नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल कर आतंकले आक्रान्त बनेको भन्दै यसबाट निकाल्नको लागि निर्णायक संघर्षको आवश्यकत्ता औँल्याएका छन् ।
उनले भने, ‘आज देशमा कर आतंक छ । दुनियाँमा नभएको कर नेपालमा छन् । नेपालको अर्थतन्त्र करकै कारण ध्वस्त हुँदैछ । कुल गार्हस्थ्य उत्पादनको झण्डै एक तिहाइ राजश्वमा गइरहेको छ । केन्द्र सरकारले बजेटको ६७–६८ प्रतिशत राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । बाग्मती प्रदेशले झण्डै ७६ प्रतिशत राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको छ ।’
आम जनता पार्टीको उपत्यका विशेष कमिटीले ‘कर आतंक कहिलेसम्म ?’ शीर्षकमा शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले केन्द्र सरकारले झण्डै १४ खर्ब, प्रदेश सरकारले २ खर्ब, स्थानीय पालिकाहरूले झण्डै तीन खर्ब राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको तथ्यांक सुनाए । काठमाडौँ महानगरपालिकाले २५ अर्बको बजेटमा २० अर्बभन्दा बढी राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको पनि उनले जनाए यस्तै, ललितपुर महानगरको ६ अर्ब बजेटमा चार अर्ब राजश्वबाट उठाउने लक्ष्य राखिएको तथ्यांक पेस गरे ।
पूर्वमन्त्री साहले दुनियाँको कुनै पनि देशले २५ प्रतिशतभन्दा बढी राजश्वको लक्ष्य नराखेको बताए । उनले भने, ‘अधिकतम कर २५ प्रतिशत छ । नेपालमा विश्वकै रेकर्ड तोड्ने । एक तिहाइभन्दा बढी राजश्व उठाउनु, यो भनेको हाम्रो अर्थतन्त्र ड्यामेज गर्नु हो । अरू कुनै देशमा पनि तीन तहमा कर लाग्दैन । भारत र चीनमा स्थानीय तहमा कर लगाउँदैनन् । भारतमा ३७, चीनमा ३४ र अमेरिकामा ५१ वटा सरकार छन् । नेपालमा ७६१ वटा सरकार छन् । सबै सरकारले कर लगाएका छन् । अनावश्यक कर लगाएर अर्थतन्त्रलाई ध्वस्त बनाउने काम भएको छ । देशको कुल गृहस्थ उत्पादन ५७ खर्ब छ । १८ खर्बको बजेट छ । त्यसमा तीन–चार खर्ब मात्रै पुँजीगत खर्च मात्रै हुने ।’
साहले नेपालमा भइरहेको कर आतंक बन्द नगरिए व्यवस्था नै ध्वस्त हुने पनि टिप्पणी गरे । उनले भने– ‘नेपालमा जो कर आतंक छ । मनपरी कर छ । जे पनि र जेमा पनि कर लगाउने आतंक छ। त्यसमा ध्यान दिन आग्रह गर्छु । करको शीर्षक दुनियाँमा नभएको शीर्षक छन्, नेपालमा ४० प्लस कर शीर्षक छन् । केन्द्र सरकारले लगाउने कर २० शीर्षकमा छन् । प्रदेशले ८ देखि ९ वटा कर लिन्छन् । पालिकाले एक दर्जन लिने गरेका छन् । संविधानतः बनाइएको कर झण्डै ४० शीर्षक छन् । भारतमा जम्मा १४ शीर्षक छन् । दर र दायरा पनि नेपालमा बढी छ । जसको कारण महँगी बढिरहेको छ । नेपालमा त करको पनि कर लिने प्रवृत्ति छ । कर भनेको वस्तुको मूल भाउमा लाग्छ । करको कर लिने प्रवृत्ति अस्वाभाविक छ । नेपालमा एउटै आइटमको कर ठाउँठाउँमा लिने कुराले नेपाली हैरान छन् ।’
उनले दुनियाँमा कहीँ पनि नभएको कुरा नेपालमा उपभोग्य वस्तु र बिलासी सबैमा समान भ्याट लागु भएकोमा पनि आपत्ति जनाए । उनले भने ‘नेपालमात्रै यस्तो देश हो, उपभोग्य वस्तु र बिलासी सबैमा समान भ्याट लाग्छ । करको ढाँचाले नेपाली गरिबी जनताको ढाड भाँचिएको छ । आयकर पनि नेपालमा पाँच लाखमा लाग्छ । जबकि भारतमा २० लाखमा लगाउने गरिएको छ । यहाँ त करपिच्छे कर, मनपरी कर छ । अरू देशको तुलनामा हामी पछि परिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट
-
श्री ख्वपः मूल कुमारी माजुलाई गरगहना र वस्त्र चढाइयो, तस्बिहरु
-
देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता : मुख्यमन्त्री कार्की
-
यी दुई रानी : जसको सक्रियतामा खुल्यो त्रिभुवन विश्वविद्यालय
-
१० दिनदेखि बेपत्ता बालकको शव फेला
-
वरिष्ठ पत्रकार दाहाल सम्मानित