शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
कम्युनिस्ट पार्टीको संस्थापक नेता

शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल

शनिबार, २६ माघ २०८१, १८ : ००
शनिबार, २६ माघ २०८१

म आफ्ना गुरु नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीको प्रेरणाले साहित्य सिर्जनामा पाइला चाल्दै जाँदा आफ्नो मातृभाषा नेपालभाषाप्रति राज्यबाट भइरहेको पक्षपातपूर्ण व्यवहारबारे पनि सचेत हुँदै गएँ । यसैबिच मेरा स्कुलका सहपाठी सत्यनारायण श्रेष्ठका दाजु कृष्णभक्त श्रेष्ठसँग मेरो परिचय हुन गयो र क्रमशः उहाँसँग घनिष्ठता बढ्न गयो । खास उहाँले त्यसबेला प्रकाशन गरिरहनुभएको नेपालभाषाको एक साहित्यिक पत्रिका ‘ब्वसल’मा सहयोग गर्ने क्रममा म पत्रिकाको रचना सम्पादकका रूपमा संलग्न हुन थालेँ । पछि कृष्णभक्तजीसँगको मेरो रहनसहन अरु बाक्लिन थाल्यो । 

राजनीतिबारे खासै चासो नभएको एक विशुद्ध साहित्यानुरागी म कृष्णभक्तजीको सामीप्यले बिस्तारै राजनीतिमा तानिँदै गएको भने यादै भएन । मेरो कलिलो मस्तिष्कमा विद्यमान व्यवस्थाप्रति नजानिँदो घृणा बढ्दै गइरहेको थियो । त्यसैताका कृष्णभक्तजीले मलाई कमरेड शम्भुराम श्रेष्ठ (१९२१–२००६) सँग उहाँकै घरमा लगेर परिचय गराइदिनुभयो । सुरुमा उहाँबारे त्यति जानकारी नभएको र राजनीतिबारे त्यति चासो पनि नभएको व्यक्ति भएकाले त्यति नजिकिने कुरा भने थिएन । 

विद्यार्थीका विरोध प्रदर्शनमा यताउति भाग लिने काम २०३६ सालको जनमत संग्रह घोषणा हुनु अगाडिदेखि नै सुरु भयो । जसमध्ये पाटनको च्यासलमा भएको एक विरोधसभामा त्यस बखत भूमिगत नै रहनुभएका वामपन्थी नेता सिद्धिलाल सिंहले दिएको जोसिलो हुँकारसहितको भाषणले मेरो कलिलो मस्तिष्कमा अत्यन्त जोस भरेको अझै सम्झन्छु । त्यो भाषण थियो, ‘यदि विद्यार्थीका माग पूरा भएनन् भने पञ्चायत व्यवस्था मात्र होइन यो राजतन्त्रको तख्ता नै पल्टाइदिनेछौँ ।’ 

यसै क्रममा २०३६ सालको विद्यार्थी आन्दोलनले राजा वीरेन्द्रलाई जनमत संग्रह घोषणा गर्न बाध्य पारे । स्वाभाविक रूपमा २०३६ सालको जनमत संग्रह घोषणापश्चात्को एउटा खुला वातावरणले बिस्तारै ममा राजनीतिप्रतिको चाख बढाउँदै लगेको थियो । जनमत संग्रहको घोषणापश्चात् राजनीतिक पार्टीहरूमाथिको प्रतिबन्ध हट्नुको साथै सबै थरी विद्यार्थी संगठनहरू पनि खुला रूपमा काम गर्न थालेपछि मैले पनि बिस्तारै विद्यार्थी संगठनहरूको गतिविधि बुझ्दै जान थालेँ । त्यतिबेला थरीथरीका विद्यार्थी संगठनहरू थरीथरीका विचारधारा बोकेर एकापसमा मिलेर भन्दा एकअर्काको प्रतिस्पर्धीका रूपमा कार्यरत हुन थालेका रहेछन् । 

जनमत संग्रह घोषणा हुनुअगाडि जुन रूपमा स्वतःस्फूर्त ढंगले सबै विद्यार्थी एकजुट भएर आन्दोलन थालेका थिए, खुकुलो वातावरणमा विद्यार्थीबिच विभाजन र राजनीतिक पार्टीपिच्छे फरक विद्यार्थी संगठन सतहमा देखापर्न थालेको थियो । उनीहरू सही बाटोमा नगइरहेको महसुस मलाई हुन थाल्यो ।

नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (पाँचौँ), अखिल नेपाल विद्यार्थी युनियन (छैटौँ), नेपाल प्रगतिशील विद्यार्थी युनियन, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ आदि भनेर एकसे एक राजनीतिक पार्टीका बफादार विद्यार्थी संगठन परिचालित थिए । ती विद्यार्थी संगठनको मजस्ता कुनै राजनीतिक पार्टीप्रति चासो नरहेको व्यक्तिका लागि अनौठो त थियो नै, साथसाथै विभाजित समूहहरू विद्यार्थीको हितमा भन्दा आ–आफ्ना माउ पार्टीको नीति–निर्देशनमै चल्ने गरेको देखेर अवाक् भएको थिएँ ।

यही बिचमा ‘वामपन्थी विद्यार्थी जमात’ गठन भयो । विद्यार्थीबिचको यस किसिमको विभाजन ठिक छैन, वामपन्थी विचारमा झुकाव रहेका साथीहरूलाई एक ठाउँमा बसालेर छलफलको क्रम सुरु गर्नुपर्छ, सबै विद्यार्थी एकै ठाउँमा रहेर वामपन्थी विद्यार्थीबिच एकता बनाउनुपर्छ भन्ने आह्वान र उद्देश्यले गठित त्यस संगठनमा म पनि आबद्ध हुन पुगेँ । 

नेपाल किन बहुराष्ट्रिय र बहुभाषीय राज्य हो; किन यहाँका भिन्न–भिन्न जातिको छुट्टै पहिचान, सबै भाषाको समानता र समान अधिकारको हुन आवश्यक छ भनी उहाँले व्यक्त गरेका विचारबाट म ज्यादै प्रभावित थिएँ ।

एउटै मात्र कम्युनिस्ट पार्टी हुनुपर्छ भनेर निरन्तर रूपले लागिपरेका नेता शम्भुराम श्रेष्ठकै पहलमा ‘वामपन्थी विद्यार्थी जमात’ गठन भएको थियो । त्यस संगठन बस्दा कमरेड शम्भुराम श्रेष्ठका विचारहरू बुझ्दै जाने मौका मलाई मिल्यो । उहाँका हरेक सैद्धान्तिक र वैचारिक अडानहरूबाट म प्रभावित हुँदै गएँ । मूलतः उहाँको स्पष्ट विचार, वस्तुपरक राजनीतिक विश्लेषणयुक्त भाषणहरू र लेखहरूले ममा रहेका अनेकन् कुतूहलतालाई साम्य पार्न सफल पाए । राणाशासन विरोधी आन्दोलनमा लागेर जेल पर्दा उहाँ फलामे नेलमा बाँधिएर बस्नुपरेको थियो । शरीर कमजोर र पाको उमेर भए पनि उहाँमा उत्तिकै जोस र जाँगर थियो । कसैसँग सम्झौता नगरी एक्लो हुनुपर्दा पनि कति पनि नडगमगाएको उहाँको व्यक्तित्व बिरलकोटीको थियो । 

जनमत संग्रहको घोषणापश्चात्को खुकुलो राजनीतिक वातावरणमा जनमत संग्रहको पक्ष र विपक्षमा टुक्रिएका नेपाल कम्युनिस्ट पार्टीका अनेक गुट–उपगुटहरू सतहमा देखापरिसकेका थिए । यद्यपि आफ्नो छुट्टै नयाँ पार्टी खोल्ने काम भने उहाँले गर्नुभएन । विचार मिल्ने सबैलाई समेटेर नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्ने आह्वानका साथ उहाँ जनमत संग्रहको उपयोग गर्न खटिनुभयो । 

सानातिना भेलाहरूदेखि खुलामञ्चमा भएका आमसभाहरूमा समेत जनमत संग्रह के कति कारणले उपयोग गर्नुपर्छ भन्ने पक्षमा उहाँले दिनुभएका भाषण सुन्ने मौका मैले पाएँ । त्यो समय मेरो जन्मस्थल साँखुमा पनि उहाँका थुप्रै पुराना कम्युनिस्ट साथीहरू उहाँको जमातमा आबद्ध भएर प्रचार–प्रसारमा लागेको र साँखुमा उहाँको विशेष प्रभाव क्षेत्रझैँ हुन पुगेको थियो । 

स्वाभाविक रूपमा साँखुमा उहाँले बहुदल पक्षमा भव्य आमसभाहरू पनि गर्नुभयो, जुन त्यसबेला गृहमन्त्री रहेको पञ्चायती नेता जो साँखुमै जन्मेका जोगमेहर श्रेष्ठलाई सह्य भएको थिएन । यसैबिच साँखुमा उहाँका केही कार्यकर्ता र जोगमेहर समर्थकबिच जनमत संग्रहको एक–दुई साताअगाडि ठुलो झगडा हुन पुग्यो । साँखु सुन्टोल गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्चका एक छोरा मारिए । यो अप्रिय घटनाको सहारा लिएर गृहमन्त्री जोगमेहर श्रेष्ठले शम्भुराम श्रेष्ठका कार्यकर्तामाथि धरपकड मात्रै गरेनन्, घरघरमा लुटपाट समेत मच्चाइयो ।

बहुदलको पक्षमा खुलेर लागेका कार्यकर्ताहरूमाथि पुलिस र गुन्डाहरुले आक्रमण गर्दा साँखुमा आतंक फैलिएको थियो । थुप्रैले जेल–नेल भोग्नुपर्‍यो भने कैयौँले कष्टकर भूमिगत जीवन बिताउन बाध्य हुनुपर्‍यो । त्यही बेला भाग्योदय माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनुभएका नेपाल भाषाका ख्यातिप्राप्त लेखक महाकवि गिरिजाप्रसाद जोशी समेतलाई विनाकारण पक्रेर थुनियो । जुन घटना साँखुबासीले अझै बिर्सन सकेका छैनन् । 

