम्म र कुसुण्डेदेखि अधेँरी खोलासम्म पाइलैपिच्छे पाइने तिन्दु, ऐँसेलु र काफलका बोट–बोटमा आवाज उरालिरहने कोइली, जुरेली र बट्टाईका आवाज कहिल्यै पुराना भएका छैनन् । न काफल, ऐँसेलु र तिन्दुका बोटहरू फल्न थाकेका छन्, न त साँझ बिहान निनाद घन्काउने झ्याँउकिरीका आवाज ओइलाएका छन् । बरु त्यसका बोट–बोटमा झुन्डिने अनुहारहरू बदलिएका छन्, घटेका छन्, बाटामा कुदिहिँड्ने पैतालाहरू, फेरिएका छन् । लामीडाँडा, डण्डेडाँडा निमारे र काफल गैह्रातिर गुञ्जने भाकाहरू मैलिएका, ओइलिएका र सुनिन छाडेर मदौरु भएका छन् । 

तल्लो पातल, देउराली र तीनतलेतिर गाई, गोरु र बाख्रा पाठाका पछि–पछि कुद्ने गोठाला–गोठालीका लस्करहरू हराएका छन् । कहाँबाट खोजुँ र कहाँबाट प्रारम्भ गरुँ खै ! ती बिम्झनाका तरेलीहरू ? छातीका पत्र–पत्रमा कोच्चिएर बसेका र खाटा परेका घाउहरू उप्काउँ कि धमिला स्मृतिका काउकुतिहरू कोट्याउँ ? प्रश्नहरू तेर्सिएका छन् । 

स्मृतिका पातोहरू पल्टनै मान्दैनन्, थाहा छैन किन मान्दैनन् । मभित्र नेवारपानीका आला स्मृतिहरू पनि छन् जहाँ छुँदा कहिल्यै बिसेक नहुने कचपल्टिलो घाउ दुखिरहन्छ । कतै स्पन्दनका आलोकहरूमा, कतै कतै सुखका स्वप्नील स्मृतिभित्र रिमिझिमी झकझक्याइरहने सन्दर्भहरू पनि छन् तर निकै थोरै । 

नेवारपानी र मैले त्यहाँको छातीमा कुल्चेर बिताएका २३ वर्षहरूलाई छातीका कोलाजहरूबाट कसरी उप्काउँ खै, जहाँ टाँस्सिएर बसेका अनेक परिघटनाका पत्रैपत्रहरू छन् । अनेक कहरहरू र त्यसबाट उकुच पल्टिएका घाउहरू छन् । सुखद स्मृतिका अन्तर्बोधहरू पनि छन् त छ नि ! सँगालेर यहाँसम्म आएका मायाका बन्धनहरू छन् । 

साथी–संगातीका माया, प्रेम र उत्साहका पोल्टाभरि राख्न मिल्ने थुङ्गाहरू छन् । झुटो किन बोल्नु र ! कतै घृणा, तिरस्कार र ईष्र्याका अँध्यारा गर्तहरू पनि पर्याप्त छन् । देखेको छु, सँगालेको छु र बेला बेला मेराउपर पोखिएका ईष्र्याका जहरहरूबाट दंशित पनि भएको छु, मेरा यात्रामा तँगारो हालिदिने आफन्तबाट ठगिएको पनि छु र ती घात–प्रतिघातलाई चुपचाप धैर्यको सामथ्र्यले तिनको निर्वाङगतालाई कुरीकुरी गरेर सहिदिएको छु । जसलाई समय क्रममा पोख्ने नै छु । सायद नपोख्दासम्म यो दिलको जलन मेटिन्न पनि । बाँकी त जम्मै–जम्मै आफन्त र अग्रजहरूका आशीर्वचनबाटै पाएका उत्प्रेरणाका सातु सामलहरू फारु गर्दै गर्दै खर्च गरेर यहाँसम्म आइपुगेको छु ।

  • आमासँगका धमिला सम्झना

मैले आमाको आँगन महाकाव्य लेखेँ र त्यसको आशीर्वादात्मक हरफहरू यसरी कोरेको छु— 

आशीर्वाद सुवास थाप्छु शिरमा आमा नबोले पनि, 

लाखौँ शब्द खन्याउँछु हित कुरा ओठै नखोले पनि । 

तिम्रो सामु हुँदा अनन्त क्षणमा ओर्लें समाधीतक, 

आमा सागर प्यारकी मधुसुधा बन्दे महासाधक ।।

सम्झनाका उहापोहहरूलाई बटुलबाटुल गर्दै पत्र–पत्र केलाउन खोजिरहेको छु र दिलका कुनाकानीलाई उघार्न खोज्दा देख्छु, कुन घटनालाई पन्साइदिऊ र कसलाई पहिले थपक्क राखुँ ? अलमलमा छु, आँखा चिम्लेर चार–पाँच वर्षको बच्चामा आफूलाई फर्काइरहेको छु र यतिबेला सुनिरहेको छु, आमा यो अबोध शिशुलाई छाडेर माथि देवताको घर जाने कुरा सुनाइरहनुभएको छ । कानमा ती शब्दले ऊ बेला बिझाएनन् अहिले तीर बनेर घोँचिरहेका छन्— ‘बाबु ! दिदी र भाइबहिनीसँग झगडा नगर, माया गर, धेरै पढ, ज्ञानी बन, पढेर ठुलो मान्छे बन्नुपर्छ, म माथि बसेर हेरिरहन्छु है । अब म देउती माताको घर जाने बेला भो ।’

