जहाँ एकै ठाउँमा भेटिन्छ गाउँ र सहरको मौलिकपन
![जहाँ एकै ठाउँमा भेटिन्छ गाउँ र सहरको मौलिकपन](https://npcdn.ratopati.com/media/news/bha_qhrR5jlG43.jpg)
भक्तपुर भन्नेबित्तिकै धेरैले सम्झन्छन्, नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातपोल (पाँचतले) मन्दिर र पचपन्ने झ्याले दरबारलाई । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रभन्दा बढी हेरे–सुनेको भए दत्तात्रय क्षेत्र आउला । यतिमा मात्रै सीमित छैन भक्तपुर । यस ऐतिहासिक सहरको संस्कृति, परम्परा, मठ–मन्दिर, पाटीपौवा, जात्रा–पर्व, चालचलन र जीवनशैलीको विविधताले गाउँ र सहरको मौलिकपन एकै ठाउँमा भेटिन्छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को शब्द सापटी लिने हो भने भक्तपुर एउटा खुला संग्रहालय हो । यो एउटा खुला विश्वविद्यालय पनि हो, जहाँबाट धेरै कुरा सिक्न सकिन्छ ।
मूर्त र अमूर्त सम्पदाहरूको संगमस्थल भक्तपुरले विभिन्न कला, कथा–किंवदन्ती बोकेर उभिएको छ । अमेरिकन युद्ध संवाददाता इडवार्ड अलेक्जेन्डर पावेलले भनेका छन्, ‘भक्तपुर नघुम्नु भनेको आधा संसार नघुम्नुजस्तै हो ।’
आउनुस्, भक्तपुरका केही कला र शिल्पबारे चर्चा गरौँ ।
- घर
पुरानो नगर मध्यपुर थिमि नगरपालिका क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकसँग शुल्क उठाइँदैन अर्थात् निःशुल्क प्रवेशको व्यवस्था छ । तर पनि त्यहाँ घुम्न आउने पर्यटकको संख्या शून्यप्रायः छ । भक्तपुर नगरपालिका क्षेत्रमा भने प्रतिपर्यटक १५ अमेरिकी डलर प्रवेश शुल्क लाग्छ । यहाँ नगरपालिकाकै तथ्यांक अनुसार दैनिक सालाखाला एक हजार विदेशी पर्यटक घुम्न आउँछन् ।
भक्तपुरमा पर्यटकलाई आकर्षित गर्ने पक्षमध्येका एक हो, यहाँको घरको बनावट । भक्तपुर नगरपालिका– ५ (साबिक वडा ८) चासुखेलका महेश ताम्राकारको घर एउटा यस्तै नमुना घर हो । भक्तपुर घुम्न आउने धेरै पर्यटक आफ्नो घर देखेर लोभिएको बताउँछन् उनी । ‘हाम्रो घर देख्यो कि पर्यटक आहा भन्दै लोभिहाल्छन् र फोटो खिच्न हतारिन्छन्,’ ताम्राकार गर्वका साथ सुनाउँछन् ।
हुन पनि उनको घर हेर्दै लोभलाग्दो अर्थात् भक्तपुरको मौलिक परम्परागत शैलीको छ । बाहिरबाट हेर्दा सबैतिर आकर्षक काठका बुट्टे झ्यालहरूले सजिएको उनको घर भित्रबाट पनि उत्तिकै परम्परागत छ ।
भक्तपुरमा परम्परागत शैलीका घर धेरै देखिन्छन् तर यतिबिधि झ्यालहरूले भरिएको परम्परागत घर बिरलै भेटिन्छन् । यहाँ धेरैले व्यावसायिक प्रयोजन अर्थात् होटल, रेस्टुरेन्ट लगायत व्यवसाय सञ्चालन गरी पर्यटक तान्नका लागि परम्परागत शैलीका घर बनाएका छन् । तर चासुखेलको जस्तो परम्परागत देखिने घर भने सायदै देखिन्छन् ।