षड्यन्त्रपूर्ण ढंगले सत्ता, स्रोत–साधन परिचालन गरी जनमत संग्रहमा पञ्चायतले झिनो बहुमत ल्याएर जितेको देखायो तर त्यो एउटा धाँधलीपूर्ण परिणाम हो भनेर सर्वत्र विरोध भयो । यसरी फेरि पञ्चायती व्यवस्था नेपाली जनतामाथि लादियो भने खुला भइसकेको पार्टीहरू पुनः प्रतिबन्धित हुन पुगे । नेपाली जनताको जागिसकेको चेतना र पञ्चायतविरोधी भावनालाई खुम्च्याउन भने राज्य व्यवस्था असफल रह्यो । 

अगाडि प्र. वा प्रतिबन्धित शब्द झुन्ड्याएर सबै पार्टीका गतिविधि अगाडि बढ्दै गए । क. शम्भुराम श्रेष्ठले पनि आफ्नै तरहले आफ्ना राजनीतिक गतिविधिलाई बढाउँदै लैजानुभयो । उहाँका धेरै साथीले एउटा छुट्टै कम्युनिस्ट पार्टीकै रूपमा राजनीतिक गतिविधिलाई अगाडि बढाउँ भनेर राखेका प्रस्ताव भने उहाँले स्विकार्नुभएन । कम्युनिस्ट एकताको निम्ति भनेर आफ्नो तीन चौथाइ जीवन बिताइसकेका व्यक्तिले एउटा नयाँ पार्टी खोलेर नेपालको कम्युनिस्ट आन्दोलनमा अर्काे चिरा थप्न नचाहनु स्वाभाविक पनि थियो, तर पार्टीको संरचनामा आफ्नो कार्यकर्ताहरूलाई समेटेर नहिँड्ने उहाँको अडानले उहाँका कार्यकर्ताहरू भने बिस्तारै अन्य पार्टीमा जान थालेकाले उहाँ भने एक्लिँदै गएको यथार्थ बन्न पुग्यो । 

२०३६ सालको जनमत संग्रहमा पनि नेकपा माले, नेकपा मसाल, नेकपा चौथो लगायत बहिष्कारमा लागेका थिए भने मनमोहन अधिकारी, नारायणमान बिजुक्छे रोहित लगायत पार्टीहरू बहुदलको पक्षमा लागेका थिए । जनमत संग्रह लगत्तैको २०३८ सालमा भएको पहिलो पञ्चायती चुनावलाई पञ्चायतकै भण्डाफोडको लागि उपयोग गर्नुपर्छ भन्ने नीति कमरेड शम्भुराम श्रेष्ठले लिनुभयो । 

जनमत संग्रह घोषणालगत्तै नेपालभाषा मंका खलको स्थापना गरी त्यसको नेतृत्व सम्हालेर नेवार जनसमुदायबिच लोकप्रियता हासिल गर्न सफल मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको काठमाडौँमा उम्मेदवारी दिने काम शम्भुराम श्रेष्ठकै अगुवाइमा भयो भने मकवानपुरमा पनि उहाँकै अगुवाइमा रूपचन्द्र विष्टलाई राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिन लगाउने काम गर्नु भयो । रूपचन्द्र विष्ट मकवानपुरबाट राष्ट्रिय पञ्चायतमा जितेर पनि आउनुभयो । तर काठमाडौँमा उम्मेदवारी दिनुभएका पद्मरत्न तुलाधरज्यूले तत्कालीन नेकपा मालेको उक्साहटमा आफ्नो उम्मेदवारी फिर्ता लिन पुग्नुभयो । 

२०३८ सालको चुनावलाई बहिष्कार गर्ने नीति लिएका नेकपा मालेले २०४२ सालको चुनावमा भने शम्भुराम श्रेष्ठकै नीतिलाई पक्षाएर पञ्चायती चुनावमा भाग लिएर पञ्चायतको भण्डाफोडको अभियान चलायो । यसपटक भने पद्मरत्न तुलाधरज्यू स्वतन्त्र वामका रूपमा काठमाडौँबाट पञ्चायतको चुनावमा भाग लिएर सर्वाधिक मतले जित्न सफल हुनुभयो र पञ्चायतको भण्डाफोर नीतिलाई सफलतापूर्वक प्रयोग पनि गर्नुभयो । दुःखको कुरा यसपटक पद्मरत्न तुलाधरज्यू शम्भुराम श्रेष्ठको राजनीतिक विचार र अडान एवं उहाँले उठान गर्नुभएको उपेक्षित जातीय भाषीय समान अधिकारका मुद्दाहरूबाट टाढिएर नेकपा मालेको विचार र निर्देशनमा उम्मेदवार हुन पुगेको थियो । जसकारण शम्भुराम श्रेष्ठले उठान गर्नुभएको उपेक्षित जातीय भाषीय समान अधिकारको सम्बन्धका मुद्दाहरूमा पद्मरत्न तुलाधरज्युबाट कुनै गतिलो सहयोग पुग्ने काम हुन सकेन । यसले गर्दा नेकपा माले जो पछि नेकपा एमाले बन्यो, उसको अवसरवादी राजनीतिलाई भने भरपुर मद्दत पुर्‍याउने काम हुन गयो । २०४६ सालमा बहुदल आएपछाडि आफूलाई स्वतन्त्र वाम भनेर प्रस्तुत गर्नुहुने पद्मरत्न तुलाधरज्यूकै अगुवाइमा उपत्यकाका जनता, विशेषतः नेवार समुदाय नेकपा एमालेको राजनीतिमा होमिने काम तीव्र रूपमा हुन पुग्यो । यसैको परिणाम भन्नुपर्छ कि नेवार जातिले उठाउँदै आएको जातीय भाषीय समान अधिकारका मुद्दा कमजोर हुन पुग्यो र अझै कुनै उपलब्धि हासिल गर्न आजपर्यन्त असफल रहन पुग्यो । 

२०४० साल ताकाको कुरा हो, शम्भुराम श्रेष्ठको वामपन्थी समूहको अघोषित मुखपत्रको रूपमा ‘न्युस्टार’ साप्ताहिक पत्रिका ‘जन जनतन्त्रको निम्ति राष्ट्रिय स्वाधीनताको निम्ति’ भन्ने आदर्श बोकेर निकाल्ने कामको थालनी गर्नुभयो । गोर्की श्रेष्ठ यस साप्ताहिकको सम्पादक र प्रकाशकका रूपमा बाहिरी तवरले रहे पनि यो पत्रिकाको काम नियमित लेखहरू लेख्नेदेखि लिएर राजनीतिक टिप्पणीहरू लगायत सम्पादकीय लेखनमा पनि धेरैजसो उहाँले सघाउने गर्नुभएको थियो । पहिलोचोटि निस्किँदा यस पत्रिकामा मेरो संलग्नता थिएन । त्यसताका साँखुमै बसेर साहित्यिक गोष्ठीहरू गर्ने, नेपालभाषाका साहित्यिक पत्रिकाहरू सम्पादन र प्रकाशन गर्ने लगायत करिब दुई वर्ष साँखु जहरसिंह पौवास्थित कालिका शरण माध्यमिक विद्यालयमा शिक्षकको रूपमा कार्यरत थिएँ ।

काठमाडौँ आउँदा जाँदा शम्भुरामजीसँग भेटघाट र विचार विमर्शको काम भने गरिरहेकै थिएँ । यसैबिच २०४२ तिर शिक्षकको कामबाट राजीनामा गरेर काठमाडौँ बस्न थालेँ र कीर्तिपुर क्याम्पसमा राजनीति शास्त्रमा एमएमा भर्ना भएर पढाइ पनि थालेँ । पढाइकै बिचमा साहित्यिक पत्रिका ‘मित्या’ निकाल्नु र नेपालभाषाको साप्ताहिक ‘इनाप’ पत्रिकामा नियमित लेख्न पनि थालेँ । केही समय निस्केर बन्द हुन पुगेको न्युस्टार साप्ताहिकलाई फेरि प्रकाशन गर्ने तय भएपछि भने मैले अन्तरंग सम्पादकका रूपमा काम गर्ने अभिभारा लिनुपर्ने भयो । थँहिटि क्वाबहालमा रहेको साथी कृष्णभक्त श्रेष्ठको प्रेसबाट निस्कन थालेको न्यूस्टारमा अन्तरंग सम्पादकको नाताले काम गर्दा शम्भुरामजीसँगको धेरै नजिक बसेर काम गर्ने मौका मलाई मिल्यो । 

हरेक विषयवस्तुलाई गहन रूपले अध्ययन गरेर आफ्नो सटीक विचार प्रकट गर्न सक्ने उहाँको खुबीले म ज्यादै प्रभावित थिएँ । ‘ठोस कुराको ठोस विश्लेषण’ भन्ने माक्र्सवादी विचारलाई साँच्चैको व्यवहारमा उतार्ने उहाँसँग रहेको विशेषता मैले चिने जानेका नेपालका अरु कुनै कम्युनिस्ट नेताहरूमा पनि मैले देख्न सकिनँ । यसै कारणले पनि उहाँसँग न्युस्टार साप्ताहिकका लागि नजिकमा बसेर गरेको काम मेरा लागि उहाँबाट सिक्ने जान्ने ठुलो मौका जस्तै हुन पुग्यो ।

