शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समुदाय र पर्यावरण

प्रकृति पुजारी राजी, राजीले जित्न नसकेको बाजी

शनिबार, २६ माघ २०८१, १५ : ००
शनिबार, २६ माघ २०८१

राजी समुदायलाई आफ्नो यकिन इतिहास थाहा छैन । मौखिक इतिहास अनुसार, मुगुको रारा ताल फुटेपछि राक्मा भन्ने ठाउँबाट पूर्वी सुर्खेत हुँदै भेरी र कर्णाली नदी किनार आसपासमा राजीहरुले बसोबास गर्न थालेको बताइन्छ । 

यस समुदायले जीविकोपार्जनका लागि माछा मार्ने, वन माहुरी र भीर माहुरीको मह काढ्ने, डुंगा बनाउने, नदीमा मान्छेलाई वारपार गराउने, नदी किनारमा सुन चाल्ने, वन्यजन्तुको सिकार गर्ने, कन्दमूल र जंगली फलफूल तथा जडीबुटी संकलन गर्ने, परम्परागत रूपमा काठका भाँडा बनाउने र अरू गाउँका मानिससँग अन्नसँग साट्ने लगायत काम गर्थ्यो । 

वनसँगको सम्बन्धका कारण उनीहरू प्रकृतिप्रेमी हुन् र प्रकृतिलाई देवता मानेर पूजा गर्छन् । यस समुदायको विवाह र मृत्यु संस्कार फरक थियो । युवायुवतीबिच आपसमा प्रेम भयो भने दुवैले कन्दमूल खनेर केटाको घरमा जान्थे । त्यो कन्दमूल पकाएर बुबाआमासँगै बसेर खाई दुवैले सँगै जीवन व्यतीत गर्नका लागि आशीर्वाद लिने चलन थियो । हाल यो परम्परागत विवाह चलनमा छैन ।

परिवारको कुनै सदस्यको मृत्यु भयो भने आफू बसेको स्थानमा अशुद्ध हुने मानिन्थ्यो । घरको छाना भत्काएर अन्यत्र सर्ने चलन थियो । विगत केही वर्षदेखि यस समुदायले हिन्दु रीतिरिवाज अनुसार संस्कार र चाडपर्व मनाउँदै आएको छ ।

नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद्द्वारा अनुमोदित वर्गीकरणको पहिलो समूहमा पर्दछ राजी जाति । महासंघकै सिफारिसका आधारमा लोपोन्मुख जातिको सूचीमा समावेश गर्दै सामाजिक सुरक्षाका लागि नेपाल सरकारले प्रतिव्यक्ति मासिक भत्ताका साथै विभिन्न कार्यक्रम लागु गरेको छ । राजी जाति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कैलाली (सुगरखाल, पथरैया, टिकापुर, लालबाझी, खैलाड, धनपा), कञ्चनपुर (कृष्णापुर र दैजी), सुर्खेत (सुर्खेत जिल्लाको कुनाथरी, पोखरीकाँडा, विद्यापुर, बाबियाचौर, तातापानी, घाटगाउँ, लगाम), बर्दिया, बाँके र दाङ जिल्लामा विशेष गरी बसोबास गर्दै आइरहेका छन् । राजी जाति सुरुमा एउटै थियो समय बित्दै जाँदा यो जाति तीन मुख्य उपजातिमा विभाजन हुन गयो ः बाह्रबन्डाले, नौकुल्या र पूर्वा । 

२०२२ सालसम्म राजी समुदायहरू चुरे क्षेत्रकै भित्री उपत्यकामै रजगज गर्दै थिए । २०२२ मा औलो उन्मूलन भएसँगैे उत्तरी क्षेत्रका बस्ती बिस्तारै उपत्यकामा झर्न थाले, त्यसपछि राजी समुदाय उपत्यकाबाटै पलायन हुन पुगे । उनीहरूले नै फाँडेका खोरियामा अन्य समुदायको रजगज चल्न थाल्यो । यस समुदायलाई एकातिर अन्य समुदायले च्याप्दै आए, अर्कोतिर पुख्र्यौली पेसाले गुजारा चल्न मुस्किल भएपछि आफैँ वासस्थान छाड्न थाले । उनीहरूको रैथाने ज्ञान पनि हराउँदै गयो ।