पुरानो सहरको जीवन्तताका लागि भक्तपुर नगरभित्र आधुनिक घर बनाउन नपाइने भक्तपुर नगरपालिकाको नियम छ । मोहडामा ढलान देखाउन नपाइने, माथिल्लो तलामा ‘स्ल्याब’ नदेखिने गरी छाना राख्नुपर्ने लगायत नियम नगरपालिकाको छ । यसका लागि अगाडिको मोहडामा लाग्ने खर्चमा कुल खर्चमा ३५ प्रतिशत खर्च सहयोगस्वरूप नगरपालिकाले उपलब्ध गराउँछ ।
- टेराकोटा
भक्तपुरको सुकुलढोकाबाट पाँच मिनेटको दूरीमा टेराकोटा भवनको अवलोकन गर्न सकिन्छ । यो भवन पूरै इँटैइँटाले बनेको छ । माटोबाट बनेको आकृतिलाई पोलिसकेपछि निस्कने रूपलाई ‘टेरोकोटा’ भनेर बुझिन्छ ।
यस भवन नै नेपालको पहिलो ‘टेराकोटा भवन’ हो । अरु घर, मन्दिर, भवनमा झ्याल, तोरण, टुँडालहरू काठका हुन्छन् भने यस भवनका झ्याल, तोरण, टुँडाल, आँखीझ्याल सबै इँटाका छन् । यो शैलीको भवनलाई टेराकोटा भवन भनिन्छ । नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लको शासनकालमा हालको भक्तपुर नगरपालिका– ६ तुछिमला टोलमा यसको निर्माण भएको थियो । न्यातपोल मन्दिर निर्माणपश्चात् बाँकी रहेको सरसामानको प्रयोग गरी यो भवन बनाएको भनिएको छ । यस भवनमा गणेशको मूर्तिका साथै आकाश भैरव र अवाल परिवारहरूको आँगन देवता समेत रहेको छ । अवाल परिवारका सदस्यले यहाँ रहेका आँगन देवता पूजा नगरेसम्म आफ्नो घरमा पूजा गर्नु हुँदैन भन्ने मान्यता छ ।
त्यस्तै घरहरूको लाममा तौलाछेँ टोलमा अवस्थित तलातुन्छी गणेश द्यःछें हो, जुन घरलाई विश्वकर्मा खलःले अखछेँको रूपमा प्रयोग गर्दै आएका छन् । यसमा विश्वकर्मा भैल प्याख खलः विश्वकर्मा धिमे खलः, विश्वकर्मा धा बाजा खलः, डाफा भजन, बासुरी बाजा, लाखे प्याख खलः समावेश छन् । यो घर टेराकोटाको एक अलौकिक नमुना हो, जसमा झ्याल–ढोका, आँखीझ्याल, टुँडाल, तोरण, सिंहख्व, पिलर, अष्टमातृका, अष्टमंगल, श्री गणेशको मूर्ति सम्पूर्ण इँटाका छन् ।
पानी थाप्ने, रक्सी पार्ने, चिउरा कुट्ने, बत्ती कात्ने, जातोमा मकै पिन्ने, खर्पन बोकी खेत जाने लगायत त्यतिबेलाका कामलाई घरका ढोकामा कलात्मक ढंगले उतारिएको छ । यो घर प्रजापति समुदायले आफ्नै स्रोत–साधनमा निर्माण गरेको हो । प्रजापतिका विभिन्न गुठीको पहलमा २०७८ सालमा यो भवनको निर्माण गरिएको थियो ।
मूर्त र अमूर्त सम्पदाहरूको संगमस्थल भक्तपुरले विभिन्न कला, कथा–किंवदन्ती बोकेर उभिएको छ । अमेरिकन युद्ध संवाददाता इडवार्ड अलेक्जेन्डर पावेलले भनेका छन्, ‘भक्तपुर नघुम्नु भनेको आधा संसार नघुम्नुजस्तै हो ।’
- टाइचिन चिउरा
भक्तपुरको अर्को पहिचान हो, टाइचिन चिउरा । नेवारी समुदायका हरेक भोजमा टाइचिन चिउरा नभई हुँदैन । त्यस कारण भक्तपुर हेर्न मात्रै होइन, खानका हिसाबले पनि उत्तिकै विशेष छ । यहाँको टाइचिन चिउरा विशेष मिठासको हुन्छ । ताजा तात्तातो टाइचिन चिउराले त खानाका पारखीलाई लोभ्याउँछ । यो चिउरा खानलाई तरकारी तथा अचार समेत चाहिँदैन ।
पहिला पहिलो यहाँ टोलटोलमा टाइचिन चिउराका मिल देख्न सकिन्थ्यो तर आजभोलि टाइचिन चिउरा कसरी बन्छ भनेर बुझ्न तथा उपभोग गर्नका लागि नागपोखरीस्थित वीरेन्द्र जतिले सञ्चालन गर्दै आएको मिलमा जान सकिन्छ । वीरेन्द्रले करिब ५० वर्षदेखि निरन्तर टाइचिन चिउरा उत्पादन गर्दै आएका छन् ।
- हाकुपटासी
भक्तपुरको अर्को आकर्षण हो हाकुपटासी अर्थात् नेवार महिलाले लगाउने मौलिक शैलीको कालो फरिया । भक्तपुरका ज्यापु समुदायका महिला दिदी–बहिनीले आफ्ना लागि आफैँ बुनेर हाकुपटासी तयार पार्छन् । पहिला यसको तान हरेक किसानको घरघरमा हुन्थ्यो । हाकुपटासी बनाउनका लागि हाते तान, चर्खा, फेलु (धागो बेर्ने), तुकी आदि प्रयोग गरिन्छ ।
आजभोलि हाकुपटासी वा नेपाली कपडा उत्पादन हेर्नका लागि भक्तपुरको लिवाली, भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा गएर अवलोकन गर्न सकिन्छ । यहाँ भक्तपुरका महिलाले परम्परागत रूपमै हाकुपटासी बुन्ने गर्छन् ।
हाकुपटासी वा नेवारी महिलाका परम्परागत पहिरन पनि धेरै किसिमका हुन्छन् । विशेषतः सिपु दगु गा (खास्तो) हाकुपटासी (कालो फरिया), कालो पटासी, चार खनागु जनी अर्थात् पटुका, सिपु दगु जनी, बेल विवाह सारी, मलेगचा काप, हलेग काप, श्रीपछेलु काप, चारखना काप आदि चल्तीमा छन् । यी सबै हातले बुनेर तयार गरिन्छ । हिजोआज विद्युतीय मेसिनले पनि बुन्ने गरिएको छ ।
- बाजागाजा
भक्तपुरको अर्को पहिचान हो, बाजागाजा । जात्रापर्व लगायत विशेष पूजाआजामा वर्षभर बाजा बजाएको सुन्न पाइन्छ यहाँ । टोलटोलमा बाजागाजा प्रशिक्षण लिनेको भीड लाग्छ । चाडपर्वमा भक्तपुर बाजागाजाले गुञ्जायमान हुन्छ । त्यस्तै यहाँको बाजागाजा बाह्य पर्यटकले पनि सिक्ने गरेको पाइन्छ ।
- काष्ठकला
काष्ठकलाले भक्तपुरको अर्को पहिचान झल्काउँछ । मठ–मन्दिरमा प्रयोग भएका काठका बुट्टाले पनि भक्तपुरको पहिचानलाई उजागर गरेको छ । मठ–मन्दिरमा फरक–फरक बुट्टा कोरिएका काठको प्रयोग गरिएको पाइन्छ । यो भक्तपुरस्थित इनाचो, ताथली, बराही, च्याम्हसिंह, भक्तपुर औद्योगिक क्षेत्रभित्र प्रत्यक्ष हेर्न सकिन्छ ।