आमा मझेरीमा मैलो ओढ्नेले छोपिएर सुतिरहनुभएको थियो, म अँगेनाको डिलमा बसेर आमाको कुरा सुनिरहेको थिएँ । आमाको कुरा नबुझे पनि मैले निकै चाख मानेर सुनेको थिएँ । आमाले मेरो व्रतबन्ध नभएको र आफूलाई तर्पण पानी कसले देला ? श्राद्ध कसले गरिदेला ? जस्ता गम्भीर चिन्ता बेला–बेलामा ओकल्नुहुन्थ्यो । त्यो भनेको के हो मलाई केही थाहा थिएन ।

आमाले भन्नुभएका सबै कुरा म न बुझ्न सक्थेँ, न प्रतिक्रिया नै दिन सक्थेँ । सक्थेँ त केवल ‘हस्’ भन्न वा टोलाएर सुनिरहन । उस्तो धेरै ज्ञानी भएर एक ठाउँ बसिरहने प्रवृत्ति पनि मसँग उतिबेला सायद थिएन कि ! त्यसै कारणले हो कि आमाले मलाई पटक–पटक ज्ञानी बन है भन्नुभएको सम्झना छ । देउतीको घर जाने कुरा गर्दा आमालाई मैले भनेको थिएँ रे तपाईं कहिले आउनुहुन्छ र ? 

त्यतिबेला आमाले मैलो न मैलो मजेत्रोले मुन्टो अर्कोतर्फ फर्काएर आँसु पुछ्नुभएको अलिअलि सम्झना छ । उहाँले लगाउनुभएको निकै मैलो फिक्का पहेँले रछायाँ चोलीमा मसिना बुट्टाहरू सम्झन सक्छु तर उहाँको अनुहार भने पटक्कै याद आँउँदैन । विधाताले के स्मृति दिएका हुन् कुन्नि ? शब्दहरू स्मृतिमा छन् तर सरस्वती छैनन् जस्तो । 

त्यहाँभन्दा ज्यादा आमासँगका मेरा स्मृति बाँकी छैनन् । मसँग आमालाई सम्झाउने तस्बिरहरू पनि छैनन् र छैनन् आमाले अन्त्य अवस्थामा लगाउनुभएको र आफूसँग धमिलो स्मृति बाँकी रहेको त्यो मैलो, हल्का पहेँलो र मसिनो कालो थोप्ला भएको चोलो हो वा ब्लाउजको अंश । त्यसको टालोसम्म थियो भने म आज छातीमा टाँसेर पेटभरि रुने थिएँ जस्तो लाग्छ । 

मेरी आमासँगका कुनै सम्झना बाँकी छन् भने हृदयमा गुञ्जिरहने यिनै आवाजहरू र मूल ओछ्यानमा मैलो सिरक तथा रङ्ग उडिसकेको भुइँ हल्का पाँहेलो र कालो कालो मसिनो टिका भएको चोली वा ब्लाउजमा नरम हातहरू बिस्तारै उचालेर मेरो शिर मुसारिरहेको क्षण मात्रै । 

आमा यो अबोध शिशुलाई छाडेर माथि देवताको घर जाने कुरा सुनाइरहनुभएको छ— ‘बाबु ! दिदी र भाइबहिनीसँग झगडा नगर, माया गर, धेरै पढ, ज्ञानी बन, पढेर ठुलो मान्छे बन्नुपर्छ, म माथि बसेर हेरिरहन्छु है । अब म देउती माताको घर जाने बेला भो ।’

त्यसको सायद एक–दुई दिनमै आमा परलोक जानुभएछ । आमा बित्नुभएको र दाहसंस्कारका लागि लैजाँदा हामीलाई कतै अर्को घरमा लुकाइएको हुन सक्छ, त्यसैले ती कहालीलाग्दा क्षण मेरो स्मृतिमा कतै छैनन्, सम्झन सक्दिनँ ।

उहाँ २०३१ असार १ गते घाँस काट्न जाँदा घरै अगाडिको खनियोको रुखबाट लड्नुभएको थियो । बुबाले केही समय उपचारका लागि पाटन अस्पताल लैजानुभएको रहेछ । मेरुदण्ड भाँचिएको कारण उपचार हुन नसकेर फिर्ता ल्याउनुभएछ । हामीलाई थाहा थिएन कि उहाँ बिसेक नै नहुने रोगले थला पर्नुभएको कुरा । उहाँको मृत्युको क्षण र काज–किरियाका घटनाहरू पनि म सम्झन सक्दिनँ, किनकि मेरो सानो दिमागमा ती विषय घुस्न सकेनन् वा भगवानले यी विघ्न पीडाहरू तँ सहन सक्दैनस् भनेर स्मृतिको स्फ्टवेयर कमजोर हालिदिनुभएको छ । त्यसैले त अहिले पनि सम्झने र कण्ठ गर्नुपर्ने कुरा आएपछि मेरो सातो जान्छ ।

अँगेनाको छेउमा मैला सिरक–डसनामा बसेर, मदौरो आवाजसँगै नरम र पिउरीजस्ता लाग्ने हात उचालेर उहाँ भन्नुहुन्थ्यो, ‘बाबु ! भाइबहिनीसँग झगडा नगर है । पढेर माथि पुग्नुपर्छ । म माथिबाट (देवताको घरबाट) हेरिरहन्छु नि !’ 

आफू ज्ञानी र असल भएँ कि भइनँ, उहाँले आशीर्वचन दिनुभएको छ वा छैन, उहाँ सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ? त्यो त आजसम्म मैले थाहा पाएको छैन । हाम्रा शास्त्रहरूले भने अनुसार उहाँ तर्नुभएको छ वा छैन ? उहाँको आत्माले शान्ति पाएको छ कि छैन ? त्यो कसले जान्न सक्छ र ? तर मैले उहाँका आत्मशान्तिका लागि शास्त्रहरूले भने अनुसार बालबालिकालाई स्टेसनरी, शैक्षिक सहयोग, बालसेवादेखि श्रीमद्भागवत पाठ गर्नेदेखि प्रायः अञ्जलीदान लगायत क्रियाकलापहरू प्रायः नियमित गर्दै आएको छु । 

म भन्न सक्दिनँ, आज पनि आमाको आत्मा कहाँ छ र उहाँले यी सब क्रियाकलाप देख्नुभएको छ वा छैन । 

  • दिलमा टाँसिएका मसिना विषय 

इतिहास भन्नु पनि पनि केही सामूहिक र केही निजी भोगाइका पटाक्षेप हो जस्तो लाग्छ । केही गुनासा र केही साहसका दर्पण हुन्, केही अभ्यास र केही मनोविज्ञानका परिणति हुन् र केही सपना र केही सम्भावनाभित्र खेलिएका राम्रा–नराम्रा खेलहरू पनि इतिहास नै रहेछन् ।  

हाम्रो बस्ती अर्धोपत्यका जस्तै छ । चारैतिर थुम्किला चुचुराहरू र त्यसको बिचमा अर्धसमथर खेतबारी र ठाउँ–ठाउँमा झुरुप्प घरहरू । केन्द्र भागमा स्थित दाहाल गैरो र त्यसको पनि एकातर्फ तीनतिर बाँडिएका दाहालका तीन भाइका सन्तानहरूको घर–व्यवहार थियो । दाहाल गैह्रोको दायाँतर्फ रेग्मीडाँडा (बोलीचालीमा भनिने–यामी डाँडा)का झुरुप्प चार घरहरू थिए । नजिकै थियो, ठुलो पँधेरो । ठुलो पँधेरोलाई मूल बनाएर बग्ने पँधेरी खोल्सी सिङ्गो नेवारपानीको बिचमा छ । त्यसको पारितिर तिन्दुबोटे टोलका चार र माथितिर तेर्सिएर बसेको लस्करै देखिने ठुलाघरे अधिकारीहरूको घरैघर थियो । ठुलाघरे अधिकारीको लहरे आँगनबाट माथितिर उक्लँदै जाँदा भञ्ज्यागी टोलका दुई घर पनि थिए भने देउराली डाँडातिर उक्लँदा लाहुरेका दुई र सुचीकारको एक घर पनि नेवारपानीका परिचायक नै थिए । 

त्यसको तल्तिर मान्के, कुसुण्डे टोलको अवस्थिति । मान्के–कुसुण्डेको माझबाट धागो तन्काएजस्तै तन्किएर कामीडाँडाको सिरान र तल्लो पँधेराको पुछार भएर तन्किएको बाटो त्यही कामीडाँडामा फाटिएको थियो । त्यसले एकातिर आफूलाई पल्लोपट्टि टोलतिर उकाल्थ्यो भने अर्काे हाँगो ओरालो झरेर सुकौरा खोलातर्फ (बोलचालको भाषामा सुकोर खोला) लैजान्थ्यो । सुकोर खोलाबाट पनि एउटा मूल गोरेटो घोरेढुङ्गा, बौल्डाँडा (हुन सक्छ –बौलाहा डाँडा) हुँदै रानीस्वाँरा, नवलपुर जान्छ र बौलाहा डाँडाबाट पनि बाटो फाटेर एउटा पूरै वनेली क्षेत्र निमारे, पोखरे खोला हुँदै डण्डेडाँडा र कुम्पुरसम्म तन्किएको थियो । गाउँको नाभिकीय बिन्दुमा कर्णेश्वरको मन्दिर छ र त्यसैको नामबाट जिल्लाको नामकरण भएको सन्दर्भमा म प्रस्ट छु । 

यो नेवारपानीको बसोबासको हिजोको तथ्यचित्र थियो । नेवारपानीको त्यही नाभिकीय शिवमन्दिरबाट अन्ततः तत्स्थानिक नाम रह्यो— धादिङ । त्यहाँ प्रशासनिक एकाइहरू बसेपछि र उक्त उपत्यकालाई नै धादिङ भन्न थालियो । पछि जिल्लाको नामकरण नै त्यसैबाट धादिङ बनाइएको तथ्य प्रामाणिक छ । केही अग्रजहरूले अश्लीलतालाई जोडेर वा यस क्षेत्रमा साइनु सपनु नमिल्ने भाषाबाट नामकरण भएको भन्नु अप्रमाणित हो भन्न सकिन्छ ।