२०४६ सालको जनआन्दोलन सुरु हुने भएपछि उहाँकै पहलमा संयुक्त वाममोर्चामा आबद्ध हुन नचाहेका कम्युनिस्टहरूको सबै समूहलाई समेटेर संयुक्त राष्ट्रिय जनआन्दोलन नाममा छुट्टै मोर्चा गठन गर्नुभयो । जसमा नेकपा मसाल (मोहन विक्रम सिंह), नेकपा मसाल (मोहन वैद्य) नेकपा मालेमा (कृष्णदास श्रेष्ठ), रूपलाल विश्वकर्माको नेपाल किसान मजदुर संगठन, थाहा आन्दोलनका नेता रूपचन्द्र विष्ट, स्वतन्त्र वामपन्थी नेता प्राध्यापक माणिकलाल श्रेष्ठ सम्मिलित हुनुहन्थ्यो । त्यस बखत म एक पत्रकारको रूपमा इनाप साप्ताहिकमा पनि कार्यरत थिएँ भने जनआन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनमा सामेल भएर सघाउन थालेँ । सबै पार्टीहरू प्रतिबन्धित अवस्थामा रहे पनि आन्दोलनको मोर्चामा मोहनविक्रम सिंहको मसाल पार्टीबाट प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रिय जनआन्दोलनमा आउनुभएका डा. बाबुराम भट्टराई यसको प्रवक्ताका रूपमा काम गर्न थाल्नुभएको थियो । 

एकातिर नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले निर्दलीय पञ्चायत व्यवस्था फालेर बहुदलीय व्यवस्थाको पुनर्बहालीको नारा दियो भने संयुक्त राष्ट्रिय जनआन्दोलनले निर्दलीय पञ्चायत व्यवस्थालाई फालेर जनताको जनतन्त्र स्थापना गर्ने फरक नारा दियो । यसको साथै यसले १९५० को नेपाल भारतबिचको सन्धीलाई खारेज गर्ने र नेपाललाई पूर्ण स्वाधीन बनाउने अनि नेपालका सबै भाषाभाषी र जाति जनजातिलाई समान अधिकार दिलाउनेजस्ता कुरालाई अघि सारेका थिए । संयुक्त राष्ट्रिय जनआन्दोलनले बन्द आह्वान गरेको २०४६ चैत्र २४ का दिन जनआन्दोलनले उत्कर्ष रूप लिन पुग्यो । 

उहाँको विचार थियो—  नेपाल एक बहुजातीय तथा बहुभाषीय मुलुक भएको तथ्यलाई बेवास्ता गरी एउटा जाति विशेष र त्यसका भाषालाई मात्र सरकारी भाषा (राष्ट्र भाषा) हुने विशेषाधिकार प्रदान गरी अरु बाँकी सबै जाति, जनजातिहरू र तिनीहरूका भाषाहरूलाई दोस्रो दर्जामा राखी आएका पक्षपातपूर्ण नीतिको अन्त्य गरिनुपर्छ ।

संयुक्त राष्ट्रिय जनआन्दोलनमा सम्मिलित पार्टीहरू र व्यक्तित्वहरू सांगठनिक रूपले त्यति दरिलो अवस्थामा नरहेकाका कारणले २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेपछि संयुक्त राष्ट्रिय जनआन्दोलनलाई पूर्णत बेवास्ता गरेर राजा वीरेन्द्रले नेपाली कांग्रेस र संयुक्त वाममोर्चासँग मात्र सम्झौता वार्ता गरेर निर्दलीय पञ्चायतको अन्त र बहुदलीय व्यवस्थाको पुनर्बहालीको उनीहरूको मागलाई मात्र सम्बोधन गर्ने काम हुन पुग्यो । जुन सम्झौतालाई संयुक्त राष्ट्रिय जनआन्दोलनले धोका करार गरी आन्दोलनलाई जारी गर्ने घोषणा गर्‍यो । जनआन्दोलनलाई जारी गर्ने घोषणा त गर्‍यो, तर त्यसलाई सशक्त रूपमा अघि बढाउन भने सकेन र अन्ततोगत्वा संयुक्त राष्ट्रिय जनआन्दोलनको विघटन पनि भएर गयो ।

न्युस्टार साप्ताहिक पत्रिकालाई २०४६ सालको परिवर्तनको अगाडि र पछाडि पनि केही कम्युनिस्ट समूहहरूको सामूहिक पत्रिकाका रूपमा निकाल्ने भन्ने प्रयत्न पनि शम्भुरामजीले गर्नुभयो, जुन त्यति सफल भने हुन सकेन । जसमध्ये क. निर्मल लामाको नेतृत्वमा रहेको नेकपा चौथोको अघोषित मुखपत्रका रूपमा प्रकाशन भइरहेको मूल्यांकन साप्ताहिक र न्युस्टार दुवैलाई मर्ज गरेर एउटै मात्र सशक्त साप्ताहिक निकाल्ने सन्दर्भमा वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेलको निवासमा त्यो बेला भूमिगत रहनुभएका नेता कमरेड निर्मल लामा, मूल्यांकनका त्यो बेलाका सम्पादक कमरेड नारायणकाजी श्रेष्ठ, उपस्थित रहेको एउटा मिटिङमा न्युस्टारको सम्पादकका हैसियतले कमरेड शम्भुराम श्रेष्ठसँग म पुगेको घटना सम्झन्छु । तर त्यस छलफलबाट कुनै टुंगोमा पुगिएन भने त्यसपछाडि उहाँहरूसँग थप छलफल पनि अघि बढेन । केही समय क. कृष्णदास श्रेष्ठको नेकपा मालेमा तथा क. नारायणमान बिजुक्छे रोहित नेतृत्वको नेपाल मजदुर किसान संगठनसँग भने सहकार्य गरी न्युस्टारलाई निरन्तरता दिने काम भयो । जुन लामो समय भने जान सकेन । 