भक्तपुरमा हरेक घरको झ्याल, मूल ढोका तथा मठ–मन्दिरमा प्रयोग गरिने तोरणले पर्यटकलाई आकर्षित गर्छ । प्रायजसो आन्तरिक वा बाह्य पर्यटकलाई मायाको चिनोका रूपमा काठले बनेको मयुर–झ्याल वा अन्य परम्परागत बुट्टेदार झ्याल दिने चलन छ ।
- मूर्तिकला
भुलाछेँमा ढुंगाको मूर्ति बनाउन कालीगड तल्लीन देखिन्छन् । भक्तपुरका प्रायः मन्दिरमा सिंह, बो सिंह अर्थात् उड्ने सिंह, विभिन्न देवी–देवताका मूर्ति ढुंगाबाट बनाइएका छन् । यसले पुरानो भक्तपुुरलाई जीवन्त राख्ने काम गरेको छ ।
यहाँका कतिपय मन्दिर त ढुंगाले मात्र बनेका छन् । जस्तै ः भक्तपुरको दरबार स्क्वायरमा रहेको सिद्धिलक्ष्मी मन्दिर, नृत्य बात्सला मन्दिर ।
- सुकुल–भोज
नेवार समुदायले खानाको परिकार र भोज गर्ने तरिका पनि अन्य समुदायको तुलनामा भिन्न छ । ती भोजमध्ये एक हो, सुकुल भोज (सुकुलमा लहरै बसेर खानु) । झ्व भ्वये अर्थात् सुकुल भोजमा चिउरा, अचार, हरियो लसुन, द्याकागु ला (झोल भएको राँगाको मासु), गेडागुडीका परिकार (केराउ, चना, सिमी, सिम्पु) काउली, आलु, छ्याला (तामाको झोल भएको तरकारी), तकोला (ठुल्ठुला टुक्रा गरिएको राँगाको मासु), हरियो साग, अमिलो, भुटन र दही समावेश गरिन्छ । सुकुल भोज विशेषतः लप्टे (पातको टपरी) मा खाने गरिन्छ ।
विशेषतः नेवार समुदायका बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण आदिमा सुकुल भोज गरिन्छ । भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाँजर र फलफूलको केही टुक्रा सलाद खाइन्छ । केही समयअगाडि लोप हुन लागेको यो भोज पुनः जीवन्त हुन थालेको छ ।
- सम्यबजी
चाडपर्व, भोजमा सम्यबजी (समयबजी भनेर लेखेको पनि पाइन्छ) छुट्दैन । सरल भाषामा भन्ने हो सम्यबजी नेवार समुदायको ब्रेकफास्ट हो भने सुकुल भोज भनेको डिनर हो ।
सर्वप्रिय नेवारी परिकार हो, सम्यबजी । नेपाल भाषामा बजीको अर्थ चिउरा हुन्छ । सम्यबजीमा टाइचिन चिउरा, कालो भटमास, अदुवा, लसुन, छुयाला (मासुको परिकार), अण्डा, आलु, बोडी र अचार मिसाइएको हुन्छ । सम्यबजी सेटमा विशेषतः करिब १० थरी परिकार हुन्छन् तर आजभोलि अरु थप परिकारमा पनि राखेर सम्यबजी बनाइन्छ ।
सम्यबजीलाई सितन वा स्न्याक्स जस्तै मान्ने गरिएको छ, जसलाई कुनै मुख्य भोजन अगाडि लिइन्छ ।
भक्तपुर आएपछि सम्यबजी नाम नलिने कमै होलान् । यहाँका लोकल खाजा पसल तथा रेस्टुरेन्टमा सम्यबजी पाइन्छ । चाडपर्वमा सम्यबजीलाई प्रसादका रूपमा हातमा राखेर थोरै पनि खाने चलन छ । त्यस्तै अर्को लप्टे (पातको टपरी) मा राखेर खाने गरिन्छ । अहिले भने प्लेटमा राखेर खाने चलन पनि बढ्दै छ ।