राष्ट्रिय निकुञ्ज र राजी समुदाय

राष्ट्रिय निकुञ्जको व्यवस्था, वन्यजन्तु र यसको वासस्थानको संरक्षण, सिकारमा नियन्त्रण आदिलाई ध्यानमा राख्दै सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ल्यायो । त्यसकै आधारमा रहेर लोप हुन लागेका वन्यजन्तु संरक्षणका लागि सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना गरियो, जुन  ९६८ वर्ग किलोमिटरमा फैलिएको छ ।

लोपोन्मुख बाघसँग सअस्तित्वमा बाँचेका राजी लगायत विभिन्न जातजातिको पुनः स्थापना भयो तर यी जातजातिका सामाजिक बनोट तथा  सामाजिक अखण्डताका मुद्दा किनारा लागे ।

त्यस्तै सन् २०१० जुलाई १२ मा बाँके जिल्लामा ५५० वर्ग किलोमिटर फैलिएको देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना भएका यी निकुञ्जले बर्दिया, बाँके, दाङ र सल्यान जिल्लासँग आफ्नो सिमाना साझेदारी गरेका छन् । दश वर्षको अवधिमा झन्डै तीन गुणाले बाघको संख्या बढाउने ‘महत्त्वपूर्ण उपलब्धि’ प्राप्त गरेको नेपालको अबको चुनौती ती जनावरको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु रहेको छ । सन् २००९ मा १२१ रहेको बाघको संख्या सन् २०२२ मा बढेर ३५५ पुगेको छ । यो अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा २५ र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ को संख्यामा बाघ रहेका छन् । बाघको संख्या बढेसँगै बर्दिया, बाँके, दाङ जिल्लामा बस्ने रैथाने राजीको वासस्थानमा समेत प्रभाव परेको छ तर यो सवाल सधैँ गौण रहँदै आएको छ । 

सधैँ प्रकृतिसँग मिलेर बस्ने प्राकृतिक स्रोतको ध्वंश हुन नदिई संरक्षण गरेर बस्ने आदिवासी राजीहरू हजारौँ वर्षदेखि कुन ज्ञान प्रणालीमा बाँचिरहेका थिए भन्ने कुरा अबका दिनमा बाघ संरक्षणका सवालमा धेरै महत्त्वपूर्ण हुनेछ । लोपोन्मुख बाघसँग सहअस्तित्वमा बाँचेका राजीहरू पुनः स्थापनाका क्रममा आफैँ लोपोन्मुख भएका छन् । 

हालै २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘सानो देश छ, बाघ साढे ३ सय छन् । यो संख्या १५० भए पुग्छ । मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन ।’ यसै सन्दर्भमा विभिन्न विचार अभिव्यक्त भए, कसैले बाघ संरक्षण देशको मात्र मुद्दा नरहेको यो विश्वको मुद्दा रहेको अभिव्यक्ति दिए, कसैले बाघको आचरण, पारिस्थिकीय महत्त्व प्रस्ट्याए । वासस्थानको खण्डीकरणलाई चुनौतीका रूपमा सवाल उठाइराख्दा बाघको वासस्थान तथा जैविक मार्ग व्यवस्थापन गरी वासस्थानको अखण्डता जोगाउनु नै बाघ संरक्षणको कडीका रूपमा रहेको पाइन्छ । 

यस क्रममा विभिन्न राष्ट्रिय निकुञ्ज स्थापना भए, नीति–नियम बने, लोपोन्मुख बाघसँग सअस्तित्वमा बाँचेका राजी लगायत विभिन्न जातजातिको पुनः स्थापना भयो तर यी जातजातिका सामाजिक बनोट तथा  सामाजिक अखण्डताका मुद्दा किनारा लागे । संरक्षण साझेदारहरू र वैज्ञानिकहरूले थारु बाहेकका अन्य विशिष्ट ज्ञान, सीप, संस्कृति भएको जातजातिलाई समान दृष्टिकोणले हेर्न सकेन र वैज्ञानिक खोज तथा अध्ययन बाघ संरक्षण र थारु समुदायमै सीमित रह्यो । अतः आगामी वर्षहरूमा लोपोन्मुख बाघ जोगाउन लोपोन्मुख जाति सिध्याउन सकिन्न भन्ने भाष्य नआउला भन्न सकिन्न ।

बाँके–बर्दिया क्षेत्रमा बसोबास गर्ने थारुहरूको रहनसहन र सांस्कृतिक पक्षहरू पर्यापर्यटन प्रवर्धनमा उल्लेख्य प्रयोग भइरहँदा सोही क्षेत्रमा बसोबास गर्ने अन्य समुदायका सांस्कृतिक पक्ष ओझेलमा परेका छन् ।