धादिङ शब्द संस्कृत भाषाको धा र दिक् शब्दको संयोजनले बनेको हो । यसको शाब्दिक अर्थ राख्नु, पक्डनु, धारण गर्नु हो (संस्कृत हिन्दी कोश वामन शिवराज आप्ट) र दिशाको अर्थ देवता हो अर्थात् दिशालाई पक्डने धारण गर्ने र यसकै लुगा पहिरिने ईश्वर देवाधिदेव महादेवको नामबाट यस जिल्लाको नामकरण गरिएको हो । महादेवको अर्को नाम दिगम्बर पनि हो । यसो भन्नु दिक् अर्थात् दिशा नै लुगा भनिएको हो (एजन) । महादेव दिगम्बर हुन् । उनको लुगा नै सबै दिशा, सबै लोक हो ( बृहद् नेपाली शब्दकोश) । यसैले यस जिल्लाको नाम शिव अर्थात् महादेवको नामबाट भएको हो । सार्थकमा धादिङ शिवलोक हो भन्ने कुरा पनि मैले पनि धेरै पछि मात्रै बुझेँ । यसका बारेमा नेपाल प्रज्ञा प्रतिष्ठानमा मैले गरेको धादिङको एतिहासिक रूपरेखाहरू हेर्न सक्नुहुन्छ र पटक–पटक विभिन्न पत्र–पत्रिकामा प्रकाशित अन्य लेखहरू पनि हेर्न सक्नुहुन्छ । यो प्रसङ्गवशः उप्किएको विषय मात्रै हो । पुनः बाल्यकालमै फर्कन चाहन्छु । 

  • पुनः बालवय

प्रायः मध्यरात ढल्किएपछि हजुरआमा निद्राबाट बिउझिनुहुन्थ्यो र ढिकी वा जाँतोलाई जगाउनुहुन्थ्यो । रातको सन्नाटामा जाँतो पिसिएको एकोहोरो सङ्गीत हाम्रो कानमा गुञ्जिँदा अप्रतिम सङ्गीत वा अद्भुत रुवाइजस्तो लाग्थ्यो । त्यो मधुर गुञ्जन लगभग ५ वा ६ बजेसम्म चलिरहन्थो । जाँतो घिसारेर सङ्गीत निकाल्नु चानचुने कुरा थिएन, उसै पनि हाम्रो घरको जाँतो निकै गह्रुँगो थियो । जाँतो वा ढिकी भएको स्थानमा बत्ती थिएन, निष्पट्ट अन्धकारमा छामछुम गरेर वा अन्दाजले मकै, कोदो वा गहुँ पिस्नुपथ्र्यो । हजुरआमा कहिले एक्लै सिलोक वा भजन पनि जाँतोको सङ्गीतमय तालमा गुनगुनाउनुहुन्थ्यो । उहाँ पटक–पटक ‘हे कृष्ण तिम्रो नाम जपी–जपी वृन्दावन जाम’ भन्ने भजन भन्नुहुन्थ्यो । नितान्त एक्लै जाँतो चलाउँदा मात्रै उहाँले भजनहरू गाउनुहुन्थ्यो तर साथीहरू भएका बेला मैले कहिले उहाँले ओठ चलाएको देखिनँ । रातमा जातो चलाउँदा मात्रै उहाँ भजनको सुर खुल्थ्यो ।

जाँतो प्रायः सबै घरमा हुन्थ्यो तर ढिकी सबैको घरमा हुन्नथ्यो । सायद ढिकी राख्न अलग स्थान, सीप र आवश्यकताले पनि हुन सक्छ, ढिकी सबै घरमा देखिँदैनथ्यो । मकै कोदोका बालीहरू प्रशस्त उत्पादन हुने र ती उत्पादन बिहान–बेलुका खाना र दिउँसो खाजामा पनि प्रयोग हुने तथा पशुवस्तुलाई खुवाउनुपर्ने भएका कारण ढिकी महत्त्वपूर्ण घरेलु औजार नै हुन्थ्यो तर त्यस क्षेत्रमा खेत भने कम थियो । धान हुनेखानेहरूका लागि अनिवार्य खाद्यबाली भए पनि विपन्न तथा अभावमा बाँचेकाका लागि वैकल्पिक खाद्यान्न वा पर्व विशेषका लागि मात्रै भएकाले पनि ढिकी वैकल्पिक यन्त्र थियो । त्यसैले हजुरआमाको ढिकी यात्रा हप्ता दश दिनमा मात्रै हुने गथ्र्योे । ढिकी पनि उहाँको ससुरा वा हाम्रो जिबाको घरमा थियो— ठिक हाम्रो घरभन्दा माथि । ढिकी चलेको बेला जाँतोको जस्तो एकोहोरो आवाज आउँदैनथ्यो । नियमित धानको भात खानेहरू उफ्रिएजस्तै अलि उत्ताउलो ध्वनिले भक्र्याङ, भुक्रुङ आवाज निकाल्थ्यो । अलि ठुलो भएपछि यसमा मैले हजुरआमालाई निकै साथ दिएको छु । ढिकीमा भएसम्म तीनजना जनशक्ति प्रयोग हुन्थ्यो । दुईजनाले ढिकीको पुछरमा बल गरेर कुल्चने र छाड्ने गर्नुपर्छ । यसो गर्दा ढिकीले उफ्रिएर अन्नमा बजारिन्थ्यो र अन्नका भुसहरू छुट्टिन्थे ।

ढिकीको अग्रभागमा रहेको मुसलमा फलामको तिखो साँवी हुन्थ्यो । त्यसले अन्नमा टाँस्सिएको भुस छिटो फुस्कन्थ्यो । पछाडि दुईजनाले ढिकीको पुच्छरमा कुल्चदै छोड्दै गरेर उफार्नु पथ्र्यो र त्यसो गर्दा मुसलसहितको साँवीले अन्नमा बजारिएर धान कुटिन्थ्यो । अगाडि एकजनाले हातले अन्न चलाउँदै अगाडिको पछाडि, पछाडिको अगाडि गर्दै फर्काउनुपर्दथ्यो तर कसैले ढिकी उफ्रँदा हात राख्ने र बज्रँदा झिक्ने गर्न नजान्दा चेपिएर घाइते हुन सक्थे । यसै काममा मेरी दिदीले धेरैपटक औँला फुटाउनुभएको छ । आजकाल त नेवारपानीमा पनि ढिकी कमै देख्न पाइने रहेछ । 

हिउँदमा खेतीबाली लगाउने चलन थिएन । गोठालो जानुपर्दैनथ्यो, गाईवस्तु छाडा छाड्ने चलन थियो । घरबाट फुकाएर केही पर पुर्‍याएपछि छाडिदिने चलन थियो । दिनभर चरेर बेलुका बास बस्न घरै आउँथे, ती अबोध प्राणीहरू । कुनै बेला अबोध प्राणीहरूमाथि निस्फिक्री अन्याय पनि हुन्थ्यो । बिहान सद्दे फुकाएर चर्न पठाएका गाई, बाख्रा, गोरुहरूको बेलुका घर फर्कंदा कसैको कान र कसैको पुच्छर काटिएका हुन्थे । यस विषयमा गाउँमा उकुसमुकुस सन्नाटा छाउँथ्यो, कसले काटेको हो थाहा पनि थियो, तर उदण्डहरूको अगाडि चुप लाग्नु नै बेस ठानेर मौनता साध्दथे, (नाम थाहा भएर पनि बितिसकेको मान्छेको बारेमा लेख्नु उचित ठानिनँ) ।

हिउँदमा गोठालो जानुनपर्ने र घाँस काट्न, खेतबारीमा काम पनि खासै नहुनाले दिनहरू फुर्सदिला नै हुन्थे । बेलुका बेलुका भजनका चुड्का गाएर नाच्ने चलन थियो । हिउँदभर विवाहका उत्सवहरू हुन्थे । विवाहका लागि सबै घर मिलेर विवाह हुने घरकालाई काममा सघाउने चलन थियो । सबै मिलेर वनमा दाउरा काटिन्थ्यो । विवाह तथा व्रतबन्ध हुने घरको दुई खलियो हुन्थे र अरुहरूको एक मात्र खलियो हुन्थ्यो । दाउरा चिर्ने, बोक्ने र खेतबारीको काम गर्ने पर्म परम्परामा चल्थ्यो । विवाह व्रतबन्धको साल घरमा चामल धेरै खर्च हुने भएकाले सबै घरबाट पाँच सात पाथी, पाँच–सात पाथी सघाउने प्रचलन थियो । जसको घरबाट ल्याइएको हो, उसलाई उसको घरमा त्यस्तै काज पर्दा मात्रै फिर्ता गर्ने प्रचलन थियो । आज त्यो एकाता कहाँ खोजेर पाइन्छ र ?

बिहान उज्यालोले भुइँ नचुम्दै हजुरआमाले गोठको भकारो फाल्नुहुन्थ्यो र एकखेप पँधेराबाट पानी घर भित्रिसक्थ्यो । 

कामीडाँडामा काठे कोल थियो । अर्मपर्म गरेर तेलको बियो घुमाउने चलन थियो । कहिले सखारै बिहान वा कहिले मध्यदिन कटेपछि छिमेकीहरू लिएर हजुरआमा कोल झर्नुहुन्थ्यो । हामी केटाकेटीलाई पनि रमाइलो हुन्थ्यो तेल पेल्ने दिन । एकातिर कोलको बियोमा झुन्डिँदै कुद्न पाइने, अर्काेिितर तेलमा पकाएको भात खान पाइने । त्यो दुवै सुविधा प्रायः हामी उपयोग गर्न पाउँथ्यौँ, तर धादिङबेसीमा पानीको मिल सुरु भएपछि कोलका उपभोक्ताहरूको सपना बसाइँसराइ भयो र मान्छेहरू तोरीको भारी बोकेर ओरालो लाग्न थालेपछि कोल कुहिँदै गयो ।

  • गोठाले जीवन

धादिङबाट सदरमुकाम सरेर धादिङको बेसी फाँटमा भर्खर गएको रहेछ । सदरमुकाम त्यहाँ रहेको र सरेर गएको अनुभूति हामीलाई थिएन । अलिअलि पँधेरामा, गोठालोमा चर्चाहरू सुनिन्थे कि अब घरमा पाहुना लाग्दैनन् । गल्ली गल्छेडामा फोहोर पनि हुन्न र छोरीबेटीको इज्जत पनि जोगिन्छ । उतिबेला के भनेको होला जस्तो लाग्थ्यो, पछि पछि थाहा भयो कि सदरमुकाम भएपछि उतिबेला अड्डा–अदालतमा काम भएका मान्छेहरू पाहुनाका रूपमा धेरै न आउने रहेछन् । अन्नपानी आफैँलाई कठिन भएका बेला नियमितजसो पाहुना पाल्न र अनाज पुर्‍याउन गाह्रै भएको होला । पाहुनाका लागि ओढ्ने–ओछ्याउने पनि त गतिलै दिनुपर्‍यो । आफैँलाई थियो थिएन । वास्तवमा धर्मशाला, पाटीपौवा र बासशालाहरू व्यावसायिक नभएको त्यो समय गृहस्थका लागि असजिलै पनि भएको हुन सक्छ । कर्मचारीहरू, प्रहरी र सेनाहरूले छोरीबेटीको इज्जतमा धक्का पनि दिएका थिए कि भन्ने आज सम्झिरहेको छु । उतिबेला आजजस्तो व्यावसायिक होटल, लजहरू भैदिएको भए त्यहाँका जनताले सदरमुकाम सार्न नदिन पनि सक्थे । 

