ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
![ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै](https://npcdn.ratopati.com/media/news/kalopatre_zN1MsKQtdh.jpg)
पर्वत । ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडक कालोपत्र हुने भएको छ । वि.सं २०४९ मा ट्रयाक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ ।
उक्त सडकखण्डअन्तर्गत भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङसम्मको कालोपत्र बजेट अभावले रोकिएकोमा पुनः बजेट विनियोजन भएपछि काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।
सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ ।
डिजाइन स्टिमेट तयार गरेर तत्काल ठेक्का आह्वान गरिने सडक डिभिजनका इञ्जिनियर ध्रुव पोखरेलले जानकारी दिए । चिसापानीदेखि हुवास–त्रिवेणी–वहाकी–रानीपानीसम्म यसअघि कालोपत्र भइसकेको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो । डुम्रे भञ्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि पर्वतको दक्षिणी क्षेत्रका यात्रुलाई सहज हुने छ । यस सडकले पैंयू गाउँपालिकाका सात, विहादीका ६ वडाका साथै महाशिला र फलेवास नगरपालिकाका स्थानीयवासिन्दा लाभान्वित हुने छन् ।
सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर जोडिनुका साथै वैकिल्पक मार्गको रुपमा प्रयोग गर्न सकिने पैंयू गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष नारायण भूर्तेलले बताए । वालिङ–हुवास सडकको लम्बाइ १६ किलोमिटर छ । सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय र जोखिम मोल्नुपर्ने अवस्था छ ।
सो सडकसँगै पर्वतका अन्य चार वटा सडक कालोपत्र गर्न बजेट विनियोजन भएको हो । कुश्मा नगरपालिकाको पर्नेदोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, जलजला गाउँपालिकाको लेखफाँट–शालिजा सडक, मोदी गाउँपालिकाको देउपुर–पूर्णगाउँ–घुरुङ्गा सडक र फलेवास नगरपालिकाअन्तर्गत लिमठाना– अर्चले–भँगरा सडकका लागि बजेट विनियोजन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य