- भादगाउँले टोपी
भादगाउँले कालो टोपी भक्तपुरको मौलिक पहिचान हो र भक्तपुर सहरको पुरानो नाम हो भादगाउँ । सहरको यही पुरानो नामको पहिचान दिने गरी मल्लकालदेखि भक्तपुरमा भादगाउँले टोपी उत्पादन हुँदै आएको छ । नेवार समुदायमा पनि यो टोपी प्रसिद्ध छ । यसलाई पत्यक्ष रूपमा हेर्न भक्तपुरको कमलविनायक लाम्गालमा टोपी बनाइराखेको हेर्न सकिन्छ । साथै भक्तपुर नगरका बजारमा पनि ठाउँठाउँमा यस्ता टोपी बनाउने गरिन्छ ।
भक्तपुर नगरपालिकाले भक्तपुर भ्रमण आउने स्वदेशी तथा विदेशी पाहुनालाई भादगाउँले टोपी लगाएर स्वागत गर्ने गर्दछ । यस टोपीलाई जीवन्त राख्न भादगाँउले कालो टोपी संघ पनि छ । यो टोपी विशिष्ट व्यक्ति र सरकारी कर्मचारीले लगाउने गर्दै आएका छन् ।
- कसिमला पाँय्
‘कसिमला पाँय्’लाई भक्तपुरको सबभन्दा पुरानो परम्परागत खेलका रूपमा लिइन्छ । केही समय अगाडि यो लोप हुन अवस्थामा थियो । यसलाई बुढापाकाले मात्र खेल्ने गर्थे । भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष गर्ने अन्तर्नगर खेलकुद प्रतियोगितामा यो खेल पनि समावेश छ ।
अहिले यस खेललाई स्थानीय पाठ्यक्रमको कक्षा ६ मा समावेश गरिएको छ । भक्तपुर नगरभरिका सार्वजनिक र निजी तथा आवासीय सबै स्कुलका विद्यार्थीले यसबारे अनिवार्य रूपमा अध्ययन गर्नुपर्छ । यही कारण अहिले यो खेल बुढापाकाले मात्र नभई स्कुलमा विद्यार्थीले पनि मन लगाएर खेल्ने गरेका छन् । झगडा हुने बेला कसरी आफू बचेर दुश्मनसँग भिड्ने भन्ने ज्ञान यस खेलबाट मिल्ने मान्यता छ । यस खेलले मनोरञ्जनका साथै बौद्धिक खुराक प्रदान गर्ने गर्छ ।
- जुजु धौ
भक्तपुरको अर्काे विशेषता हो, जुजु धौ । नेपाल भाषामा जुजुको अर्थ राजा र धौको अर्थ दही हुन्छ । यस अर्थमा जुजु धौको अर्थ सबैभन्दा उत्कृष्ट दही अर्थात् दहीको राजा भन्ने बुझिन्छ ।
यहाँ अन्यत्र नपाइने जुजु धौ पाइन्छ । जुजु धौ बनाएको प्रत्यक्ष अवलोकन गर्ने मुख्य ठाउँ हो भक्तपुरको जेँला ।
भक्तपुरको सैँजु थरका समुदायले यस्तो दही बनाउने गर्छन् । आजभोलि माटोको मट्का, कला (नेवारी परम्परागत माटोको भाँडा) तथा अन्य विभिन्न माटोका भाँडामा दही बनाउने चलन सुरु भएको दही एसोसिएसन भक्तपुरका अध्यक्ष कृष्णगोपाल सैँजु बताउँछन् ।
परम्परागत शैलीमा जुजु धौ तयार गर्न दुधलाई बाक्लो हुने गरी कराहीमा तताइन्छ । दुध उमाल्दा कम्तीमा ४० लिटर दुधलाई ३० लिटर हुने गरी उमालिएको हुन्छ ।