हाम्रो खेत धादिङ बेसीको नजिक थियो । असार र मंसिरमा बेसी खेतमा भएको गोठमा बसेर खेत रोप्ने, मकै भाँच्ने, आली लगाउने, बिउ काढ्ने, बाउसे गर्ने हाम्रा दैनिकी हुन्थे । नेवारपानीका धेरैजनाको खेत हाँडीखोलास्थित तल्लोबेसीमा थियो भने हामी दुईघर दाहालहरूको माथिल्लो बेसी अरुङ खोलाको किनारामा रहेछ । मेला पर्म लगाउन पनि अपायक किनकि सबैको तल्लो फाँट र हाम्रो मात्रै फरक । 

खेत रोपाइँ गर्न, पानी लगाउन, मकै, धान, पराल ओसार्न पनि असजिलो थियो, किनकि आम छिमेकीको भन्दा हाम्रो खेत नेवारपानीबाट अपायकमा थियो अर्थात् सबै छिमेकीको तल्लो बेसीमा र हाम्रो भने माथिल्लो बेसीमा । छिमेकका सबैको अर्मपर्म गरेर रोपाइँ, गोडमेल र धान भित्र्याउने काम हुन्थ्यो । हाम्रो घरमा मेला, पर्म गर्न हिड्ने मान्छेहरू पनि थिएनन् । उसैले पनि सके ज्यालामा लगाउनुपर्ने र नभए आफैँले काम सक्नुपर्ने हुन्थ्यो । घरमा ज्यालामा लगाउनका लागि आर्थिक अभाव अभाव नै भएकोले आफै काम गर्नुपर्ने बाध्यता थियो । त्यसैले सानै उमेरदेखि नै खेतमा काम गर्ने बानी हामीलाई परेको थियो । आमा बित्नुभएको पनि ८–१० वर्ष भइसकेको थियो । खेत रोप्ने समय एक महिना असार २०–२२ गतेदेखि श्रावणमा खेत रोपाइँ नसकिएसम्म हाम्रो बास खेतको गोठमै थियो । 

आमा नहुनुको आम नेपालीले भोग्ने सबै कहर हाम्रो भाग्यमा लेखिएको रहेछ र झनै असहजता मेरी दिदीले भोग्नुभयो, उतिबेला घरमा ५–७ माउ गाईहरू थिए । एउटा भैँसी त कहिल्यै नटुट्ने नै भयो । ती सबैलाई घाँसपात, गोठालो, स्याउला सोत्तरको गह्रुँगो जिम्मेवारी मेरी दिदीले सम्हाल्नुभयो । 

गोठाला पात, मेला, कुटो, कोदाला, गाउँबेसी गर्दागर्दै आमाको मृत्यु वेदनाका घाउहरू सायद पुरानिँदै गए र बिर्सिंदै गइयो होला, तर अरुले आमा भनेको सुन्दा र आमाले प्यारभरि अँगालोमा साथीभाइलाई वात्सल्य नदीले छुर्लुप्प बनाउँदा भने म औधि भोकतिर्खाले भुतुक्क हुन्थेँ । त्यो नमेटिने भोक र तिर्खा अहिले पनि बाँकी छ । 

बिदाको दिन म दिदीलाई सघाउँथे । गोठालो रनवन चहार्थें । ऐँसेलु, काफल, मछ्यानुका बुटा–बुटा चहार्न निकै रमाइलो हुन्थ्यो । 

एकजना शिक्षकले मलाई हेर्दै र लक्षित गर्दै— ‘टुहुराहरू रुखा र बिरसिला हुन्छन्’ भनेर पुष्टि गर्न केही दृष्टान्त दिनुभयो । जुन कुराले मलाई निकै चिसो अनुभूति गरायो । ती शिक्षकले किन मलाई नै उपेक्षा गरेर त्यसो भने भन्ने कुराले निकै बिझायो पनि ।
  • रात पर्दा पनि गाई वनमै

बिदाको दिन मलाई गोठालो जान रमाइलो लाग्थ्यो । सानो भान्दाजु नवराज अधिकारी (हाल क्यानडा), म र राजेन्द्र अधिकारी (बोलचालमा घन्या राजेन्द्र भनिन्थ्यो, हुन सक्छ उनको पिताको नाम घननाथ वा घनप्रसाद थियो कि !) अक्सर हामी गोठालोमा सँगै हुन्थ्यौँ । गाउँबाट ५० देखि १०० वटासम्म गाईवस्तुका लस्कर सुकोर खोला पारि तरेर वन पस्थे र १०–१५ जना गोठाला अनेक तरहका ठट्टाबाजी र गीत फलाक्दै वन पस्थे । उनीहरूभन्दा हामी कि अघि वा पछि गाईवस्तु लैजान्थ्यौँ र त्यो पनि अरुका भन्दा टाढा । 

मेरो धेरै घनिष्ठता कसैसँग पनि थिएन, किनकि केही साथीभाइको घरबाट लगेको खाजा वा किनेको खानेकुरा हुन्थे र उनीहरू विद्यालय होस् कि गोठाला होस् कार्यगत एकता गर्थे, एकछिन हराउँथे । सायद खाजा बाँडेर खान्थे होला । मैले कहिल्यै चियो–चर्चो गरिनँ । उनीहरूले मुख मिठ्याउँदा अर्कोतर्फ फर्किन्थेँ । हिजो जस्तै आज पनि मसँग औधि घनिष्ठता वा मरिहत्तेको दोस्ती कसैसँग रहेन । ठिकै भएको छ किनकि बित्थाको भ्रमित बनाउने पिर्ती नबसेकै राम्रो जस्तो लाग्छ । यी परिघटनाहरू सम्झँदा लाग्छ ‘पैसाले आंशिक रूपमा भ्रमहरू र सपना पनि खरिद गर्ने भ्रमको साहस पनि किन्न खोज्दो रहेछ ।’ पैसा नहुनु र आमा नहुनुको धेरै नमिठाहरू मेरा स्पन्दनमा छन् । 