२०४६ सालको परिवर्तनपश्चात् अन्तरंग सम्पादकबाट कार्यकारी सम्पादकका रूपमा न्युस्टार साप्ताहिकमा खुला रूपमा काम गर्न थाले भने २०४७ सालको पहिलो आम चुनाव सम्पन्न भएको केही समयसम्म न्युस्टार साप्ताहिक चलिरह्यो । पत्रिकालाई व्यावसायिक र व्यापारिक रूपमा लैजाने कि पार्टिको मुखपत्रकै रूपमा मात्र सञ्चालन गर्दै जाने भन्नेमा अस्पष्टता र पछि आर्थिक कारणले न्युस्टार साप्ताहिकलाई निरन्तरता दिन कठिन हुँदै गयो र अन्ततोगत्वा न्युस्टारको प्रकाशन सदाका लागि बन्द हुन पुग्यो । 

न्युस्टारको साप्ताहिक पत्रिका प्रकाशन भइरहेको समयमा हरेक अंक प्रकाशनका निम्ति शम्भुरामजीले आफ्ना तर्फबाट लेखकहरू, समसामयिक राजनीतिक टिप्पणीहरू दिएर सघाउने गर्नुभएको घटना अविस्मरणीय छ । उमेर र स्वास्थ्यका कारणले यताउती हिँड्न उहाँलाई त्यति सजिलो थिएन तर आफ्नो घरैमा बसेर सक्ने लेखेर जुन योगदान उहाँले निरन्तर पत्रिका निक्लेसम्म गरिरहनुभयो, त्यसले उहाँमा रहेको जाँगरिलोपनलाई प्रस्ट्याउँछ । न्युस्टार साप्ताहिकको प्रकाशनताका जुन रूपमा उहाँसँग नजिकिएर काम गर्ने र उहाँबाट सिक्ने मौका मैले पाएँ, त्यो मेरो जीवनको अविस्मरणीय घटनाका रूपमा रहेको छ । 

न्युस्टारको प्रकाशन बन्द हुन पुग्नुका साथै अनुसन्धानका काममा म बेसी लाग्न पर्नु एवं त्रिभुवन विश्वविद्यायमा उपप्राध्यापकका रूपमा सेवामा प्रवेश गरेपश्चात् उहाँसँगको सामीप्यता स्वाभाविक रूपले पातलिँदै गयो । त्यसमाथि सन् १९९४ बाट अनुसन्धानको कामको सिलसिलामा म बेसी नेदरल्यान्ड जाने–आउने गर्न थालेपछि उहाँसँगको भेटघाट झनै पातलिँदै गयो । आफ्नो व्यस्तताका बाबजुद पनि मौका मिल्नासाथ नेपाल जाँदा बखतमा भने उहाँकोमा पुग्ने र आफ्ना जिज्ञासा मेटाउने काम भने मैले जारी राखेँ । 

आफू उत्पीडनमा परेका जातिका व्यक्ति भएको र राज्यबाट अपेक्षित आफ्नो मातृभाषा नेपालभाषामा लेखनमा लागेको एक व्यक्ति भएको हुनाले पनि हुनुपर्छ, बहुजातीय र बहुभाषिक देश नेपालको राज्य व्यवस्थाबारे उहाँले लिनुभएको अडान र व्यक्त विचारबाट म गहिरो रूपमा प्रभावित थिएँ । निर्दलीय पञ्चायती व्यवस्थाको ‘एक जाति एक देश एउटै भाषा एक भेष’को नाराले दबिएको र पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको सूत्रधार भनेर व्याख्या गरिएका पाठ्य सामग्री घोकेर हुर्केको पुस्ता एकातिर थियो, त्यो अवस्थामा उहाँले राष्ट्रियताबारे सर्वथा नौलो व्याख्या र विश्लेषण गर्नुभयो । नेपाल किन बहुराष्ट्रिय र बहुभाषीय राज्य हो; किन यहाँका भिन्न–भिन्न जातिको छुट्टै पहिचान, सबै भाषाको समानता र समान अधिकारको हुन आवश्यक छ भनी उहाँले व्यक्त गरेका विचारबाट म ज्यादै प्रभावित थिएँ ।