दही बनाउने स्थानमा आवश्यकता अनुसार भुस बिछ्याइएको हुन्छ । भुसमाथि माटोको कतरामा लहरै उमालेको दुध राखिन्छ । कतरामा तीन चरणमा दही राख्ने गरिन्छ । पहिलो चरणमा आधा भाग मात्र दुध राखिन्छ । उक्त दुध सेलाएपछि फेरि माथिबाट केही दुध थपिन्छ । अन्तिममा पूरा भर्ने गरी दुध राखिन्छ । उक्त दुध सेलाएपछि त्यसमाथिबाट कतराले छोपिन्छ । त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो ओढ्नेले छोपेर राखिन्छ । करिब चार/पाँच घण्टापछि जुजु धौ तयार हुन्छ ।
भक्तपुरमा ६५ परिवार दही बनाउने पेसामा आबद्ध रहेको जुजु धौ एसोसिएसनको अनुमान छ । त्यसमध्ये ५० परिवार एसोसिएसनमा आबद्ध छन् ।
- बुराँज्या
भक्तपुरको मौलिक परम्परा हो बुराँज्या । यो एक प्रकारको अनुष्ठान हो । धानको मात्रा बढोस्, जति खर्च गर्दा पनि खेतमै नसकियोस् र अन्नदाता करुणामयको करुणा रहिरहोस् भनेर खेतमै जम्मा गरिराखेको कालो धानको थुप्रोमा घरको मूलीले गरिने पूजाआजालाई बुराँज्या भनिन्छ ।
धान काटेर करिब नौ दिनमा खेतमा परालको सुताभित्र सुरक्षित राख्ने चलन छ । त्यो धान निकाल्नेर घर भित्र्याउने सांस्कृतिक विधि पनि बुराँज्या हो । बुराँज्या गर्दा नातेदार, साथीभाइ, छरछिमेकलाई बोलाएर खेतमै प्रसादका रूपमा सम्यबजी खुवाइन्छ । कसैकसैले बुराँज्या पूजामा अन्नदाता करुणामयसँग सम्बन्धित हुँदा पूजा समेत गरी खेतमै सम्यबजी खुवाई घरमा समेत भोज खुवाउँछन् ।
- माटोका भाँडा
माटोका भाँडाले पनि भक्तपुरलाई छुट्टै पहिचान दिएको छ । यहाँ माटोबाट विभिन्न किसिमका भाँडा बनाइन्छ । भाँडा बनाएको हेर्न चाहने बाह्य तथा आन्तरिक पर्यटक भक्तपुरको पोटरीस्क्वायर जानुपर्ने हुन्छ । त्यहाँ प्रजापति थरका स्थानीयले माटोका भाँडाकुँडा बनाउने पेसा अपनाउँदै आएका छन् ।
यहाँ अहिले पनि परम्परागत प्रविधि अर्थात् हातले चलाउने चाका (चक्का)बाट माटोका भाँडाकुँडा र मूर्तिहरू बनाएको देख्न सकिन्छ । कतिपयले मेसिनबाट चल्ने चाकाले पनि बनाउँछन् । यहाँ पुगेका पर्यटकले आफैँ पनि माटाको भाँडा बनाएर हेर्न सक्छन् । वास्तवमा पर्यटकलाई आकर्षित गर्ने हेतुले यस्तो अवसर दिने गरिन्छ ।
अन्त्यमा, कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको महत्त्व, यसको सदुपयोग र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउने प्रयास जारी छ ।
भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक पार्दै विगत चार दशकदेखि विभिन्न गतिविधि गरी यहाँका मूर्त र अमूर्त सम्पदाहरू संरक्षण गर्दै आएको छ ।
(लेखक त्वानाबासु स्वतन्त्र पत्रकार हुन् । पत्रकारितामा मास्टर्स गरेकी उनी ख्वप कलेज भक्तपुरमा सहप्राध्यापक छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य