  • प्वाँले गोरु लडेर खुत्रुक्कै

घरमा हल गोरु कहिल्यै टुट्दैनथ्यो । गोरु नभए खेतीबाली पनि लगाउन नसकिने र खोजेर ज्यालामा लगाएर साध्य पनि नलाग्ने जमाना थियो । एउटा साधु र निकै असल प्वाँले गोरु थियो । उसले अर्को हललाई डसेको, जुध्न निहुँ खोजेको वा दुःख दिएको हामीले कहिल्यै थाहा पाएनौँ । त्यो गोरुले जोत्न थालेको पनि आठ–नौ वर्ष भइसकेको थियो । उसको हल भर्खरको बहर थियो । बा, हजुरआमाले पनि प्वाँलेको अग्घोरै भर गर्नुहुन्थ्यो, यो गोरु साह्रै लक्षिनको छ भनेको मैले धेरैपटक सुनेको हुँ ।

म सायद १०–१२ वर्षको हुँदो हुँ, बिदामा गोठालो भरलाग्दो किसिमले जान थालेको थिएँ । स्याउला, सोत्तर पनि बोक्थेँ । एउटा शनिबार बिदाको दिन गोठालो म नै गएको थिएँ । बिहान सायद १० बजेतिर नै होला, गाई–गोरु फुकाएर सुकोर खोलाबाट पारिपाखा घोरेढुङ्गाबाट तीनतलेतिर बाटोबाटै लगेका थियौँ । त्यति नै बेला मान्केतिरबाट पनि केही गाई–गोरु मिस्सिन आइपुगे । हाम्रा वस्तुहरू अगाडि–अगाडि थिए । पछाडिबाट त्यो सन्त प्वाँलेलाई कसले लखट्दै हान्न थालेछ र तीनतलेको भीरबाट खुत्रुकै खसालिदिएछ । लौ गोरु लड्यो भन्दै गोठालाहरू हस्याङ्फस्याङ गर्न थाले । मेरो मुटु थर्थर काम्न थाल्यो र घोप्टो परेर रुन थालेँ । कसैले हजुरआमालाई घरमा खबर गरेका रहेछन् । उहाँ पनि रुँदै आउनुभयो र एक अँजुली पानी खुवाइदिनुभयो । गोरु खुत्रुक्कै भयो । हाम्रो घरमा धेरै महिनासम्म लक्षिनको प्वाँले गोरुको चर्चा भइरह्यो । बिस्तारै घर परिवारले बिर्सिए होलान् । मेरो मनमा भने त्यो साधु प्वाँलेको स्मृति ताजै छ । 

  • बिरसिला र रुखा टुहुराहरू 

सायद कक्षा ९ मा थिएँ । उतिबेला बा पनि अलिकति राजनीतितिर ज्यादा समय दिन थाल्नुभएको थियो, घरमा कम बस्नुहुन्थ्यो । घरको आर्थिक अवस्था चौपट थियो । आम्दानी कतै केही थिएन, हाम्रो पढाइको फिस तिर्न हजुरआमाले अनेक जोहो गर्नुपथ्र्यो । कक्षा ९ मा परीक्षा अड्कने स्थिति थियो । विद्यालय खाली खुट्टा जान्थेँ ।

कक्षामा कसैसँग हेपिने र खप्ने चेष्टा भने थिएन । एक दिन कुरै कुरामा मेरैअगाडि एकजना शिक्षकले मलाई हेर्दै र लक्षित गर्दै— ‘टुहुराहरू रुखा र बिरसिला हुन्छन्’ भनेर पुष्टि गर्न केही दृष्टान्त दिनुभयो । जुन कुराले मलाई निकै चिसो अनुभूति गरायो । मेरो वरपरका ती शिक्षकले किन मलाई नै उपेक्षा गरेर त्यसो भने भन्ने कुराले निकै बिझायो पनि । यस प्रसङ्गलाई धेरै बिर्सन कोसिस गरेँ, आफूलाई नै भनेको होइन होला वा आफ्नै कुनै व्यवहारले त्यसो भन्न बाध्य भए कि भन्ने पनि लागिरह्यो । जे भए पनि घाउमा नुनचुक दलेजस्तो चसक्क भइरह्यो । 

खै म रुखो र बिरसिलो छु वा छैन ! त्यो थाहा भएन तर त्यस शब्दांशले अहिलेसम्म चसक्क घोँचिरहन्छ । कहिलेकाहीँ त लाग्छ— किन सम्झनामा यस्तरी टाँसिएर बसेको होला, जाबो चार शब्दावलीको छोटो वाक्यांश ? फेरि उत्तर आफैँ स्वनिर्मित भएर निस्कन्छ कि तेरी आमाको मृत्युको घाउलाई यस वाक्यांशले चिथोरेको छ अनि कहाँ हट्छ त । भलै उनले जे जसरी भनेका होउन्, म स–सम्मान ग्रहण गरिरहेको छु । मौका परेमा छुट्टै स्मरण लेखेर घाउ बिसाउँला । अहिले बिर्सन खोजेको यो प्रसङ्गलाई मैले किन सम्झिरहेँ भन्न सक्दिनँ । 