हुन त अहिले नेपाललाई जातीय पहिचानसहितको संघीयता हुनुपर्छ भन्ने आवाज व्यापक रूपमा घन्किसकेको छ, तर जुनबेला शम्भुरामजीले सबै जाति र सबै भाषाका समान अधिकारको कुरा उठाउनुभएको थियो, अरुले त्यो विषयलाई गहन रूपले खुट्ट्याउन पनि सकेका थिएनन् भन्दा फरक नपर्ला । नेपालको राष्ट्रियताको सवाललाई लिएर उहाँले लेख्नुभएको एउटा विश्लेषणात्मक लेख २०४० सालतिर सबभन्दा पहिले खस भाषामा न्युस्टार साप्ताहिकमा प्रकाशित गर्नुभएको थियो । जुनपछि नेपालभाषामा पनि इनाप साप्ताहिकमा प्रकाशित भयो । त्यो लेखमा उहाँले सुस्पष्ट रूपमा पृथ्वीनारायण शाहको राज्य विस्तारको कामलाई कुनै हालतमा नेपालको एकीकरण भन्न नसकिने बरु अर्काको राज्य बलजफ्ती हडप्ने उनको नीतिलाई जर्मनका विसमार्क र हिटलर एवं बेलायती साम्राज्यवादीहरूसँग तुलना गरेर भण्डाफोड गर्नुभएको थियो । त्यस्तै उहाँले नेपाल राज्यले अपनाउँदै आएको खस भाषाको एकाधिकार र विशेषाधिकारको नीतिको पनि जोडदार रूपले विरोध र भण्डाफोड गरेर नेपालका साना–ठुला सबै जाति सबै भाषालाई राज्यबाट भइरहेको उत्पीडन बन्द गरेर सबैलाई समान व्यवहार, समान अधिकार दिनुपर्ने कुरामा जोड दिँदै आउनुभएको थियो । 

त्योताका सक्रिय कुनै पनि राजनीतिक पार्टीहरू र नेताहरूले जाति भाषासम्बन्धी समान अधिकारका बारे त्यति स्पष्ट विचार र अडान लिएको मैले पाइनँ । त्यही ताका तत्कालीन नेकपा (माले)मा भूमिगत रूपमा सक्रिय साहित्यकार नारायण ढकालसँग केही नजिकिने मौका मलाई भयो । उहाँमार्फत नै मलाई नेकपा (माले) मा तान्ने हेतुले एक भूमिगत नेता पछि नेकपा एमालेको अर्थमन्त्री बन्न पुगेका कमरेड सुरेन्द्र पाण्डे भनेर चिनियो, साँखुको मेरो घरैमा एक–दुईपटक आएर छलफल गर्न आउनुभएको थियो । तर राष्ट्रियता र जाति भाषाबारेका सवालमा उहाँहरूको अस्पष्ट धारणा र मैले उठाएका जाति भाषाप्रति समान अधिकारको अडानका कारण उहाँहरू मबाट टाढिएर जानुभएको कुरा पनि यहाँ स्मरणीय छ । हाल आएर ०४६ सालको परिवर्तनपश्चात् नेकपा (माले)बाट नेकपा एमाले हुँदै हालसम्म आइपुग्दा सो पार्टीले घोषित अघोषित रूपमा जाति र भाषासम्बन्धी ‘एक भाषा एक जाति एक भाषा एक भेष’को पञ्चायती मण्डले नीतिलाई नै आफ्नो आदर्श बनाइसकेको भान दिइरहेको हामी देख्न सक्छौँ ।

शम्भुराम श्रेष्ठजीको आत्मकथा ‘मेरो राजनीतिक जीवनका संस्मरणहरू’मा उल्लिखित कुराबाट पनि के प्रस्टिन्छ भने पञ्चायती शाषणकालको उत्कर्षतिर सन् १९७५ मा जब संविधान सुधार आयोगले उहाँको सुझाव मागेको थियो । त्यस अवसरलाई उपयोग गरेर उहाँले आफ्ना सुझाव दिनुभएको थियो । उहाँको लिखित सुझाव थियो— ‘निर्दलीय पञ्चायती शासन व्यवस्था नेपाल र नेपाली जनताका निम्ति काम लाग्ने व्यवस्था होइन त्यसैले सो व्यवस्था परित्याग गरी अर्कै नेपाल र नेपालीको निम्ति काम लाग्ने राजनैतिक शासन प्रणाली अपनाउनुपर्छ ।  नेपाल एउटा सानो मुलुक भए पनि यहाँ परापूर्व कालदेखि थुप्रै जाति–जनजातिहरूले बसोबास गरिआएकाले तिनीहरूको थुप्रै भाषाहरू बोलिँदै आएको हुनाले तिनीहरू सबैलाई समान अधिकार र समान मान्यता प्रदान गरी जनराष्ट्रिय सभा (संसद)लाई जातीयसभा (हाउस अफ् नेस्नालिटिज) र जनप्रतिनिधि सदन (हाउस अफ् पिपुल्स रिप्रेजेन्टेटिभ्स) गरी दुई सदनीय बनाउनु पर्छ, (पेज २०३) ।’ 

जातीयसभाको कुरा उहाँले त्यो बेला जुन उठाउनुभएको थियो, त्यो नेपालको इतिहासमा पहिलो घटना थियो । त्यो विचारलाई उहाँले आफ्ना कैयौँ लेख र अन्तर्वार्तामा दोहोर्‍याइरहनुभएको छ । जब २०४६ सालमा नेपाली कम्युनिस्ट लिग नामले एउटा छुट्टै पार्टीको घोषणा उहाँको समूहले गर्‍यो, त्यसको घोषणापत्रमा पनि उनका यी विचारले निरन्तरता पाए । 

नेपाली कम्युनिस्ट लिगको न्यूनतम अर्थात् वर्तमान क्रान्तिको कार्यक्रममा नेपालजस्तो बहुजातीय बहुदेशीय देशले अपनाउनैपर्ने निम्न विचार उहाँले छाडेर जानुभएको छ ः 