पिँढी दरपिँढीमा हस्तान्तरण हुन नसकेकाले यी रीतिरिवाज, भाषा–संस्कृति लोपोन्मुख र संकटासन्न अवस्थामा छन् । परम्परागत रूपमा काठका भाँडा बनाउने र अरू गाउँका मानिससँग अन्नसँग साट्दै आएका यी समुदायलाई राष्ट्रिय निकुञ्ज तथा वन नीति–नियमले सम्बोधन गर्न सकेको छैन । राज्यको नीतिका कारण प्राकृतिक स्रोत–साधनमाथि आफूहरुको पहुँच गुमेको, नदी ताल–तलैयामा ठेक्का दिन थालेपछि माछा मारेर गुजारा चलाउन समस्या भएको राजी समुदायको गुनासो छ । अन्य जातिले खोला, नदी–नालामा विषादी प्रयोग गरी माछा मार्ने गरेका कारण जाल, बल्छी थापेर माछा मार्ने राजीको पेसा पनि संकटमा परेको छ । आधुनिकतासँगै फलाम, प्लास्टिक, स्टिलका भाँडा प्रयोगमा आएसँगै उनीहरूका परम्परागत ज्ञान–सीप कला लोप हुने क्रमबद्ध रूपमा बढ्दै छ ।

औलो उन्मूलन, राष्ट्रिय निकुञ्जको पुनः स्थापना कार्यक्रम र पछिल्लो राजनीतिक परिवर्तनसँगै बाँके, बर्दियामा सबै जातजातिको बसोवास बढ्दै गएको छ र यसले गर्दा यी स्थान सबै जातिको साझा भूमिका रूपमा विकास भएको छ । पहिले आदिवासी थारुहरूको बाहुल्य रहेकाले पनि संरक्षण कार्यक्रममा यो जाति नै सधैँ अग्र स्थानमा र चर्चामा रहने गरेको छ । पहिलो चरणको एकीकृत बाघ वासस्थान संरक्षण कार्यक्रमबाट यो समुदाय प्रत्यक्ष लाभान्वित भएको पाइन्छ । 

संरक्षणका कार्यक्रममा हालसम्म राजी समुदायको अर्थपूर्ण सहभागिता हुन सकेको छैन । लोपोन्मुख यस समुदायको राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच पुग्न सकेको छैन । यो समुदाय अहिलेसम्म मतदातामै सीमित छ, वडा सदस्य पनि भएको इतिहास छैन । दलहरूका घोषणापत्रमा पनि राजी जातिको उत्थानको विषय अटाइएको पाइँदैन । कुनै पनि संरक्षणका साझेदारहरूले आफ्ना कार्यक्रम तथा परियोजनामा आदिवासी भने पनि राजी समुदायलाई स्पष्ट रूपमा सम्बोधन गरेको पाइन्न ।

बाँके–बर्दिया क्षेत्रमा बसोबास गर्ने थारुहरूको रहनसहन र सांस्कृतिक पक्षहरू पर्यापर्यटन प्रवर्धनमा उल्लेख्य प्रयोग भइरहँदा सोही क्षेत्रमा बसोबास गर्ने अन्य समुदायका सांस्कृतिक पक्ष ओझेलमा परेका छन् । अतः संकटासन्न अवस्थामा रहेको राजी जातिको परम्परागत पारिस्थितिक ज्ञान तथा सीपलाई खोज अनुसन्धान गर्न आवश्यक छ । एकीकृत बाघ वासस्थान संरक्षण कार्यक्रमजस्ता विभिन्न संरक्षणका साझेदारका कार्यक्रममा यस जातिलाई सहभागी गराउने हो भने स्वयं यस जातिको उत्थानसँगै बाघ र बाघको वासस्थानको संरक्षणमा टेवा पुर्‍याउन सकिन्छ । कला, संस्कृति, परम्परालाई संस्थागत गरी राजी घरबास कार्यक्रम सञ्चालन गरी पर्यापर्यटनलाई बढावा दिन सक्ने सम्भावना  छ । प्रकृति पुजारी राजीले अब अर्थपूर्ण सहभागितामार्फत जित्न नसकेको बाजी जित्न सक्ने सम्भाव्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्री बराल
बद्री बराल
लेखकबाट थप