  • नलाङ चरीमारेमा प्रहरीको फन्दा 

हाम्रा अङ्ग्रेजी शिक्षक पुरुषोत्तम अधिकारीले हामीलाई विषय मात्रै पढाउनुभएन, राजनीतिक सचेतना र सामाजिक जागरणका सन्दर्भ पनि सिकाउनुभयो । उहाँले देश, प्रजातन्त्र, पञ्चायत तथा राजनीतिका धेरै विषय बेलुका–बेलुका कतै घुम्न लगेर सिकाउनुहुन्थ्यो । त्यतिबेला मेरो दिमागमा ती प्रसङ्गहरू कति घुसे वा घुसेनन् थाहा भएन तर उहाँको माया र अपनत्व भने अमिट बसिरहेको छ । उहाँकै कारण मेरो त्यतिबेला अङ्ग्रेजी विषय निकै दर्बिलो पनि भयो । 

त्यतिबेला घरमा रेडियो थियो र रेडियोमा म बीबीसी नेपाली सेवा निकै सुन्थेँ । यो सुन्ने प्रेरणा पनि मलाई उहाँकै हुनुपर्छ । त्यसले मेरो देश–विदेशको अनेक परिघटनासँगको ज्ञानको सामीप्यता बढाउँदै लग्यो । म अलिकति राजनीतिक सचेतनाको बिन्दुमा पुगेँ । त्यही बिन्दुबाट जीवन हिँडिरहेको भए म यतिबेला भेलभित्रै हुन्थेँ । स्व. भीमसेनकुमार श्रेष्ठले कुनै बेला गाउँविकास समितिको चुनावमा उठ्नुपर्छ, तयारी गर भनेका पनि हुन्, उनी बिते, म ती विषयबाट तर्सिन्थेँ । मलाई फिल्डको आजको राजनीतिप्रति भयङ्कर घृणा छ । त्यतिबेलाको भेलमा पसेको भए म पनि विकृतिको सिकार भइसक्थेँ तर समयले किनारा लगाइदियो । 

कक्षा ९ मा हुँदै हुनुपर्छ नलाङमा नेपाल विद्यार्थी संघको सम्मेलन थियो । उतिबेला भैरवी माध्यमिक विद्यालयबाट प्रतिनिधिका रूपमा म सहभागी थिएँ । चरीमारेको एक घरमा बेलुका पुगियो । दिन र रातमा पनि कार्यक्रमहरू गर्ने तय भएको रहेछ । म घरबाहिर ननिस्किएको मान्छे । अनौठो र रमाइलो पनि लाग्यो । बिहान खाना खाएर बस्दै थियौँ । काठमाडौँबाट पनि नेताहरू आएका थिए सायद । सम्मेलन स्थगन गर्नुपर्ने सूचना आयो र सँगै सादा पोसाकका र पछि बर्दीधारीहरूको समूह प्रवेश भयो । उतिबेला हामी आली–कान्ला र बारीका कुना चहार्दै भाग्यौँ, एक–दुई भाटा त खाइयो पनि तर म कुद्न निकै तेज भएकाले भद्दा प्रहरी पछाडि परेको देखेँ । बारीका केही अम्बा टिप्दै घर फर्किएँ । फर्कंदा साँझमा ससाहमा कोइरालाको घरमा बास बसेको सम्झना ताजै छ । 

  • स्कुल चलाउन श्रमदान 

उतिबेला हामीले कक्षा ४ देखि नै मासिक शुल्क बुझाउने गथ्र्यौं । हामीसँग पैसा पनि हुन्नथ्यो । त्यसैले पनि शिक्षकहरूलाई तलब खाने स्रोत नपुग्दो रहेछ । गाउँ पञ्चायतमा पनि विद्यालयलाई दिने रकम हुँदो रहेनछ । उतिबेला वन संरक्षण र नर्सरी व्यवस्थापनमा केही पैसा रहेछ । 

म सायद ५–६ कक्षामा हुँदैको कुरा हो । शिक्षकहरूले तलबभत्ता नपाएर विद्यालय धरापमा गएको चर्चा निकै चलेको थियो । विद्यालयको घाटापूर्तिका लागि हामीलाई वनको नर्सरीमा बिरुवा जमाउनका लागि पोलिथिन थैला भर्न लगिएको थियो । त्यसका लागि विद्यार्थीले श्रमदान गर्ने र त्यो रकम विद्यालयको खातामा जाने, त्यहाँबाट शिक्षकहरूले तलब लिने व्यवस्था मिलाइएको जस्तो लाग्छ । वनमा वृक्षारोपणका लागि प्वाल खन्ने र रोप्ने काम पनि हामी विद्यार्थीले नै गरेका थियौँ । उतिबेला विद्यालय जोगाउन र भैरवी माध्यमिक विद्यालय चलाउन यसरी हामीले श्रमदान गरेका थियौँ । उस्तै अर्को साल तीन–तीन ठाउँमा बाटो खन्न आएको पैसा विद्यालयमा लैजान म र मजस्तै विद्यार्थी र अभिभावकले बाटो निःशुल्क खनेर योजनाको पैसा विद्यालयमा लगानी गरिएको पनि सम्झना आलै छ । यसरी सानो उमेरमा नै ज्ञान र विकासका लागि यी हातहरूले गरेको श्रमदान र स्वयंसेवाप्रति अहिले पनि आनन्दानुभूति हुन्छ । 

क्रमशः... 

(लेखक नीलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवीनबन्धु पहाडी
डा. नवीनबन्धु पहाडी
लेखकबाट थप