क) नेपाल एक बहुजातीय तथा बहुभाषीय मुलुक भएको तथ्यलाई बेवास्ता गरी एउटा जाति विशेष र त्यसका भाषालाई मात्र सरकारी भाषा (राष्ट्र भाषा) हुने विशेषाधिकार प्रदान गरी अरु बाँकी सबै जाति, जनजातिहरू र तिनीहरूका भाषाहरूलाई दोस्रो दर्जामा राखी आएका पक्षपातपूर्ण नीतिको अन्त्य गरिनुपर्छ । सबै जाति जनजातिहरू र तिनीहरूको भाषाहरूलाई समान अधिकार समान मान्यता र समान प्रोत्साहन प्रदान गरी स्वस्थ राष्ट्रिय एकता निर्माण गर्ने । 

ख) जनप्रतिनिधि सदन र जातीय सदन गरी समान अधिकारका दुई सदनको व्यवस्थापिकाको व्यवस्था गर्ने । 

(ग) सबै जाति जनजातिहरूलाई स्वशासन प्रदान गर्ने । 

पछि आएर विशेषतः माओवादीको जनयुद्धताका र नेपालमा गणतन्त्र घोषणाको सेरोफेरोमा आइपुग्दासम्म उहाँले उठाउनुभएका जाति, जनजाति र तिनीहरूका भाषाहरूलाई समान अधिकार दिनुपर्ने कुरा र जातीय स्वशासनको कुरा नेपालको राजनीतिमा प्रमुख मुद्दाका रूपमा उठिसकेको हामी देख्न सक्छौँ । 

दोस्रो संविधानसभाले एउटा संविधानको जारी गरिसकेको यो अवस्थामा आइपुग्दा यस संविधानले जातीय पहिचान र जाति जनजातिहरूको र तिनीहरूको भाषाहरूको समानता समान अधिकारको कुरालाई बेवास्ता गर्नाको कारणले अझै पनि यो देशमा शान्ति कायम हुन नसकेको हामी देखिरहेका छौँ ।

राणा शासनविरोधी आन्दोलनबाट राजनीतिमा हामफालेर जेलबाटै नेपालमा कम्युनिस्ट पार्टीको स्थापनामा सहमत र सहयोग गरेर, सुरुदेखि सो पार्टीको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै जेल–नेल भोगेर पनि आफू बाचुन्जेल आफ्नो सिद्धान्त, विचार र मान्यतामा उहाँ कहिल्यै विचलित हुनुभएन । आफूसँगै कम्युनिस्ट पार्टीमा लागेका कैयौँ सहयोद्धाहरूमा आएको ढुलमुलपन र अनेकौँ विचलन उहाँले देख्नु र भोग्नुपर्‍यो तर अनेकौँ कठिनाइ भोगेर एवं अत्यन्त कष्टसाध्य जीवन बाँच्नुपर्दा पनि उहाँ आफ्नो अडानबाट कति पनि विचलित भएको हामीले कहिल्यै पाएनौँ । आफ्नो आत्मकथा ‘मेरो राजनीतिक जीवनका संस्मरणहरू’ पुस्तकमा उहाँले नेपाल कम्युनिस्ट पार्टीभित्र आएका अनेकन् आरोह–अवरोह एवं आफू लगायत नेपालका शीर्षस्थ कम्युनिस्ट नेताका कमी–कमजोरीबारे पनि निर्मम ढंगले पोख्नुभएको छ । नेपालको कम्युनिस्ट आन्दोलको सही इतिहास बुझ्न खोज्ने जो–कोहीले पनि यो पुस्तक पढ्नैपर्नेछ ।

जुन आदर्श बोकेर उहाँ नेपालको राजनीतिमा प्रवेश गर्नुभयो र जुन उत्साहका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँ लाग्नुभयो, त्यसमा उहाँ सदा निर्भीक, निडर र अडिग रहेर बाँच्नुभयो । सस्तो लोकप्रियताका लागि जथाभावी बोल्ने वा आफ्नो क्षणिक फाइदाका लागि कसैसँग झुक्ने काम उहाँले कहिल्यै कतै गर्नुभएन । सबै खाले अवसरवादलाई उहाँले निर्ममतापूर्वक प्रहार गर्न पनि उहाँ कहिल्यै चुक्नुभएन । जसका कारण आफ्ना समकालीन सबै कम्युनिस्ट नेताहरूभन्दा छुट्टै छाप छाड्न उहाँ सफल हुनुभयो । आफू एक्लो हुनुपरे पनि आफूले प्रतिपादन गरेका विचारबाट उहाँ कहिल्यै विचलित हुनुभएन । यी सबै विशेषताका कारण उहाँ यो संसारबाट बिदा भए पनि उहाँले छाड्नुभएका विचारको सान्दर्भिकता अझै तड्कारो रूपमा रहिरहेको हामी पाउँछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बालगोपाल श्रेष्ठ
डा. बालगोपाल श्रेष्ठ

सांस्कृतिक मानवशास्त्री

लेखकबाट थप