शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएका हौँ : प्रधानमन्त्री ओली

शनिबार, २६ माघ २०८१, १३ : ३९
शनिबार, २६ माघ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका छन् । शनिबार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ६ वटा अध्यादेशबाट २९ वटा कानुन संशोधन गर्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गरे ।  कानुन कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको उनको भनाई थियो । उनले देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जालबाट हुने अपराध, साइबर क्राइम जस्तो अपराध, अरू विभिन्न प्रकारका ट्राफिकिङका अपराध, ड्रग्स बहुत भयावह ढंगले बढेको छ । कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनतालाई जुन दुःख पाइरहेका छन्, यसले पनि मान्छेप्रति वितृष्णा, घृणा फैलिने काम हुन्छ र यी कुराहरूलाई हटाउनु पर्छ । कानुनका जटिलतालाई पनि हटाउनु पर्छ, तोड्नपर्छ । कानुन कार्यान्वयनका ढिलासुस्ती लगायतका अनेक उल्झनहरूलाई पनि हामीले हटाउनु पर्छ ।’ 

प्रधानमन्त्री ओलीले नेपाल प्रहरी आफन्तहरूको संस्था नभई सबै प्रहरीको घर भएकाले कार्य सम्पादनका आधारमा बढुवा हुनुपर्ने बताए । प्रहरी संगठन देशका लागि हो भन्ने कुरा मनन गर्नुपर्नेमा उनले जोड दिए । उनले नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरीतका कामहरू प्रहरीबाट हुनु नहुने बताए ।  –न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप