तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री
![तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री](https://npcdn.ratopati.com/media/news/dipendra_uscw4Szc7J.jpg)
काठमाडौँ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राज्य चलाउन कर लिनुपर्ने भएपनि व्यक्तिको रूपमा तीन तहका सरकारबाट लागू गरिएका कतिपय करको विषयलाई विचार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
आम जनता पार्टीको उपत्यका विशेष कमिटीले ‘कर आतंक कहिलेसम्म ?’ शीर्षकमा शनिबार आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘राज्य चलाउन त कसर लिनुपर्छ । तर, देशमा भएका तीन तहका सरकार छन्, यी तीन तहबाट लागू गरिएका करका कुरालाई विचार गर्नुभयो भने साँच्चै नै ओहो, कसरी उम्किने हो त भन्ने रूपमा परिणत हुने सम्भावना छ ।’
उनले संघीय सरकारले चालु आर्थिक वर्षको निम्ति १८ खर्ब ६० अर्ब, ३० करोड ३० लाखको बजेट पेस गरेकोमा झण्डै ६७.६६ प्रतिशत करबाट असुल गर्छौँ भनेको पनि सुनाए । उनले भने, ‘यो तथ्यांक भनेको दुई तिहाइजस्तै करबाट लिने भनेको छ, अहिले त सरकारले करको दायरामा सबैलाई ल्याउन सकेको छ भन्ने कुरा पनि विचारणीय छ । अघि मैले भनेको त संघीय सरकारको मात्रै डेटा हो । सबै हेर्दा त अलिक बढी नै हो कि भन्ने फिल हुन्छ ।’
उनले कर उठाउने तौर तरिकामा पनि प्रश्न उठाए । उनले भने– ‘करको सिद्धान्तले दोहोरो कर लाग्न हुँदैन भन्नेछ । तर, एउटै आम्दानीलाई कति ठाउँमा तिर्नुपर्छ । कर नेपालमा दक्षिण एशियामा नै बढी हो भन्ने कुरा साँचो छ ।’
यस्तै, अर्थविद् प्राडा गोपीलाल न्यौपानेले पनि नेपालमा कर धेरै लगाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘कर प्रणालीबारे जनतालाई सुसूचित गर्नुपर्छ । हामीले कर धेरै भयो भनेको हो । हामीले कर धेरै भयो भन्दा एकथरीले करबिना देश चल्छ त भन्छन् । यसो भन्नेहरू कांग्रेस र एमालेमा छन् । हामीले करै नलिने भनेको होइन, कर धेरै भयो भनेको हो ।’
उनले नेपालमा कर त तलब, भत्ता तथा सुविधाको लागि मात्रै दुरुपयोग गरिएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले त विदेश भ्रमण, उपचार खर्च सबै करबाट प्रयोग भएको छ । स्कुल, सडक र पुल बनाउनको लागि करको पैसा प्रयोग भएको छैन । पूर्वाधार विकास त ऋणबाट भएको छ । करबाट नेपालको पूर्वाधार बनेको छैन । कर त तलब, भत्ता र विलासीमा खर्च भएको छ । नेपाली जनतालाई नाङ्गै पार्ने काम करले गरेको हो । हामीकहाँ मल्टी ट्याक्सिङ भयो । सिंगल ट्याक्सिङमा जाऔँ । देशमा ४६ किसिमको ट्याक्सले गरिबी बढ्यो । नेपालमा धनीले ट्याक्स तिर्दैन । गरिबले मात्रै तिर्ने हो । आजपाले जनतालाई सुसूचित गर्ने काम गरेको छ, म धन्यवाद भन्न चाहन्छु ।’